१३ असोज, काठमाडौं । सन्तान जन्मिने तर नबाँच्ने पीडाबाट पीडित बाबुआमाका ११ औं सन्तान हुन् उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ । उनी लमजुङको गाउँ शहरमा सामान्य राजनीतिक चेत भएको मध्यम वर्गीय परिवारमा ०२५ मंसिर १५ गते जन्मिएका हुन् ।
एघारौंपटक सुत्केरी हुन ज्योतिकी आमालाई माइत पठाएको थियो । उनलाई मृत्युबाट जोगाउन जन्मने बितिक्कै जोगीको झोलीमा हालेर जोगीजस्तो बनाइयो । नभन्दै, उनी नै बानियाँ दम्पत्तिका जीवित र अन्तिम सन्तान हुन पुगे ।
गाउँका दौंतरीले ज्योति बानियाँलाई अहिले पनि जोगी भनेरै चिन्छन् ।
जोगीबाट ज्योति
जोगी बनाइएका अर्थात कुलबाट निकालिएका एकमात्र जीवित सन्तान ज्योति परिवार र मावलीमा सबैका प्यारा थिए । चार वर्षको उमेरमा उनी नजिकै मजुङ माध्यमिक विद्यनलयमा भर्ना हुन पुगे । फारममा मास्टरले नाम लेखे– जोगी बानियाँ ।
तर, हेडमास्टर बुद्धीबहादुर बुढोथोकीलाई त्यो नाम जँचेन । उनले स्कुल भर्ना गर्न छोरा लिएर आएकी आमालाई ‘जोगी’जस्तै सुनिने र स्त्रीवाचक भएकाले जेको डर हो, त्यो दोषबाट पनि जोगिने भन्दै ‘ज्योति’ लेख्न सहमत बनाए ।
विद्यालयसँगै जेलनेल
बानियाँ परिवारमा त्यसबेलाको नेकपा (माले) का नेताहरुको आउजाउ थियो । बानियाँकी आमा मार्क्र्सवाद, लेनिनवादको वकालत गर्थिन् । उनका माइती ९थापा) मा जेठो दाजु प्रधानपञ्च थिए भने कान्छो भाइ माले ।
आमा र मामाको राजनीतिक चेत ज्योतिमा पनि सर्यो। कक्षा ८ मा पढ्दै गर्दा मालेको बिद्यार्थी मोर्चामा काम गर्ने विद्यार्थीको नाम लेखिएको डायरी कतैबाट प्रहरीले बरामद गरेछ । पक्राउ परे ।
लमजुङकै माविबाट ०४० सालमा एसएलसी उत्तीर्ण हुनेबितिक्कै ज्योतिले अलि परको स्कुलमा जागिर पाए । शिक्षण पेशा ठिकठाक चल्दै गर्दा देशभर शिक्षक आन्दोलन उठ्यो । त्यसले उनलाई नछुने कुरै भएन । उनी खोसुवामा परिहाले । ‘१६ वर्षको उमेरमा जिल्लामा प्रतिबन्धित भएपछि ०४२ सालमा चितवन पुगेँ’, उनी सम्झन्छन् ।
त्यहीबेला भरतपुर क्याम्पसमा पहिलो पटक कानुन विषयमा प्रवीणता प्रमाणपत्र तह (आइएल) को भर्ना खुल्यो । जेल, अड्डा–अदालत भोगेका उनी कानुनका विद्यार्थी बने ।
पढाइ चल्दै गर्दा मालेको राजनीतिले उनलाई फेरि पाँच महिनाका लागि जेल पुर्यायो । आइएल सकेपछि उनी बीएल पढ्न काठमाडौं आए र नेपाल ल क्याम्पसमा भर्ना भए ।
कानुनले अधिकार बुझायो
कानुन क्याम्पस पढ्दा ज्योतिलाई पहिलो पुस्ताको अधिकार, नागरिक तथा राजनीतिक अधिकार र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरुलाई दोस्रो पुस्ताको अधिकार रहेछन् भन्ने वोध भयो । देशको कानुनी अवस्थाबारे अध्ययन गर्दै जाँदा उनलाई लाग्यो– दोस्रो पुस्ताको अधिकार त यहाँ प्रयोग नै भएको रहेन छ । उनी भन्छन्, ‘अनि ती अधिकारहरु स्थापित गर्न लाग्नुपर्छ भन्ने भयो ।’
