सहर निद्रामा छ, एउटा सत्य हो । सहर जागा पनि छ, अर्को सत्य हो । एकान्तबासलाई सहरले फेसनका रूपमा लिँदै गएको जस्तो देखिन्छ ।
सामाजिक सञ्जालमा एकान्तबास शब्दको खुब प्रयोग भएको देख्नुहुन्छ । ट्रेन्डिङको जमाना छ । ट्रेन्डिङमै छ यो शब्द । कोरोना भाइरसले सामाजिक प्राणी मानिसलाई एकान्तजीवी बनाइदिएको छ ।
एकान्तबासको छैटौं दिन मैले पनि लकडाउन तोडेँ । बाध्यता पनि थियो । चामल र तरकारी सकिएको थियो । उधारो चल्ने किराना पसल पनि बन्द । बाँच्नलाई खोले नै भए पनि चाहिने यो मानव चोला ।
जसरी पनि दुई-चार किलो चामल, एक किलोजति दाल, चिया खाइरहनुपर्ने मान्छे एक केजीजति चिनी जोहो गर्नुपर्ने भयो । बौद्ध दर्शनका जानकार सूर्य गुरुले वचन दिनुभएको थियो– यो लकडाउन पार गराउने जिम्मा मेरो । उनैलाई भेट्न लकडाउन तोडियो । प्रहरीको त्रासदी मनभरि छँदै थियो ।
बाहिर सडकमा आउँदा स्वतन्त्रताको अनुभूति भयो । चराहरू कराइरहेका थिए । मानिसको लस्कर उस्तै थियोे । नयाँ बसपार्कको दैनिकीका अनेकौँ बान्कीहरू फेरिएका थिए । गाडीहरूको चर्को आवाज बन्द भएको थियोे । हतारहतार घर फर्किरहेका मान्छेहरूको बाक्लो हुल थिएन । सडक–पेटीका चिया दोकानहरू बन्द थिए । पाँच सय पचासमा आउने जुत्ताका स्टलहरू थिएनन् । मोबाइलमा फिल्म हालिदिने पसल बन्द थिए । पानी नछिर्ने घडी दुई सय पचासमा बेच्नेहरू पनि थिएनन् ।
होटेल चाहिएको हो भनेर सोधिरहने नुवाकोटको दलाल भाइ पनि थिएन । उहिले जनमुक्ति सेनाका जुझारु युवा प्रह्लादजीको चिया अखडामा घरजग्गा मिलाइदिनेहरूको घुइँचो थिएन ।
बाइबल सित्तैँमा बाँड्ने युवतीहरू पनि थिएनन् ।
एउटा कलम किनेर सहयोग गरिदिनुस् न भन्ने युवकयुवतीहरू थिएनन् ।
कहाँ गए होलान् त्यत्रा मान्छे ?
स्कुटीमा थियौँ । हामीलाई शोभाभगवती पुग्नु थियो । केहीबेरमा पुगेर फर्कियौँ पनि । फर्किंदा नयाँ बसपार्कको एउटा कुनामा भेटिए कालीकोटका रमानाथ जैसी । एउटा चिया पसलमा चिया खान छिरेका थियौँ । घुइँचो थिएन । उनी नजिक आएर सोधे– बाबु, तीस रुप्पे छ ?
मैले सोधेँ– किन होला ?
उनका आँखाबाट आँसु खस्दै थियोे । ओठ काम्दै थिए । उनी भन्दै थिए– अस्तिबाट ग्यास पनि सक्कियो बाबु । काम गर्ने ठाउँको साहू पनि घर गयो । कोरोनाले काम पनि पाइएन । पचास रुपैयाँको पाउरोटी किनेर दुई छाक गरेर खान्छु । यस्तो बन्द कति बेर हुने हो थाहा छैन । साह्रै पिर लाग्या’ छ । लौ बाबु त्यति सहयोग गर्नुस् ।
भगवान् नमान्ने एउटा भौतिकवादी म । मैले उनले भनेको भगवानको अर्थ बुझेँ । बेचैन मन बोकेर कोठा फर्किएँ । मेरो पनि उही हाल थियोे । केही किलो चामल त मलाई पनि किन्नु थियोे
मैले तीस रुपैयाँ दिएँ । अलि पर दोकानबाट उनले पाउरोटी लिएर आए । हाम्रा केही सवाल–जबाफ भए :
घर कहाँ तपाईंको ?
कालीकोट (पत्रकार जन्मदेव जैसीलाई चिन्नुहुन्छ भनेर सोध्न खोजेको थिएँ, सोधिनँ ।)
यहाँ कहाँ बस्नुहुन्छ ?
