१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टीको तीन महिने विशेष रुपान्तरण अभियानबाट उत्साहित देखिएको छ ।
माओवादी पार्टीजस्तो पनि रहेन भन्ने निष्कर्षसहित सुरु गरेको रुपान्तरण अभियानमा आफूले सरकारमा बसेर गरेका कामहरू जनतालाई सुनाउने, पार्टीप्रतिका गुनासा सुन्ने र आफूलाई रुपान्तरण गर्ने उद्देश्य राखेको थियो । अहिले पार्टीका अधिकांश नेता कार्यकर्ता वडा तहसम्म सक्रिय भएर अभियानमा लागेका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटा १६ भदौदेखि सुरु भएको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को पहिलो १५ दिन उत्साहजनक रहेको र पार्टीभित्रका अन्तरविरोधहरू हल हुँदै गएको दाबी गर्छन् ।
‘पार्टीभित्र देखिएका अन्तरविरोधहरू, जबसभित्र देखिएका अन्तरविरोध र मुक्तिमोर्चामा देखिएका अन्तरविरोधहरू क्रमश हल हुँदै गएका छन्’, सापकोटा भन्छन्, ‘ठूलठूला अन्तरविरोधमा हाम्रा जिम्मेवार कमरेडहरू सहभागी हुनुहुन्थ्यो । अहिले यो अभियानबाट ती सबै समस्याको हल हुँदै गएको छ । विद्यार्थीमा देखिएको समस्या हल भएर सबै नेता कार्यकर्ता काममा जाने परिस्थिति निर्माण भएको छ । यो सुखद पक्ष छ ।’
शान्ति प्रक्रियामा आएपछि आम नागरिकबाट छुट्दै गएको माओवादी सत्तादेखि सत्तासम्मको यात्रामा रुमलिएको देखिन्छ । यो बीचमा चुनाव जितेर सत्तामा पुग्नैका लागि माओवादी केन्द्रले ठूला दलहरू एमाले र कांग्रेससँग आलोपालो सम्झौता र सहकार्य गर्दै आइरहेको छ । संविधान निर्माणपछि सम्पन्न भएका दुईवटा आम निर्वाचनमा पहिलोपटक एमाले र दोस्रोपटक कांग्रेससँग गठनबन्धन बनाएर सत्तामा पुगेको माओवादीका लागि अब पुरानो प्रवृत्तिले काम गर्दैन भन्ने अनुभूति भएको देखिन्छ ।
१७ देखि २१ साउनमा राजधानीमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकको निर्णयअनुसार माओवादीले आफ्नो नेतादेखि कार्यकर्तासम्मलाई अहिले गाउँगाउँमा पठाएको छ ।
केन्द्रीय समितिको हलमा अधिकांशले समस्या तल कार्यकर्तामा नभएर माथि नेतृत्व तहमा रहेको भन्दै असन्तुष्ट पोखेका थिए ।
माओवादी केन्द्र बाहिरबाट जनताबाट अलग हुँदै गएको र आन्तरिक रूपमा गुट उपगुटको राजनीतिले ओरालो लाग्दै गएको छ । यसलाई चिर्नका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न अस्थायी जुक्ति निकालेर टालटुल पारिरहेका हुन्छन् । माओवादीले भोगेका पटक पटकको विभाजनपछि पार्टीभित्र केन्द्रदेखि क्षेत्रसम्म विभिन्न खालका गुटहरू घोषित अघोषित हिसाबले सञ्चालनमा छन् ।
यसपटक पार्टी केन्द्रीय समिति बैठकबाट त्यस्ता अन्तरविरोधलाई चिर्ने गरी नेताहरूका नयाँ जिम्मेवारीहरू तोकिएका छन् ।
जस्तो कि मधेश प्रदेशमा लामो समयदेखि उपमहासचिवहरू मातृका यादव र गिरीराजमणि पोखरेलबीच विवाद छ । आन्तरिक गतिविधिदेखि आम निर्वाचनसम्म उनीहरूबीच जारी विवादका कारण पार्टी मधेशमा कमजोर बन्दै गएको गुनासो हुने गर्थ्यो। यसपटक पार्टीले उनीहरूलाई फरक-फरक प्रदेश कमिटीको जिम्मेवारीमा पठाएर मधेशमा लिलामणि पोखरेललाई पठाएको छ । यादवलाई कर्णाली प्रदेश र पोखरेललाई सम्पर्क विशेष प्रदेशको जिम्मेवारी दिइएको छ । जसका कारण यतिबेला मधेशमा विवाद मत्थर हुँदै गएको र पार्टी संगठनमा उत्साह थपिएको नेताहरूको बुझाइ छ ।
