Looking For Anything Specific?

Header Ads

तपाईं अरुका कुरा कत्तिको सुन्नुहुन्छ ?

मुलुकमा लकडाउन शुरु भएपछि हरेक व्यक्ति घरमा नै आइसोलेसनमा छन् । दिनभर दौडनुपर्ने व्यक्ति एकाएक घरमा थुनिएजस्तै गरी बस्नुपर्दा असजिलो त पक्कै पनि भएको होला । यसको विकल्प पनि छैन । अझ कति दिन बस्नु पर्ने हो भन्ने एकिन पनि छैन । आशा गरौँ यसबाट छिटै निकास पाइनेछ ।

हरेक घटनाबाट केही न केही सिक्न सकिन्छ । तर, हामीले के कति सिक्न सकिन्छ भन्ने मात्र हो । यी मध्ये कम बोल्न सकेमात्र पनि धेरै हुनसक्छ । तर कम बोल्ने कसरी अर्थात् अरुलाई बढीभन्दा बढी सुन्ने कसरी ? यसको लागि अभ्यास गर्ने उपयुक्त मौका अहिले हो । पछि यस्तो समय नपाइन सक्छ ।

अरुलाई सुन्ने बारेमा चर्चा गर्दा शुरुमा हाम्रो बानीका बारेमा कुरा गरौं ।

एक व्यक्ति दिनभरमा कति समय बोल्ने गर्छ होला ? हामीले सायदै विचार गरेका हौंला । धेरैलाई यसबारेमा खासै चासो नहुन पनि सक्छ । चासो राख्नेहरुले पनि बोल्ने समयमा यसलाई ध्यान दिन नसकेका हुन सक्छन् । कतिपयले यसमा सचेत भई सोअनुसारको व्यवहार गरेका पनि हुन सक्छन् ।

डा. हरिप्रसाद लम्साल

एकपटक आफूले बोलेको समय र अरुलाई सुनेको समय हिसाब गरेर हेर्ने हो भने बोल्ने हरेक व्यक्तिको पनि ऐनामा अनुहारजस्तै बोल्ने समयको तस्वीर बन्न सक्छ । हरेकले एकपटक मनमनै हिसाब गरौँ त कस्तो अवस्था आउला ।

कुनै कार्यपत्र प्रस्तुत गर्दा होस् वा कक्षाकोठामा अध्यापन गराउँदा होस् वा सोभन्दा बाहेकका अन्य समयमा अरुका कुरा सुन्नमा कति समय लगाउने गरिएको छ ? यो विषय हेर्दा सानो जस्तो देखिन सक्छ तर जीवनमा यसको दीर्घकालीन प्रभाव छ । व्यक्तिको व्यक्तित्व विकासमा यी र यस्तै पक्षले सहयोग गर्न सक्ने रहेछन् ।

प्रसिद्ध मनोविज्ञानवेत्ता जोर्डन बी. पिटरसनले ‘टुबेल्स् रुल फर लाइफ’ भन्ने आफ्नो प्रसिद्ध पुस्तकमा जीवनयापनका लागि उपयोगी १२ ओटा नियम बताएका छन् । सोमध्ये एउटा नियम ‘बी प्रेसाइज योर स्पीच’ शीर्षकमा व्याख्या गरिएको छ । यसको सार आफूले बोल्ने कुराहरूलाई जति सक्छौं संक्षिप्त बनाऊ भन्ने नै हो । यसका लागि आवश्यक भरपूर तयारी चाहिन्छ । भनाइलाई विशिष्टीकृत बनाउन अभ्यास गर्नुपर्छ । भनाइमा तथ्य र तथ्यांक एवम् प्रमाणको आवश्यकता पर्छ ।

जब–जब व्यक्तिले आफ्ना कुरा संक्षिप्त र विशिष्टिकृत बनाउन थाल्छ, संवादको क्रममा अरुको कुरा सुन्ने समय बढ्छ । आफूले समय कम लिनु भनेको अर्कोलाई समय दिनु नै हो । समय तन्काउन वा बढाउन सकिन्न । उपलब्ध वा भएको समय के कसरी सदुपयोग गर्ने भन्ने मात्र हो । सबै व्यक्तिका लागि प्रश्न यही हो कि आफूले कम बोल्न र समय अरुलाई सुन्नमा प्रयोग गर्न हामी के कति मात्रामा तयार छौं त ?

