Looking For Anything Specific?

Header Ads

दैनिक हजारौँमा कोरोना परीक्षण आवश्यक

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको नेपालमा प्रयोगशाला परीक्षण क्षमता बढाउन ढिला भइसकेको छ । अझै पनि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दिनमा एक सय भन्दा कम मात्र शंकास्पद बिरामीको स्वाब परीक्षण हुँदै आएको छ । परीक्षण क्षमता तीव्र किसिमले बढाउन सरकारी योजना बाहिर आएको छैन ।

वीर अस्पतालमा बल्ल परीक्षण सुरु हुने भएको छ । त्यस बाहेक पाटन, धरान, हेटौँडा, पोखरा लगायतका क्षेत्रमा परीक्षण सुरु हुनसकेको देखिँदैन ।

विगत ३ हप्ता यता विदेशबाट आएका प्रत्येक व्यक्ति र उनीहरूको भौतिक सम्पर्कमा रहेका सम्पूर्णको प्रयोगशाला परीक्षण हुनु पर्ने हो । ज्वरो क्लिनिकमा आएका प्रत्येक नागरिकको प्रयोगशाला परीक्षण नगर्ने हो भने संक्रमणको जोखिमबाट देशलाई बचाउन गाह्रो छ ।

प्रा.डा.निरञ्जन पराजुली

विभिन्न अनुसन्धानले पुष्टि गरेअनुसार करिब ८० प्रतिशत संक्रमितमा कोभिड–१९ को लक्षण नदेखिएको वा केही मात्र लक्षण देखिएको थियो । त्यसैले सरकारले जतिसक्दो छिटो कम्तीमा दुई लाखको स्वाब परीक्षण गर्ने कार्य योजना तत्काल सार्वजनिक गर्नुपर्छ । यसका लागि उच्च जैविक सुरक्षा (वायोसेफ्टी) सहितको प्रयोगशाला, परीक्षण किट, ‘रियल–टाइम पीसीआर’, प्राविधिक र विज्ञको जरुरी पर्छ ।

हाल देशमा वायोसेफ्टी लेभल २ को प्रयोगशालाको चरम अभाव देखिएको छ । परीक्षणको लागि आवश्यक पर्ने उपकरण ‘रियल–टाइम पीसीआर’ भने ४५ वटा जति रहेछ । कुशल योजना भएमा दैनिक कम्तिमा ७ हजार परीक्षण सजिलै सम्भव देखिएको छ । साथै परीक्षणको गुणस्तर सुनिश्चितता गर्ने छुट्टै संयन्त्र पनि छिट्टै गठन हुनु पर्ने देखिएको छ । किनकि ‘फल्स नेगेटिभ’ परीक्षणको जोखिम अझ नराम्रो हुन्छ संक्रमण फैलाउन ।

 

परीक्षण कसरी ?

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को परीक्षणको लागि ‘ई’, ‘आरडीआरपी’, र ‘एन’ जिनको परीक्षण ‘रियल–टाइम पीसीआर’ बाट गर्न भनेको छ । त्यसमध्ये प्रारम्भिक परीक्षण ‘ई’ जिनबाट गर्ने, त्यसपछि नोवल कोरोना भाइरसको संक्रमण पक्का गर्न ‘आरडीआरपी’ जिनको जाँच गर्न भनेको छ । र, परीक्षणमा बढी सुनिश्चित हुन ‘एन’ जिनको पनि परीक्षण गर भनेको छ ।

प्राप्त जानकारीअनुसार हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण किटको अभावमा एउटा मात्र जिनको पहिला परीक्षण गर्ने योजना बनाएको छ । कोभिड–१९ को महामारी विश्वव्यापी फैलिएपछि हाल विश्वमा दैनिकजसो नयाँ परीक्षण विधि र किटको विकास हुँदै छ । यो दौडमा सबैभन्दा अगाडि दक्षिण कोरिया र चीन देखिएका छन् ।

बजारमा उपलब्ध सबै किट र परीक्षण विधि विश्वसनीय भने छैनन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हालै स्पेन र टर्कीले चाइनिज ‘इम्युनोएस्से’ विधिका ‘र्यापिड परीक्षण किट’ भरपर्दो नभएको आरोप लगाउँदै फिर्ता पठाएका छन् । स्मरणरहोस् नेपालले हालसम्म ‘र्यापिड परीक्षण किट’ प्रयोगमा ल्याएको छैन ।

