Looking For Anything Specific?

Header Ads

मासु खाने सबै ‘राक्षस’ हुन् त ?

कोरोनाले चटक्कै नछोडेको भए पनि नेपालीलाई विस्तारै दशैंले छोइसकेको छ । विदेशबाट घर र्फकने नेपालीको संख्याले होस् या शहरबाट गाउँ र्फकने मानिसको संख्याले यसलाई थप पुष्टि गर्दछ ।

कतिपयले दशैंको लागि खरीद गरेको तथा तयार गरी पालिराखिएको खसी, बोका तथा राँगाहरूको फोटो सार्वजनिक गर्न पनि भ्याइसकेका छन् भने कतिपयले चाहिं दशैंको लागि मासु जोहो गर्न शुरु गरेका छन् । तर वर्षेनि दशैं नजिकिएसँगै मासु खाने र नखाने बीच एउटा कडा वादविवाद, बहस तथा छलफल शुरु हुने गर्दछ ।

त्यति मात्र होइन मासु नखानेले मासु खानेहरूलाई ‘राक्षस’ सम्मको संज्ञा दिने गर्दछन् । त्यसैले एउटा प्रश्न सधैं मनमा खेलिरहन्छ- के मासुखानेहरू सबै राक्षस हुन् त ? त्यसो भए डाक्टर, वैद्य, धार्मिक गुरुहरूले समेत किन मासु खाएका होलान् ? अनि मासु हामी मानव शरीरका लागि किन आवश्यक छैन भनी निष्कर्षहरू ननिक्लिएका होलान् ?

कुनै पनि प्रतियोगितामा मासु खानेले मात्रै या नखानेले मात्रै जितेको रेकर्ड छ र ? अब अर्को प्रश्न- के मानिसले मासु नखाएको भए आजसम्म मानव इतिहास यहाँसम्म आउन सम्भव हुन्थ्यो होला त ? यो संसारमा प्रजनन क्षमता भएको कैयौं प्राणीहरू छन्, तिनीहरूलाई निर्वाध रूपमा छाड्ने हो भने के साँच्चै आज हामी मानव रहिरहन्थ्यो होला त ?

उदाहरणको लागि एउटा बाख्रोलाई लिऔं- एउटा बाख्रोले उसको जीवनकालमा कति पटक सन्तान जन्माउँछ ? मानौं- १० पटक । १० पटकमा सामान्यतया दुई वटाको दरले हिसाब गर्दा २० वटा पाठा जन्मन्छन् । उसले जन्माएको सन्तानले फेरि ६ महीनामा नयाँ सन्तान दिन सक्षम हुन्छ । अब उसले जन्माएका २० सन्तानमध्ये प्रत्येकले नयाँ २० जन्माउँछन् ।

यसरी संख्या बढ्दै जाने हो भने सोच्नुस् त १० वर्षमा बाख्राको संख्या कति पुग्ला ? यो त गर्भवधि ६ महीना रहेको जीवको हिसाब भयो । २१ दिनमा नयाँ सन्तान दिन परिपक्व हुने कुखुराको यस्तै हिसाब कति निस्कन्छ होला ?

अनि हिंस्रक प्राणीहरूले हामीलाई बाँकी राख्लान् ? वास्तवमा खसी, बोका, कुखुरा लगायतका मानिसले मासु खाने जीवहरू मानिसको आर्थिक उपार्जनको साधन पनि होइन र ? मानिसहरूले मासु नै खाएनन् भने तिनीहरू पाल्नुको कुनै अर्थ रहन्छ ?

अब भन्नुस्- खसी र बोका बेचेको पैसाले दशैं मनाउनेहरूले मासु खानेहरूको विरोध गर्न सुहाउँछ ? जीवनभर दूध खाएर उसको प्रजनन क्षमता समाप्त भई राँगो नलागेको झोंकमा मम बनाउन बूढी भैंसी बेच्नेहरूले मासु खानेहरूको विरोध गर्न सुहाउँछ ?

मासु खानु र नखानु व्यक्तिगत स्वतन्त्रताको कुरा हो । त्यसैले मासु नखानेहरूलाई अप्ठ्यारो पर्ने कुनै व्यवहार कसैले पनि गर्नुहुँदैन । त्यस्तै मासु नखानेहरूले पनि मासु खानेहरूले मानौं कुनै अखाद्य वस्तु खाए झैं व्यवहार गर्नुहुँदैन

यो पढिरहँदा मासु खानेलाई ‘राक्षस जस्तो’ भन्दै तुच्छ बोल्नेहरूको मनमा लाग्दो हो कि मैले काटमारलाई प्रोत्साहित गरिरहेछु । अनि यो लेखकलाई जनावरहरूको अधिकारप्रति कुनै ज्ञान छैन । शायद यो लेख प्रकाशित हुने मिडियाले पनि अलि अलि गाली पाउँदो हो कि यस्ता लेखलाई किन स्थान दिएको भनी ।

त्यसो होइन, विना काटमार मासु हुन सक्दैन । त्यसैले उनीहरूलाई कसरी काटमार गर्दा पीडा कम हुन्छ, त्यो विषयमा भने मासुखानेहरूले सोच्नै पर्छ । राजमार्गमा ढुवानी गर्दा जनावरहरूले भोग्नुपरेको पीडाले हामी मानवको चेतनालाई गिज्याइरहेछ । त्यसप्रति हामी मानव समुदाय गम्भीर हुनै पर्छ ।

मासु खानु र नखानु व्यक्तिगत स्वतन्त्रताको कुरा हो । त्यसैले मासु नखानेहरूलाई अप्ठ्यारो पर्ने कुनै व्यवहार कसैले पनि गर्नुहुँदैन । त्यस्तै मासु नखानेहरूले पनि मासु खानेहरूले मानौं कुनै अखाद्य वस्तु खाए झैं व्यवहार गर्नुहुँदैन । यसपालिको दशैं अघि मासु खाने र नखाने बीचमा सौहार्दता कायम रहोस् । सबैलाई दशैंको अगि्रम शुभकामना !

(लेखक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा कार्यरत छन् ।)



source https://www.onlinekhabar.com/2021/10/1022052

Post a Comment

0 Comments