एकछिन विचार गरौँ, हामीमध्ये कोही कुनै बैठकमा भाग लिन जाँदैछौँ । त्यहाँ जानुभन्दा पहिला सो बैठक के कति समयका लागि हो भनेर हामीले सोच्ने गरेका छौँ ? त्यसका लागि कुनै तयारी गरेर जाने गरेका छौँ ? बैठकमा जाँदा मैले कति बोल्ने र अरुले कति समय बोल्ने भनेर सोचेका छौँ ? आफूले बोल्ने विषयलाई अझ संक्षिप्त बनाउन के गर्न सकिएला भनेर सोचेका छौँ ? एकपटक यी र यस्तै समयमा बारेमा विचार गरौँ त ।

यस पृथ्वीमा रहेका सबै मानवका लागि एक दिनमा जम्मा २४ घण्टाको समय उपलब्ध छ । यो समय भनेको एक हजार चार सय ४० मिनेट हो अर्थात् ८६ हजार चार सय सेकेण्ड हो । हरेक व्यक्तिलाई सबैथोक गर्नका लागि उपलब्ध हुने समय यही एक हजार चार सय ४०मिनेट नै हो । यसलाई थप तन्काउन सकिँदैन । अब यस समयमध्ये केही समयका लागि न्यूनतमरुपमा हरेक व्यक्तिलाई चाहिन्छ ।

सामाजिक सञ्जालका भित्तामा आफ्ना असन्तुष्टि पोख्न बानी परेका वा यस दुनियाँमा रमाउने लतमा परेको पुस्तालाई अरुलाई सुन्नुपर्छ भनेर त्यहाँबाट बाहिर निकाल्ने कसरी ? अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको यही नै हो

जस्तै खाने, बस्ने, सुत्ने, आराम गर्ने, मनोरन्जन गर्ने आदि । यसमा पनि कति समय चाहिन्छ भन्ने बारेमा एकरुपता त छैन, तर न्यूनतम समय सबैलाई चाहिन्छ । यसपछि बाँकी रहेको समयमात्र कति आफूले प्रयोग गर्ने र कति समय अरुलाई सुन्नमा प्रयोग गर्ने भन्ने हो । व्यक्तिमा देखिने भिन्नता यही समयको प्रयोगले गर्दा हुने हो । हरेक व्यक्तिको स्वभाव पनि यसैले जनाउने गर्दछ ।

अब भनौँ त यही एक हजार चार सय ४०मिनेटमा कति समय अरुको कुरा सुन्नमा प्रयोग भएको होला ? आफ्नो र अर्कोका लिएको समयको बीचमा तुलना गर्न सके त अझ राम्रो हुने थियो । अनुमानमात्र गर्न सके पनि आत्म प्रतिविम्वन गर्न सहयोग पुग्ने थियो ।

यहाँ अरुलाई सुन्नु भनेको स्वअध्ययन गर्नु, अन्तरकृयामा भाग लिँदा अरुका विचार सुन्नु, फेस टु फेस कुराकानीमा अरुलाई सुन्नु र बुझ्नु हो । यो मौन स्रोता हुने अवस्था होइन । आफू कम बोल्नु हो । आत्म मन्थन र चिन्तन गर्नु हो ।

यहाँ व्यक्तिको मात्र के कुरा । के हाम्रा सार्वजनिक संस्थाहरु अरुका कुरा सुन्नमा अभ्यस्त छन् त ? विश्वविद्यालय मात्र नभएर विद्यालय वा अन्य सामाजिक संघसंस्थाहरुले अरुलाई सुन्ने काम के कति मात्रामा गरेका होलान् ? घरमा के कस्तो वातावरण तयार हुँदैछ भनेर सोच्ने कसले ? साथीसँगीको बीचमा के कस्तो ढंगबाट अरुलाई सुन्ने गरिएको छ ?

यो सुन्नु भनेको कुनै एक दिन यसो गरें भनेर हुने पनि होइन । यसका लागि त संस्कार विकास हुनु आवश्यक छ । हाम्रा संस्थाहरूले यस्तो संस्कृति र संस्कार विकास गराउन सहयोग पुग्ने खालको क्रियाकलाप गराउने गर्छन् त ?

