२७ भदौ, काठमाडौं । युरो २०२४ को छनोटमा स्पेन र बेल्जियमले फराकिलो जित हात पारेका छन् ।
समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनले साइप्रसलाई ६-० ले पराजित गरेको छ ।
स्पेनको लागि फेरान टोरेसले दुई गोल गरे भने गाभी, मिकेल मेरिनो, जोसेलु र एलेक्स बाएनाले एक/उक गोल गरे ।
जितपछि चार खेलबाट ९ अंक जोडेको स्पेन समूह ए मा दोस्रो स्थानमै छ । पाँच खेलबाट शतप्रतिशत नतिजासहित स्कटल्याण्ड यस समूहमा शीर्ष स्थानमा छ ।
यसै समूहको अर्को खेलमा नर्वेले जर्जियालाई २-१ ले हरायो । नर्वेका लागि एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डले गोल गरे ।
नर्वे ७ अंकसहित तेस्रो स्थानमा छ ।
यस्तै रोमेलु लुकाकुको दुई गोल मदतमा बेल्जियमले समूह एफको खेलमा इस्टोनियालाई ५-० ले हरायो ।
जान भर्टोङ्गन र लियोन्ड्रो ट्रोसार्डले पहिलो हाफमा गोल गर्दै बेल्जियमलाई दुई गोलको अग्रता दिलाएका थिए ।
त्यसपछि दोस्रो हाफको सुरुमा लुकाकुले दुई मिनेटमा दुई गोल गरेपछि बेल्जियमले ६० मिनेट भित्रै ४-० को अग्रता बनायो ।
बेल्जियमका लागि पाँचौ गोल चार्ल्स डे केटेलाएरेले ८८औं मिनेटमा गरे ।
जितपछि पाँच खेलबाट १३ अंकसहित बेल्जियम समूह एफको शीर्ष स्थानमा छ ।
स्वीडेनलाई ३-१ ले हराएर १३ अंक नै जोडेको अष्ट्रिया दोस्रो स्थानमा छ ।
यसैगरी समूह सी को खेलमा इटलीले युक्रेनलाई २-० ले पराजित गरेको छ । इटलीका लागि डेभिड फ्रेटेसीले पहिलो हाफमै दुई गोल गरे ।
युक्रेनका एन्ड्री यार्मालेन्कोले दोस्रो हाफमा एक गोल फर्काए ।
जितपछि चार खेलबाट ७ अंक जोडेर इटली दोस्रो स्थान उक्लेको छ । पाँच खेलबाट उति नै अंक रहेको युक्रेन तेस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा नर्थ मेसेडोनियाले माल्टालाई २-० ले पराजित गरेको छ ।
source https://www.onlinekhabar.com/2023/09/1364971
0 Comments