Looking For Anything Specific?

Header Ads

सरकारको प्राथमिकता : मन्दिर, भ्युटावर वा पुस्तकालय ?

अघिल्लो महिना प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै ठोस प्रमाणविना नै त्रेतायुगकालीन रामचन्द्रको जन्मभूमि भारत नभई चितवनको माडीमा भएको ठोकुवा गरे । साथै सम्बन्धित निकायलाई उक्त स्थानमा भव्य राम मन्दिर निर्माण गर्न निर्देशनसमेत दिए ।

रामको जन्मभूमि अहिले नेपालको सर्वाधिक महत्त्व र चर्चाको विषय भएको छ ।  जब कि रामचन्द्र ‘मिथक पात्र’ हुन् वा इतिहासमा उनको वास्तविक अस्तित्व पनि थियो भन्ने विषय नै अस्पष्ट र विवादित छ ।

फेरि यता भारतीय विदेशमन्त्री एस जयशङ्करले बुद्ध महान् भारतीय हुन् भनेर वक्तव्य दिए । यसअघि पनि भारतले पटक–पटक बुद्ध जन्मभूमिको गौरव लिन नचाहेको भने होइन । पहिलाझैं यसपटक पनि परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरी उक्त भनाइको औपचारिक खण्डन गर्यो । अधिकांश नेपालीहरू स्वाभिमानसँग जोडिएको विषय रहेकाले आक्रोशित भएका छन् ।

राजकुमार सिद्धार्थ गौतम २५ सय वर्षअघि नेपालको कपिलवस्तुमा जन्मिएका हुन् भन्नेमा दुईमत छैन । तर त्यतिबेला नेपालको अहिलेझैँ सग्लो र एकीकृत अस्तित्व थिएन । त्यसैगरी आधुनिक एकीकृत भारत निर्माण भएको त झन् सय वर्ष पनि भएको छैन । त्यतिबेला यो सम्पूर्ण भू–भाग एउटा विशाल भारतवर्ष थियो । नेपाल र भारत दुवै भारतवर्षका हिस्सा थिए । बुद्ध अहिलेको नेपालमा पर्ने भूगोलमा जन्मिए । भारतको मगध प्रदेशमा बुद्धत्व प्राप्त गरे र आफ्नो जीवनको महत्त्वपूर्ण समय भारतमा नै बिताए । तसर्थ, भारतले पनि बुद्धको भूमिको गौरव चाहन्छ भने पंक्तिकारलाई त्यो स्वभाविक नै लाग्दछ ।

आफ्नै कुरा

म किताब पढ्न रूचाउने स्वभावको छु । विभिन्न विधाका फरक–फरक किताब किनेरमात्र पढ्न सम्भव नहुने हुँदा म पुस्तकालय जानैपर्ने हुन्छ । यसक्रममा काठमाडौंका अधिकांश पुस्तकालय चाहरिसकेको छु ।

काठमाडौंका अधिकांश सार्वजनिक पुस्तकालयमा छिर्दा सबैतिर एउटै दृश्यको पुनरावृत्ति छ । जीर्ण र पुरानो भवन, साँघुरो संरचना, अव्यवस्थित तरिकाले राखिएका धुलाम्मे पुस्तकहरू त्यहाँको विशेषता नै भइसक्यो । खोजेको किताब नभेटिने समस्या अनि पढ्ने वातावरणको अभाव । यस्तो उराठलाग्दो अवस्था भए पनि पाठकहरू भने पुस्तकालय पुगिरहेका हुन्छन् । तर पुस्तकालयका पुराना टेबुल–कुर्सी स्वतन्त्र अध्येताले भन्दा लोक सेवा आयोग र मेडिकल परीक्षा तयारी गर्ने विद्यार्थीले ओगटेर बसेको पाइन्छ ।

नेपालको राजधानी भए पनि यहाँका लगभग सबै सार्वजनिक पुस्तकालयको अवस्था दयनीय छ । कतिपय त मृतप्रायः नै भइसके । भूकम्पपछि पूर्णतः ध्वस्त भएको राष्ट्रिय पुस्तकालयका किताब बोरामा कोचेर महेन्द्र माध्यमिक विद्यालय र शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीमा राखिएका छन् । यस पुस्तकालयको सुविधासम्पन्न नयाँ भवन बन्ने भनिए पनि त्यसको काम धेरै अगाडि बढ्न सकेको छैन । कान्तिपथको केशर पुस्तकालय अस्थायी रूपमा शुरु भए पनि यसको अवस्था झन् भद्रगोल नै छ ।

कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालयमा कम संख्यामा किताब छ । मदन पुरस्कार पुस्तकालय र त्रि.वि. केन्द्रीय पुस्तकालय केही हदसम्म सुध्रिएका भएपनि पढ्ने वातावरणको भने यहाँ पनि अभाव नै छ । अन्य केही पुस्तकालय पनि निकै साना छन् जहाँ खोजेको किताब प्रायः भेटिँदैन । सार्वजनिक तथा सामुदायिक पुस्तकालय अनुदान कार्यविधि २०७६ अनुसार नेपालमा ‘क’ वर्गको पुस्तकालय हुनका लागि जम्मा १० हजार पुस्तक भए पुग्दछ जुन विश्वको तुलनामा अत्यन्तै न्युन हो ।

यसरी राजधानीमा पुस्तकायलको अवस्था यति दयनीय छ भने काठमाडौं केन्द्रित संरचना भएको देशको ग्रामीण क्षेत्रमा व्यवस्थित पुस्तकालय हुन्छन् भन्नु कल्पना बाहिरको कुरा हो ।

विश्वमा सबैभन्दा बढी सार्वजनिक पुस्तकालय भएको देश चीन हो । यहाँ साना-ठूला गरी झण्डै एकाउन्न हजार सार्वजनिक पुस्तकालय छन् । त्यसैगरी रसिया, अमेरिका, फिनल्याण्ड र जापानजस्ता देशमा पनि उल्लेखनीय सङ्ख्यामा सार्वजनिक पुस्तकालयहरू छन् । यी देशहरूमा पुस्तकालय जाने पाठकको सङ्ख्या पनि ठूलो रहेको तथ्यांक छ ।

अल्वर्ट आइन्टाइन भन्ने गर्थे–‘जीवनमा थाहा पाउनु पर्ने एउटै कुरा पुस्तकालय कहाँ छ भन्ने हो ।’

तर नेपाली राज्यको नीतिमा पुस्तकालय निर्माण कहिल्यै पनि प्राथमिकतामा परेकै छैन । न त समाजको ठूलो तप्काले नै यसको आवश्यकता महसुस गरेर सरकारलाई दबाब दिएको देखिन्छ । अझ संघीय राज्यको त प्रत्येक स्थानीय निकायमा एउटा पुस्तकालय अनिवार्य निर्माण हुनुपर्ने हो तर कुनै स्थानीय संरचनाले पुस्तकालय निर्माणलाई प्राथमिकतामा राखेको छैन ।

भोलिको रूपरेखा आजको नेतृत्वको प्राथमिकतामा के पर्दछ भन्ने कुराले निर्धारण गर्छ । र यहीँनिर प्रश्न उठ्छ– मन्दिर र भ्युटावर वा पुस्तकालय ?

पुस्तकालयमा केवल किताबको संकलन भएर मात्र हुँदैन । पढ्ने वातावरण पनि सुन्दर,कलात्मक र मनोरम हुनुपर्छ । पाठकले विनाअवरोध शान्त वातावरणमा पढ्न पाउनु पर्छ । आजकल प्रविधिले गर्दा पुस्तकहरू ई-बुक, किण्डललगायत विभिन्न डिजिटल माध्यममा सजिलै उपलब्ध छन् । जसले गर्दा पुस्तकालय जाने पाठकको संख्या निरन्तर ओरालो लाग्दै गइरहेको छ ।

आधुनिक युगमा पाठकलाई आकर्षित गर्न लाइब्रेरीलाई पनि डिजिटलाइज गर्ने, तीव्र गतिको इन्टरनेट उपलब्ध गराउने, पढ्ने वातावरण कलात्मक र आनन्दमय गर्नेतर्फ विश्वका लाइब्रेरीहरूले आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् । तर नेपालका पुस्तकालयकोभने कसरी बजेट आफ्नोतर्फ पारेर आर्थिक वर्ष समाप्त गर्ने भन्नेमात्र चिन्ता हुन्छ ।

नेपाली समाजका अधिकांश बालबालिकाको पढाइको एकमात्र स्रोत स्कुल हो । अभिभावकको लागि पनि पढ्नु भनेको स्कुल जानु र होमवर्क गर्नुमात्र हो । सानै उमेरदेखि घरमै कोर्सबाहिरका किताब पनि पढ्ने अथवा लाइब्रेरी जाने भन्ने चलन हाम्रो समाजमा छैन । अभिभावकलाई पनि यो विषयमा खासै चासो छैन किनकी नेपालमा छुट्टै बालकक्षसहितको सुविधासम्पन्न पुस्तकालय खुलेकै छैनन् । जसले गर्दा उनीहरूसँग कोर्सबाहेक राजनीति, साहित्य, दर्शन, समाज आदि विषयको ज्ञान अति नै न्यून हुन्छ । यसले गर्दा विद्यार्थी पट्टी लगाएका घोडाजस्ता हुन्छन् । जसको दृष्टिकोण अत्यन्त संकुचित हुन्छ । फलस्वरूप यिनीहरूमा सामान्य जागिरे मानसिकतामात्र विकसित हुन पुग्दछ ।

