कोरोना भाइरस अनियन्त्रित फैलिएसँगै गर्भवती एवं सुत्केरीहरु बढी जोखिममा परेका छन् । गर्भावस्थामा नियमित अस्पताल धाउनुपर्ने, स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । त्यसैगरी प्रसुती गराउनका लागि अस्पताल पुग्नैपर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरुमा कोरोना भाइरसको संक्रमण हुने त होइन भन्ने आशंका रहन्छ नै । त्यसमाथि पटक पटक गरिएको लकडाउन एवं निषेधाज्ञाका कारण पनि उनीहरुको स्थिति अरु कष्टकर बनेको छ ।
पछिल्लो तथ्यांकहरुले देखाउँछ, गर्भवतीहरुले समयमै उपचार नपाउँदा ज्यान गुमाइरहेका छन् । पहिलो पटक भएको लकडाउनमा ३० जना भन्दा बढी गर्भवती र सुत्केरीको ज्यान गएको पाइन्छ । पछिल्लो समय पनि यो क्रम जारी छ । त्यसैले गर्भवतीहरुले अहिले अरु सचेत हुनुपर्ने अवस्था छ ।
तर, गर्भावस्थामा चिन्ता वा तनाव लिनु अरु बढी हानिकारक हुन्छ । त्यसैले चिन्ता लिने भन्दा पनि आवश्यक तयारी गर्ने, सर्तक रहने गर्नु उचित हुन्छ । वैश्विक महामारीको यो घडीमा आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफुलाई मानसिक र शारीरिक रुपमा तन्दुरुस्त राख्न जरुरी छ । र, यसका लागि उनका श्रीमान वा परिवारको दायित्व अरु बढी हुनेछ ।
यतिबेला अस्पताल धाउने अनुकुलता नहुँदा चिकित्सकको सम्पर्कमा भने रहनुपर्छ । चिकित्सकसँग मोबाइल वा अन्य माध्यामबाट सम्पर्क गर्न सकिन्छ । आफ्नो स्थिति र जटिलताबारे परामर्श लिन सकिन्छ । यसमा श्रीमान र परिवारका सदस्यहरुले आवश्यक सहयोग गर्नुपर्नेछ ।
प्रसुती गराउनुपर्ने भए पायक पर्ने अस्पताल कहाँ लाने, कसलाई सम्पर्क गर्ने, कसरी गाडीको व्यवस्था गर्ने ? पूर्व तयारी आवश्यक छ । अस्पताल, एम्बुलेन्स, चिकित्सक आदिको सम्पर्क नम्बर राख्नु उचित हुनसक्छ ।
त्यसो त कोरोनाको कारण मात्र होइन, अन्य अवस्थामा पनि गर्भावस्था एक संवेदिनशिल क्षण भएकाले उनीहरुको शारीरिक र मानसिक स्वास्थ्यका लागि परिवारले उचित ख्याल राख्नुपर्छ । हुन त गर्भ रहनु, बच्चा जन्माउनु एक प्राकृतिक प्रक्रिया भएकाले यस अवस्थामा हुने परिवर्तनहरु स्वभाविक मान्नुपर्छ । किनभने जसै गर्भ रहन्छ, शारीरिक परिवर्तन सुरु हुन्छ । यस्तो अवस्थामा मानसिक परिवर्तन पनि आउन सक्छ । तर, मनलाई स्थिर र शान्त राख्ने प्रयास गर्नुपर्छ ।
गर्भावस्थालाई एक स्वभाविक परिवर्तनको स्थिति सम्झेर चिन्ता लिन आवश्यक छैन । यद्यपि आफ्नो शरीरमा हुने परिवर्तनलाई ध्यान राख्नु चाहि जरुरी हुन्छ । किनभने कुनै समस्या कसैलाई सामान्य हुन सक्छ र सोहि समस्या कसैलाई जोखिमपुर्ण तथा अस्पतालमा भर्ना भएर उपचार गराउनु पर्ने हुन सक्छ ।
अत्याधिक वान्ता भएमा के गर्ने ?