अमेरिकी राष्ट्रपतिले समेत मेडिकल सामाग्री उपलब्ध गराउन दक्षिण कोरियालाई फोन गरेको खबर छापाहरूमा आएपछि कोरियन कम्पनीले निर्माण गरेको कोरोना भाइरस परीक्षण किटको माग हाल विश्वव्यापी बढेको छ ।

अमेरिकी ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन’ले पनि कोरियन किटलाई प्रारम्भिक अनुमति दिएको समाचार आएको छ । सयौँ देशले कोरियन किटको माग गरेको दक्षिण कोरियाले बताएको छ । कोरियन एक थरी कम्पनीले माथि उल्लेखित तिनै जिन एकैपटक परीक्षण गर्ने किटको विकास गरेका छन् भने अर्को थरी कम्पनीले दुई जिन एकैपटक परीक्षण गर्ने किट बनाएका छन् ।

सरकारले जहाज पठाएर चीनबाट सामान खरिद गर्दासमेत ‘वायोसेफ्टी क्याबिनेट’ किनेको जस्तो लाग्दैन । त्यसैले ‘वायोसेफ्टी क्याबिनेट’ विना मोफसलमा कोरोना भाइरस परीक्षण अगाडि बढ्ने लक्षण छैन

त्यसैगरी मलेसियन कम्पनी ‘एडिटी बायोटेक’ले पनि दुई जिन (‘ई’ र ‘आरडीआरपी’) को परीक्षण एकै पटक गर्ने किट बनाएको छ । भारतीय ‘माई ल्याब’ले पनि नयाँ परीक्षण किट बनाएको छ । बजारमा आएका नयाँ केही किटको विशेषता के छ भने भाइरसबाट ‘आरएनए’ निकाल्ने, सी–डिएनए बनाउने र त्यसपछि पीसीआर गर्ने सम्मको सबै काम एकैपटक गर्न सकिने बताइएको छ । जसको कारण परीक्षणको काम अत्यन्त छिटो र ‘क्रस कन्ट्यामिनेशन’ पनि कम हुने देखिन्छ ।

बुझेअनुसार हाल नेपालमा प्राय बढी च्यानल प्रयोग गरेर स्याम्पल परीक्षण गर्न मिल्ने ‘रियल–टाइम पीसीआर’ छन् । र, नेपालमा भएका केही मेसिनमा भने दुई च्यानल मात्र पनि रहेछन् जसमा दुई वटा जिन एकै पटक हेर्न मिल्ने किट प्रयोग गर्न सकिन्छ । तर, विडम्बना सरकारी अधिकारीले कुन र कस्तो परीक्षण किट चीनबाट खरिद गरेको हो, प्रस्ट छैन । यसमा किन सवाल उठ्यो भने परीक्षणमा समयको बचत र गुणस्तर गहन विषय हो ।

विभिन्न कम्पनीले बनाएका ३ वटा जिन एकै पटक परीक्षण गर्ने किट प्रयोग गर्न ‘रियल–टाइम पीसीआर’मा दुईभन्दा बढी च्यानल प्रयोग गरेर स्याम्पल परीक्षण गर्ने सुविधा हुनु पर्दछ । फलस्वरूप एकै पटकको रिआक्सनबाट फरक च्यानल मार्फत फरक जिनको ‘सिटी भ्यालु’ जाँच गर्न सकियोस् ।

छिटो कसरी ?

अनुमान गरेअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तीन फरक जिनको परीक्षण तीन पटक गर्दै आएको छ । जसको कारण दिनमा सय भन्दा बढी परीक्षण हुन सकेको छैन । होइन भने ९६ वटा स्याम्पल राख्न मिल्ने ‘रियल–टाइम पीसीआर’ मा ६ वटा कन्ट्रोल स्याम्पल राखे पनि एक पटकमा ९० वटा टेस्ट स्याम्पल परीक्षण हुनु पर्ने हो ।

आजभोलि बजारमा आएका नयाँ किटले त एक घण्टामा नै दुई वटा जिनको परीक्षण एकैपटक हुने दाबी गरेका छन् (स्याम्पल तयारीको समय बाहेक) । यसरी हिसाब गर्दा ९० वटा स्याम्पल परीक्षण गर्न स्याम्पल तयारीको लागि केही समय छुटाउँदा पनि कम्तीमा ६ घण्टामा रिजल्ट आउनु पर्ने हो ।

