Looking For Anything Specific?

Header Ads

नेपालमा यसकारण चाहिन्छ छुट्टै हवाई सुरक्षा बल

संस्कृति, पर्यटन तथा  नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा बल गठन गर्न सम्बन्धित पक्षसँग समन्वय भइरहेको विषय सार्वजनिक गर्नु भएको छ । यो कार्यान्वयन गर्ने तहमै अगाडि बढेको हो भने ज्यादै सह्रानीय पहल हो ।

विगतमा पनि यस्तो पहल नभएको होइन । तर यसलाई गम्भिर रुपले लिएर अगाडि बढाउन नेतृत्वले जोडबल गर्न नसक्दा मूर्त रूप लिन सकेन । वास्तवमा उच्च प्रविधियुक्त नागरिक उड्डयनको सुरक्षाका लागि अवलम्बन गरिएका सुरक्षा विधिसमेत उच्च प्रविधियुक्त र संवेदनशील हुन्छन् ।

कूशल हातबाट कार्यान्वयन हुन सके उनीहरुको प्रभावकारितामा विश्वस्त हुन सकिन्छ, अन्यथा सुरक्षा विधिकै कारण प्रतिकूल  असर पर्न सक्ने खतरा रहन्छ ।

हवाई सुरक्षा प्रक्रिया कार्यान्वयनमा प्रयोग गरिने यन्त्र उपकरण ज्यादै उच्चप्रविधियुक्त हुन्छन । जसको सन्च्चालनमा नियमित रूपमा तालिम प्राप्त पेशागत रूपमा दक्ष जनशक्ति चाहिन्छ ।

पेशागत रूपमा दक्ष जनशक्तिको सुनिश्चितताका लागि पनि विशिष्टिकृत सुरक्षा बल आवश्यक हुन्छ । नेपालमा यसको गठन गर्न ढिलो भएको छ । अब पनि ढिलाइ गर्नु हुँदैन ।

९/११ का रुपमा परिचित सन् २००१ को  ११ सेप्टेम्बर का दिन सारा विश्वलाई स्तब्ध पार्ने गरि संयुक्त राज्य अमेरिकामा त्यहाँको नागरिक उड्डयनविरूद्ध भएको अकल्पनीय आक्रमणपश्चात् त्यहाको हवाइ सुरक्षाको जिम्मेवारी फेडेरल एभिएशन एडमिनिष्टे्रसन (एफएए)बाट ट्रान्सपोर्ट सेक्यूरिटी एडमिनिष्ट्रेसन -टीएसए)लाई दिइयो ।

२४ डिसेम्बर १९९९ मा इन्डियन एयरलाइन्सको बिमान अपहरण घटनापश्चात त्यहाँको सरकारले सिभिल पुलिसले गर्दै आएको विमानस्थल सुरक्षाको जिम्मेवारी केन्द्रीय औद्योगिक सुरक्षा बलभित्र छुट्टै विमानस्थल सुरक्षा  समूह स्थापना गरि उसैलाई सुम्पियो ।

पाकिस्तानमा छुट्टै विमानस्थल सुरक्षा  बलले विमानस्थल सुरक्षाको जिम्मेवारी वहन गरेको छ । यस्ता उदाहरण अन्य धेरै मुलुकमा धेरै पाइन्छ । नेपालमा पनि विगतमा नागरिक उड्डयनको सुरक्षा विरूद्ध  ठूल्ठूला घटना नभएका होइनन् ।

त्यसकारण अब  पेशागत रूपमा दक्ष जनशक्ति सहितको विशिस्टीकृत विमानस्थल सुरक्षा बल गठन गर्नु अपरिहार्य भएको हो ।

नागरिक उड्डयनको स्वरूप अन्तर्राष्ट्रिय प्रकृतिको रहेको छ । विश्वको कुनै पनि कुनामा रहेपनि विमानस्थलको सुरक्षामा संसारको आँखा परिरहेको हुन्छ । मानिसको ज्यान र सम्पत्तिको  सुरक्षाको प्रत्याभूतिका साथै मुलुकको प्रतिष्ठामासमेत हवाई सुरक्षा गासिएको हुन्छ ।

नेपालका विमानस्थलहरूमा २०३० सालदेखि  हवाई सुरक्षा प्रक्रियाहरूको कार्यान्वयन  प्रारम्भ भएको हो । ४७ वर्ष लामो इतिहास बोकेको हवाई सुरक्षाका आधार स्तम्भ स्थापित भए पनि हवाई सुरक्षाविरूद्धका  विश्वव्यापी, क्षेत्रिय तथा उपक्षेत्रीय जोखिमलाई मध्यनजर गरी यसमा समयानुकुल मूलभूत सुधार हुन सकेको छैन । अब पनि सचेत नहुने हो भने भविष्यमा झन ठूला जोखिम निम्नत सक्ने सम्भावना रहन्छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको भूमिका