अधिकाशं गर्भवतीलाई पहिलो तीन महिनामा वान्ताले सताउन सक्छ तर वान्ता कै कारण कति गर्भवतीहरुलाई पटक पटक अस्पतालमा भर्ना गर्नु पर्छ । वान्ता धेरै हुने र वान्ता रोक्ने औषधि खाएर पनि वान्ता नरोकिएको अवस्थालाई हाइपरईमेसिस् ग्राभिडम् भनिन्छ । यस्तो स्थिति प्राय पहिलो पटकको गर्भमा बढि भएको पाईन्छ । गर्भमा एक भन्दा बढी शिशु रहेमा तथा अव्यवस्थित गर्भ रहेको अवस्थामा पनि बढि हुने गरेको देखिन्छ ।
यो समस्या वंशाणुगत पनि हुनसक्छ । गर्भावस्थामा एचसीजी हार्मोनको मात्रा बढ्ने हुन्छ र यस हर्मोनको बढेको मात्राले शरिरमा गरेका परिवर्तनहरुले धेरै वान्ता हुने गर्छन । सबै अवस्थामा एच.सि.जि. हर्मोन अत्याधिक बढि हुनुका कारण पता लगाउन सकिदैन ।
यस बाहेक भिटामिन वी वा प्राटिनको कमी हुनु तथा मानसिक समस्याहरुले हाइपरईमेसिस् ग्राभिडम् गराउन सक्छन । तर गर्भावस्थामा पनि अन्य रोग जस्तै पिसाबको संझमण, पेटको अल्सर एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजको संक्रमण आदिले धेरै वान्ता गराउन सक्छ । यस अवस्थामा अत्याधिक वान्ता भएकै कारण शरिरको धेरै पानी तथा लवण खेर गएको हुन्छ । त्यसैले यस अवस्थामा विरामीलाई अस्पताल भर्ना गरेर नशाबाट औषधी तथा तत्व र पानी दिनुपर्ने हुन्छ ।
उच्च रक्तचाप भए के गर्ने ?
गर्भावस्थामा हुने अर्को प्रमुख समस्या उच्च रक्तचाप हो । अन्य रोगको कारण पनि उच्च कारण पनि उच्च रक्तचाप भएको हुन सक्छ वा उच्च रक्तचाप पहिलोपटक गर्भावस्थमा देखिन सक्छ । २० साताको गर्भवती वा शिशु पाएको २४ घण्टा भित्र लगातार रक्तचाप १४०÷९० हुनु वा कम्तीमा ४ घण्टाको परक पारेर दुई पटक रक्तचाप नाप्दा १४०-९० हुनु (पहिलो रक्तचाप समान्य रहेको अवस्थामा) लाई गर्भावस्थाको रक्तचाप वा गेस्टेसलन हाइपर टेन्सन भनिन्छ । यस्तो अवस्थामा गर्भस्थ शिशु तथा आमाको मृत्यू हुने संभावना त कम हुन्छ तर अर्को पटक गर्भवती हुँदा रक्तचाप बढी हुने तथा अन्य समस्या देखापर्न सक्छ ।
उच्च रक्तचापसंगै पिसावमा प्राटिन देखनुले ठुलो समस्या ल्याउन सक्छ । यसवाट आमा बेहोस हुने रक्तचाप बढ्ने अचेत हुने संक्रमित हुने तथा आमाको मुत्यू समेत हुन सक्ने हुन्छ । त्यस्तो शिशु कम तौलको हुनु महिना नपुग्दै तथा गर्भमै बच्चाको मृत्यू समेत हुन सक्छ । त्यस्तै शिशु कम तौलको हुनु, महिना नपुग्दै तथा गर्भमै बच्चाको मृत्यू समेत हुन सक्छ । पहिलो पटक गर्भवती भएकी महिला तथा सालनालको गडबढीमा बढी देखा पर्ने गरेको यस्तो समस्यालाई प्रि इक्नाप्पसिया भनिन्छ ।
शरीरका सम्पुर्ण रक्तनली, बिषेशगरी पाठेघर मृगौला र मस्तिष्कमा रक्तनलीहरु आवश्यक भन्दा बढी संकुचित भएका कारण उच्च रक्तचाप तथा तथा प्रि इक्लाम्पसिया हुन्छ । प्रि इक्लाप्पसियामा भएका गर्भवतीलाई भएका गर्भवतीलाई एक पटक मात्र पनि अचेत हुनु वा वेहोस हुने अवस्थालाई इक्लाम्पसिया भनिन्छ । एक पटक इक्लाम्पसिया भएकी एक पटक इक्लाम्पसिया भएकी गर्भवती महिला तथा गर्भमा रहेको शिशुको खतरा बढेर जान्छ । नेपाल डेमाग्राभी एण्ड हेल्थ सर्भे २०१६ का गर्भास्थामा उच्च रक्तचाप र यसका जटिल्ताको कारणले २१ प्रतिसत मातृमृत्यु हुने गरेको छ, जुन अन्य सबै कारण भन्दा बढि हो ।
पिसाबको संक्रमण भए के गर्ने ?
