Looking For Anything Specific?

Header Ads

लाखौं–करोडौं तिरेर पनि हाम्रो रोग बोकिदिने अर्को मान्छे किन्न पाइदैन

प्रसंग – १

एउटा अनौठो तथ्य के भने, नेपालमा ‘भोक लाग्ने’ औषधिको खपत अत्याधिक हुँदो रहेछ । यहाँ मान्छेलाई दाल–भात नै अपुग छ । खानेकुराको स्रोत भन्दा भोकको क्षेत्रफल ठूलो छ ।

जुन देशमा भनेजस्तो खानेकुरा भरपेट खान पाइँदैन त्यहाँ कसलाई चाहियो होला ‘भोक लाग्ने औषधि’ ?

सोधीखोजी गर्दा थाहा पाइयो, भोक लाग्ने औषधि त बोइलर कुखुरालाई खुवाउने रहेछ । भोक लागेपछि त्यसले धेरै खान्छ र त्यही मात्रमा शरीर बढ्छ पनि । ४५–५० दिनमा हलक्कै बढेर मोटोघाटो हुन्छ । बोइलर कुखुरालाई एन्टिबायोटिक औषधि दिइने गरिएको छ । खाद्य अनुसन्धानकर्ताहरु भन्छन्, ‘यस्तो मासुमा पनि एन्टिबायोटिकको अंश बाँकी रहने हुँदा स्वास्थ्यमा असर गर्न सक्छ ।’

प्रसंग- २

एकजना साथीलाई प्रसंगवस् मैले सोधेको थिएँ, ‘यो शहरतिर बेच्ने बोका–बाख्रामा त मासु नै मासु हुन्छ । किन हो ?’

उनले सुरुमा त हाँसेर टारिदिए । पछि मुख खोल्न बाध्य भयो, ‘बोका बाख्रालाई संगीनी सुई लगाइएको हो ।’ केही समयअघि गुल्मीको धुर्कोट गाउँमा बोका बाख्रालाई संगिनी सुई लगाएको समाचार आएको थियो । महिलाका लागि प्रयोग हुने यो गर्भनिरोधक सुई लगाएपछि बोका बाख्राको तौल बढ्छ भन्ने रहेछ । यस्तो हर्मोनल सुई लगाएको मासुले मानव स्वास्थ्यमा असर गर्छ भन्दै यस्तो काम रोक्न गाउँपालिकाले सूचना नै निकालेको थियो ।

प्रसंग -३

भृकुटीमण्डमा आयोजित कृषि मेलामा हाम्रै गाउँले भाईले घिउको स्टल राखेको रहेछ । त्यहाँ अवलोकन गर्न आउनेहरुले सोधेछन्, ‘यो घाँस खाएकै गाईको घिउ हो ?’

भाई अक्क न बक्क भए । गाईले घाँस नखाएर के खान्छ त ? एक भेटमा उनले यही प्रश्न मलाई गरे । शहरी क्षेत्रमा गाईबस्तुलाई घाँसभन्दा बढी अरुथोक नै खुवाइन्छ भनेर सुनेको थिएँ । खासगरी धेरै दूध निकाल्नका लागि अक्सिटोसिन हर्मोनको इन्जेक्सन दिइने रहेछ । यो हर्मोन सुत्केरी व्यथा लाग्नुअघि पाठेघर खुलाउनका लागि दिइने गरिन्छ ।

बालीदेखि थालीसम्म विष

 

एकजना चिनजानकै बहिनी भन्दै थिइन्, ‘लौका किनेर फ्रिजमा राखेको थिएँ । अर्को दिन त फ्रिजको ढोका नै खुलेको छ । के भएछ भनेर हेर्दा राखेकै ठाउँमा लौका बढेछ ।’

लौका, कांक्रा आदिमा ग्रोथ हर्मोनको इन्जेक्सन लगाइन्छ । त्यसैले त्यो समयभन्दा अगाडि नै पाक्छ र ठूलो हुन्छ । सागसब्जी खानु राम्रो त हो भन्छौं । तर, हामीले खाइरहेको सागसब्जी कसरी उत्पादन गरिएको छ ? सोच्नैपर्छ ।

