२९ भदौ, बुटवल । सातौं जिल्लास्तरीय स्नुकर प्रतियोगिताको उपाधि बुटवलका शंकर खड्काले जितेका छन् ।
खस्यौली स्नुकर क्लब बुटवलमा बेस्ट अफ इलाभेनका आधारमा खेलाइएको फाइनल खेलमा भैरहवाका शिशिर गुरुङलाई ६–४ ले पराजित गर्दै शंकर खड्काले उपाधि जितेका हुन् ।
रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा सम्पन्न प्रतियोगितामा रुपन्देहीका १२८ जना खेलाडी सहभागी थिए । उपाधि विजेता खड्काले ५० हजार र उपविजेता गुरुङले २५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा ५५ स्कोरसहित खड्काले हाई स्कोररको उपाधि र नगद १० हजार पुरस्कार पनि हात पारे ।
यस्तै उदियमान खेलाडीमा सम्बन्ध विक, अनुशासित खेलाडीमा सागर गाहा र डेभिड गौचन घोषित हुंदै समान ५ हजार रुपैयांका दरले नगद पुरस्कार पाएका छन् ।
विजयी खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा उनले स्नुकर खेललाई पनि उपमहानगरले आधिकारिक खेलको मान्यता दिने बताए ।
संघका अध्यक्ष सुजन पुनले स्नुकर खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न तिनै तहका सरकारको ध्यानाकर्षण गराए । उनले स्नुकर खेल विश्वमा पुरानो र प्रतिष्ठित खेल भए पनि नेपालमा ओझेलमा परेको गुनासो गरे ।
source https://www.onlinekhabar.com/2023/09/1366010
0 Comments