गर्भावस्थामा पिसाबको संक्रमणले पनि उत्ति नै दुःख दिई रहेको हुन्छ । महिलाहरुमा पिसाबको संक्रमण हुने सम्भावना बढि हुन्छ त्यसमा अझ यस अवस्थामा पिसाबको स्टासिस् अर्थात पिसाबथैलीमा बढि समय पिसाब जम्ने भएकोले संक्रमण हुने सम्भावना अझै बढि रहेको हुन्छ । पिसाबको संक्रमण भएको अवस्थामा पेट दुख्ने, पिसाब छिनछिनमा जाने हुन्छ । कसै कसैलाई ज्वरो आउने पनि हुन सक्छ । पिसाबको संक्रमणलाई जति सक्दो चाडो पत्तालगाएर उपचार गर्नु आवश्यक हुन्छ । तर गर्भावस्थामा प्रयोग गरिने औषधि गर्भलाई असर नगर्ने हुनु पर्छ ।
गर्भावस्थाको अर्को जोखिम
गर्भावस्थामा अर्को ठुलो जोखिम हो ‘ईक्टोपिक प्रेग्नेन्सी’ । गर्भ रहनु भनेको पुरुषको शुक्रकिट र महिलाको अण्डको उर्वरिकरण (फर्टिलाईजेसन) हुनु हो र यो महिलाको अण्डवाहिनी नलीमा हुन्छ । फर्टिलाईजेसन पछि बनेको जाईगोट (गर्भ) पाठेघरमा टासिन्छ (ईन्प्लान्ट हुन्छ) र पाठेघरमा भु्रणको रुपमा विकाश हुन्छ । तर जाइगोट पाठेघरमा नटासिएर अन्य कुनै भागमा (बिशेषतः अण्डवाहिनी नलीमा) टासिनु (ईन्प्लान्ट हुनु) लाई ईक्टोपिक प्रिग्नेन्सी भनिन्छ । समान्यतयः यस किसिमको समस्या १ प्रतिसत गर्भमा देखिन सक्छ र यो गम्भिर समस्या हो । पछिल्लो समयमा ईक्टोपिक प्रेग्नेन्सी बढेको देखिन्छ ।
जोसुवा एच बारसर उनका समुहले २०१४ को जुलाईमा प्रकाशन गरेको एक अध्ययनले अमेरिकामा १–२ प्रतिसत गर्भ ईक्टोपिक हुने गरेको र यसैको कारणले ९ प्रतिसत गर्भवतीहरुको मृत्यु हुने गरेको देखाएको छ ।
अहिलेको अवस्थामा पनि ईक्टोपिक प्रिग्नेन्सी हुनुका कारणहरु सजिलै पत्तालगाउन सकिदैन । अधिकांश अवस्थाहरुमा कारण पत्तालग्दैनन् । अण्डवाहिनी नलीमा संक्रमण हुनु तथा यसको चाल कम हुनु ईक्टोपिक प्रेग्नेन्सीका कारण हुन सक्छ । पछिल्लो समयमा पिआईडी अर्थात अण्डासय, अण्डवाहिनी नली र पाठेघरको संक्रमण हुने क्रम बढ्दो छ । पिआईडी बढे संगै ईक्टोपिक प्रेग्नेन्सी पनि बढ्दै गएको देखिएको छ, त्यसैले पनि पिआईडी यसको प्रमुख कारण हो भन्दा फरक नपर्ला ।
महिलाको उमेर बढि हुनु, वाझोपनका उपचार गरेर रहेको गर्भ, धुम्रपानको सेवन, धेरै पटक गर्भपतन गराएको तथा पहिले पनि ईक्टोपिक भईसकेका महिलाहरुमा ईक्टोपिक प्रेग्नेन्सी बढि हुने गरेको देखिए तापनि यसै कारणले मात्र यो हुन्छ भन्न सकिन्न । कुनै समस्या नरहेको महिलाहरुमा पनि ईक्टोपिक प्रेग्नेन्सी हुन सक्छ, त्यसैले गर्भ रहेको ६ देखि ८ हप्तामा परिक्षण गर्नु तथा अल्ट्रासाउण्ड (भिडियो एक्स रे) गर्नु बुद्धिमानी हुन्छ ।
ईक्टोपिक प्रिग्नेन्सी हुने बित्तिकै शल्यक्रिया गर्नुपर्ने हुन्छ भन्ने छैन । तर ‘ईक्टोपिक रप्चर’ अर्थात त्यस्तो गर्भ फुटेर आए पछि शल्यक्रियाको बिकल्प हुदैन र समयमा शल्यक्रिया गरेर फुटेको ठाउबाट हुने रक्तश्राव रोक्न नसके गर्भवतीको मृत्यु निश्चित हुन्छ । तर यसरी ईक्टोपिक रप्चर भई सके पछि फुटेको ठाउलाई नबाधे सम्म रगत खेर गईरहने हुन्छ ।