समूह बनाएर सिफ्टमा २४ घण्टा काम गर्दा एउटा मेसिनबाट अधिकतम ३६० वटा रिजल्ट आउनु पर्ने हो । नेपालमा हाल भएका कम्तीमा २० वटा ‘रियल–टाइम पीसीआर’लाई यसरी प्रयोगमा ल्याउने हो भने दैनिक सात हजार परीक्षण गर्न असम्भव छैन ।

माइक्रोबायोलोजी र वायोटेक्नोलोजी अध्ययन गरेकालाई आवश्यक प्रवन्ध गरेर मलिक्युलर परीक्षणमा समावेश गराउनुपर्छ । यस्तो विषम परिस्थितिमा वृहत् राष्ट्रिय हितमा सबै पक्षले सहयोग गर्नुपर्छ

वायोसेफ्टी लेभल २ (वा ३) को प्रयोगशालामा छिटो आपतकालीन प्रबन्ध गरेर दैनिक सात हजार परीक्षणको कार्य योजना बनाउन सरकारले सोच्नु पर्दछ । टेकुबाहेक वीर अस्पताल, पाटन अस्पताल, धरान, त्रिपुरेश्वरस्थित पशु अस्पतालमा तत्काल यो परीक्षण सम्भव देखिन्छ (तर काम सुरु हुन सकेको छैन) ।

त्यसैगरी जनस्वास्थ्यमा काम गरिरहेका काठमाडौँका केही निजी प्रयोगशालाहरूलाई पनि भाइरस परीक्षणमा सहभागी गराउन सकिन्छ । त्यसबाहेक हेटौँडामा रहेको जनस्वास्थ्य प्रयोगशालालाई स्तरोन्नती गरेर सञ्चालनमा ल्याउन सकिन्छ ।

नेपालमा हाल प्रमुख समस्या भनेको पर्याप्त वायोसेफ्टी लेभल २ (वा ३) को प्रयोगशाला सुविधा नहुनु हो । तर सरकारले जहाज पठाएर चीनबाट सामान खरिद गर्दासमेत ‘वायोसेफ्टी क्याबिनेट’ किनेको जस्तो लाग्दैन । त्यसैले ‘वायोसेफ्टी क्याबिनेट’ विना मोफसलमा कोरोना भाइरस परीक्षण अगाडि बढ्ने लक्षण छैन । हालै चीनबाट खरिद गरिएको ५० हजार परीक्षण किटले राष्ट्रिय आवश्यकता पनि पटक्कै पूरा गर्दैन ।

अर्को समस्या के छ भने नेपाल स्वास्थ्य व्यवसायी परिषदले त्रिभुवन विश्वविद्यालयमा मेडिकल माइक्रोबायोलोजीमा एमएस्सी गरेका हजारौंलाई स्वास्थ्य क्षेत्रमा काम गर्ने अनुमति दिएको छैन । याद रहोस् उनीहरूले अध्ययनको सिलसिलामा ६ महिनासम्म अस्पतालमा ‘इन्टर्नसिप’ पनि गरेका हुन्छन् । त्यसै गरी स्वास्थ्य मन्त्रालयको कोर टीममा मिलिक्युलर बायोलोजी अध्ययन गरेका चिकित्सक वा विज्ञ पनि परेका छैनन् । यस्ता विविध कारणले हाल देशमा प्रयोगशाला परीक्षणमा प्राविधिक र विज्ञ जनशक्तिको ठूलो अभाव देखिएको छ ।

अन्तमा, सरकारले प्रयोगशाला परीक्षणलाई युद्धस्तरमा अगाडि बढाउनुपर्छ । माइक्रोबायोलोजी र वायोटेक्नोलोजी अध्ययन गरेकालाई आवश्यक प्रवन्ध गरेर मलिक्युलर परीक्षणमा समावेश गराउनुपर्छ । यस्तो विषम परिस्थितिमा वृहत् राष्ट्रिय हितमा सबै पक्षले सहयोग गर्नुपर्छ ।

( डा. पराजुली रसायनशास्त्र केन्द्रीय विभाग, त्रिविका प्राध्यापक हुन् ) 



source https://www.onlinekhabar.com/2020/03/849118

Post a Comment

0 Comments