Looking For Anything Specific?

Header Ads

अरनिको : स्वदेशमा ‘अपरिचित’, विदेशमा प्रसिद्धि !

१३ असार, काठमाडौं । नेपाल-चीनसम्बन्धका अनेक आयाम छन् । मञ्जुश्रीको समयदेखि हालसम्म दुई देशबीच क्षणिक तिक्तता युगीन मित्रता कायम रहेको पाइन्छ ।
पाँचौँ शताब्दीमा बुद्धभद्रको चीन यात्रा, त्यसपछि कहिले युआन चाङ त कहिले फाइयानको नेपाल यात्रा, राजा स्रङचङ गोम्पोसँग नेपाली राजकुमारी भृकुटीको विवाह र कलाकार अरनिकोको शिल्पले नेपाल-चीन सम्बन्धलाई मजबुत बनाएको देखिन्छ । पाँचौं शताब्दीका फाइयान र सातौं शताब्दीका युएन चाङको यात्रा वृत्तान्तले नेपाली इतिहास पुष्टि गर्न धेरै मद्धत गरेको छ ।

सातौँ शताब्दीमा तिब्बतका राजा स्रङचङ गोम्पो र भृकुटीको विवाह भएको र नेपालका कलाकार अरनिकोको चीन यात्राको कुरा पनि चिनियाँ ऐतिहासिक स्रोतहरुले नै पुष्टि गरेका हुन् । सत्यमोहन जोशीको पुस्तक ‘कलाकार अरनिको’का अनुसार अरनिकोको प्रसंग नेपाली ऐतिहासिक स्रोतहरुमा उल्लेख छैन । चिनियाँ वृत्तान्तहरुमा भने यसको धेरै चर्चा पाइन्छ ।

अरनिकोको चीन यात्रा

अरनिको नेपालबाट पहिला तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलामा ख्याति कमाएका नेपाली वास्तुकार हुन् । कलिलै उमेरमा तिब्बत पुगेका उनी पाटनका हुन् । उनका पिता लाखाँना र माता सुमाखची हुन् । चिनियाँ वृत्तान्तहरुमा अरनिकोको जन्म, बाल्यकाल र किशोरकालबारे योभन्दा बढी उल्लेख छैन ।

अरनिकोको जीवनी र कृतिबारे चीनको ‘युआन राजवंशको इतिहास, खण्ड २०३’ मा उल्लेख छ । उक्त चिनियाँ वृत्तान्त उद्धृत भिक्षु सुदर्शनको आलेख ‘राष्टि्रय विभूति अरनिकोको श्वेतचैत्य’ (आनन्दभूमि म्यागजिन, १ असोज २०४४)मा उल्लेख छ- अरनिको राजा अभय मल्लको पालामा सन् १२४५ मा पाटनमा जन्मिएका थिए । पछि राजा जय भीमदेव मल्लको पालामा ८० जना वास्तुकलाकारको नेतृत्व गर्दै उनी तिब्बत पुगेका थिए ।

उक्त आलेख अनुसार युआन राजवंशको इतिहासमा अरनिकोको बारेमा एउटा रोचक प्रसंग छ । त्यहाँ भनिएको छ – ‘अरनिको निपोलो अर्थात् नेपाल देशका मानिस हुन् । त्यस देशका मानिसहरु उसलाई पालुपु भन्ने गर्दछन् । सानै उमेरदेखि उनको बुद्धि अरु बच्चाहरुको तुलनामा तेजिलो थियो । केही हुर्केपछि उनले बुद्ध धर्मको अध्ययन सुरु गरे । उनमा सुनेर कण्ठ गर्नसक्ने क्षमता थियो । उमेर बढेपछि चित्र र मूर्ति बनाउने काममा अरनिको निपूर्ण भए । उनले धातुको मूर्ति ढाल्ने काम पनि गर्न सक्थे । युआन राजवंशका सम्राट होपिलीले आफ्नो शासनको पहिलो वर्ष अर्थात् सम्राट कुब्लाई खाँको राज्याभिषेकको पहिलो वर्ष थुफान अर्थात् तिब्बतमा सुनको चैत्य बनाउन आदेश दिए । निपोलो देशबाट त्यो चैत्य बनाउन एक सय कालीगढ छान्ने काम भयो । परन्तु ८० जना मात्र जाने इच्छा भएका कालीगढहरु निस्किए । ८० जनाको नेतृत्व छान्ने व्यक्ति पाउन सकिएन । अरनिको १७ वर्षका थिए । उनले त्यसको नेतृत्व आफूले गर्ने बताए ।’