केरालाई पनि स्वभाविक रुपमा बढ्न र पाक्न दिइदैन । त्यसमा यस्तो रसायन प्रयोग गरिन्छ, जसले केराको बोक्रामा छिर्का नदेखियोस् र हेर्दा खाउँखाउँ लाग्दो होस् । फलफूल खाँदा पनि ढुक्क हुन सकिने स्थिती छैन ।

तराईंमा अहिले ‘सठिया मकै’ भन्ने पाइन्छ । यो भनेको साठी दिनमै फल्ने मकै हो । खासमा मकैलाई उसकै लयमा पाक्न दिने हो भने चार–पाँच महिना लाग्न सक्छ । औषधि लगाएर जबरजस्ती फल्न बाध्य बनाएको मकैमा आवश्यक पोषक तत्व होला त ?

उहिले बाबु–बाजेले ‘आना माना घिउ खाएको’ भन्छन् । तर, अहिले त्यसरी घिउ खानुहोस् त । तपार्ईंलाई कोलेस्टोरोल वा मुटुको समस्याले सताउन सक्छ ।

किनभने उहिले रैथाने गाईबस्तु पालिन्थे, गाईबस्तुलाई चरनमा छाडिएको हुन्थ्यो । प्राकृतिक रुपमा उत्पादित दूधबाट बन्ने दही, घिउ पनि शुद्ध हुन्थ्यो । अहिले अवस्था त्यस्तो छैन । गाईंलाई घाँस भन्दा बढी औषधि खुवाइन्छ । अप्राकृतिक ढंगले गर्भधारण गराइन्छ । दूधको मात्रा बढाउने इन्जेक्सन दिइन्छ । यस्तो गाईभैसीको दूध, दही, घिउ खाएर तागत आउँछ कि रोग लाग्छ ?

अरुको के कुरा, शहरियाहरुले पिउने पानी नै पिउनलायक छैन । पानीमा त मिनरल्स हुनुपर्ने हो । तर, यहाँ प्रशोधन गरिएर पानी जारमा राखिन्छ । पानी प्रशोधन गर्ने क्रममा कहिले काहीँ बिद्युत आपूर्ति बन्द हुन्छ । त्यसबेला पानी फिल्टर हुँदैन । यस्तो पानीमा गन्ध हुन्छ । त्यसलाई मीठो बनाउन टेस्टिङ पाउडर प्रयोग गरिन्छ ।

शरीरलाई ‘फ्याट’ अर्थात बोसो पदार्थ जरुरी हुन्छ । तेल, घिउ, बोसो आदिबाट शरीरले यसको परिपूर्ति गर्नुपर्ने हो । तर, हामीले भान्सामा प्रयोग गरिरहेको तेल कस्तो छ ? बजारबाट किनेर ल्याइएका धेरैजसो तेलको शुद्धतामाथि प्रश्न गर्नुपर्ने हुन्छ ।

जस्तो, धेरैले सनफ्लावर तेल राम्रो भनेर प्रयोग गरिहेका हुन्छन् । बजारमा एक लिटर सनफ्लावर तेलको सामान्य मूल्य ३ देखि ४ सय रुपैयाँ छ । जबकि एक लिटर तेल निकाल्न तीन केजी कच्चा पदार्थ जरुरी हुन्छ, जसको सरदर मूल्य नै ३९ सय पर्छ । भनेपछि एक लिटर सनफ्लावरको तेलको मूल्य त ४ हजार रुपैयाँ हुनुपर्ने हो । कसरी हामीले चार सयमा पाइरहेका छौं त ? चासो दिनुपर्ने विषय हो यो ।

हामीले खाइरहेको खानेकुरा वास्तवमै खानलायक छ ? माथिका दृष्टान्तले यही प्रश्न सोच्न बाध्य बनाउँछ ।