सन् १९४४ मा अमेरिकाको सिकागोमा ५२ राष्ट्र भेला भई हवाई उड्डयन सुरक्षा, हवाई सुरक्षालगायत हवाई यातायातका विविध पक्षको सबलीकरणको सुनिश्चितता गरि हवाई यातायातको विकास तथा प्रवर्धन गर्न सिकागो महासन्धि र त्यसको कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन -आइकाओ)को स्थापना  गरियो ।

यस संगठनमा हाल १९३ सदस्य राष्ट्र छन् । नेपालले सन १९६० अर्थात २०१७ सालमा सिकागो महासन्धिलाई अनुमोदन गर्यो । त्यसपछि नेपाल पनि आइकाओको सदस्य राष्ट्र बन्यो ।

आईकाओलाई आˆना सदस्य राष्ट्रलाई मद्दत गर्ने उद्देश्यले संयुक्त रास्ट्रसंघको विशेषज्ञ निकायको रूपमा मान्यता प्राप्त रहेको छ । आइकाओले हवाई सुरक्षासम्बन्धि अन्तर्राष्ट्रिय महासन्धिहरू जस्तै टोकियो महासन्धि १९६३, हेग महासन्धि १९७०, मन्ट्रीयल महासन्धि १९७१, मेक्स महासन्धि, बिजिङ महासन्धिलगायत महासन्धि तथा विभिन्न प्रोटोकलको निर्माण गर्नुका साथै सिकागो महासन्धिले परिकल्पना गरेको लक्ष्य प्राप्तिका लागि पूरक डकुमेन्टको रूपमा विभिन्न एनेक्सहरूको  निर्माण  गरी त्यसको कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूमा वितरण गर्दै आएको छ ।

यी एनेक्सहरूमध्ये  हवाई सुरक्षा  सम्बन्धि  प्रक्रियाहरू एनेक्स १७ मा समावेश गरिएका छन् । आइकाओका सम्पूर्ण गतिविधिको यहाँ चर्चा गर्नुको मतलव छुट्टै विमानस्थल सुरक्षा बल गठन गर्नेबारे नेपालमा अहिले चर्चामा रहेको विषयअन्तर्गत यी दस्तावेज महत्वपूर्ण सहयोगी सामग्री बन्न सक्छन् भन्नु हो ।

आईकाओले विभिन्न माध्यमद्वारा यसका सदस्य राष्ट्रलाई हवाई सुरक्षा सवलिकरणमा सहयोग गरिरहेकोे हुन्छ । नियमित तालिम  प्रदान गर्नु, हवाई सुरक्षा अडिट सञ्चालन गरी कमीकमजोरीमा सुधार गर्न सिफारिस गर्नुलगायत अल्पकालीन तथा दीर्घकालीन योजना सञ्चालनमा समेत मद्दत गर्छ । यसका लागि सदस्य राष्ट्रले पर्याप्त गृहकार्य सहित विश्वसनीय प्रस्ताव पेश गरि आइकाओलाई आस्वस्त पार्न सक्नुपर्छ ।

सम्भावित  विधि 

पेशागत रूपमा दक्ष जनशक्ति सहितको छुट्टै विमानस्थल सुरक्षा बलको स्वरूप कस्तो हुने हो, हवाई सुरक्षाको छुट्टै  निकाय स्थापना गर्ने वा विद्यमान सुरक्षा निकाय अन्तर्गत छुट्टै बल स्थापना गर्ने विषयमा निम्न विकल्प हुन सक्छन् ।

  • तत्कालै नेपाल प्रहरी भित्र छुट्टै हवाई सुरक्षा बल गठन गर्ने
  • सशस्त्र प्रहरीको स्थापना गर्दाको उद्देश्यमा महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा पनि रहेको हुँदा यसैभित्र पनि छुट्टै हवाई सुरक्षा वल गठन गर्न पनि उपयुक्त हुन सक्छ ।
  • हवाई सुरक्षाको छुट्टै निकाय गठन गर्ने ।

उपयुक्त विकल्पमध्ये (ख) वा (ग) को रोजाइ भएमा तिनको तयारी तथा  कार्यान्वयनमा  समय लाग्ने हुँदा तत्कालै गर्न सकिने (क) को कार्यान्वयन  गर्न उपयूक्त हुनेछ ।

तर बिर्सन नहुने एउटा कुरा के भने, जुनसुकै सुरक्षा निकायबाट विमानस्थल सुरक्षा प्रक्रियाहरूको कार्यान्वयन भए पनि सिभिल प्रहरीको उपस्थिति भने विमानस्थलमा रहनुपर्छ ।

गैह्रसैनिक हवाई उडान ऐन २०१५ मा यो विषयको आभास पाइन्छ । विमानस्थल क्षेत्रमा हुने सम्भावित अपराधिक कार्यमा संलग्नलाई हिरासतमा लिई कानूनी कारवाही चलाउने कार्य सिभिल प्रहरीबाट हुने भएकाले विमानस्थलमा प्रहरीको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।

(ढकाल नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व निर्देशक हुन् । उनी अहिले आइआकोको हवाई सुरक्षा प्रशिक्षकका रुपमा कार्यरत छन् )



source https://www.onlinekhabar.com/2020/11/911840

Post a Comment

0 Comments