मार्क्स–एंगेल्सले ‘कम्युनिस्ट घोषणापत्र’मा पुँजीपति र सर्वहाराबारे ब्याख्या गर्ने दौरानमा एउटा शब्द प्रयोग गरेका छन्– लम्पट सर्वहारा । यो समूहबारे थप व्याख्यामा भनिएको छ– यो त्यस्तो समूह हो, जो वर्गीय हिसाबले सर्वहारा नै हो तर व्यवहार र चेतनाको हिसाबले भने सर्वहारा हैन ।
…जर्मन भाषाको ‘लुम्पेन’ शब्दार्थ अनुसार लम्पट सर्वहारा, जसको विचारधारात्मक अक्षमता, नैतिक अस्थिरता र अवसरवादी प्रवृत्तिले गर्दा एउटा निर्णायक तहमा पुगिसकेको मजदुर आन्दोलनमा पुँजीपति वर्गले त्यसलाई हड्ताल तोडुवा, गुन्डागिरी बनाएर मजदुरकै विरुद्धमा प्रयोग गर्दछ । ठीक त्यसरी नै आजको दलाल पुँजीवादले कम्युनिस्टकै सरकारलाई मजदूरको हितविरुद्ध प्रयोग गरिरहेछ भन्ने कुरा नेकपा अध्यक्षद्वयको आरोप–खण्डनपत्रहरुका बुँदा–बुँदाहरुले बताइरहेछ ।
दुःखको कुरा के छ भने, मार्क्सले घोषणापत्रमा ‘लम्पट सर्वहारा’को किटान त गरे तर उनले ‘लम्पट कम्युनिस्ट’को किटान गर्न भने भ्याएनछन् । किनकि, मार्क्सहरुको व्याख्यामा त कम्युनिस्ट भनेको विचारधारा र नैतिकताले युक्त हुन्छ, जहिल्यै श्रमजीवीको हितमा उभिन्छ, दोहोरो र छद्मभेषी चरित्रलाई घृणा गर्छ । त्यो उच्च विचार, चेतना र नैतिकतायुक्त व्यक्ति नै कम्युनिस्ट हुने अभिकल्पना मार्क्सले गरिरहँदा विचार र व्यवहारमा यति ठूलो विरोधाभास बोकेर कम्युनिस्ट आन्दोलनको नाममा डंका पिट्नेहरुबारे त मार्क्सले सोचेकै थिएनन् सायद !
पेइपर प्रवृत्तिको रमिता
करिब एक वर्ष पहिले प्रज्ञा भवनमा हवार्ड जीनले लेखेको नाटकको नेपाली भर्सन ‘मार्क्स फर्किए’ मञ्चन भएको थियो । उक्त नाटकको एक दृश्यमा मार्क्स र जेनीबीचको संवाद यस्तो थियो–
मार्क्स : जेनी, तिमीलाई थाहा छ मलाई के कुराको सबैभन्दा बढी डर लाग्छ ?
जेनी : मजदुरहरूको क्रान्ति कहिल्यै साकार हुने छैन भनेर !
मार्क्स : हैन क्रान्ति त अवश्य नै हुनेछ, तर पेइपर जस्ता मान्छेले त्यसको अपहरण गर्नेछन् । जसले सत्तामा नहुँदा चाप्लुसी गर्नेछन् र सत्तामा हुदाँ टपरटुइयाँ बनेर गुण्डागर्दीमा उत्रनेछन्…।
हो, नेपालमा पनि पटकपटकका आन्दोलन, संघर्ष र क्रान्तिहरु सफल त भए तर ती अधिकांश पेइपर प्रवृत्तिको अपहरणमा पर्यो । ठीक त्यसरी नै, जसरी आज जनताले निकै अपेक्षा र विश्वासका साथ कम्युनिस्टको नाममा दिइएको करिब दुई तिहाइको जनमतलाई मजाक बनाएर एउटा कम्युनिस्ट पार्टीको नेतृत्व र सरकार दिनदहाडै, हाकाहाकी गुण्डागर्दीमा उत्रिए । आन्तरिक कलहलाई उकुच पल्टाएर सत्ता ढाल्ने र जोगाउन तल्लो तहको भद्दा प्रहसन मञ्चन गरिरहेछन् । यो आन्दोलनबाट पेइपर बनेर को को निस्किए, निस्किरहेछन् ? त्यो ओपन सेक्रेट विषय हो । र, आजका दिनमा यो सबको मुख्य जननी र संरक्षक श्री खड्गप्रसाद ओली रहनुभएको छ ।