खानेकुरा शुद्ध छैन । माटो शुद्ध छैन । हावा शुद्ध छैन । रसाययिनक मल, विषादीले सबैलाई बिटुलो बनाइदिएको छ । त्यही खानेकुरा खाँदा हामीलाई बल, बुद्धि, आरोग्य प्राप्त हुनुपर्नेमा हामी त झन् झन् रोगी हुँदै गइरहेका छौं । चाडै बुढो हुँदैछौं । ऐया र आत्था गर्दै बाँचिरहेका छौं । अस्पताल र औषधिको टेको लगाएर हिँडिरहेका छौं ।

प्राकृतिक चिकित्साले भन्छ, ‘खाना नै औषधि हो ।’ तर हाम्रो लागि त खाना नै विष बनिरहेको छ । हो, हाम्रो खानपानमै गडबड छ ।

खानुपर्ने के, खायौं के ?

हाम्रो शरीरलाई जीवित वा तन्दुरुस्त रहन विभिन्न पोषक तत्व चाहिन्छ । त्यो पोषक तत्वको मूल स्रोत भनेको हामीले खाएका खानेकुरा हुन् ।

खासगरी चार थरीका पोषकतत्व हामीलाई जरुरी हुन्छ । कार्बोहाइड्रेड, फाइबर, प्रोटिन र फ्याट । त्यसबाहेक अरु थुप्रै सुक्ष्म पोषक तत्व शरीरलाई चाहिन्छ– आयोडिन, पोटासियम, म्याग्नेसियम आदि । तर, हामीले जे खाइरहेका छौं, जसरी खाइरहेका छौं त्यसबाट यी पोषक तत्व प्राप्त भइरहेको छ त ?

पहिलो कुरा, हामीले जे–जति खाइरहेका छौं त्यो प्राकृतिक रुपमा उम्रन, हुर्कन, फल्न पाएको छैन ।

दोस्रो कुरा, हामीले खाइरहेका खानेकुरालाई छिटो फलाउन, ठूलो बनाउन, लामो समयसम्म टिकाउन अनेक हर्मोनल इन्जेक्सनदेखि किटनासक विषादीसम्म प्रयोग गरिएका छन् ।

तेस्रो कुरा, हामीले खानेकुरा पकाउँदा र खाँदा त्यसको पोषक तत्व जोगाउनेबारे सोचेका छैनौं ।

चौथो कुरा, हामीले खानेकुराको सन्तुलन र मात्रा मिलाएका छैनौं ।

आर्युवेदले भन्छ, ‘देश, काल, परिस्थिती, मौसम, पाचन क्षमता, मात्रा, प्रकृति अनुरुप खानेकुरा खानुपर्छ ।’ यसरी आफु बसेको भूगोलमा, हावापानी अनुरुप सही मौसममा उत्पादित अन्नबाली नै हाम्रो लागि उचित भोजन हुन् ।

त्यसमा पनि आरोग्य र दीर्घायुका लागि हाम्रो थालीमा काँचो (सलाद, फलफूल, सागपात) ८० प्रतिशत हुनुपर्छ र पाकेको (चामल, दाल, मासु आदि) २० प्रतिशत ।

विदेशतिर ‘रेन्बो डाइट’लाई प्राथमिकता दिइन्छ । यो भनेको खानेकुराको रंगमा पनि विविधता हुनुपर्छ । खासगरी सप्तरंगी खानेकुरा खानुपर्छ भनिन्छ । जस्तो हरियो साग, रातो गोलभेडा, पहेंलो मकै, कालो दाल आदि ।

अस्पतालमा डाक्टर पनि अंग विशेषका हुन्छन् । कोही नाक, कान, घाँटीका हुन्छन् । कोही पाठेघरका । कोही आँखाका हुन्छन् । कोही हड्डीका । तर, हामीले यी अलग अलग अंगका लागि कुन खानेकुरा जरुरी हुन्छ भनेर कहिल्यै खाएनौं । यो खानेकुरा मिर्गौलाका लागि, यो मुटुका लागि, यो आँखाका लागि, यो फोक्सोका लागि भनेर खाएनौं ।

