चीनको वुहान शहरमा सबैभन्दा पहिले देखापरेको संक्रामक रोग कोभिड(१९ (कोरोना भाइरस) को संक्रमण दिन दुईगुणा, रात चौगुणाको दरले बढिरहेको छ ।
एशियाली राष्ट्र थाइल्याण्ड, जापान, फिलिपिन्स, दक्षिण कोरिया हुँदै युरोपियन देश फ्रान्सपछि इटालीमा उक्त भाइरसको संक्रमण देखियो, जहाँको अवस्था अहिले वर्णनयोग्य छैन । फेब्रुअरी १९ मा जम्मा २ जनामा देखिएको संक्रमण महिना दिन पुग्दानपुग्दै बढेर ७० हजार पुग्योे ।
सबैभन्दा डरलाग्दो पक्ष के छ भने विश्वकै महाशक्ति राष्ट्र अमेरिकामा जनवरी २० मा पहिलोपल्ट कोरोना भाइरस देखिए पनि लकडाउनतर्फ कुनै कदम नचाल्दा त्यहाँ हप्ता दिनमै संक्रमण दर ह्वात्तै बढेको छ ।
नेपालमा अहिलेसम्म संक्रमित पुष्टि भएकाहरु इम्पोर्टेन्ट हुन् । अर्थात् अहिलेसम्म विदेशबाट नेपाल आएकाहरुमा मात्र कोरोनाको पुष्टि भएको छ । निजहरु नेपाल आउँदा निजहरुसँगको सम्पर्कमा रहेका हवाई यात्रु, साथीभाइ, आफन्तजन सबैले आफ्नो स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुपर्ने हो । तर उल्लेख्य संख्यामा सम्पर्कव्यक्ति परीक्षणको लागि नआउँदा भुसमा आगो सल्केझैँ भित्रभित्रै संक्रमण बढ्नसक्ने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् ।
अर्काेतिर भारतसँगको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारतमा काम गर्न गएका सयौँ नेपाली मजदुरहरु त्यहाँ लकडाउन भएसँगै नेपाल फर्किने क्रम दिनहुँ छ । ती सबैलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्न नसक्दा पश्चिमी भेगमा कोरोना फैलिने जोखिम विद्यमान छ ।
चैत ४ गते फ्रान्सबाट कतार एयरवेज हुँदै नेपाल आएकी १९ वर्षीया किशोरीलाई ९ गते कोरोना संक्रमण पुुष्टि भएसँगै नेपाल सरकारले चैत १० गते देशव्यापी लकडाउनको घोषणा गर्याे । लकडाउन गरेर ठीक ग¥यो भनेर प्रशंसा बटुलेको सरकारले यतिखेर स्वास्थ्यकर्मीको लागि चाहिने अत्यावश्यक सुरक्षा सामाग्रीहरु समयमा उपलब्ध नगराएको, कोरोना परीक्षण प्रयोगशाला सीमित ठाउँमा मात्र रहेको, कोरोना संक्रमितको विवरण लुकाएको, दैनिक ज्याला मजदुरी गरेर पेट भर्ने विपन्न नागरिकका लागि राहत प्याकेज नल्याएकोजस्ता आलोचना खेपिरहेको छ ।
यतिमात्रै होइन, आवश्यक स्वास्थ्य उपकरण र औषधी खरिदमा अनियमितता हुन थालेको खबरसमेत बाहिर आएको छ । यस सन्दर्भमा सरकारले रोगको संक्रमण बढ्न नदिन राष्ट्रभित्रका नागरिक समाज र प्रबुद्ध वर्गका साथै कोभिड–१९ लाई नियन्त्रणमा लिन सफल विदेशी राष्ट्रहरुबाट समेत पृष्ठपोषण र सुझाव लिई सोहीअनुसार आवश्यक रणनीतिको व्यवहारिक कार्यान्वयन शीघ्र गर्नुपर्ने देखिन्छ ।
परिस्थितिले हामीलाई तयारीको लागि पर्याप्त समय दिएको छ ।
स्थानीय तहले गर्नुपर्ने काम
किन्तु परन्तु भनेर समय बर्बाद गर्ने होइन, प्रत्येक प्रदेशमा परीक्षण प्रयोगशाला बनाऔँ । प्रत्येक स्थानीय तहमा आइसोलेसन वार्ड र प्रत्येक वडामा कम्तिमा ५० शैयाको क्वारेन्टाइन स्थल बनाऔँ ।
स्वाब परीक्षण गर्ने चिकित्सकदेखि प्रत्येक वडाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीसम्मको लागि पीपीईको व्यवस्था गरौँ । दैनिक ज्यालामजदुरी गरेर जिविका चलाउने विपन्न असहायहरुको लागि प्रत्येक स्थानीय तहबाट निःशुल्क खाद्यसामग्री वितरण गरौँ ।
बैंकमार्फत कर्जा लिएर उद्यम व्यवशाय गरेका सिमान्त किसानहरुको किस्ता अवधि थप गरौँ र यथाशक्य व्याज मिनाहा गरौँ । स्थानीय जनप्रतिनिधिहरुले यस संगीन घडीमा आफ्ना क्षेत्रका नागरिकहरुलाई राहत दिऔँ ।
नागरिकहरुलाई अत्यावश्यक खाद्यवस्तु घरमै ढुवानी गरिदिने व्यवस्था मिलाऔँ । नागरिक समाज र सञ्चार माध्यमहरुले सचेतना र सावधानीका उपायहरुबारे जागरण फैलाऔँ, अफवाह र त्रास नफैलाऔँ ।
अन्ततः नागरिक स्वयंले यस संवेदनशील अवधिमा घरबाहिर ननिस्की एकान्तबास (क्वारेन्टाइन) मा बसी बाहिरी वस्तुसँगको सम्पर्क पश्चात् बारम्बर साबुनपानीले हात धोऔँ ।
रोग प्रतिरोधक क्षमता बढाउने खाद्यवस्तुको सेवन गरौँ । आहार विहार र आचार विचारमा सावधानी अपनाऔँ । शंकास्पद विरामी देखिएको खण्डमा तुरुन्त सम्बन्धित ठाउँमा खबर गरौँ ।
यति गर्न सकिएको खण्डमा कोरोना भाइरसलाई हामी अवश्य जित्नेछौँ । यसका लागि सबै पक्षले आ–आफ्नो भूमिका इमान्दारीपूर्वक पालना गर्नैपर्छ । सामूहिक प्रयास र ऐक्यबद्धता, आपसी सहकार्य र समन्वयले नै यस महामारीको अन्त्य गर्न सकिन्छ ।
(चापागाई वीरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत हुन् ।)
source https://www.onlinekhabar.com/2020/03/849115
0 Comments