एक अध्यक्ष पुष्पकमल दहालको १९ पन्ने प्रतिवेदनको जवाफमा अर्का अध्यक्ष खड्गप्रसाद ओलीले ३८ पन्ने जवाफी प्रतिवेदन जारी गरेका छन् । ती प्रतिवेदनहरु एकले अर्कालाई कलुषित गर्ने आरोपपत्रको रुपमा बजार चर्चाको ट्रेन्डिङमा दरिएका छन् ।
आजको नेकपाभित्रको भाले जुधाइले पार्टीका केही अवसरवादी झुण्डहरु, सत्ता बजारका दलालहरुलाई राम्रै तरंगित गरिरहेको छ । तर, आम जनता, विचार र मूल्यको राजनीति गरिरहेका आम कार्यकर्ता भने आन्दोलनको पतनलाई विदीर्ण मनका साथ नियालिरहेका छन् । यो भालेजुधाइ पेइपर प्रवृत्तिहरुबीच ‘लम्पट कम्युनिस्ट’ बन्ने होडको चरम नमुना हो । किनकि, यो भालेजुधाईमा जुध्ने भालेहरुकै टाउको खुइलिने हो, अरुले त रमितामा हेरिदिने मात्रै हो ।
नेकपाका घोर दुःखहरु
जसै गत चुनावमा तत्कालीन एमाले र माओवादीको गठबन्धनले प्रचण्ड बहुमत प्राप्त गर्यो, तब जनअपेक्षा पनि चुलियो नै । किनकि, चुनावी नारा, घोषणापत्र, भाषण, आश्वासन आदि इत्यादि मात्रै हैन, लामो संक्रमणकालीन राजनीतिक परिस्थितिबाट थाङ्थिलो भएको समाज र जनता एउटा स्थिर सत्ता, विकासको योजना र कार्यान्वयन, समाजमा प्रगतिशीलता र अग्रगमन चाहन्थे । तर, जसरी सरकार गठन भयो त्यो मूलतः कम्युनिस्ट पार्टीको सरकार भन्दा पनि नेतृत्वको रुपमा खड्गप्रसाद ओलीको सरकार बन्यो । जसमा ओलीले आफ्ना गुटका चुनिन्दा कारिन्दाहरुलाई मन्त्रिमण्डलमा राखे । जसको दलील के बनाइयो भने– यो वेष्टमिनिस्टर मोडेल हो, प्रधानमन्त्रीले आफ्नो क्याबिनेट आफैंले गठन गर्न पाउनुपर्छ ।
वस्तुतः यो एकीकृत कम्युनिस्ट पार्टीको नाममा भोट मागेर प्राप्त गरिएको बहुमत थियो तर श्री ओलीको लालसातृप्तिका खातिर, वुर्जुवा पार्टीले अपनाउने व्यवस्था र अभ्यासको दुहाई दिइनु नै ठूलो सैद्धान्तिक, वैचारिक विरोधाभास र स्खलनको द्योतक थियो । त्यो मन्त्रीमण्डल मूलतः प्रधानमन्त्रीको रुपमा एकव्यक्ति खड्गप्रसाद ओलीको आदेशपालक मण्डलीमा मात्रै सिमित भइदिनु बडो उदेकलाग्दो बन्यो ।
उता, प्रधानमन्त्रीको रुपमा खड्गप्रसाद ओलीलाई भने नेपालमा रेल गुडाएर, पानीजहाज ल्याएर, अग्ला टावर ठड्याएर इतिहासमा ‘फुच्चे किर्तीमानी’ कायम गर्ने बहुलठ्ठी भोक जागेको थियो । जसले अभाव, रोग र अशिक्षाको चपेटामा पिल्सिएका जनताको भोक शमन गर्ने कुनै गुञ्जायस थिएन । हुनु के थियो ? स्थानीय तहदेखि, प्रदेश र केन्द्रमा समेत त्यो बलियो बहुमतका साथ बनेको कम्युनिस्ट सरकार दिशाहीन डुंगा जस्तै हावाले जता धकेल्छ तेतै हल्लिइरह्यो । स्थानीय तहदेखि केन्द्रसम्मका सरकारहरु कुनै एकीकृत कार्यदिशा, योजना र कार्यक्रम अनुरुप सञ्चालन हुन सकेन । जे–जे परिआउछ त्यही व्यहोर्दै जाने जस्तो मात्रै देखियो । त्यत्रा जनप्रतिनिधिको जत्थालाई न कुनै नियमित विकास योजना, सेवा र पहलका बाटोमा डोर्याइयो, न पार्टी र सरकारबीचको तालमेल नै निर्माण गरियो ।
