Looking For Anything Specific?

Header Ads

शेयरधितो कर्जाको सीमा बढाएपछि पनि बजार घट्नु स्वाभाविक कि अस्वाभाविक ?

२४ असोज, कठमाडौं । लगानीकर्ताले लामो समयदेखि गरिरहेको मागअनुरुप नेपाल राष्ट्रबैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनायो । तर, त्यो सीमा संशोधन गरेपछि पनि सेयर बजार भने लगातार घटिरहेको छ ।

गत बिहीबार राष्ट्र बैंकले सीमा बढाएपछिका तीन कारोबार दिनमा नेप्सेमा ६७.३३ अंकको गिरावट भइसकेको छ ।

संशोधनपछिको पहिलो कारोबार दिन आइतबार नै बजार परिसूचक नेप्सेमा ३५.६७ अंकको उच्च गिरावट भयो । सोमबार नेप्सेमा १२.५८ अंकले गिरावट हुँदा मंगलबार पनि १९.०६ अंकको कमी आएको हो ।

कतिपयले ठूला लगानीकर्ता र ब्रोकर कम्पनीहरुको मिलेमतोमा शेयर बजार नियोजित रुपमा घटाइएको बताउने गरेका छन् । त्यस्तो संकेत अनलाइनखबरसँग कुरा गर्ने एक ठूला लगानीकर्ताले पनि गरे ।

राष्ट्र बैंकले लगानीकर्ताको अपेक्षाअनुसार सीमा नबढाएको भन्दै ठूला लगानीकर्ताले संगठित रुपमा नै विरोध जनाएको र सेयर बजार त्यही भएर घटेको ती एक लगानीकर्ता बताउँछन् । ‘शेयर धितो कर्जाका सन्दर्भमा व्यक्तिगतमा २० करोड र संस्थागतमा सीमा नै नतोकिने लगानीकर्ताको अपेक्षा थियो । तर, अपेक्षाविपरीत थोरै मात्रै सीमा बढाउँदा ठूला लगानीकर्ताहरु अनौपचारिक रुपमा संगठित भएर त्यसको विरोध गरिरहेका छन्, त्यसले बजारमा नकारात्मक प्रभाव परेको छ,’ उनले भने ।

ठूला लगानीकर्ताहरुले केही साताअघि १२ करोडको सीमा हट्ने चर्चा हुँदाकै बखत शेयर बेचेर बाहिरिएकाले पनि अहिले बजार बढ्न नसकेको उनको तर्क छ । ‘टाठाबाठा पहिल्यै बेचेर बाहिरिए, अहिले चाडपर्वको बेला आम लगानीकर्ताले बजार प्रवेश गर्ने अवस्था छैन,’ उनले भने ।

२ असोजमा बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारी १२ करोडको सीमा बढाउन सहमत भएका थिए । त्यसपछि ४ असोजमा नेप्सेमा ४४.३४ अंकको उच्च वृद्धि भएको थियो ।

जुन नीतिगत व्यवस्थामा नेप्से ३२०० अंक पुगेको थियो, ती व्यवस्थाहरु पुनः सुरु नगर्दासम्म बजारमा सकारात्मक प्रभाव नपर्ने लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको तर्क छ

नेपाल राष्ट्रबैंकले परिवर्तन गरेको सीमाप्रति असन्तुष्टि जनाउन बजारलाई बढ्न नदिने रणनीतिले काम भइरहेको एक सेयर ब्रोकरले पनि बताए ।

नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘यो परिमार्जन पर्याप्त छैन भन्ने हाम्रो बुझाइ हो, त्यसैले अहिल्यै बजार बढेर सकारात्मक सन्देश नजाओस् भन्ने कुरामा हामी सचेत छौं,’ उनले भने, ‘बजारमा त्यहीअनुरुपको सन्देश प्रवाह भइरहेको छ ।’

अहिले बजार घटिरहनुमा १२ करोडको सीमाभन्दा पनि अन्य कारणहरु रहेको धितोपत्र दलाल व्यवसायी नरेन्द्र सिजापती बताउँछन् । ‘चाडपर्व नजिक आएको छ । नेपालीहरुको वर्षभरिमा सबैभन्दा बढी खर्च हुने महिना र समय यही हो,’ उनले भने, ‘तलब खानेहरुले दशैं भत्ताबाट खर्च त्यसैबाट जोहो गर्छ । लगानीकर्ताले सेयर बेचेर भए पनि खर्च जोहो गर्नुपर्‍यो,’ उनले भने ।

यस्तै त्रैमासको अन्तिम महिना भएकाले बैंकको ब्याज तिर्न शेयर बेच्नुपर्ने बाध्यताले पनि बजारमा प्रभावित भएको उनले बताए ।

