१७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ताहरुले श्रमदान, शहीद परिवारलाई सम्मान र सार्वजनिक स्थल सरसफाइ गरेर विशेष रुपान्तरण अभियान सुरु गरेका छन् ।
शनिबार माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडाबाट उदघाटन गरेपछि देशैभर एकसाथ सुरु भएको ‘जनतासँग माओवादी : विषेश रुपान्तरण अभियान’तीन महिनासम्म चल्ने छ ।
पार्टीको केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म वडा तहसम्मै परिचालन हुने र झन्डै २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ सत्तारुढ माओवादी केन्द्रले रुपान्तरण अभियान थालेको छ । यही योजना अनुसार माओवादी अध्यक्ष प्रचण्ड शनिबार काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ घट्टेडाँडाको कार्यक्रममा सहभागी भएका थिए । त्यहाँका स्थानीयले नागढुंगा सुरुङमार्ग निर्माणको क्रममा भोग्नुपरेका समस्याबारे जानकारी गराएपछि प्रधानमन्त्री प्रचण्डले कार्यक्रमस्थलबाटै आयोजना प्रमुखलाई फोन गरेर एक हप्ताभित्र समस्या समाधान सम्बन्धी प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए ।
अभियानको उदघाटनको दिन मकवानपुर, काभ्रे लगायतका विभिन्न जिल्लाहरुमा श्रमदान, शहीद परिवारलाई सम्मान र विकास निर्माणका काममा माओवादी नेता कार्यकर्ताहरु सहभागी भएका छन् ।
माओवादी केन्द्र मकवानपुरका अनुसार पार्टीको तीनमहिने अभियानको उदघाटन गर्ने क्रममा बागमती गाउँपालिका वडा नम्बर ७ कमिटीले चौरा आधारभूत विद्यालयका लागि खानेपानी इनार निर्माण तथा पाइप पुर्ने कार्य गरेको छ । साथै तीर्थकुमारी श्रेष्ठको खेतमा धान पनि गोडेको पार्टीका मकवानपुर संयोजक एवं बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । यसका साथै अन्य वडामा कोदो रोप्ने, धान गोड्ने, मन्दिर र अन्य क्षेत्र सरसफाइ गरिएको उनले बताए ।
यसैगरी बागमती गाउँपालिका वडा नम्बर ६ मा जनहित आधारभूत विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरू, व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, स्कुलका प्रधानाध्यापक, वर्तमान व्यवस्थापन समितिका अध्यक्ष, स्नातकोत्तरसम्म अध्ययन गरेका त्यही स्कुलका पूर्व विद्यार्थीहरू, पूर्वशिक्षिका, शिक्षक र खेलकुदमा योगदान पुर्याएका विभिन्न व्यक्तिलाई पनि सम्मान गरेर अभियान सुरु गरिएको केन्द्रीय सदस्य विष्णु सापकोटा (जुगल)ले जानकारी दिए ।
भीमफेदी गाउँपालिकामा भने त्रिभुवन राजमार्गको पहिरो पन्छाउने काममा माओवादी नेता कार्यकर्ताहरु खटिएका थिए । थाहा नगरपालिकामा माओवादी केन्द्रले वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने, अन्तरक्रिया गर्ने, जनताले चाहेको माओवादी रुपान्तरणका विषयमा जनतालाई सोध्ने लगायत काम गरेको माओवादी केन्द्र थाहा नगर अध्यक्ष विनोद लामाले जानकारी दिए ।
त्यसैगरी राक्सिराङ गाउँपालिकाले कमिटीले वडा ५ स्थित विर्षे खोलामा आवतजावतमा बाधा पुगेका कारण ह्युमपाइप हालेको पार्टीका पालिका इञ्चार्ज एवं गाउँपालिका उपाध्यक्ष वनस्थम थिङले जानकारी दिए ।
माओवादी केन्द्रले जिल्लाभर श्रमदान गर्ने र श्रमदान नगरिएको स्थानमा अभियानको कार्यतालिका बनाउने, जनताको गुनासो सुन्नेलगायत काम गरेको पार्टीका जिल्ला संयोजक घलानले जानकारी दिए ।
यसैगरी काभ्रेको मण्डनदेउपुर नगरपालिकाका वडाहरुमा पनि शहीद परिवारका सदस्यलाई सम्मान गर्ने, पहिरो पन्छाउने र मन्दिर सरसफाइ गरेर अभियान उदघाटन गरिएको छ ।
सो नगरपालिकामा खटिएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सन्तोष पौडेलका अनुसार अभियानको पहिलो दिन गुम्बा सिंह, बहादुरसिंह तामाङ लगायतका शहीद परिवारका सदस्यहरुलाई सम्मान गरिएको छ । यसैगरी वडा नं ३ मा पार्टीको वडा कार्यालय उदघाटन, वडा नम्बर ४ मा पहिरो पन्छाउने काममा श्रमदान र महाकाली मन्दिर परिसर सरसफाइ तथा वृक्षारोपण गरिएको छ ।
नेता पौडेलका अनुसार अभियान अवधिभर प्रत्येक हप्ता श्रमदान गर्ने र शहीद परिवार, बेपत्ता परिवार, घाइते, अपांग र पूर्व जनमुक्ति सेनाका सदस्यलाई अभियानमा सम्मान गर्ने कार्यक्रम छ । साथै कार्यक्रम गर्दा मञ्च नबनाउने, अतिथिलाई खादा माला नलगाइदिने, महिला वक्तालाई समय दिने, अरूको आलोचना नगरी पार्टीका एजेण्डा र उपलब्धिबारे छलफल तथा अन्तरक्रिया गर्ने विधि निर्माण गरिएको उनले बताए ।
source https://www.onlinekhabar.com/2023/09/1359844
0 Comments