सामाजिक सञ्जालका भित्तामा आफ्ना असन्तुष्टि पोख्न बानी परेका वा यस दुनियाँमा रमाउने लतमा परेको पुस्तालाई अरुलाई सुन्नुपर्छ भनेर त्यहाँबाट बाहिर निकाल्ने कसरी ? अहिलेको सबैभन्दा ठूलो चुनौती यही नै हो । साँच्चै नै सबैमा अरुलाई सुनौँ भन्ने संस्कार कसरी बसाल्ने होला ? हाम्रा युवा पुस्तालाई सामाजिक जीवनको जीवन्त अन्तरकृयामा सहभागी कसरी गराउने होला ?

मानव जीवनमा अरुलाई बुझ्ने, अध्ययन गर्ने, स्वमनन् गर्ने जस्ता कार्यको अत्यन्त ठूलो महत्व छ, जसका लागि अरुलाई सुन्नु पर्छ भनेर कसरी सिकाउने होला ? ऋषिमुनिहरू ध्यान साधनामा त्यत्तिकै बसेका होइनन् होला ? सायद उनीहरूको साधना स्वअध्ययनका लागि थियो होला जुन अरुलाई मात्र नभएर स्वयम् आफ्नै आत्मालाई भित्रैबाट सुन्नु थियो कि ?

अरुका कुरा सुन्नु भनेको आवाज ग्रहण गर्ने मात्र होइन । आवाज ग्रहण गर्नु र सुन्नुमा पक्कै पनि फरक छ, ठूलो भिन्नता छ । जनवरी १०, २०२० (२०७६ पुस २५ गते शुक्रवार) को द न्यूयोर्क टाइम्स पत्रिकाको अंकमा केट मर्फीले ‘टक लेस, लिसन मोर, हिअर इज हाउ’भन्ने शीर्षकमा व्यक्तिले सुन्ने बानीको विकास के कसरी गर्न सक्छ ?, सुन्ने बानी विकासमा आउन सक्ने अवरोधहरू के–के हुन् ? र आवाज ग्रहण गर्नु र सुन्नुको बीचमा के कस्तो फरक छ ? भन्ने विषयलाई सुक्ष्म ढंगबाट केलाएका छन् ।

उनका अनुसार आवाज ग्रहण गर्नु मात्र सुन्नु होइन । अध्ययन गर्नु एवम् कुनै अन्तरकृयामा बोलिरहेको वा भाव व्यक्त गरिरहेको व्यक्तिसँग प्रतिक्रिया जनाउनु पनि सुन्नेभित्र पर्छ । यहाँ सुन्नुलाई अर्थ निकाल्नु वा बुझ्नुको रुपमा लिइएको छ । संवादमा सकृय कर्ताको रुपमा लिइएको छ ।

अरुलाई कसरी सुन्ने त ?

विश्वमा असल स्रोता कसरी बन्ने विषयमा धेरै लेख लेखिएका छन् । विभिन्न खालका टिप्सहरू पनि बताइएका छन् । सुन्नु भनेको निष्कृय भइ अरुका अगाडि खडा हुनु मात्र होइन । यो भौतिक उपस्थितिमात्र होइन । असल स्रोता हुनका लागि अरुसँग सहभागिता जनाउनु आवश्यक छ । यस्तो सहभागितामा भाव व्यक्त गरेर गर्न सकिन्छ, बडिल्याङ्वेजबाट व्यक्त गर्न सकिन्छ, प्रश्न सोधेर पनि व्यक्त गर्न सकिन्छ ।

जति मात्रामा असल खालका प्रश्न गर्न सकिन्छ, सुन्ने बानी पनि सोही मात्रामा विकास गर्दै लैजान सकिन्छ । यस्ता प्रश्नहरू ठीक वा बेठिक उत्तर आउनेखालका भन्दा पनि थप विचार सिर्जित हुने ढंगबाट सोध्न सक्दा अझ राम्रो हुन्छ भन्ने गरिन्छ ।

अन्तरकृयामा सहभागिता किन घट्छ भन्ने विषयमा हामीले असल र राम्रा प्रश्न गर्न नजानेर पनि हुन सक्छ भन्ने बारेमा पनि बुझ्नु आवश्यक छ । त्यही भएर भन्ने गरिन्छ असल स्रोता हुन असल प्रश्न गर्न सक्नुपर्छ ।

प्रश्न सोध्नुलाई हलुका ढंगबाट हेर्ने प्रचलन हामीकहाँ रहेको छ । तर, यो त्यति सजिलो विषय पनि होइन । यही प्रश्नले हाम्रो हैसियत जनाउने गर्छ र अरुसँगको व्यवहार पनि निर्धारण हुने गर्छ । सोधिने प्रश्नले व्यक्तिलाई सम्बन्ध विकास गर्नमा सहयोग गर्न सक्छ । सम्बन्ध बिगार्न पनि भूमिका खेल्छ भन्नेबारेमा पनि उत्तिकैसचेत हुनु आवश्यक छ ।

