१३ मंसिर, काठमाडौं । २०४४ को वैशाख महिना । काठमाडौं उपत्यकामा वसन्त ऋतुको बहार भए पनि राजनीतिक परिस्थिति बेहाल थियो । पञ्चायत विरोधि गतिविधि रोक्न प्रशासनले जनजीवन कडाइ गरेको थियो । सार्वजनिक गतिविधिमा सेन्सर गरिन्थ्यो । नेपाल राष्ट्र बैंकमा कार्यरत युवा रामप्रसाद पन्तलाई यहीबेला पत्रिका निकाल्ने हुटहुटी चल्यो ।
रामप्रसाद साहित्यमा रुचि राख्थे । तर, आफूले लेखेको कुरा प्रकाशनको अवसर पाउँदैनथे । मधुपर्क, गरिमाजस्ता पत्रिकामा नयाँ लेखक छापिन मुश्किलप्रायः थियो । यसैले उनले छुट्टै साहित्यक मासिक प्रकाशन गर्ने अठोट गरे । अन्ततः नाम जुराए– दायित्व ।
त्यसै दिन पन्तले संकल्प गरे, ‘दात्यिव निर्वाहको पथ आजीवन त्याग्ने छैन ।’ उनको शंकल्प सत्य सावित भयो । अहिले ‘दायित्व’ र रामप्रसाद पर्याय बनिसकेका छन् ।
२०४४ साल वैशाखदेखि दायित्व नियमित प्रकाशन भइरहेको छ । अहिले दायित्व प्रतिष्ठान र सार्वजनिक पुस्तकालय निर्माण भइसकेको छ भने हालसम्म पत्रिकाको १ सय २६ अंक प्रकाशित छ । लकडाउनको संकटमा पनि पन्तले पत्रिका निकालिरहेका छन् ।
****
पाँच दशकदेखि काठमाडौंमा बसे पनि रामप्रसाद पन्त आफ्नो ठेगाना गुल्मी नै लेखाउँछन् । पहाडी सेरोफेरोलाई प्रकृतिको सबैभन्दा सुन्दर दृश्य मान्ने यी साहित्यसेवी भन्छन्, ‘म जहाँ बसे पनि साहित्य सृजना गर्न गुल्मीकै माटोको देन छ ।’
पन्त अहिले सपरिवार चाबहिल गौरीनगरमा बसोबास गर्छन् । उनको जन्म धार्मिकस्थल रिडीबाट दुई कोस (दश किलोमिटर) पश्चिम पर्ने गुल्मीको दार्सिङबास गाउँमा भएको हो ।
ब्राह्मणपुत्र भएकाले सानैदेखि पढ्न पाए । दिवाकर पन्त र हरिकला पन्तका माहिला छोरा पढ्नमा ध्यान लगाए पनि व्यवहारमा भने उग्र चञ्चले थिए ।
संयोग के भने, रामप्रसाद परिवारमा माहिलो सन्तान थिए । उनीमात्र होइन बुबा, हजुरबुबासहित पाँच पुस्ता नै परिवारको माहिला छोरा रहेछन् ।
रामप्रसादको उग्र चञ्चलपन १२ वर्षको हुँदा ‘लघु कौमुदी’ पढेपछि हट्दै गयो । विद्या विनयी हुन्छ भन्ने उनले त्यतिबेलै थाहा पाए । त्यसपछि विद्या आर्जनकै लागि देश देशावर डुलिरहे । १७ वर्षको उमेरमा बनारस गए । त्यहाँ ऋषिकेशमा पाँच वर्ष बसेर बिए उत्तीर्ण गरे । यसपछि गाउँ फर्किए । गाउँका पन्त खलकमध्ये एसएलसी पास गर्ने पहिलो युवा बने ।
सरकारी जागिरको परिबन्द
बनारसबाट फर्केपछि रामप्रसाद केही महिना गाउँमा नै बसिरहेका थिए । एकदिन गाउँका शिक्षित मानिने आफन्तले भनेछन्, ‘गाउँमा केटाकेटी पढाउनुभन्दा त सरकारको पिउन भएकै बेस् !’