कठोर पञ्चायतकालमा ज्योतिले जागिर पाउने र पाए पनि टिक्ने सम्भावना कमै थियो । आईएल पास गर्ने बितिक्कै उनले अभिवक्ताको अनुमतिपत्र लिए । बीएल दोस्रो वर्ष पढ्दै गर्दा उनी एउटा ल फर्ममा आवद्व भए ।
त्यहीबेला ल क्याम्पसका उनका एक गुरु थप अध्ययनका लागि दिल्ली विश्वविद्यालय गएका थिए । फर्केपछि उनले ज्योति लगायत तेस्रो वर्षका केही विद्यार्थीलाई ‘म गेष्ट लेक्चर दिन्छु भाइहरु आओ है’ भने । तेस्रो वर्षमा इन्टर्नसिपको एउटा पेपर र अर्को शोधपत्र बुझाउनुपथ्र्यो ।
दिल्ली विश्वविद्यालयले त्योबेला कानुनका धेरै विषय ‘इन्डोर्स’ गरिसकेको थियो । तर, नेपालमा परिवार, कर जस्ता विषयमा कुल ५० नम्बरको पढाइ हुन्थ्यो । ‘०४८ सालतिरको कुरा हो, गुरुले तिमीहरुले अहिल्यै थेसिसहरु लेख्यौ भने हाम्रो क्याम्पसलाई पनि दबाव पर्ला भनेर सन्र्दभ सामाग्रीहरु ल्याइदिएको छु भनेर दिनुभयो’, ज्योति भन्छन्, ‘सबभन्दा अगाडि बसेको मेरो हातमा ‘उपभोक्ता कानून’ नामको किताब पर्यो।’
त्यो बेलासम्म उनले उपभोक्ता विधिशास्त्रबारे सुन्दै सुनेका थिएनन् । त्यही किताब पढेर उनले थेसिसको फर्ममा ‘कन्जुमर ल’ उल्लेख गरे । तर तयारीका क्रममा थप सन्दर्भ सामाग्रीहरु पाएनन् ।
‘स्वर्गीय न्यायाधीश भरतराज उप्रेती मेरो गाईड तोकिनुभएको थियो’, उहाँले मेरो थेसिस विषय हेर्ने वितिक्कै बनियाँ–व्यापारीलाई वाणिज्य नै परेछ भनेर जिस्काउनुभयो ।’
उप्रेतीले भनेका र जुटाइदिएका सन्दर्भ सामग्री र गाइड गरेकै आधारमा ज्योतिले करिब दुई सय पृष्ठको थेसिस तयार पारे । थेसिस पढेपछि क्याम्पस प्रमुखले बोलाएर थप तीनप्रति फोटोकपी गर्न भन्दा ज्योतिले पैसा नै छैन भनेर टार्न खोजे । उनलाई लाग्यो– थेसिस बुझाएर सबै साथी हाईसञ्चोमा बसेका छन्, सन्दर्भ सामग्रीमै धेरै टाउको दुःखाएको मलाई भने क्याम्पसले थप तनाव दिँदैछ ।
फोटोकपी गरेर ल्याउ, पैसा क्याम्पसले तिर्छ भनेपछि उनले त्यो पनि गरे । एकदिन फेरि क्याम्पसका पियन खोज्दै आएर क्याम्पस प्रमुखले तुरुन्त भेट्न चाहेको बताए । फेरि के तनाब दिन लागे भन्दै क्याम्पस पुग्दा प्रमुखकोमा तीनवटा चिठ्ठी तयार थिए ।
‘कानुन, आपूर्ति र परराष्ट्र मन्त्रालयलाई देशमा उपभोक्ता विधिशास्त्र सम्बन्धी कानुन अत्यावश्यक भएकाले ती विषयका सोधपत्र आवश्यक कारवाहीका लागि पठाइएको छ भनेर लेखिएको रहेछ’, ज्योति सम्झन्छन्, ‘०४९ सालतिरको कुरा हो, ती पत्र आफैं लगेर बुझाएँ ।’
लेखक खोज्दै थेसिस आयो
