Looking For Anything Specific?

Header Ads

कालोबजारीको बेला पोखरेली दिदीबहिनीले बनाए मास्क

८ चैत, पोखरा । अहिले बजारमा सजिलै मास्क पाइँदैन । कोरोना भाइरसको संक्रमणको सन्त्रासले बजारमा कालोबजारी पनि भइरहेको छ । यो संकटको बेला केही रचनात्मक काम गर्न पाए हुन्थ्यो भन्ने पोखरा ५ का महिलाहरूलाई लाग्यो । हाम्रो रचनात्मक गार्मेन्ट उद्योगका महिलाले सल्लाह गरे, ‘कोरोना संक्रमणबाट जोगिन स्तरीय मास्क बनाऔं ।’

बजारमा मास्क अभाव भएपछि रचनात्मक गार्मेन्टले कटनको मास्क उत्पादन गर्यो । मास्क त बन्यो, तर अब यसको स्तर ? सुरक्षित कति छ भनेर प्रश्न उब्जियो । मास्कको गुणस्तर र प्रयोगबारे बुझ्न वडा सदस्य अञ्जु केसी नेतृत्वमा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पोखराका निर्देशक डा. अर्जुन आचार्यकहाँ पुगे ।

कटनको कपडालाई भित्री, बाहिरी हुने गरी डबल सिलाइएको विभिन्न रङका मास्क हेरेपछि डा. आचार्यले मास्क स्तरीय रहेको बताए । डा. आचार्यले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निम्ति ६ सय वडा मास्क खरिद नै गरे ।

‘मास्क हेरें । अस्पतालमा त्यही प्रयोग गर्नका निम्ति ६ सयप्रति खरिद नै गरें । डबल सिलाइएको र कटनको राम्रो कपडा भएकाले पनि यो मास्क उपयुक्त लाग्यो,’ डा. आचार्यले भने, ‘बजारमा मास्कको अभाव भइरहेका बेला महिला दिदीबहिनीले तयार पारेको यो मास्क उपयुक्त विकल्प हुन सक्छ ।’

यो रचनात्मक गार्मेन्ट पोखरा वडा नम्बर–५ को अगुवाइमा खुलेको उद्योग हो । उद्योगमा सञ्चालक महिला ३३ जना छन्, ३ जना नियमित काम गर्ने छन् । गार्मेन्ट उद्योगकी अध्यक्ष राधिका अधिकारी छिन् ।

उद्योगको अभिभाकत्व वडाले नै गर्दै आएको छ भने उद्योगको संयोजकत्व वडा सदस्य केसीले गरिरहेकी छन् । ‘महिलालाई स्वरोजगार र उद्यमशील बनाउन वडाकै नेतृत्वमा गार्मेन्ट खोलेका हौं । उद्यमशील बन्न चाहने महिलाले यहाँबाट उद्यम सिक्न, स्वरोजगार बन्न र आत्मनिर्भर बन्न सक्छन्,’ वडाध्यक्ष धनबहादुर नेपालीले भने, ‘उद्यमशील बन्ने यो अभियानमा थुप्रै महिला जोडिएका छन् । अहिले तिनै महिलाले मास्क बनाइरहेका छन् ।’

अहिले महिलाहरूले कोही गार्मेन्टमै आएर त कोही घरमै बसीबसी मास्क बनाइरहेको महिलाहरूको नेतृत्व गरिरहेकी केसीले जानकारी दिइन् । ‘महिलाको कमाइ पनि हुने र यो संकटका बेला सेवा पनि हुने भएर मास्क बनाउन लागिपरेका हौं,’ केसीले भनिन्, ‘गार्मेन्टबाट अहिले दिनहुँ ७ सयदेखि १ हजार वटाको दरले मास्क बजारमा गइरहेको छ ।’

मास्कको मूल्य १४ देखि २५ रूपैयाँसम्म तोकिएको छ । अहिले पनि मास्कका लागि गार्मेन्टमा दिनहुँ माग बढिरहेको केसीले बताइन् । ‘अहिले गार्मेन्टका महिला दिदीबहिनीले घरेलु र स्थानीयस्तरमै उत्पादित मास्क दिइरहेका छन् । यो गतिलो विकल्प पनि बनेको छ,’ केसीले भनिन् ।

बजारमा मास्कको अभाव हुन नदिन र कोरोनाको संक्रमणबाट सुरक्षित रहन पोखरा ५ महिला उद्यमीको यो जुक्ति अहिले फलदायी र उपयोगी बनेको छ ।

गार्मेन्टमा वडा कार्यालय र पोखरा महानगरले गरी ६ लाख रूपैयाँ लगानी गरेको छ भने उद्यमी महिलाहरूले पनि लगानी बढाउँदै लगेका छन् । महिलाहरूले अहिले घरमै बसीबसी बनाएका मास्क संकलन गरी वडाको व्यवस्थापनमा गार्मेन्टबाट बजारमा गइरहेको छ ।



source https://www.onlinekhabar.com/2020/03/846091

Post a Comment

0 Comments