उनलाई आफन्तका कुरा मनमा बिझ्यो । काठमाडौं गएर जागिर खाने जोश चल्यो । यसैका लागि २०३३ मा पहिलोपटक काठमाडौं आए । गृह मन्त्रालयको सुब्बा पदमा अस्थायी जागिर खाए । साथमा त्रिभुवन विश्वविद्यालयमा एमए पनि पढ्दै गरे ।
त्यसपछि नेपाल राष्ट्र बैंकमा जागिर सुरु गरे । बैंकमा ८ वर्ष बिताएपछि निजामति सेवामा लोकसेवाबाट २०४४ मा अधिकृत पास गरे । २४ वर्ष सेवा गरेर २०६८ जेठमा अवकाश लिए ।
‘काठमाडौंमा परिवार चलाउन जागिर नै एकमात्र बाटो थियो’ पन्त भन्छन्, ‘गाउँबाट आएको मानिसले जागिर नगरी एकदिन टिक्न सक्ने अवस्था थिएन ।’
बिडम्बना, जागिर नै पन्तका लागि परिबन्द बन्यो । जागिरकै कारण अनेकौं साहित्यिक अवसर गुमाए । खुम्चिएर सोझो र सीधा बाटोमा हिँड्नुपर्यो सधैं ।
२०४६ सालको जनआन्दोलन उत्कर्षमा थियो । त्रिचन्द्र क्याम्पसको सरस्वती सदनमा वाशु शशी, पारिजात, आनन्ददेव भट्टलगायतका साहित्यकार कालो–पट्टी बानेर धर्ना बसेका थिए । पन्त पनि आन्दोलनमा पुगे तर अन्तिम लहरमा चुपचाप बसिरहे । प्रहरी दमन हुन थालेपछि उनी कार्यालयतिर लागे भने पारिजातलगायत कवि–लेखकलाई पञ्चायत प्रहरीले पक्राउ गर्यो ।
आन्दोलनको दिन सम्झँदै उनी भन्छन्, ‘मलाई देखिएर विरोध गर्न आँट नआएकै हो । सरकारी अधिकृतले आन्दोलनमा भाग लिए स्वतः जागिर जान्थ्यो ।’
तर, साहित्यिक चेतका पन्तले ‘दायित्व’ को अंक ११ लाई ‘जनआन्दोलन साहित्य विशेषाङ्क’ बनाए । छातीको अदम्य विद्रोहलाई सृजना बनाई कापीमा उतारे ।
जागिरकै क्रममा पन्त एकचोटि मतदान अधिकृत बनेर सिन्धुली पुगे । २०५४ को मध्यावधि निर्वाचन थियो । माओवादीले सरकार पक्षलाई दुःख दिइरहेको समय थियो । पन्त सदरमुकामबाट तीन दर्जन प्रहरी लिएर गाउँ पुगे । गाउँ पुग्दा उनलाई ठूलो युद्ध जितेजस्तो भयो ।
डरैडरका बीच चुनाव गरे । फर्किने कुरा झनै डरलाग्दो थियो । तर, मतपेटिका हेलिकप्टरले ओसारेपछि उनको मन हलुंगो भयो । यसपछि सरकारी टोली रातारात काठमाडौं फर्कियो । काठमाडौं पुगेपछि उनले यस घटनाबारे निबन्ध लेखे ।
जागिरमा कसैको आँखा नपरोस् भनेर नै पन्तले रक्षा मन्त्रालय रोजे । १२ वर्ष भौतिक योजना र १२ वर्ष रक्षा मन्त्रालयमा बिताए । पन्त भन्छन्, ‘मलाई प्रमोशनको लोभ थिएन भन्दा आज मानिसले पत्याउँदैनन् । तर, मेरा नजिकका मानिसले हजारचोटि सम्झाउँदा पनि म प्रभावशाली सरकारी कार्यालयमा गइनँ ।’
साहित्यको रुचिकै कारण उनले व्यस्त हुने मन्त्रालय जान चाहेनन् । मन्त्रालयको कार्यालयमा अरू घाम तापेर बस्दा पन्त चिसो कोठामै कथा लेखेर बस्थे । सहकर्मी कर्मचारी उनको लेखनकर्मलाई हेय भावले हेर्थे । तर, रामप्रसादलाई सृजना प्राणझैं प्यारो थियो ।
दायित्वको संघर्ष
‘दायित्व ग्रहण गरेर मात्र हुँदो रहेन छ निर्वाह गर्नुपर्ने रहेछ’, रामप्रसादको मनले सधैं यही भन्थ्यो । तर, अवस्था सहज थिएन । ‘दायित्व’ पत्रिका मासिक निकाल्न नसकेर उनले द्वैमासिक बनाए ।
साहित्यिक विशेषाङ्क निकाल्ने महिना उनी रातदिन खट्थे । पन्त सम्झन्छन्, ‘कुनै महिना प्रेसको पैसा तिर्न ढिला हुँदा तलबबाटै काटेर तिरें । कहिले श्रीमतीलाई सम्झाएर उनको पैसा चलाएँ ।’