‘नेताहरूको विवादका कारण मधेशमा त माओवादी के हो के हो भन्ने अवस्थामा पुगेको थियो । अहिले अभियानका क्रममा यस्तो विवाद कम देखिएको छ’, मधेशको अभियानमा जोडिएका एक केन्द्रीय सदस्य भन्छन्, ‘तर अहिले मधेशमा आशा जागेको छ । हामीले कमजोरी सुधार्ने अवसरका बनाउन सक्ने देखिन्छ ।’
यस्तै पार्टीभित्र वडादेखि केन्द्रसम्म रहेका बलिया गुटको नेतृत्व गरिरहेका उपमहासचिवहरू जनार्दन शर्मा र वर्षमान पुनलाई एउटै भूगोलमा जिम्मेवारी तोकिएको छ । शर्मा बागमती प्रदेशको इन्चार्ज छन् भने पुन बागमती प्रदेशमै रहेका विशेष जिल्ला र काठमाडौँ, ललितपुर र भक्तपुर रहेको उपत्यका विशेष प्रदेशको इन्चार्ज छन् ।
हरेक दिनजसो शर्मा र पुन बागमती र विशेष प्रदेशका सम्पर्क कार्यालय रहेको निजामती कर्मचारी संगठनको भवन बबरमहल पुग्छन् । कहिले छुट्टाछुट्टै कहिले सामूहिक बैठकको आयोजना गर्छन् र संयुक्त हिसाबले योजना बनाएर अभियानमा हिँड्छन् ।
उनीहरूसँगै जिम्मेवारीमा रहेका माओवादी केन्द्रका एक जना वैकल्पिक केन्द्रीय सदस्य शर्मा र पुनबीच सम्बन्ध सुमधुर देखिन थालेको अनुभूति भएको बताउँछन् । ‘साच्चिकै तिक्तता सकिएको हो कि सकिएजस्तो गरेका हुन् थाहा छैन, तर फरक जिम्मेवारी भएपनि संयुक्त निर्णय गर्ने अवस्थामा हुनुहुन्छ भनेपछि मिलेकै भनेर बुझेका छौँ’, उनी भन्छन् ।
यसको अर्को उदाहरण हो, जनवर्गीय संगठनमा देखिएको विवाद । विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा राष्ट्रिय सम्मेलनदेखि नै विवाद जारी छ । एकातिर पञ्चा सिंह नेतृत्वमा सम्मेलनबाट घोषणा गरेको कमिटी छ भने पवन कार्कीको संयोजकत्वमा अर्को समानान्तर संगठन सक्रिय छ । तर अभियान सञ्चालन पश्चात शर्मा र पुनकै सक्रियतामा विद्यार्थी संगठनको समस्या तत्कालका लागि हल भएको छ ।
दुवै पक्षका विद्यार्थी नेतालाई अध्यक्ष प्रचण्डसँग छलफल गराएर आगामी फागुनमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय माओवादीले गरेको छ । उक्त बैठकमा शर्मासँग सल्लाह गरेरै पुनले भूमिका खेलेका थिए । उनकै उपस्थितिमा विद्यार्थी संगठनका दुवै पक्ष सहमत भएर अभियानमा खटिएका छन् ।
पार्टी उपाध्यक्ष तथा प्रवक्ता सापकोटा यही रˆतारमा अभियान अघि बढे तीन महिनामा अपेक्षा गरेभन्दा राम्रो नतिजा आउने बताउँछन् ।
‘पार्टी चलायमान, गतिशील भएको छ । जनमुखी हुँदै गएको छ । सरकारले गरेका दैनिक सेवा प्रवाह, सुशासन, भ्रष्टाचार नियन्त्रण र कानुन निर्माणमा गरेका कामको प्रचार पनि गर्ने र स्वामित्व पनि लिने कुरा भइरहेको छ’, उनी भन्छन्, ‘जनताको पहलकदमी बढाउने र सिर्जनशीलतालाई जनताकै हितमा परिचालन गर्ने, उत्साह र आत्मविश्वासलाई बढाउने भन्ने लक्ष्यमा अगाडि बढेका छौँ ।’
उनी यो अभियानमार्फत जनतामा गएर माओवादीले रुपान्तरणको सबभन्दा पहिलो काम आफैंलाई बदल्नु रहेको भन्दै त्यसमा सफल हुने बताए ।
अभियानका १५ दिन : कुन प्रदेशमा कस्तो ?
