Looking For Anything Specific?

Header Ads

मनोहरा किनारमा यसरी मनाइयो ऋषिपञ्चमी

७ भदौ, काठमाडौं । हरितालिका तीजको अन्तिम दिन आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै छ ।

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीमा अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने चलन छ ।

सप्तऋषिको पूजा गरेमा रजस्वलाका समयमा छाईछुई लगायत कुनै त्रुटी भएको भए त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

यही विश्वासका साथ महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया वा पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला–पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण मन्दिरमा गएर पूजा गर्न रोक लगाइएको छ ।

घरमै स्नान गर्न पूजापाठ गर्न सरकारले सबैलाई अनुरोध गरेको छ । तर आज बिहानै केही महिलाहरु कागेश्वरी मनोहरा खोला किनारमा स्नान र पूजा गर्न भेला भएका थिए ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर



source https://www.onlinekhabar.com/2020/08/891468

Post a Comment

0 Comments