साथै, यही प्रश्नले व्यक्तिलाई विभिन्न वर्गमा वर्गीकरण गर्न पनि सक्छ भन्ने बारेमा हामीले नसोचेका पनि हुन सक्छौं । उदाहरणका लागि केही प्रश्न नमूनामा रुपमा यहाँ दिइएको छ ।

तपाईं कहाँ वा कुन स्थानमा बस्नुहुन्छ ? वा शहरको कुन भागमा बस्नु हुन्छ ? छोराछोरी कहाँ पढाउनुभएको छ ? किनमेल कुन पसल, सपिङ मल वा बजारमा गर्नुहुन्छ ? छोराछोरी स्वदेशमा छन् कि विदेशमा ? यी र यस्ता थुप्रै प्रश्नहरु हामी औपचारिक वा अनौपचारिकरुपमा समय समयमा सोध्ने गर्छौं, जसले विभेद गर्न सक्छ भन्नेमा ध्यान दिनमा चुक्छौं ।

किनकि, यस्ता प्रश्नले उत्तरकर्तालाई समाजको अमूक वर्गमा राख्ने निश्चित छ । अहिले छोराछोरी विदेशमा अझ अमेरिका वा यूरोप वा विकसित मुलुकमा छन् भन्ने भनाइलाई गर्वको रुपमा लिने प्रचलन छ । तर, खाडी वा अन्यत्र भएकाहरुले यसलाई गर्वको रुपमा लिन सक्दैनन् ।

सुन्नु भनेको त अझ सकृय हुनु हो, सकृय संवादमा लाग्नु हो । डुलिरहने मनलाई अनावश्यक विषयमा जान नदिइ सकारात्मक काममा मोड्नका लागि पनि व्यक्तिले सकृय रुपमा अरुलाई सुन्नु पर्छ

 

यी र यस्ता कैयौं प्रश्न हामीले जानेर–नजानेर सोधिरहेका हुन सक्छौं । यस्ता प्रश्नबाट कसैले छानविन गरी आवश्यक सूचना निकाल्ने काम त हुन सक्छ । तर, यसबाट सार्थक संवाद र सार्थक सुनाइ हुन सक्दैन । सूचना लिने–दिने सबै काममा सार्थक सुनाइ नहुन पनि सक्छ । हामी सूचना निकाल्ने काममा लागेका छौँ कि सुनाइको क्रममा छौँ भन्नेमा पनि उत्तिकै मात्रामा ध्यान दिन आवश्यक छ । सूचना निकाल्नु र अरुलाई सुन्नु फरक–फरक विषय हुन् ।

अर्काको बारेमा निर्णय दिनेखालका प्रश्नले पनि सार्थक संवाद र सुनाइ हुन सक्दैन । मलाई थाहा छ, तपाईं यो भन्न खोज्दै हुनुहुन्छ ? वा यसबारे मलाई पहिल्यै थाहा थियो वा त्यो त पहिल्यै थाहा भएको विषय हो आदिजस्ता प्रश्नले न त सुनाइ सीप हासिल हुने मौका दिन्छ न सार्थक संवाद नै ।

एकछिन विचार गर्नुहोस् त, हाम्रो एकदिनको संवादमा यस्ताखालका कति प्रश्न अरुतर्फ तेर्सिएका होलान् ? हामीले लेखेर राख्दैनौं । तसर्थ कतिवटा प्रश्न सोधें भन्ने अनुभव पनि नहुन सक्छ । सुन्ने बानीको विकास गर्न एकपटकमा यस्ता खालका के कतिवेटा प्रश्न मैले दिनभरमा गरेँ होला भनेर प्रतिविम्वन गर्ने कि ? अनि आफूलाई सुधार्न सजिलो हुन्छ ।

सुन्ने बानीका लागि प्रविधि र प्रविधिमा आधारित उपकरण पनि बाधक बनिरहेका हुन सक्छन् । हामीमध्ये कति जना त खाना खाने बेलामा पनि मोबाइल चलाएका हुन सक्छौं । खाने समयमा एकाग्रता खानातर्फ चाहिन्छ भन्छन् । सो हुन नसके पनि परिवारका बीचमा गरिने अन्तरकृयाको आफ्नै महत्व हुनेगर्छ । मोबाइलले अरुलाई सुन्ने काम निश्चित रुपमा घटाएको छ ।