यसरी खेर गएको रगत पेट भित्र जम्मा हुन सक्ने वा योनीमार्गबाट बाहिर आउने हुन सक्छ । यस अवस्थामा तुरुन्त रगत दिन नसके र शल्यक्रिया गर्न नसके महिलालाई बचाउन सकिदैन । तर ईक्टोपिक प्रिग्नेन्सी फुट्नु भन्दा अगाडि नै पत्ता लगाउन सकिएको अवस्थाहरुमा औषधिले पनि उपचार सम्भव हुन सक्छ । यस अवस्थामा बिमारीलाई भर्ना गरेर, आवश्यक परिक्षणहरु गरेर गर्भ नष्ट हुने औषधि प्रयोग गरिन्छ । तर यस अवस्थामा ज्यादै न्युन संख्यामा बिमारी आउने गरेको पाईन्छ । अधिकांश अवस्थामा ईक्टोपिक फुटेर गम्भीर अवस्थामा मात्र अस्पताल आउने गरेको पाईन्छ ।
ईक्टोपिक प्रिग्नेन्सी फुटे पछि पेट भित्र नै पनि रगत जम्मा हुन सक्ने भएकाले योनीमार्गबाट धेरै रगत बगेको नहुन सक्छ । यस अवस्थामा अत्याधिक पेट दुख्नु, पेट फुलेको देखिनु, बिमारी पहेलो हुदै जानु तथा बिमारी सिकिस्त हुदै जानु थप लक्षणहरु हुन । ईक्टोपिक प्रिग्नेन्सीमा गर्भलाई कहिले जोगाउन सकिदैन तर समयमा उपचार गरे गर्भवतीलाई जोगाउन पनि सकिन्छ र फेरी गर्भ राख्न सक्ने पनि हुन सक्छ । त्यसैले ईक्टोपिक प्रिग्नेन्सी भयो भन्दैमा आत्तिहाल्नु हुदैन । बरु हरेक गर्भ ईक्टोपिक हुन सक्छ र सम्भव भए सम्म सावधानी अपनाउनु पर्छ । गर्भको योजना बनाउनु अगाडि नै चिकित्सकसंग परामर्श (प्रिकन्सेप्सनल काउन्सेलिङ्ग) गर्नु, पिआईडीको उपचार गर्नु, धुम्रपान नगर्नु जस्ता चलाखीले ईक्टोपिक प्रिग्नेन्सी हुनबाट केहि हद सम्म बचाउन सक्छ भने गर्भ रहेको थाहा पाउने बित्तिकै देखि नियमित परिक्षणहरु गर्नु तथा ६ देखि ८ हप्ता भित्र अल्ट्रासाउण्ड (भिडियो एक्स रे) गर्नाले ईक्टोपिक प्रिग्नेन्सीको जटिल्ताहरुबाट बचाउन सक्छ ।
जोखिमहरुबाट जोगाउन के गर्नु ?
हतारमा गर्भवती हुने अनि आपत्तमा आत्तिने गर्नु हुदैन । गर्भको योजना बनाएर मात्र गर्भ राख्नुपर्छ । २० बर्ष नपुग्दै तथा ३५ बर्ष पार गरि सके पछि गर्भ राख्दा जोखिम बढ्ने सम्भनवना हुन्छ । त्यस्तै जन्मान्तर कम गर्नु र धेरै सन्तान पाउनु पनि राम्रो होईन । गर्भको योजना बनाउनु पर्छ र कम्तिमा ३ महिना अगाडि देखि शारिरिक, मानसिक रुपमा तयार भएर फोलिक एसिड औषधि शुरु गर्नु पर्छ । गर्भवतीले मानसिक तनाव लिने, धेरै धपेडि वा दौडधुप गर्ने जस्ता गतिविधीमा कमी गर्नुपर्छ । नियमति गर्भको परिक्षण र चिकित्सकको परामर्शले यस्ता जोखिमहरुमा कमी ल्याउन सकिन्छ ।
लेखक मोरङ सहकारी अस्पताल, विराटनगरका स्त्री रोग तथा प्रसूती विशेषज्ञ हुन्
source https://www.onlinekhabar.com/2020/08/892647
0 Comments