Looking For Anything Specific?

Header Ads

सारङ्गी र मादल बजाउन सिक्दै लन्चेस्टनका नेपाली बालबालिका

तास्मानिया । आधुनिक प्रविधिको विकासका कारण नयाँ बाजाहरुको उत्पत्ति भएपछि नेपाली लोकबाजाको अस्तित्व नै संकटमा परिरहेका बेला अष्ट्रेलियाको तास्मानिया राज्यस्थित लन्चेस्टनका नेपाली बालबालिकाहरुलाई भने नेपाली मौलिक लोकबाजा चिनाउन र बजाउन सिकाउन थालिएको छ ।

लन्चेस्टनस्थित नेपालीहरुको सामाजिक संस्था नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले स्थानीय सिटी काउन्सिलसँग सहकार्य गरी ‘एक्टिभ एण्ड क्रिएटिभ किड्स’ कार्यक्रममार्फत यहाँ हुर्केका पछिल्लो नेपाली पुस्तालाई आफ्नो मौलिक बाजा चिनाउन र बजाउन सिकाउन थालिएको उक्त कार्यक्रमको संयोजक प्रेम भट्टराईले अनलाइनखबरसँग भने ।

उक्त संस्थाले भाषालयमार्फत विगत केही बर्षदेखि यहाँ जन्मेका या हुर्केका नेपाली बालबालिकाहरुलाई नेपाली भाषामा पढ्न, लेख्न र बोल्न समेत सिकाउँदै आएको छ ।

‘हाम्रो अल्पकालीन उद्देश्य यहाँका बच्चाहरुलाई नेपाली मौलिक बाजा चिनाउने र यसको महत्वबारे सिकाउने हो,’ संगीत कक्षाको उद्देश्यबारे प्रष्ट्याउँदै भट्टराईले भने, ‘नेपाली संगीत र मौलिक नृत्यहरुको सीप आगामी पुस्ताहरुमा हस्तान्तरण गर्दै जाने हाम्रो दीर्घकालीन योजना हो ।’

यस्तै दृष्टिकोण लन्चेस्टनका एक अभिभावक तथा सामाजिक व्यक्तित्व डा. सुभाष कोइरालाको पनि छ । ‘मेरो छोरोलाई सारङ्गी नै सिकाएर सारङ्गीमा पोख्त बनाउछु भन्ने सोंच होइन, यो त उसको इच्छाको कुरा हो, तर यो भनेको सारंगी हो, यो भनेको मादल हो भनेर चिनाइयो भने पनि केही हदसम्म लोकबाजाको अस्तित्व र महत्व अर्को पुस्तासम्म हस्तान्तरण हुन्छ,’ उनले भने ।

यहाँका नेपाली बालबालिकाहरुलाई हरेक शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म एक घण्टा संगीत सिकाइने र र एक घण्टा मौलिक नृत्य सिकाउने समयतालिका मिलाइएको छ । समय व्यवस्थापनमा अभिभावकहरुले पनि राम्रो साथ दिएकोमा संयोजक भट्टराई खुशी छन् ।

‘अहिले अष्ट्रेलियामा स्कुल बिदा भएका कारण भाषालय बन्द छ । त्यही कारण पूरै दुई घण्टा समय संगीत सिकाउन लागेका छौ, यहाँका स्थानीय स्कुल सुचारु भएपछि भाषालय पनि सुरु हुन्छ र त्यही अनुसारको समयतालिका मिलाउने प्रयत्न गर्नेछौं,’ उनले भने ।

उनका अनुसार ६ देखि १२ वर्ष उमेर समूका करिब २० देखि २५ जना बालबालिकाहरु नियमित रुपमा संगीत सिक्न आउँछन् ।

सारङ्गी, मादल, बाँसुरी, खैजडी, मुजुरा जस्ता नेपाली वाद्यवादनका साधनहरु टिभीमा बाहेक प्रत्यक्षरुपमा कहिल्यै नदेखेका यहाँका बालबालिकाहरुपनि बडो उत्सुकताका साथ रेटिरहेका छन्, ठटाइरहेका छन् ।

त्यतिमात्र होइन, सुरुसुरुमा सारङ्गी देखाएर यो के हो भनेर सोध्दा ‘भायोलिन’ भन्ने बच्चाहरु अहिले सारङ्गीनै रेटेको देख्दा अभिभावकहरुसमेत दंग छन् ।

‘हामीले हाम्रा बच्चाहरुलाई मौलिक लोकबाजा, संस्कृति कसरी चिनाउने होला, कसरी सिकाउने होला भन्ने भइरहेको थियो, नेपाली संगीत सिकाउने विषयमा यति राम्रो पहलकदमी हुँदा हामी अभिभावहकरु अत्यन्त खुशी छौं,’ एक अभिभावकले भने ।

गन्धर्वजातिबाट प्रवद्र्धित हुँदै आएको र पछिल्लो समयमा लोकबाजा संरक्षणका लागि नेपालमा समेत केही संरक्षणको प्रयास नभएको सारङ्गीलाई यहाँका बच्चाहरुले राम्रै महत्व दिएर सिक्न खोजेको देख्दा लोकबाजा सिकाउने प्रशिक्षक मित्र गुरुंङ्ग पनि उत्साहित छन् ।

‘नेपाली संगीतलाई उनीहरुले धेरै माया गरेका छन्, नेपाली संगीत सिक्न पाउँदा उनीहरु धेरै उत्साहित छन्,’ उनले भने ।

 



source https://www.onlinekhabar.com/2021/01/926524

Post a Comment

0 Comments