माथिकै लेखकले उल्लेख गरेअनुसार फ्यामिली डिनर प्रोजेक्टले उपकरण मुक्त र सुनाइ केन्द्रित खाना भन्ने अभियान नै सन्चालन गरेको रहेछ । सार्थक संवाद र सुनाइका लागि यो आवश्यक मात्र नभएर अनिवार्य जस्तै भइसक्यो भन्ने मत लेखकको छ । तर, हामी मोबाइलमा कुरा गर्दै अरुलाई पनि सुन्ने नाटक गरिरहेका हुन्छौँ । यो निरर्थक प्रयास मात्र हो । यस्ता अन्य धेरै उदाहरण दिन सकिन्छ, जहाँ प्रविधिको सदुपयोग हो भन्नमा कठिन हुन्छ ।

व्यवहारिकरुपमा पनि कम बोल्नुका अरु पनि धेरै फाइदा छन् । जानेर वा नजानेर व्यक्त गरिएका शब्दहरू अरुका लागि तिखा वाणको रुपमा प्रवाहित भएका हुन सक्छन् । अरुका आलोचनामा खर्च भएका हुन सक्छन् । जति कम वाण चलायो, त्यति मात्रामा अर्कालाई कम चोट लाग्न सक्छ । चोट नलागेको व्यक्ति अरुप्रति त्यति आक्रामक नहुन पनि सक्छ ।

कतिपय सन्दर्भमा धेरै र अनावश्यक बोल्नेका लागि त सुन्ने बानी एक प्रकारको मेडिटेसन वा ध्यान सावित हुन सक्छ ।

हुन त आत्मकेन्द्रित बन्दा व्यक्ति मनोरोगी बन्ने सम्भावना हुन सक्छ भन्ने गरिन्छ । सुन्नु र आत्मकेन्द्रित हुनु भन्ने विषयमा फरक छ । सुन्नु भनेको त अझ सकृय हुनु हो, सकृय संवादमा लाग्नु हो । डुलिरहने मनलाई अनावश्यक विषयमा जान नदिइ सकारात्मक काममा मोड्नका लागि पनि व्यक्तिले सकृयरुपमा अरुलाई सुन्नुपर्छ । बोल्ने व्यक्तिप्रति ध्यान बढाउनु पर्छ । यसबाट विषयप्रति एकाग्रता बढाउन पनि सहयोग पुग्छ ।

र अन्तमा,

मानिसले बोल्ने भन्दा धेरै छिटो गतिमा दिमागले सोच्ने गर्दछ भनिन्छ । सोचेर बोल्दा उक्त भनाइ थप प्रभावकारी हुन्छ भन्ने हो । त्यही भएर अर्कालाई सुन्नु भनेको आफूलाई सोच्ने समय लिनु पनि हो । दोहोरी गीतमा कति राम्रो संयोजन गरिएको हुन्छ, बोल्ने र सुन्ने समय । अन्य संवादमा पनि यही चाहिन्छ ।

मानसिक सकृयताका लागि पनि सुन्ने बानीको विकास गर्नु अति आवश्यक छ । जब आफूले अरुलाई सुन्ने गरिन्छ वा यस्तो बानीको विकास हुन्छ, अरुले पनि उक्त व्यक्तिलाई सुन्ने प्रयत्न गर्नेछन् ।

यो संसारमा मूर्ख मान्छे मात्र छैनन्, सज्जनहरू पनि छन् । सामान्यतया बोल्नेले जस्तो व्यवहार गर्छ, सुन्नेले पनि सोहीखालको व्यवहार देखाउने गर्छ अपवाद बाहेक ।

तसर्थ, सुन्ने बानीको विकासले आफूलाई मात्र नभएर अरुलाई पनि सुधार्न वा बदल्न सहयोग गर्न सक्छ । तर, यसका लागि समय लाग्न सक्छ । अभ्यासबाट सुन्ने बानीको विकास गर्न सकिन्छ । अभ्यास गर्दै गएपछि अपेक्षित व्यवहार बढाउन सकिन्छ ।

(डा. लम्साल सुदूर पश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव हुन् )



source https://www.onlinekhabar.com/2020/04/849917

Post a Comment

0 Comments