बौद्ध वास्तुकलामा अरनिकोको ख्याति

चीनको मियाउयिङ श महाविहारमा तीनवटा ठूलाठूला ढोका भएको सान् मन् प्रवेशद्वार, त्यसका दायाँ बायाँ कुलोर चुइलो नामका अग्ला भवनहरु तथा भिक्षु-भिक्षुणीहरुका लागि लाङ ऊ फैतेन् नामका ध्यान कुटीहरु छन् । मध्यकालमा बनेका यी भव्य बौद्ध संरचना नेपाली कलाकार अरनिकोले निर्माण गरेको चिनियाँ प्राध्यापक वाङ होङ वैको एउटा शोधमा उल्लेख छ ।

कलाकार अरनिकोको तिब्बतमा निर्माण गरिएको मूर्ति

जोशीको पुस्तक ‘कलाकार अरनिको’का अनुसार अरनिकोले आफ्नो जीवन कालभर तिब्बत र चीनमा तीन चैत्य, नौ महाविहार, दुई मन्दिर र तावो मतको एउटा राजप्रासाद निर्माण गरेका थिए ।

चिनियाँ विद्वान हाइ लानले चाहिँ अरनिकोलाई चिनियाँ कलाकार भनेका छन् । उनले अरनिकोले शान्सी प्रान्तमा अर्काे झन् ठूलो चैत्य बनाएको उल्लेख गरेका छन् । सन् १९८० अगष्ट १० को ‘द राइजिङ नेपाल’मा प्रकाशित लेखमा लानले अरनिकोको कलाको प्रशंसा गर्दै शान्सी प्रान्तको चैत्यबारे उल्लेख गरेका छन् ।

लानका अनुसार उक्त श्वेतचैत्य यन्त्राकार त्रिकोणहरु भएको मण्डपमा बनेको छ । यसको जगबाट उठेको संरचना तीन खण्डमा विभाजित छ । दोस्रो र तेस्रो खण्डमा कमलको आकृतिहरु छन् । यसको आधार भूमिको परिधि ३० र यसको उचाइ चाहिँ ५०.९ मिटरको छ ।

कुब्लाई खाँ र अरनिको

सम्राट बन्नासाथ कुब्लाई खाँले एउटा भव्य स्वर्ण चैत्य बनाउने मनसुवा गरे, तर त्यतिबेला तिब्बतमा चैत्य वास्तुकारको अभाव थियो । चैत्य बनाउन जान्ने वास्तुकारको लागि नेपाल या भारत जानुको विकल्प थिएन । नेपालका वास्तुकार अब्बल ठहरिएको र नजिक पनि भएकोले खाँले नेपालीहरु बोलाउने निधो गरे ।

पाँचौं शताब्दीको सुरुमा कपिलवस्तुमा जन्मिएका भिक्षु बुद्धभद्रको पालादेखि नै तिब्बती र चिनियाँहरु नेपाली कलाबाट प्रभावित भइसकेका थिए । सातौं शताब्दीका युआन चाङले पनि नेपाल यात्रा गरेर निपोलो (नेपाल)का मानिसहरु कलामा सिद्धहस्त भएको, दुई हजार थेरबाद र महायानी भिक्षुहरु नेपालमा अध्ययनरत रहेको उल्लेख गरिसकेका थिए ।

अंशुवर्माको समयको पुस्तक ‘शब्दविद्या’ बाट समेत नेपालसँग चीन परिचित रहेको कुरा भिक्षु सुदर्शनले उल्लेख गरेका छन् ।

११ औं शताब्दीमा भिक्षु चिन्व्हेको नेतृत्वमा तीन सय बौद्ध भिक्षु नेपाल आएका थिए । त्यो बेला तान्त्रिक र बौद्ध शिक्षाको लागि नेपाल मुख्य गन्तव्य थियो । त्यतिबेला पाटनका महापण्डित महाबोधी, जगदानन्द आदिले थुप्रै तिब्बतीलाई शिष्य बनाएका थिए । यी सब कारणले नेपालबाट कलाकार लैजाने निधो कुब्लाई खाँले गरेको इतिहासकारहरुको मत छ ।