हामीले त जिब्रोका लागि मात्र खाइदियौं । त्यही कारण हामी अस्पताल र डाक्टरको ‘ग्राहक’ बनिरहेका छौं ।

हाम्रो शरीरमा एन्टिबायोटिकले पनि काम गर्न छाड्यो

अहिले तपाईं अलि जटिल रोग लागेर अस्पताल पुग्नुभयो भने, सुरुवाती एन्टिबायोटिकले काम नै गर्दैन । किनभने हर्मोनल सुई र एन्टिबायोटिक दिइएको पशुको मासु खाएर हाम्रो शरीरमा एन्टिबायोटिकको डोज बढिसकेको छ । हामीलाई अब सुरुवाती एन्टिबायोटिकले काम गर्न छाडिसकेको छ ।

कुनैपनि बिरामीलाई सुरुमा थर्ड जेनेरेसनको एन्टिबायोटिक दिइन्छ । त्यसले काम नगरेमा सेकेन्ड जेनेरेशनको । त्यसले पनि काम नगरेमा फस्र्ट जेनेरेसनको एन्टिबायोटिक चलाउने गरिन्छ । अहिले हामीलाई पहिलो र दोस्रो जेनेरेशनको एन्टिबायोटिकले काम नै नगर्ने अवस्था छ ।

हामी त्यती जटिल र संवेदनशिल अवस्थामा छौं । र, यसको एउटै जड हो– खानपान ।

युरोप, अमेरिकादेखि पूर्विय देशहरु जापान, कोरिया, चीनमा देखिएको अभ्यास के छ भने खाना नै औषधिय गुणको रोज्ने । काँचो खानेकुरा जस्तो फलफूल, सलाद, सागपात प्रशस्त खाने । तेल पनि एकदमै स्वस्थकर खाने । पशुको मासु खाँदा निरोगी, जवान पशु रोज्ने ।

तर, हाम्रो थाली त्यस्तो छैन । दालभात, सागसब्जीसँगै हामीलाई जंकफूड, फास्टफुडमा पल्किएका छौं । यस्ता खानेकुरालाई लामो समय टिकाउन, मिठो बनाउन यस्ता रसायन प्रयोग गरिन्छ, जुन स्वस्थ्यका लागि हानिकारक हुन्छ ।

रोग बोकिदिने अर्को मान्छे किन्न सक्नुहुन्न

विख्यात ब्रान्ड ‘एप्पल’का संस्थापक स्टिभ जब्सको अग्नाशयको क्यान्सरले ग्रस्त थिए । जतिसुकै धनी, जतिसुकै प्रभावशाली भएपनि उनको मृत्यु नजिक थियो र जीवन पीडादायी थियो ।

उनले भनेका थिए रे, ‘मसँग उच्च क्षमताका डाक्टर छन्, इन्जिनियर छन्, वकिल छन्, पाइलट छन् । सबै छन् । तर, मेरो रोग बोकिदिने वा मेरो खातिर मरिदिने कोही छैन ।’

हो, आज हामी आज दौडधूपमा छौं । राम्ररी खाने फुर्सद छैन । त्यो खानेकुरा कहाँ फलेको, कस्तो हो, कसरी पकाइएको भन्ने कुरामा ख्याल राख्ने फुर्सद छैन । किनभने हामीलाई पैसा कमाउनुछ, धन दौलत जोड्नु छ । त्यसैले दिनरात दौडिएको दौडिएकै छौं ।

यस्तो धपेडीमा हामीले आफ्नै उत्पादन गरेर, आफैले पकाएर खाने कुरै भएन । आज हामी बजारमा पाइने सस्तो, हेर्दा राम्रो, सलक्क परेको, किराले नखाएको खानेकुरा किनेर खाइरहेका छौं । वास्वतमा हामीले यससँगै रोग किनिरहेका छौं । अस्पताल र औषधिको बजार भाउ बढाइदिदैछौं ।