यो भद्रगोलले सिर्जना गर्ने भनेको समस्या मात्रै थियो, संकट मात्रै थियो । मन्त्रीहरु एकएक गर्दै विभिन्न भ्रष्टाचार, अपचलन र आलोचनामा मुछिइरहे । मन्त्रीमण्डलका मुखियाले भने आफैं न्यायधीश भएर ती प्रश्नहरुको जवाफ दिँदै जग हँसाउने काम पनि गरिरहे । केही विद्वत्त वर्ग अचम्मले जिब्रो टोके, अलिअलि बुझ्नेहरु व्यंग्यवाणमा उत्रिए, आम नागरिक आफ्नो मतको त्यसरी हूर्मत लिइएकामा छक्क परे, कोही बिलखबन्दमा परे भने सत्तादोहनका अंशियारहरु जंगेका भाइमण्डली भइगए अनि तिनीबाट चुहिएर खान पाएकाहरु भने सत्ताको नाङ्गो भजनमण्डली र गुन्डागर्दीमा उत्रिए । कदाचित पार्टीभित्रबाट त्यस्तो प्रवृत्तिको आलोचना भइगए– खान नपाएका, पद नपाएका, सडकछाप, कुण्ठितहरु… इत्यादिको गालीवर्षाले भजनमण्डलीबाट डण्डापानी लगाइए । जयजयकारमा भजन गाउनेहरु, लेख्नेहरु, सरकारको आलोचकलाई तल्लोस्तरको गाली वर्षाउनेहरुलाई त रातारात नियुक्ति र तक्माहरु नै पजनी गरिए । यत्रो कोरोना महामारीका जनआर्तनाद त उल्टो सरकारले लुट्ने अवसरको रुपमा सदुपयोग गरेको तमाम फेरिस्त प्रस्तुत गरिरहन परोइन । बरु अनेकौं बुर्जुवा राज्यहरुले विश्वव्यापी कोरोना महामारीमा जनतालाई धेरथोर नगद वा जिन्सी राहत दिए, उद्यमीहरुलाई प्याकेज ल्याए तर नेपालमा भने कम्युनिस्टको नाममा भोट मागेर बनेको सरकार यहीबेला अनेकौं भ्रष्टाचार, लुट र अनियमितताको दलदलमा उभिएर आम नागरिकलाई गिज्याइरहे ।
यता, पार्टी एकता, जिम्मेवारी पजनी र संगठन सञ्चालनका कामहरु समेत श्री ओलीकै निगाहबक्समा मात्रै सम्भव हुने थियो । अर्का ‘कार्यकारी’ अध्यक्ष श्री पुष्पकमल दाहाल अब ‘१ नम्बर अध्यक्ष’ श्री ओलीको प्रतापले खुइलिएर ‘प्रचण्ड’ नरहिसक्नुभएको थियो । हिजो ‘पार्टी भनेकै प्रचण्ड, प्रचण्ड भनेकै पार्टी’को अभ्यासबाट ‘पार्टी भनेकै ओली–प्रचण्ड, ओली–प्रचण्ड भनेकै पार्टी’को थितीमा ल्याप्चे लागिसकेको थियो । तब, दावी गरिएको ८ लाख सदस्यहरु यसै बेकामे भैगएका थिए । चुनाव जितेकाहरु केन्द्र देखि गाउँसम्मका सिंहदरबारका सिंह भए भने पार्टीका अरु कार्यकर्ता कि त सिंहका आगेका बिलौनाकर्ता नत्र रमिते भैजानु तिनको नियति जो निर्माण गरिएको थियो ।
नेकपाको लम्पटीकरण
