२४ असोज, चितवन । मानसिक रोगको उपचारमा सबैभन्दा ठूलो समस्या बिरामीले आफूलाई लागेको रोग स्वीकार गर्न नसक्नु हो । त्यसैले विरामीलाई मनाएर उपचार सुरु गर्नु चुनौतीपूर्ण हुने गरेको चिकित्सकहरुको अनुभव छ ।
मानसिक रोग विशेषज्ञ प्रा.डा. शैलेन्द्र अधिकारी भन्छन्, ‘कडा खालको मनोरोग भइसक्दा पनि ९० प्रतिशतभन्दा बढी बिरामीले आफूलाई मानसिक रोग छ भन्ने स्वीकार गर्दैनन् । उनीहरुले घर परिवारले मलाई जबरजस्ती गरेर अस्पतालमा पुर्याए भन्ठान्छन् । कतिपयले औषधि खानै मान्दैनन् ।’
रोग अस्वीकार गर्ने बिरामीलाई आफू बिरामी भएको स्वीकार गर्न डेढ महिना जति समय लाग्ने उनको अनुभव छ । त्यसलाई मेडिकल भाषामा ‘इनसाइड’ भनिन्छ । यसपछि मात्रै बिरामीको उपचार सुरु गरिने डाक्टरहरु बताउँछन् ।
कुल जनसंख्याको ३३ प्रतिशतलाई कुनै न कुनै मानसिक समस्या
नेपालको कुल जनसंख्याको ३३ प्रतिशतमा कुनै न कुनै बेला, कुनै न कुनै किसिमको मानसिक समस्या हुने मनोचिकित्सा क्षेत्रमा संलग्नहरुको दावी छ । १५ प्रतिशत अर्थात् ४५ लाख नेपाली कुनै न कुनै किसिमबाट मानसिक समस्याबाट पीडित रहेको र तीमध्ये २ प्रतिशत हाराहारी अर्थात् ६ लाख नेपाली क्रोनिक (गम्भीर) मानसिक रोगी बिरामी रहेको प्रा.डा. अधिकारी सुनाउँछन् ।
तर नेपालमा मानसिक बिरामीको तुलनामा मानसिक रोगको उपचार गर्ने चिकित्सकको संख्या भने निकै न्यून छ । पूर्वी चितवनको खैरहनी नगरपालिका-१ गैडाहामा ‘ब्युटिफुल माइण्ड इन्सटिच्युट अफ साइक्याट्री’ सन्चालन गरेका मानसिक रोगका डाक्टर गिरिराज भन्तनाका अनुसार नेपालमा २५० जना मानसिक रोग विशेषज्ञ चिकित्सक र मनोपरामर्शदाता ३० जना मात्रै छन् । ‘त्यसैले म बिरामी हुँ भन्ने बोध गराएर म सक्षम छु भन्नेसम्म बनाउन राज्यकोसमेत भूमिका हुनुपर्छ,’ उनी भन्छन् ।
पछिल्लो समयमा देखासिकी, वैदेशिक रोजगारीमा गएका युवाहरु, देशको राजनीतिक, समाजिक र आर्थिक अवस्था, पारिवारिक कलह, व्यापार व्यवसायमा संकट तथा वंशाणुगत कारणले पनि मानसिक समस्या भएका बिरामीहरुको संख्या बढेको उनी बताउँछन् ।
आवासीय उपचारसँगै सिपमुलक तालिम
मानसिक समस्या देखिएकाहरुका लागि अस्पतालको नियमित फलोअप त चाहिन्छ नै त्यससँगसँगै गम्भीर खालका बिरामीहरुलाई पारिवारिक वातावरणमा भर्ना गरेर मनोसामाजिक परामर्श पनि चाहिन्छ । यही सोचका साथ चितवनको ‘ब्युटिफुल माइण्ड इन्सटिच्युट अफ साइक्याट्री’ ले भर्ना भएका विरामीहरुलाई औषधि, परामर्श र सिपमुलक तालिम पनि दिने गरेको छ ।