तर, रामप्रसादले हिम्मत हारेनन् । चिनजानका व्यवसायीलाई विज्ञापन मागे । साहित्यिक पत्रिकामा कसैले विज्ञापन दिन रुचाएनन् । त्यो अवस्था आजसम्म कायम रहेको तीतो अनुभव छ उनीसँग ।
२०४४ वैशामा प्रकाशित दायित्वको पहिलो अंकमै शंकर कोइराला, भारती शर्मा, पारिजातजस्ता नामी लेखकको रचना छापे । पारिजातको चर्चित कविता ‘जुठी दमिनीको अभिव्यक्ति’ यही पहिलो अंकमै छापियो । अनि पत्रिकाको अन्तिम पृष्ठमा विचारात्मक लेख ‘रमण’ उपनामबाट आफैंले लेखे ।
‘त्यतिबेला प्रकाशनको अवसर विरलै पाइन्थ्यो’ पन्त भन्छन्, ‘मैले त्यही संकटभित्र अवसर देखेर छुट्टै साहित्यिक पत्रिका प्रकाशन गरें ।’
दायित्व निकालेर आफ्नोमात्र होइन, साहित्यमा रुचि भएका नयाँ पुस्तालाई एउटा चौतारी बनाइदिए उनले । दोस्रो अंकदेखि उनले अग्रज साहित्यकारको अन्तरवार्ता लिन थाले । बीस वर्षमा पाँच दर्जन स्रष्टाको अन्तरवार्ता लिए । त्यसलाई समेटेर ‘मत–अभिमत’ नामक पुस्तक नै प्रकाशन गरे ।
उनलाई पत्रिका निकालेर मात्र चित्त बुझेन । नयाँ-नयाँ विधाका साहित्यिक पुस्तक प्रकाशन गर्न थाले । आफ्ना सबै पुस्तक दायित्व प्रकाशनबाटै छापे । साथीहरूको पनि मागेर छापे । अहिले दायित्व प्रकाशनबाट १५६ थान पुस्तक प्रकाशित भइसकेको छ ।
आज दायित्व मासिकसँगै दायित्व प्रकाशन, दायित्व वाङ्गम प्रतिष्ठान, दायित्व पुस्तकालय र पुरस्कार कोष स्थापना भइसकेको छ । पुस्तकालय बनाउन उनलाई बागमती प्रदेश सरकारको साथ मिल्यो । अघिल्लो फागुनमा बुढानीलकण्ठमा दायित्व पुस्तकालय खुल्यो ।
उनको योगदानलाई कदर गर्दै २०५५ सालमा ‘प्रेस काउन्सिल पुरस्कार’ दिइएको छ । यसबाहेक जनमत सम्मान, नई भाजप पुरस्कार, सत्यमोहन जोशी शताब्दीसम्मान लगायत दुई दर्जन पुरस्कार पाएका छन् ।
नियात्राका सारथी
पन्तको ‘आफ्नो मान्छे’ नामक कथा २०३९ मिर्मिरेमा छापियो । त्यसपछि उनले उपन्यास लेखे तर प्रकाशन गर्न नसकेर केही वर्ष थन्कियो । पुतलीसडकमा पत्रकार बालमुकुन्ददेव पाण्डेका ‘चारु प्रेस’ थियो । उपन्यास छाप्न त्यहीँ पुगे । पाण्डेकै प्राविधिक सहयोगमा पहिलो उपन्यास ‘बिरानो बस्तीमा’ (२०४४) प्रकाशित भयो ।
त्यसयता उनको पुस्तक प्रकाशन क्रम निरन्तर छ । चार कथासंग्रह, दुई उपन्यास, एक कविता र १८ थान नियात्राकृति पन्तको नाममा प्रकाशित छ । यसबाहेक सम्पादित, संकलित पुस्तकको संख्या तीन दर्जन नाघिसकेको छ । लकडाउनको चार महिनामा दश थान पुस्तकको पाण्डुलिपि तयार पारे । तीमध्ये चारवटा प्रकाशित भइसकेको छ । यसैबाट रामप्रसादको कहिल्यै खाली हात नबस्ने स्वभाव झल्किन्छ ।
कथाबाट साहित्य सुरु गरेका पन्तको सारथी भने नियात्रा बन्यो । पहिलोपटक उनले ‘जापान भ्रमणका केही सम्झना’ (२०५८) प्रकाशन गरे । तर उनको पहिलो विदेश भ्रमण भने मलेसिया थियो । पहिलो भ्रमणदेखि नै उनले नियात्रा लेख्न थाले । अहिलेसम्म पाँच सयभन्दा बढी नियात्रा लेखिसकेका छन् ।
घुम्ने क्रममै एक दर्जन देश पुगेका छन् । नेपालका अधिकांश जिल्ला पुगेका छन् । उमेरले उकालो काटे पनि पहाडका उकालो बाटो छिचोल्न उनको खुट्टा धरमराएको छैन । तीव्र प्रकृतिप्रेमी स्वभावका पन्त भन्छन्, ‘अवकाशपछि लगाम फुत्केको घोडाझैं भएँ । त्यसैले निर्धक्क भएर घुमफिरमा मग्न छु ।’