यही गुम्बाछेउ ।
कोरोनासँग डर लाग्दैन तपाईंलाई ?
लाग्दैन । भोको मान्छेलाई भोकबाहेक अरू केहीसँग पनि डर लाग्दैन । नपत्याए तपाईं भोको बसेर हेर्नुस् ।
यसरी पाउरोटी मात्र खाँदा असर होला नि ?
तपाईंले मलाई चामल नै किनिदिए पनि कहाँ पकाएर खाने ? छिमेकी छैन । घरधनी भाडा नदिएको भनेर ठुस्स पर्छ । अब यसै गरी चलाउनुपरेको छ जिन्दगी ।
भोक धेरै लाग्छ होला ?
लाग्छ, सुत्छु निद्रा लाग्दैन । आधा पेट खाएर निदाउन नसकिने रहेछ बाबू ।
जहानपरिवार कता छन् नि ?
उतै कालीकोटमा छन् । आउनू भनेर फुन गर्छन्, कसरी जानु ? न उडेर, न गुडेर !
चिया खाने कार्यक्रम सकियो । एककप चिया उनलाई पनि भनिदिएँ । उनी खुसी भए । जानेबेला भन्दै थिए उनी– त्यही मान्छे भगवान् हो, जो बाँडेर खान जान्दछ ।
भगवान् नमान्ने एउटा भौतिकवादी म । मैले उनले भनेको भगवानको अर्थ बुझेँ । बेचैन मन बोकेर कोठा फर्किएँ । मेरो पनि उही हाल थियोे । केही किलो चामल त मलाई पनि किन्नु थियोे ।
ल, एउटा कुरा भुलिएछ । बुढाको नम्बर टिप्न पाएको भए !
मानिसहरू भन्दा हुन् यो काल्पनिक कुरा हो । तपाईं सडकमा निस्कनुभयो भने यस्ता धेरै पात्र भेट्नुहुनेछ ।
घरमा आएर सामाजिक सञ्जाल अन गर्दा प्रहरीले भाटा हानेको फोटो भाइरल थियो । प्रहरीको कामको खुलेर प्रशंसा हुँदै थिय– लकडाउनको पूर्ण पालना नगर्नेलाई यस्तै हुनुपर्छ । सहरका वाम बुद्धिजीवीका समेत स्टाटस आउन थालेका थिए । लकडाउन गरेका कारण मान्छेहरू सरकारप्रति पूरै कृतज्ञ थिए । मानिलिनुस्– लकडाउन गरेकै दिन समाजवाद हाम्रो आँगनमै आयो । मलाईचाहिँ लकडाउन सामान्य लागेको थियो । चरम निरङ्कुश शासक ज्ञानेन्द्र शाहकै शासन भए पनि लकडाउन हुने थियो ।
केहीबेरमा अर्का साथी रत्नप्रसाद अनामणिले चटामरी खाएको तस्वीर अपलोड गरे । त्यहाँ पनि आउन थाले मज्जाका कमेन्ट– वाह सर । मलाई पनि है सर । हामीले त खाजा लोकल कुखुरा खाइयो नि । म पकौडा बनाउँछु भरे आदि ।
मैले ती जैसी बाजेलाई सम्झें । आफ्नु चामल सक्किएको बोरा हेरें । सामाजिक सञ्जालमा स्टाटस लेखेँ– श्रमजीवी वर्गले लकडाउन सहन सक्दैनन् भन्ने आसयको । फेरि फेसबुके बुद्धिजीवीहरूको गाली बर्सन थाल्यो । गालीको समाजशास्त्र बुझेँ । गालीमा मिसिएको वर्गपक्षधरता बुझेँ । घरमा बसेर फेसबुक चलाउँदै अनेकौँ परिकार खाँदाको मज्जा त्यो जैसी बाजेलाई कहाँ ?
यो त एउटा सानो उदाहरण हो ।
अहिलेको लकडाउन श्रमजीवीहरूका निम्ति महंगो छ । मान्छेलाई मर्नु त छँदैछ । कोरोनाले होइन, भोकले मर्नु नपरोस् भनेर चिन्ता गर्ने बुद्धिजीवीहरूको खडेरी छ । सरकार मौन छ । सामाजिक सञ्जालमा खासै कोही बोल्दैन ।
मध्यम वर्गको दुःख पनि कस्तो–कस्तो !
source https://www.onlinekhabar.com/2020/04/849894
0 Comments