आज हामीलाई स्वास्थ्यको ख्याल छैन । निरोगी, दीर्घायु बन्नका लागि हामी न समय खर्चन्छौं, न पैसा । आज स्वस्थ्यमा लगानी गरेका छैनौं, त्यसैले भोलि महंगो उपचारमा पर्नेछौं ।

आयुर्वेद पनि फेल खाइसक्यो

आयुर्वेद भन्छ ‘शरीर तीन कारणले रोगी हुन्छ– वात, कफ र पित्त ।’ यसलाई ‘त्रिदोष’ भनिन्छ । वात, कफ र पित्त जब दुषित हुन्छ, तब शरीरमा रोग उत्पन्न हुन्छ ।

त्रिदोषबाट मुक्त रहने उपाय पनि आयुर्वेदसँग छ, त्रिफल । यो भनेको हर्रा, बर्रा र अमला हो ।

तर, अब त्रिदोष निको बनाउन त्रिफलले काम गर्नेवाला छैन । त्यसले काम गर्नका लागि हामी अबको पचास बर्ष पछाडि फर्कनुपर्नेछ । जुनबेला माटो शुद्ध थियो, हावा शुद्ध थियो, खाने अन्नपात शुद्ध थियो । त्यसबेला त्रिदोषबाट मुक्त हुन त्रिफलले काम गथ्र्यो । आज हाम्रो शरीर नै रसायन, असन्तुलित हर्मोनले अर्कै बनाइदिएको छ ।

यदि आयुर्वेदको सूत्रले काम गर्ने हो भने हामी धेरै समय पछाडि फर्कनुपर्नेछ । त्यो कालखण्डमा बाँच्नुपर्नेछ । तर, अहिले जमाना फेरिएको छ । माटो फेरिएको छ । हावा फेरिएको छ ।

अब के गर्ने त ?

खानपानमा गल्ती गर्ने हामी तीनथरीका छौं । एकथरी, जो जानीजानी खराब खानपान गरिरहेका छन् । दोस्रोथरी, जो अज्ञानतावस् त्यस्ता खानेकुरा खाइरहेका छन् । तेस्रोथरी सचेत हुँदाहुँदै पनि बाध्यतामा त्यस्ता खानेकुरा खाइरहेका छन् ।

यस्तो अवस्थामा हामी प्रकृतितर्फ फर्कनु सर्वोत्तम विकल्प हो । आफ्नै खेतीबारीमा काम गर्ने, शुद्ध, ताजा, मौसमी खानेकुरा उत्पादन गरेर खाने । त्यो पनि संभव नभए बजारमा उपलब्ध खानेकुराको शुद्धताबारे हेक्का राख्ने । अप्राकृतिक ढंगले उत्पादन गरिएका, रसायन मिसाइएका, बेमौसमी खानेकुरा बर्जित गर्ने ।

त्यससँगै अहिले अभ्यासमा आएको कुरा भनेको फुड सप्लिमेन्ट हो । यसलाई पुरक भोजन भनिन्छ । हामीले जब खानेकुराबाट पर्याप्त पोषण प्राप्त गर्न सक्दैनौं, तब फुड सप्लिमेन्टले त्यसको परिपूर्ति गर्न सकिन्छ । अहिले विश्वभर यस किसिमको अभ्यास भइरहेको छ ।

फुड सप्लिमेन्ट लिनुअघि आफ्नो शरीरको आवश्यक्ताबारे थाहा हुनुपर्छ । चिकित्सकको जाँच र परामर्शमा फुड सप्लिमेन्ट लिन सकिन्छ । खानेकुरा नै विषाक्त बनिरहेको र त्यसबाट पर्याप्त पोषकतत्व नपाइरहकेको अवस्थामा यो एउटा राम्रो विकल्प हुनसक्छ ।



source https://www.onlinekhabar.com/2023/10/1383738

Post a Comment

0 Comments