माओवादीले अभियानका सुरुवाती १५ दिनको नतिजा हेरी अपेक्षा भन्दा धेरै काम गर्न सकिने निष्कर्षमा पुगेको छ । पार्टी कोषाध्यक्ष तथा कार्यालय सचिव श्रीराम ढकाल अभियानका क्रममा उत्साह थपिएको बताउँछन् ।
‘अभियान सबै प्रदेशमा अत्यन्तै उत्साहजनक ढंगले अघि बढिरहेको छ । जनताबाट माओवादी पार्टी र नेताहरू बिगि्रएको भन्ने गुनासो छ । साँच्चै सच्चिन खोजेको भए हामी हेछौर्ँ भनेर विश्वास गर्न खोजेको देखिएको छ’, उनी भन्छन्, ‘जनताको सुझावलाई ग्रहण गर्दै रुपान्तरणका अभियानमा त्यसलाई करेक्सन गर्न पनि सुरु गरिएको छ ।’
ढकालले अभियानमा २५ लाख जनतासँग भेट्ने लक्ष्य राखेको भए पनि अहिले दुई हप्ता बित्दै गर्दा त्योभन्दा बढीसँग प्रत्यक्ष भेटघाट हुने देखिएको बताउँछन् । बागमतीमा मात्रै १३ वटा जिल्लाका १ लाखभन्दा बढी जनतासँग भेटघाट गरिसकेको उनको भनाइ छ ।
उनका अनुसार जनतासँग प्रत्यक्ष भेटेर लिखित सुझावहरू केन्द्रीय कार्यालयलाई बुझाउन निर्देशन दिइएको छ । जसअनुसार अहिलेसम्म करिब ८० प्रतिशत वडामा अभियान पुगेको र बाँकी वडामा पनि छिट्टै प्रारम्भ गर्ने तयारी रहेको उनले जानकारी दिए ।
कोशी
प्रदेशका ९८१ वडामा १६ भदौदेखि अभियान सुरु भइसकेको र बाँकी १७६ वडामा पुग्ने क्रममा छ । अभियानका क्रममा अन्य पार्टीबाट १२० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
यस्तै अस्पताल सरसफाइ, आँखा शिविर, स्वास्थ्य शिविर, बैठक, प्रशिक्षण भएका छन् भने आउने ६ असोजमा कोशीका सबै वडामा एकै साथ ब्यानर प्रदर्शन गरेर सन्देश सभा गर्ने तयारी माओवादी केन्द्रको छ ।
मधेश
प्रदेशका ८ जिल्ला १३५ पालिकाका १२७१ वडामध्ये ९०० वडा अभियान पुगिसकेको माओवादीले जनाएको छ । बाँकीमा प्रारम्भको तयारी चलिरहेको छ । मधेशका सबै वडामा पार्टी केन्द्रीय सदस्यहरूलाई खटाइएको छ ।
बागमती
प्रदेशमा १३ वटा जिल्लाका ४४४ वटा सरसफाइ, बाटोघाटो निर्माण तथा मर्मतका काम र ८४ वटा सामुहिक अन्तरक्रिया र जन भेटघाटका काम भएको रिपोर्ट पार्टी कार्यालयमा छ ।
अभियानका क्रममा १ लाख ८ सय ८४ जनतासँग प्रत्यक्ष भेटघाट गरेर सुझाव लिइएको र १०४५ वटा संगठनका बैठकका भेला र संगठन सुदृढिकरणको काम गरेका छन् । यस्तै ५ हजार ५ सय ५० पार्टी सदस्यता नविकरण र २ सय जना पार्टी प्रवेश गरेका छन् ।
गण्डकी
प्रदेशका ३८६ वडामा अभियान सञ्चालन भइसकेको छ । मुस्ताङ र मनाङका केही वडामा बाटोको समस्याले गर्दा जान नसकिएको माओवादीको भनाइ छ । बाँकी वडामा पनि १५ दिनभित्र अभियान पुग्ने जनाइएको छ ।
लुम्बिनी
प्रदेशका १२ वटै जिल्लाका सम्पूर्ण वडामा एकैसाथ अभियान पुगेको छ ।
कर्णाली
प्रदेशमा ७१८ वटै वडामा टोल भेला, घरदैलो, शहीद बेपत्ता परिवार, घाइते, अपाङ्ग र पूर्व जनमुक्ति सेनाका परिवारसँग भेटघाट गरेको माओवादीले जनाएको छ । साथै, अन्य पार्टीका नेतासँग पनि सुझाव माग गरिएको र ५ सय ८८ जना विभिन्न पार्टीबाट प्रवेश गरेका पार्टी कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम
प्रदेशमा ८० वटा टोली बनाएर वडामा अभियान सञ्चालन भएको छ । सुदूरपश्चिममा उत्पादनमा जोड दिइएको माओवादीले जनाएको छ ।
प्रवास
प्रवास कमिटी प्रदेश अन्तर्गत ३२ वटा देशमा रहेका नेपाली समुदायबीच अभियान पुगिसकेको छ । ‘जहाँ पुगौं, जहाँ बसौं- सपनामा नेपाल, जपनामा नेपाल’ भन्ने नारा बनाएर प्रवास रुपान्तरण अभियान सञ्चालन भइरहेको माओवादीको भनाइ छ ।
माओवादीले तीन महिने अभियानलाई तीनवटा चरणमा बाँडेको छ । जसअन्तर्गत पहिलो चरणका कार्यक्रमहरू उत्साहजन गरेको माओवादी केन्द्रको निष्कर्ष छ ।
पहिलो चरण : बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरुको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनको लागि कोष निर्माण ।
दोस्रो चरण : पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तर्क्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तर्क्रिया ।
तेस्रो चरण : जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम । सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम ।
source https://www.onlinekhabar.com/2023/09/1367316
0 Comments