‘सीपमुलक तालिम र रोजगारी भएन भने मानसिक समस्या झन् बढ्नसक्छ, उपचारपछि पनि यदि पुनर्स्थापना गर्न सकिएन भने पनि रोग बल्झिएर समस्या हुनसक्छ, त्यसैले बिरामीलाई सिन्ट्रोमेटिक उपचारबाट सुरु गरेर जीवन जिउने बलियो आधारसम्म तयार गर्नुपर्छ,’ भरतपुर अस्पतालमा समेत मानसिक बिरामीको उपचारमा लामो अनुभव संगालेका भन्तना भन्छन् ।
केन्द्रबाट उपचार सेवा लिएकामध्ये हालसम्म ४५ जनाले विभिन्न सिपमूलक तालिम लिएको, ४० जनाभन्दा बढी आ-आफ्नो पेशा व्यवसायमा फर्किएको र अहिले उपचारको क्रममा नै रहेका १० जनालाई रोजगारीसमेत दिइएको उनी बताउँछन् ।
‘जीवनमा मैले केही गर्न सकिनँ, अब कसरी समाजमा पुनर्स्थापना हुने भन्ने समस्या बिरामीलाई हुन्छ, हामीले उनीहरुलाई केही गर्न सकिन्छ भनेर उपचारसँगैसँगै सिपमूलक तालिम पनि दिएर पठाउँछौं, ताकी उनीहरुलाई जीविकोपार्जनका लागि सहज होस्,’ डा. भन्तना भन्छन् ।
आवासीय रुपमा बसेका बिरामीहरुलाई मनोसामाजिक परामर्शमार्फत उनीहरुको रोगको चरण पत्ता लगाएर उपचार गर्ने गरिन्छ । खानपान, शारीरिक अभ्यास, योग ध्यान, प्राणायाम, मनोरञ्जन, औषधि आदिका माध्यमबाट उपचार गर्ने गरिन्छ । मानसिक रोगका लागि थेरापीसमेत महत्वपूर्ण भूमिका हुने भन्दै डा. भन्तनाले आरटिएमएस, टीडीसीएस, बायोफिड ब्याक, सेक्स थेरापी, इलेक्ट्रो सिलिप, पोली सोमनोग्राफी र इसीटीका माध्यमबाट उपचार गरिने बताए ।
पर्सा बजारमा अलग्गै ओपीडी सञ्चालन गरेर बिरामीको अवस्था हेरेर आवासीय रूपमा राख्नुपर्ने र नपर्ने छुट्टाउने गरिन्छ । केन्द्रमा आउने बिरामीलाई रोगको प्रकृति र अवस्था हेरेर डेढ महिना, ३ महिना र ६ महिनाको प्याकेज बनाएर राख्ने गरिएको प्रा.डा. शैलेन्द्रराज अधिकारी बताउँछन् ।
केन्द्रमा आवासीय बिरामीलाई महिनाको ५६ हजार सेवा शुल्क र १२ हजार रुपैयाँ खाना-खाजाको लागि भनेर रकम लिने गरिन्छ । बिरामीको आर्थिक अवस्था हेरेर कसैलाई निःशुल्क उपचारसमेत गर्ने गरिएको डा. भन्तनाले बताए ।
मानसिक स्वास्थ्य जागरण अभियानका अभियन्ता शेषनाथ अधिकारी मानसिक रोगको उपचार सम्भव छ भन्ने कुरा जनमानसमा लैजान सक्नुपर्ने बताउँछन् । आफू पनि अनिद्राको समस्याबाट प्रभावित भएर उपचारपछि अहिले निको भएको अनुभव सुनाउँदै उनले समयमा नै मानसिक रोगको उपचार गरेमा आत्महत्यालाई न्यूनीकरण गर्न सकिने बताए ।
source https://www.onlinekhabar.com/2023/10/1379296
0 Comments