समग्र अर्थतन्त्र नै मन्दीमा रहेकाले लगानीकर्ताको मनोबल उठ्न नसक्दा पनि बजारमा सकारत्मक प्रभाव देखिन नसकेको उनले बताए । तर, १ कात्तिकबाट लागु हुने निक्षेपको ब्याजदर बैंकहरुले घटाएमा सेयर बजारमा सकारात्मक प्रभाव देखिनसक्ने उनले बताए ।

सेयर बजारमा धेरैवटा रोग रहेको तर १२ करोडको सीमा बढाउनु एउटा मात्रै रोकको आंशिक उपचार भएको सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेल बताउँछन् । ‘एउटा रोगको उपचारका लागि पनि मात्रा घटाएर औषधि खुवाएर अब निको भइस् भनेजस्तै भएको छ,’ उनले भने । अन्य समस्याहरु समाधान नभएसम्म लगानीकर्ताको मनोबल सकारात्मक हुने अवस्था नभएको उनले बताए ।

जुन नीतिगत व्यवस्थामा नेप्से ३२०० अंक पुगेको थियो, ती व्यवस्थाहरु पुनः सुरु नगर्दासम्म बजारमा सकारात्मक प्रभाव नपर्ने उनको तर्क छ । ‘त्यसबेला बैंकहरुले सेयरको अल्पकालीन कारोबार गर्न पाउँथे, मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १०० प्रतिशत मात्रै जोखिम भार थियो, अहिले १५० प्रतिशत पुर्‍याइएको छ,’ उनले भने, ती व्यवस्थाहरुलाई पूर्ववत् ल्याउनुपर्ने पौडेल बताउँछन् ।

अर्कोतर्फ प्रतिफल नै निश्चित नभएको कम्पनीलाई हकप्रद दिनेलगायत विभिन्न तरीकाबाट आपूर्ति बढाउने कामले संस्थागत लगानीकर्ताको विकास नभएको उनले बताए ।

नेपाल राष्ट्र बैंकले ११ जेठ २०७८ मा एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन प्रकृतिको धितोपत्रमा लगानी गर्न रोक लगाएको थियो । त्यसअघि बैंक तथा वित्तीय संस्थाले पनि साधारण लगानीकर्तासरह सेयर कारोबार गर्दै पुँजीगत लाभ आर्जन गर्ने गरेका थिए । ‘सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्,’ राष्ट्र बैंकले ११ जेठ २०७८ मा जारी गरेको सर्कुलरमा भनिएको छ ।

तर, खरिद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले उक्त सर्कुलर मार्फत गरेको थियो । सर्कुलर जारी हुनुअघि १० जेठसम्म लगानी गरेको सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न सकिने व्यवस्था गरेको थियो ।

यस्तै राष्ट्र बैंकले सोही सर्कुलर मार्फत विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न रोक लगायो । १० जेठ २०७८ सम्म त्यस्तो सेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री/विनिवेश गरिसक्नुपर्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकको उक्त निर्देशनपछि सेयर बजारमा तीव्र उतारचढाव देखिएर २ भदौ २०७८ मा ३१०३.०३ मा बन्द भएको थियो । त्यसलगत्तै राष्ट्रबैंकले ८ भदौ २०७८ मा परिपत्रमार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड कायम गरेकेा थियो । उक्त सीमाको ४ करोडलाई हटाएर यसअघि नै १२ करोड मात्रै कायम गरिएको थियो । गत बिहीबारबाट भने संस्थागतलाई २० करोड र व्यक्तिगतलाई १५ करोड बनाइएको छ ।

त्यसपछि राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा मार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भारमा पनि वृद्धि गरेर १५० प्रतिशत पुर्याएको थियो । त्यसपछि लगातारजसो घटेको सेयरबजार परिसूचक १८०७ सम्म झरेका थियो ।

राष्ट्रबैंकले गत आर्थिक वर्षमा २५ लाखसम्मको शेयर धितो कर्जामा जोखिम भार घटाएर १०० प्रतिशत बनाएकोमा ७ साउनमा आएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत त्यसलाई ५० लाख पुर्‍याएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकिकृत निर्देशनमा मार्जिन प्रकृतिको कर्जा बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजीको बढीमा ४० प्रतिशतसम्म प्रवाह गर्न सक्ने व्यवस्था छ । नेपाल राष्ट्र बैंकको २०८० साउन मसान्तसम्मको तथ्यांक अनुसार मार्जिन प्रकृतिको सेयर धितो कर्जा ७६ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको पूँजीकोष ७ खर्ब ५६ अर्ब पुगेको छ । यस हिसाबले बैंकहरुले प्राथमिक पुँजीको १० प्रतिशत मात्रै शेयर धितो कर्जा दिएका छन् ।



source https://www.onlinekhabar.com/2023/10/1379275

Post a Comment

0 Comments