आज ओली र इतर समूहको जुहारीमा सुर तान्ने, लय मिलाउने, कोरस गाउनेहरुको बडो कर्कश हल्ला छ बजारमा । आजको यो विद्रुप परिदृश्यको उत्पादनकर्ता, पालकपोषक र मैमत्तकर्ता हामी सबै थियौं/हौं । यहाँ कोही भन्दा कोही कम छैनन् । वस्तुतः यो कम्युनिस्ट आन्दोलनको लम्पटीकरणको भद्धा रुप मात्रै हो । आजको नेकपाको सरकार जनताको, श्रमिकहरुको, गरिब र असहायहरुको जिन्दगीको संकटमोचक हुने हैन बरु बुर्जुवाहरुको, दलालहरुको, पुँजीपतिहरुको, भ्रष्ट नोकरशाहहरुको कारोबार र व्यवसाय व्यवस्थापन गरिदिने प्रबन्ध समितिमा रुपान्तरण भएको छ । यी तमाम परिदृश्यले प्रष्टचित्र के दिन्छ भने आजको नेकपा नेतृत्व र सरकार मण्डल मार्क्सले भनेको त्यो हडताल तोडुवा ‘लम्पट सर्वहारा’ जस्तै मजदुरमारा ‘लम्पट कम्युनिस्ट’ बन्ने बाटोमा तीव्रतम गतिका साथ ओरालो दौडिरहेको छ । किनकि, नैतिकताको उचाइ निर्माण गर्न जति गाह्रो छ अनैतिकताको ओरालो दौडिन उति नै सजिलो पनि हुन्छ ।
मार्क्सले भनेजस्तो वर्गीय हितप्रति सचेत, उच्च मूल्य र नैतिकताले युक्त कम्युनिस्ट त बनिएन नै । तर, कम्युनिस्ट नै हैनन् भन्न पनि मिलेन । किनकि, उद्भव देखि आजसम्मन् कम्युनिस्टको नाममा राजनीति गरिएको छ, कम्युनिस्टको नाममा जेलनेल भोगिएको छ, जंगल चाहारिएको छ, कम्युनिस्टको नाममा बलिदानी र सहादत गराइएको छ, चुनावमा कम्युनिस्ट पार्टी कै नाममा भोट मागिएको छ, जनताले कम्युनिस्ट भनेरै भोट दिएका छन् । त्यसैले आजको नेकपा नेतृत्व र सरकारको मण्डली राजनीतिक हिसाबले त कम्युनिस्ट नै हुन् तर व्यवहार, आचरण र चेतनाको हिसाबले भने कम्युनिस्ट हैनन् । ती मार्क्सको ठीक ‘लम्पट सर्वहारा’ जस्तै ‘लम्पट कम्युनिस्ट’ भैगए ।
आज नेकपाको शक्ति संघर्ष, प्रचण्डले राजनीतिक प्रतिवेदनमा ओलीमाथि उठाएका प्रश्नहरु, प्रचण्डको प्रतिवेदनलाई आरोपपत्रको संज्ञा दिदै ओलीपक्षबाट भएका प्रतिवादहरु, एकअर्कामाथिका आरोप–प्रत्यारोप पत्रका बुँदाहरुले नङ्ग्याइएका चेहराहरु, पर्सामा पार्टी विवादले मुकेश चौरसियाको हत्या, चितवनमा क. सुरेन्द्र पाण्डेमाथिको अभद्र हर्कत आदि इत्यादि माथिको जुहारी र भिडन्तले दूर दूर तक कहीं पनि मार्क्सले भनेका कम्युनिस्टको चेत र आचरण देखिन्न/भेटिन्न ।
त्यसैले आज जे भैरहेको छ, यो एक्कासि आजको वा कुनै घटना विशेषको उत्पादन थिएन । बरु, यो त लामो विगतमा हामीले गरेका अनेकन् कर्म र हर्कतहरुको उपज थियो र यही आजको बदौलतमा भोलिलाई नियाल्ने हो भने यो गतिले भोलीको चित्रपनि बडो विद्रुप बन्ने नै छ । किनकि, आज हामी ‘लम्पट कम्युनिस्ट’ बन्ने चरमोत्कर्षमा छौं । यसले संकट र दुःखहरुको पूनरुत्पादन सिवाय केही उत्पादन गर्नेछैन । र, यो भन्दा बढी लम्पटपना समाज र आन्दोलनले थेग्न पनि सक्नेछैन । त्यसैले, अब ‘लम्पट कम्युनिस्ट’ बन्ने होडबाट मार्क्सले अभिकल्पना गरे झैं विचार र आचरणयुक्त कम्युनिस्ट बन्न बाटो बदलौं कमरेड !
(राई सत्तारुढ नेकपाका कार्यकर्ता हुन् ।)
source https://www.onlinekhabar.com/2020/12/912730
0 Comments