कानुन मन्त्रालयले आफ्नो थेसिसकै आधारमा टिप्पणी उठाएर कानुनको मस्यौदा बनाउन ल क्याम्पसमा पत्र पठाएको ज्योतिको दाबी छ ।
थेसिसमा फोन नम्बर नहुने भएकाले मन्त्रालयले क्याम्पसमा तारन्तार गरेछ । ‘त्यो सूचना पाएर मन्त्रालय पुग्दा उपसचिवले तपाई कति ठूलो मान्छे हो, खोज्नलाई तीन महिना लाग्ने भन्दै थर्काए’, उनी भन्छन्, ‘अनि मेरो थेसिस देखाउँदै ल योभन्दा राम्रो लेख्नुपर्यो भन्दै हाँसे ।’
त्यसपछि एक महिनाको समय दिएर कानुनको पहिलो मस्यौदा लेख्न भनियो । अनि आफ्ना शिक्षकहरुसँग बसेर उपभोक्ता कानुनको पहिलो ड्राफ्ट बनाएको ज्योति बताउँछन् ।
त्यसवापत मन्त्रालयबाट ५५ हजार रुपैयाँ पाउँदा ट्वाल्ल परेको उनले सुनाए । ‘मेरो थेसिस दुईवर्ष पछि मलाई खोज्दै आयो, विज्ञता बिकाएर रकम पनि दिएर गयो’, उनी भन्छन्, ‘त्यसबेला एकमुष्ट ५५ हजार ठूलो रकम थियो ।’
अग्रजहरुको सहयोग र आफ्नो मेहनतबाट नेपालमा ०५१ सालमा पहिलोपटक उपभोक्ता संरक्षण ऐन तयार भएको ज्योतिले सुनाए, जुन ०५४ सालमा जारी भयो ।
उपभोक्ता हित संरक्षण मञ्चको जन्म
मन्त्रालयले कानुनको मस्यौदा लेख्न भन्दैगर्दा ज्योतिको कुनै संस्थागत आवद्धता थिएन । मस्यौदामा काम गर्न संस्था चाहिने त्यहाँ भनियो । ‘त्यसैको परिणाम हो उपभोक्ता हित संरक्षण मञ्च’, उनी भन्छन्, ‘२० चैत ०५१ मा यो संस्था जन्मियो, जसमा सुन्दरमणि दीक्षित अध्यक्ष हुनुहुन्थ्यो, म सचिव थिएँ ।’
ऐन आउने भएपछि कार्यान्वयन गर्न माग पक्ष चाहिने भएकाले यो संस्था जन्माइएको उनले बताए । पछि उपभोक्ता अधिकार कानुन प्रयोग गर्ने विषयमा नयाँ व्यवस्थाहरु थपिँदै गएपछि बजार अनुगमनको थालनी भएको उनी बताउँछन् ।
उपभोक्ता हित संरक्षण मञ्चले महत्वको हिसाबले सञ्चार माध्यममा राम्रो स्थान पाएको र उपभोक्ता ठगिएको विषयमा मुद्दा पर्ने क्रम बढेको ज्योतिको अनुभव छ ।
घटनाबारे गहिरो अध्ययन, त्यसपछि अनुगमन, छापा वा कुनै पनि नाममा घटना सिर्जना गर्ने र त्यसलाई मुद्दा बनाएर क्षतिपूर्तिसहित अदालत जाने काम उपभोक्ता हित संरक्षण मञ्चले गर्छ । हरेक वर्ष मञ्चले देशभर एकसय भन्दा धेरै मुद्दा अदालतमा दर्ता गर्ने गरेको छ ।
पछिल्लो मुद्दा दुर्गा घिमिरेको थियो । पाटन अस्पतालमा शल्यक्रिया गर्दा पिसाब नली पनि काटिएपछि लापरवाही विरुद्व मञ्चले ललितपुर जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्यो । जिल्ला प्रशासनबाट जिल्ला अदालत गएको मुद्दामा डा. लक्ष्मीनाराण आरसीलाई रु.७ लाख र अस्पताललाई ५ लाख रुपैयाँ क्ष्तिपूर्ति भराउन आदेश भयो ।
त्यस्तै, दुर्घटनामा परेका ताप्लेजुङका सहायक सिडियोको उपचारमा लापरवाही गरेको पुष्टि भए पछि ओम अस्पताललाई ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराइएको थियो ।
