१६ भदौ, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
विवाहित महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि र अविवाहितले सुयोग्य वर पाउनका लागि तीज व्रत बस्ने गरेको सामाजिक चर्चा छ । तर, शास्त्रीय मत भने महिला र पुरुष दुवैले तीजको व्रत गर्नुपर्ने रहेको धर्मशास्त्रविद एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउँछन् ।
‘अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ’, उनले भने । प्रा. डा. गौतमका अनुसार तीजको व्रत बस्ने पुरुषले गुण सम्पन्न वधु पाउने र विधुर हुनु नपर्ने विश्वास गरिन्छ ।
‘निराहार वा निर्जल व्रत बस्नु पर्दैन’
नारीले परिवारको प्रतिनिधित्व गरी व्रत बस्ने गरेको बताउँदै उनले यदि नारी व्रत बस्न नसक्ने अवस्था भएमा वा रजस्वला भएमा पुरुषले पनि तीजको व्रत बस्न सक्ने बताए । ‘पुरुषले पनि तीजको व्रत बस्न सक्ने शास्त्रीय वचन छ, यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा तीज होइन,’ उनले भने ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको पौराणिक कथा छ । त्यसैले धेरैले तीजको व्रतमा पानीसमेत नखाई व्रत बसेर महादेवको पूजा गरेमा शुभफल मिल्ने विश्वास गर्दछन् । तर, सबै व्रतालु निराहार नै व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद गौतम बताउँछन् । उनले भने, ‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्न सक्छन् ।’
स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता खानेकुरा खाएर पनि व्रत बस्न सक्ने गौतमले जानकारी दिए ।
पौराणिक कथा
तीजको व्रतसँग सम्बन्धित एक रोचक धार्मिक कथा छ । स्कन्द पुराणमा लेखिएअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोज । त्यसपछि पार्वतीले आफ्नो समस्या साथीहरुलाई सुनाइन् । उनका साथीहरुले पार्वतीलाई हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत बसेर महादेवलाई नै स्वामी पाइन् ।
यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर ‘हरितालिका’ शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
तीजबारे गलत प्रचार
समग्रमा मनोकामना पूर्ण गराउन तीजको व्रतको महत्व रहेको रहेकोे धर्मशास्त्रीहरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ ।
तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख छ । तर, नेपाली समाजमा श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख डा. देवमणि भट्टराई बताउँछन् ।
source https://www.onlinekhabar.com/2019/09/792895
0 Comments