त्यसबेला नेपालबाट सयजना कलाकार लैजाने निधो भएको थियो, तर केवल ८० जना तिब्बत यात्राका लागि तयार भए, जसको नेतृत्व अरनिकोले गरे । त्यतिबेला नेपाल मण्डलमा जय भीमदेव मल्लको शासन थियो ।

अरनिकोले तिब्बतमा निर्माण गरेको स्वेत चैत्य ।

कुब्लाई खाँको आदेशानुसार तिब्बतमा साढे २ वर्षमा स्वर्ण चैत्य निर्माण भयो । त्यो काम सकेर टोली नेपाल फर्किने तयारीमा लाग्यो । टोली नेता अरनिकोलाई भने सम्राटका गुरु वागसपाकाले पेकिङ लैजाने इच्छा जाहेर गरे ।

त्यसरी चीनको राजधानी पुगेका अरनिको युआन वंशका सम्राटको आदेशमा श्वेत चैत्य निर्माणमा जुटे, जसलाई नेपाली शैली मिश्रति अदि्वतीय वास्तुकला मानियो । यो चैत्य बनाउन ८ वर्ष लागेको चिनियाँ वृत्तान्तमा उल्लेख छ । यो सन् १२७१ कुरा हो । बेइजिङको मध्यभागमा रहेको श्वेत (सेतो) चैत्यलाई चिनियाँहरु पाइ था (श्वेत चैत्य) भन्छन् ।

भनिन्छ, तिब्बतमा सुवर्ण चैत्य निर्माणको अनुभव हासिल गरेका अरनिकोलाई पेकिङका सम्राटले पहिला एउटा मूर्तिमा टुटेको हात जोड्न लगाएका थिए । त्यसमा उनले तत्कालै खुवी प्रदर्शन गरेपछि सम्राटले अर्काे उस्तै मूर्ति बनाउन भने । अरनिकोले यस्तो सजीव मानव मूर्ति बनाए कि, जसमा जोर्नी र नशाहरु समेत स्पष्ट देखिन्थे । त्यसपछि सम्राटले उनलाई श्वेतचैत्य निर्माणको बृहत् परियोजना जिम्मा लगाए ।

अरनिकोले चिनियाँ शैली-परम्परा तथा नेपाली शैली-परम्पराको समिश्रणमा श्वेत चैत्यको ढाँचा तयार पारे । दुई देशको वास्तुकला आत्मसात् गरेको त्यही नक्साको आधारमा विशाल श्वेतचैत्य तयार भयो र तत्कालै चीन, तिब्बत र नेपालमा समेत चर्चित भयो ।

श्वेत चैत्यको वास्तुकला

श्वेत चैत्यको सबभन्दामाथि महामुकुट जडान गरिएको छ । महामुकुट मुनि गजुर छ । गजुर मुनिको भाग धर्मछत्र वरिपरि घण्टमाला झुण्ड्याइएको हुन्छ । घण्टमालाभन्दा तल्लो भागमा १३ खण्ड बनाइएको छ, जसलाई त्रयोदश भुवनको प्रतीक मानिन्छ ।

बौद्ध मतानुसार त्रयोदश भुवनमा ज्ञानवती, निरुपमा, समन्तप्रभा, धर्ममेध, साधुमती, अचला, दुरंगमा, अभिमुखी, सुदूर्जया, अध्धिष्मती, प्रभाकारी, विमला र प्रमुदिता पर्छन् ।
त्रयोदश भुवनभन्दा तल्लो भागमा चकू र त्यसमुनि गर्भगृह छ । त्योभन्दा तल गोलचक्र र त्योभन्दा तल पद्मासनमा बसेका बुद्धहरुको प्रतिमा छन् । त्यसभन्दा तल माथिल्लो बेदिका छ । त्यसभन्दा तल मृगदाव, धर्मचक्र छ भने जमिनभन्दा मुनि तल्लो वेदिका र पादस्थापना राखिएको छ ।



source https://www.onlinekhabar.com/2021/06/974836

Post a Comment

0 Comments