Looking For Anything Specific?

Header Ads

ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन् : वर्षमान

९ माघ, रोल्पा ।  नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनले संसद विघटनविरुद्ध विचाराधीन मुद्दाको फैसला गर्ने क्रममा सर्वोच्च अदालतमा केपी ओलीको दबाव, प्रलोभन र धम्कीको प्रभाव पर्न नहुने बताएका छन् ।

प्रधानमन्त्री ओली र उनको समूहका नेताहरुले सर्वोच्चमा सेटिङ मिलाएकाले प्रतिनिधिसभा विघटन सदर हुने हल्ला चलाउँदै हिँडेको पुनले बताए ।

‘हामीलाई विश्सास छ, संविधानको अक्षर र भावनाअनुसार फैसला आउनेछ । हामी सर्वोच्चको फैसलालाई सम्मान गर्छौं र स्वीकार पनि गर्छांै’, गृहजिल्ला रोल्पाको सुलीचौरमा विहीबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै पुनले भने ।

‘तर, केपी ओली र त्यो प्रवृत्तिका मान्छेले सेटिङका कुरा गरेका छन्,’ निवर्तमान मन्त्री पुनले भने, ‘त्यस्ता सेटिङको हामी सडकमा भण्डाफोर गर्छौं ।’

यस्तै निर्वाचन आयोगले पनि ७० प्रतिशत केन्द्रीय सदस्य रहेको प्रचण्ड–माधव नेपालले नेतृत्व गरेको नेकपालाई वैधता दिने र सूर्य चिह्न पनि आफूहरुले पाउने विश्वाससमेत उनले व्यक्त गरे ।

ओली सरकारमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीका रुपमा काम गरेका नेता पुनले पार्टीभित्रबाट सरकार सञ्चालनमा कुनै अवरोध सिर्जना नगरिएको बताउँदै भने, ‘सरकारको कुनै नीति कार्यक्रम, बजेट र विधेयक असफल भएको छैन, उहाँले कसरी सरकार चलाउन पार्टीले असहयोग गर्यो, संसदले असहयोग गर्यो भनिरहनुभएको छ ?’

प्रधानमन्त्री ओलीको ध्यान विकास र सुशासनका मुद्दामा नगएको,  वरिपरिका मानिसहरु भ्रष्टाचारमा मुछिएको र भ्रष्टाचारी आरोप लागेकाहरुलाई राजनीतिक सफाइ दिइएको पुनले बताए ।

ओलीले भर्खर हुर्कंदै गरेको संघीयताको बिरुवा उखेल्ने षड्यन्त्र गरिरहेको भन्दै पुनले ओलीले प्रदेश भंग गर्ने धम्की दिँदै हिँडेको बताए ।



source https://www.onlinekhabar.com/2021/01/925543

Post a Comment

0 Comments