विकास–भौतिक वा मानवीय

फराकिला र चिल्ला सडक, रेल, एयरपोर्ट, आलिशान महल, उद्योग कलकारखाना ! सामान्यतः विकास भन्नासाथ आम व्यक्तिले यही कुरा सोच्दछन् । अझ देशका प्रधानमन्त्रीसमेत जनतालाई चुच्चे रेल र पानीजहाजको मात्र सपना देखाइरहेका छन्  । तर यस अवधारणाले विकासको मानवीय पक्षलाई उपेक्षा गरेको छ ।

विकास त बहुआयामिक विषय हो । भौतिक पूर्वाधार निर्माण मात्र विकास होइन, यो त जनताको सर्वाङ्गीण पक्षको सुधारसँग जोडिने अवधारणा हो । गरिबी उन्मुलन, सामाजिक, लैङ्गिक, जातीय, वर्गीय भेदभाव र असमानताको अन्त्य, राज्यको मूल धारमा सबैको पहुँच, चेतनामा बृद्धि जस्ता विकासका मानवीय र सामाजिक पक्षहरू नेपाली समाज र सत्ताको प्राथमिकतामा कहिल्यै पर्न सकेका छैनन् ।

सत्ताको आधार स्तम्भ समाज हो । समाजबाट नै सत्ता जन्मन्छ अनि सामाजिक परिवेश र चेतनाले यसको चरित्र निर्धारण गर्ने गर्दछ । तसर्थ, कुनै पनि देशको सरकार कस्तो छ भन्ने कुरा त्यहाँको सामाजिक अवस्था र परिवेश हेरेर पत्ता लगाउन सकिन्छ । यसरी हेर्दा अहिलेको केपी ओलीको सरकार र यसको कार्यशैली नेपाली सामाजिक चेतना परिस्थितिकै उपज हो ।

विश्वमा नेपाल किन यति धेरै पछाडि परेको छ ?आधुनिक शताब्दीमा पनि यहाँको सामाजिक दृष्टिकोण किन यति संकुचित छ ? किन यहाँ बर्टेन्ड रसल, कार्ल मार्क्स र एडम स्मिथजस्ता चिन्तक जन्मदैनन् ! यी सबै प्रश्नहरूको जवाफ हाम्रो ‘स्कुलिङ’ र सामाजिक चेतना निर्माणको प्रक्रियासँग गएर ठोकिन्छ ।

राज्यले अहिले जुन प्रकारको नीति अवलम्बन गरिरहेको छ यसले निश्चय नै हाम्रो सामाजिक चेतनालाई वृद्धि गर्नुसट्टा झन् पछाडि धकेल्ने देखिन्छ । देशको सामाजिक, आर्थिक र बौद्धिक रूपान्तरणमा नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नुपर्ने हो तर अवस्था ठीक उल्टो छ । सनकी शासकको लहड र एकाकीपनले सम्पूर्ण देश र समाजको आगामी दिनमा समेत निराशा छर्ने काम गरेको छ । सरकारका पछिल्ला केही निर्णयहरू हेरौँ :

—     किताबमा कर, चकलेटमा कर छुट

—     वैदेशिक रोजगारीमा जान युवालाई प्रोत्साहन

—     कोरोना महामारीमा दलविभाजन विधेयक

—     सामुदायिक विद्यालय व्यवस्थापनको जिम्मा निजीलाई

गम्भीर कुरालाई पनि हल्का रूपमा उडाउने र पर्याप्त जानकारी, खोज अनुसन्धानविना नै बोलिहाल्ने नेपाली समाजको अभिन्न संस्कार हो । जुन प्रधानमन्त्री ओलीमा प्रतिबिम्बित छ । सरकारका यस्तै अभिव्यक्ति र अपरिपक्व निर्णयको बन्दीमा देश र आगामी पुस्ताको भविष्य थुनिएको छ ।

भोलिको रूपरेखा आजको नेतृत्वको प्राथमिकतामा के पर्दछ भन्ने कुराले निर्धारण गर्छ । र यहीँनिर प्रश्न उठ्छ– मन्दिर र भ्युटावर वा पुस्तकालय ?



source https://www.onlinekhabar.com/2020/08/892554

Post a Comment

0 Comments