ज्योतिले बिर्सन नसक्ने मुद्दा चाँही लाउण्ड्रीमा धुन दिएको कोट सम्बन्धी भएको ज्योति बताउँछन् । उनका अनुसार, लाउण्ड्रीले आइरनले डढाएर दिएको कोटबारे मञ्चले लडेको मुद्दामा अदालतले १२ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला दिएको थियो ।
बानियाँका जस पाउने काम
नेपालमा उपभोक्ता अधिकारलाई कानुनी मान्यता दिलाउनु अधिवक्ता ज्योति बानियाँ र उपभोक्ता संरक्षण मञ्चको सबभन्दा महत्वपूर्ण काम हो । उपभोक्ता संरक्षण ऐन २०७५ का मस्यौदाकारमध्ये पनि एक हुन्, बानियाँ । संविधानको मौलिक हकमै उपभोक्ता अधिकार, गुणस्तरीय वस्तु तथा सेवा पाउने हक तथा नपाए क्षतिपूर्तिको व्यवस्था गराउनेमा पनि उनले श्रेय पाएका छन् ।
यस्तै चुरोट र खैनीको बट्टामा ७५ प्रतिशतसम्म चेतनामूलक तस्वीर राख्न सक्नु पनि उनको सफलता हो । धुम्रपानको खोलमा ७५ प्रतिशत चेनतामूलक तस्वीर राख्ने मुलुक संसारमा नेपाल एक्लो हो । विद्यालय क्षेत्रको एक सय मिटर वरपर सुर्तिजन्य पदार्थ बिक्रीमा रोक लगाउने व्यवस्था पनि बानियाँकै पहलमा भएको थियो ।
सरकारी अस्पतालमा फार्मेशी हुनुपर्ने व्यवस्था पनि मञ्च र बानियाँहरुको सक्रियताबाट सम्भव भएको हो । नेपालमा छ्याप्छ्याप्ती पाइने भियाग्रा बिक्री विरतरणमा रोक लगाउनुमा पनि उनको योगदान छ ।
त्यस्तै, काठमाडौं उपत्यकाका पसल अनिवार्य दर्ता हुनुपर्ने व्यवस्थामा पनि बानियाँको हात छ ।
धारा तोरीको तेलका मालिकविरुद्व कालोबजारी मुद्दा हालेर भाग्न बाध्य बनाउने पनि यही टिम थियो । होटल तथा रेष्टुराँमा लिइने सेवा शुल्कविरुद्व हालेको मुद्दा पनि उपभोक्ताको पक्षमा आएर कार्यान्वयनको चरणमा रहेको अधिवक्ता बानियाँ बताउँछन् ।
‘ज्योतिलाई सडकबाट उठाउनुपर्छ’
उपभोक्ता अधिकारकोे नारा बोकेर २५ वर्षदेखि संघर्ष गर्दा ज्योति बानियाँले धेरै शत्रु कमाएका छन् । आम नेपाली खुलेआम लुटिएको, ठगिएको बुझेपछि आफूलाई निद्रा नलाग्ने उनी बताउँछन् । ‘नजानेका मानिस त बोलेनन् ठिकै छ, जानेकाहरु समेत चुप बस्दा यिनीहरु किन लास भएका हँ भन्ने लाग्छ’, उनी भन्छन्, ‘यही हुटहुटीमा सकृय हुँदा अनेक शत्रु कमाइएको छ, कैयौंपटक मार्ने धम्की खेपिएको छ ।’
जोखिमको बाटोमा हिँडेकाले बेलाबेला परिवार निकै चिन्तित हुने गरेको उनी बताउँछन् । अनलाइनखबरसँग कुरा गर्दै बानियाँ भन्छन्, ‘श्रीमती र दुई सन्तानलाई भनेको छु, नागरिक अधिकारका लागि लडेकै कारण सडकबाट मेरो लास उठाउने दिन आउन सक्छ, मानसिक रुपमा तयार रहनू ।’
source https://www.onlinekhabar.com/2019/09/800236
0 Comments