Looking For Anything Specific?

Header Ads

दशैंलाई अग्रिम टिकट नदिने साना सवारीले यसरी ठग्छन् यात्रु

८ असोज, काठमाडौं । दशैं आउन केही दिन अगाडि लामो दुरीमा चल्ने बसहरुले अग्रिम टिकट बुकिङ खुला गर्छन् । यसले गर्दा यात्रुलाई आफ्नो यात्रा पहिल्यै सुनिश्चित गर्न सजिलो हुन्छ भने, पछि हुलमुलमा ठगिने डर पनि हुँदैन ।

तर, छोटो वा मध्यम दुरीमा चल्ने साना सवारीसाधनको टिकट भने अग्रिम काट्न सकिँदैन । काठमाडौंबाट बाहिरिने यात्रुको ठूलो हिस्सा ओगट्ने यस्ता सवारीसाधनको सञ्चालन अपारदर्शी नै छ । दशैंमा मनलाग्दी भाडा असुल्नकै लागि व्यवसायीले अग्रिम टिकट नकाट्ने गरेको यात्रुले आरोप लगाउँछन् ।

वीरगञ्जका रामानन्द मिश्र भन्छन्, ‘पोहोर पनि तेब्बर भाडा तिरेर जानुपर्‍यो, यो वर्ष त पहिल्यै टिकट काट्न पाइन्छ कि भन्ठानेको थिएँ, तर पाइएन,’ उनले गुनासो गर्दै भने ।

गत आइतबारबाट लामो दूरीमा जाने यात्रुको लागि बसहरुको अग्रिम टिकट बुकिङ सुरु भयो । तर, मध्यम तथा छोटा दूरीका गन्तब्यमा जाने यात्रुलाई सरकार र व्यवसायीले बेवास्ता गरेका छन् । बल्खुका सुमो काउन्टरमा मात्र नभएर कोटेश्वर, कलंकी, बालाजु, चाबहिल पुरानो बसपार्कलगायतका क्षेत्रमा रहेका कुनै पनि काउन्टरमा साना तथा मध्यम दुरीका लागि अग्रिम टिकट पाइँदैन ।

घर जान झोला बोकेर बसपार्क पुगेका मान्छे भाडाका लागि झगडा गर्दैन, उसलाई जतिसक्दो छिटो घर पुग्न हतार हुन्छ । त्यसैलाई व्यवसायीले कमाउने अवसर बनाउने गरेका छन्

पूर्व जाने बसहरुको पनि खासै अग्रिम टिकट बुक गरिँदैन । सुमो, मिनीबस र माइक्रो तथा मध्यम दूरीमा चल्ने सबै खालका सवारीको अग्रिम टिकट बुकिङ खुलेको छैन । त्यसैले छोटा र मध्यम गन्तब्यमा जाने यात्रुलाई कसरी घर फर्किने भन्ने पिरलो छ । दशैंमा यात्रा गर्दा उनीहरुले चर्को भाडा तिर्नुपर्ने निश्चित जस्तै छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला मध्यम तथा छोटा दूरीमा चल्ने सवारीको अग्रिम बुकिङ केही दिनपछि खुल्ने बताउँछन् ।

‘पहिले लामो दूरीमा जाने यात्रुको चाप हेरेर बुकिङ खुलाएका हौं, अब केही दिनपछि अरु रुटमा पनि बुकिङ खुल्छ,’ उनले भने, ‘छोटो दूरीमा जानेलाई धेरै समस्या पनि हुँदैन ।’

उपभोक्ता अधिकारवादी रामबहादुर थापा व्यवसायीले विगतदेखि नै मध्यम र छोटो दूरीमा जाने यात्रुलाई अन्याय गर्दै आएको बताउँछन् ।

‘पछि खुल्छ भन्दै अन्तिममा टिकट नै सकियो भन्छन्, त्यसपछि यात्रुलाई अनेक बहाना र डर देखाएर मनलाग्दी भाडा असुलिन्छ,’ थापाले भने, ‘घर जान झोला बोकेर बसपार्क पुगेका मान्छे भाडाका लागि झगडा गर्दैन, उसलाई जतिसक्दो छिटो घर पुग्न हतार हुन्छ । त्यसैलाई व्यवसायीले कमाउने अवसर बनाउने गरेका छन् ।’

बल्खुका एक सुमो व्यवसायी छोटो दूरीमा यात्रु ओसार्दा एकपट्टबिाट रित्तै जानुपर्ने र त्यसले घाटा लाग्ने भएकाले अग्रिम टिकट नकाटेको बताउँछन् ।

‘दशैंमा हेटौंडाबाट सुमोहरु रित्तै काठमाडौं फर्किनुपर्छ, अहिल्यै टिकट काट्दा बढी भाडा लिन सकिँदैन,’ उनले भने, ‘त्यतिबेला नियमितभन्दा बढी भाडा नलिइ काठमाडौंबाट यात्रु लिएर जाँदा घाटा मात्रै हुन्छ ।’ विगतका वर्षहरुमा पनि यसो गरिएको भन्दै उनले घाटामा गाडी चलाउन नसकिने तर्क गरे ।

दशैंमा बढी भाडा असुलेर छुट्ने अधिकांश साना सवारीहरुले टिकट दिँदैनन् । टिकट दिए पनि रकम काउन्टरबाहिर दलालमार्फत उठाएर साविककै भाडादर लेखेर थमाउने गरेका छन् । वीपी राजमार्ग भएर चल्ने कोटेश्वरका बस तथा सुमोका काउन्टरले पनि त्यसै गर्छन् । कलंकीबाट छुट्ने चितवन चल्ने माइक्रोले पनि दशैंमा बढी भाडा असुलेको गुनासो यात्रुले गरेका छन् ।

यातायात व्यवस्था विभागले भने बढी भाडा लिने सवारीलाई कडा कारवाही गरिने बताएको छ । दशैंको आसपास काउन्टरबाटै बढी भाडा लिने कर्मचारीलाई प्रहरीमार्फत नियन्त्रण लिएर कारवाही चलाउने चेतावनी विभागको छ ।

असोज १० गतेबाट उपत्यकाका १३ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिने भएकाले समस्या भए तुरुन्त खबर गरेर सहयोग माग्न विभागले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस अग्रिम टिकट नपाएकासँग दोब्बर भाडा असुल्दै यातायात व्यवसायी यो पनि पढ्नुहोस दशैंका लागि ८ दिन देशभर सार्वजनिक सवारीलाई रुट इजाजत खुला

source https://www.onlinekhabar.com/2019/09/798990

Post a Comment

0 Comments