उनी नियात्रा लेखनलाई समय कटाउने लेखनीमात्र मान्न तयार छैनन् । निबन्धकै ओजमा तत्कालीन समय बोध गराउने नियात्रा उनको रुचि हो ।
अवकाशपछि होलटाइमर साहित्यिक बनेका पन्तलाई लकडाउनले मात्र घरभित्र रोकेको छ । नत्र पछिल्लो दुई दशकदेखि घुमफिर र नियात्रा लेखनमै उनले आफूलाई केन्द्रित गरेका छन् । नियात्रा र निबन्धका लागि उनलाई २०७२ को उत्तम शान्ति पुरस्कार, बीपी कोइराला शताब्दी निबन्ध पुरस्कार दिइएको छ ।
एक्ला यात्री
रविन्द्रनाथ ठाकुरले ‘एकला चलो रे’ भन्ने कविता लेखेका थिए । रामप्रसादको जीवनरेखा त्यही कविताजस्तै बन्यो । उनका कोही घनिष्ट मित्र भएनन् भन्दा हुन्छ । अर्थात्, दिलदार दामली कोही भएनन् ।
नेपाली साहित्यमा देवकोटाको पालादेखि नै अघोषित गुट थियो । कुनै देखिने, कुनै नदेखिने । तर, रामप्रसादको साहित्यमा गुट कहिल्यै जोडिएन । साहित्यको नाममा मद–मदिराको जमघट उनलाई रुचिकर भएन । अम्मल उनको आदत होइन । चुरोट पिउँदैनन्, रक्सी वार्षिक श्राद्ध गरेजस्तै आक्कल–झुकल मात्र पिउँछन् । बरु चिया भने गाउँबाट काठमाडौं आएदेखि बढी नै पिउँछन् । चाबहिल क्षेत्रमै पनि साहित्यिक समूहको रक्सी खाने चर्चित अड्डाहरू प्रशस्त छन् । तर, पन्त त्यहाँ पुग्दैनन् ।
साहित्य लेखनमा आफ्नो सहयोद्धा नभएको सहजै स्वीकार्छन् पन्त । भन्छन्, ‘जेजति जाने आफ्नै ढंगले लेख्दै गएँ । आफ्नै बलबुँताले प्रकाशन गरें । यसैले मेरो प्रतिस्पर्धा आफैंसँग छ ।’
तर, दायित्व प्रकाशनको क्रममा ठाकुर शर्मा, यादव भट्टराई, भागवत ढकाल र लेखप्रसाद निरौलाजस्ता साहित्यिक सहयात्रीको योगदान भुल्दैनन् । मित्रताबारे उनी भन्छन्, ‘दायित्वमा आउने सहयात्रीको विचार साहित्य हुनुपर्यो । हाम्रो वाद नै साहित्यवाद हो ।’
पछिल्ला दशक साहित्यमा देखिएको गुटबन्दीभन्दा निकै पर रहेको बताउँछन् उनी । साहित्यबाट अहिलेसम्म कुनै लाभको नियुक्ति लिएका छैनन् । प्रत्येक चुनावमा भोट दिन्छन् तर खुलेर समर्थन कसैलाई गरेका छैनन् । राजनीतिमाथि उनको रेडिमेड कथन छ, ‘जनपक्षीय काम गर्नेलाई नै मेरो समर्थन रहन्छ । अहिलेको बहुमतको सरकार पनि सुध्रियो भने मेरो समर्थन रहन्छ ।’
राजनीति, समाजसेवा उनको परवाहको विषय होइन । उनले त सम्पूर्ण मन, वचन र कर्म ‘दायित्व’लाई नै दिएका छन् । उनको यो लगनशीलतालाई प्राध्यापक गोपीकृष्ण शर्मा निकै प्रशंसा गर्छन् । शर्मा भन्छन्, ‘साहित्यको गहन दायित्व सम्हाल्ने रामप्रसाद नेपाली साहित्यका अविश्रान्त साधक हुन् ।’
वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे पनि पन्तलाई ऊर्जावान् र जाँगरिला स्रष्टा मान्छन् । रामप्रसाद पनि आफ्ना अग्रज, समकालीन र अनुजहरूको यस्तै आत्मीय प्रशंसामा साहित्यिक कर्म गर्न हौसिरहन्छन् । त्यही उत्साहमा ‘दायित्व’को नयाँ अंकका लागि लेख–रचना मागिरहन्छन् ।
तस्वीर : चन्द्र आले/अनलाइनखबर
source https://www.onlinekhabar.com/2020/11/912030
0 Comments