Looking For Anything Specific?

Header Ads

अहिले आफ्नो समीक्षा गर्छु, कोरोना सकिएपछि सरकारको

पछिल्लो निषेधाज्ञाको पहिलो दिन । समय : उही दिउँसोको ४:१५ बजे । टिभीमा डा. जागेश्वर गौतम स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा झुल्किए । उनी नेपालमा कोरोना प्रभावको दैनिक अपडेट लिएर आएका थिए । ब्रिफिङ्गमा मृत्यु भएकाको संख्या, संक्रमित भएका र निको भई डिस्चार्ज भएका, आइसोलेसनमा बसिरहेका, क्वारेन्टिनमा रहेकाको बारे जानकारी दिइसकेपछि गौतम अनुरोधपूर्वक भाषामा धम्की दिँदै थिए ‘रोग दैलोमा आइसको, अझै बढी सचेत हुनुस्। नत्र स्थिति नियन्त्रण बाहिर जानेछ, हाम्ले केही गर्न नसक्ने अवस्था छिट्टै आउँदैछ ।’

आजको जानकारी
नयाँ संक्रमित : ७०७
डिस्चार्ज : २६४
उपत्यकामा नयाँ संक्रमित : २००
मृत्यु संख्या : ६
कूल संक्रमित संख्या देशभर : २९६४५

त्यही राति गौतम फेरि रवि लामिछानेको लाइभ कार्यक्रम ‘सीधा कुरा जनतासँग’ जोडिए । उनले भन्दै गए ‘संसारको सबैभन्दा ठूलो साम्राज्य अमेरिका देशको ठूलो शहर न्युयोर्क हामीभन्दा साधन श्रोतमा कमजोर थियो ? के भेन्टिलेटर कम थियो ? उनीहरुसँग म्यानपावर थिएन ? किन त्यहाँ धेरै जना हाताहती भए ?’

प्रश्नहरु छोड्दै उनी फेरि बोले, ‘हाम्रो देशभरी दुई हजार जति पनि भेन्टिलेटर छैन । र, रोग कोरोना मात्र हैन अरु बिरामीले पनि बेड ओगटेका छन, यो समयमा हामी सचेत हुनैपर्छ । त्यसको विकल्पै नै छैन ।’

उनको बोल्ती बन्द भएन, ‘काठमाडौका एलिटलाई लाग्यो यो रोग भारत बोर्डर नजिकका गरीब वस्तीमा मात्र लाग्छ। र, लाग्ने रोग हो । उदयपुर , बिराटनगर, वीरगन्ज, राजबिराज, धनगढी र नेपालगन्जमा कोरोना फैलदा काठमाडौँका लाई कसैसँग र केही कुरासँग पिन डर भएन । हिजो रोग वरिपरि थियो, सचेत हुन सकेनौं । आज दैलोमा आइसकेको छ अझै सचेत नभए हामी निकै ठूलो समस्यामा पर्न सक्छौं ।’

****

‘मन्त्रालयका प्रवक्ता गौतम र कमान्डर स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई केही सुझाव सहितको खुला चिट्ठी लेख्न मन लाग्यो यार ।’

मैले यो प्रस्ताव टुइटरको एउटा प्राइभेट ग्रुप च्याटमा हालेँ ।

ग्रुपमा हामी तीनजना दाजुभाइ छौं । दाजुभाइ किनकी एक जना दाजु हुन् एक जना उमेरले साथीभाइ छन् ।

‘के भन्न मन छ मन्त्री र प्रवक्तालाई ?’ साथीले सोधे ।

‘केही गर्नुभएन, गर्न सक्ने धेरै कुरा थियो र अझै पनि छन्, केही भएन भनेर लेख्न मन छ, न्युनतम कुरा नि भएन, ध्वस्त भो भन्न मन छ ।’ मैले जवाफ दिएँ

‘अनि तपाईंले चाहिँ केके गर्नुभयो नि ?’ उसले जवाफ फर्कायो ।

मैले बुझिन ।

भन्नाले ?

‘कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्नुको कारण सरकारको अकर्मण्यता मात्रै हुन सक्दैन । नेपालीहरु कोरोना अनि सरकार दुवैसँग डराएनन्, डराउँदैनन् । भनेको मानेनन्, मान्दैनन् । यता कोरोना घट्दै छ, त्यसको कारण यहाँका मान्छेले राज्यको कुरा सुन्छन् । यहाँका मान्छे बुद्धु, बहादुर छैनन् भनेको कुरा टेर्छन् ।’

ऊ अस्ट्रेलियाको कुरा गर्दै थियो ।

म उसलाई अझ भन्दै थिएँ, ‘मलाई प्रश्न गर्न मन छ, सरकारले डेलिभर गर्न अनि कार्ययोजना अनुरुप काम गर्न नसकेको पनि त हो।’

‘कसले हैन भन्यो ? सरकार कोरोना नियन्त्रणमा अनि जनता कन्भिन्स गर्न पनि चुक्दै होला र चुकिरहेको छ। तर, के नागरिकको नाताले हामी कोरोना समुदायमा सर्न नदिन वा आउन सक्ने गम्भिर दुर्घटनाबारे इमान्दार भयौं त, छौं त ? प्रश्न सोध्न इमान्दारिता चाहिन्छ । हामी इमान्दार छैनौं ।’

‘तपाईंले अहिलेको सरकारलाई भोट हाल्नुभो, तपाईं उसलाई कसैले प्रश्न नतेर्साउन् भन्ने चाहानुहुन्छ। ‘ मैले सोधिहालेँ ।

‘तपाईंलाई के लाग्छ ? कोरोना भाइरसले सूर्य र रुख चिन्छ ? कुन पार्टी, कुन नेता भन्छ ? कम्युनिस्ट र प्रजातान्त्रिक भन्छ ? शरीरमा कोरोना प्रवेशपूर्व के तिमीले अघिल्लो चुनावमा कसलाई भोट हाल्यौ भनेर सोध्छ र ? तिमी सरकारी, म प्रतिपक्षी, ऊ स्वतन्त्र भन्छ र भाइरसले ?’

म नाजवाफ भएँ ।

म असन्तुष्ट थिएँ, किनकी म तर्कशील बन्न सकिरहेको थिइन, मेरा तर्क बलशाली वा तथ्यांकपरक वा अध्ययनपरक थिएनन् । हाम्रो देशमा मन्त्री अनि शासन गरिरहेको पार्टीलाई गाली गरेर सरकारको विरोध गरे खतरा हो । समर्थन गरे त हनुमान । यो हामी नेपालीको आम बुझाइ हो।

केही समयको मौनता पछि ग्रुपमा अर्का दाइ बोले ।

‘हाइवे’

‘सोच त तिम्लाई कोरोना भैहाले तिम्ले आज कसलाई भेटेउ, कन्ट्याक ट्रेसिङ्ग सम्भव छ ? आज दिनभरी तिम्ले कसलाई कहाँ कता कता भेट्यौ, सम्झिन सक्छौ ?’

एकछिन समय लिए ।

दैनिकी दोहोराए । एक- एक गरेर ।



source https://www.onlinekhabar.com/2020/08/892162

Post a Comment

0 Comments