Looking For Anything Specific?

Header Ads

कमरेड सुवास नेम्वाङसँगका ती दिनहरू

बिहान करीब चार बजिसकेको थियो । मेरी श्रीमतीले आत्तिंदै सुवास नेम्वाङको मृत्युको बारेमा बताउँदै उठाउँदा म झसंग भएँ । त्यतिवेलासम्म सुवासको बारेमा हल्का खबर सुनेर रघुजी पन्त र अष्ट्रेलियामा बस्ने एक जना साथीले फोन गरिसक्नुभएको रहेछ । श्रीमतीले सुनेको खबर सही हो या होइन भनेर निश्चित गरिसकेपछि मात्र मलाई उठाएकी रहिछन् ।

मैले हतार-हतार केही कमरेडहरूलाई फोन गरें र समाचार खोज्न थालें । साँच्चिकै रहेछ, उहाँले त यो संसारबाट विदा लिइसक्नुभएछ । मन नमिठोसँग चिमोटियो । तत्कालै अस्पताल जानको लागि तयारी गरें ।

अस्पतालबाट पार्टी कार्यालय पुगें । पार्टीको सचिवालयको बैठक पनि बस्यो । त्यसले कमरेड सुवास नेम्वाङ प्रति श्रद्धासुमन अर्पण गर्दै शोक वक्तव्य पारित गर्‍यो । पार्टीले तीन दिनसम्म शोक मनाउने, देशभरिका पार्टी कार्यालयमा आधा झण्डा झुकाउने, तीन दिनसम्म नियमित कार्यक्रमहरू स्थगित गर्ने र असोज २ गते केन्द्र र प्रदेश तहमा श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना गर्ने निर्णय गर्‍यो ।

सरकारका प्रतिनिधिहरू विभिन्न पार्टीका नेता, कार्यकर्ता, कूटनीतिक क्षेत्र, पार्टीका शुभेच्छुक र सर्वसाधारणबाट श्रद्धाञ्जली अर्पण गर्नको लागि भदौ २६ र २७ गते पार्टी कार्यालयमा उहाँको शव राख्ने व्यवस्था गर्‍यो । सरकारले पनि उहाँलाई राजकीय सम्मान प्रदान गर्ने निर्णय गर्‍यो ।

लिम्बू परिवारमा जन्मेका सुवासको आफ्नो रीति तथा परम्पराको काम सकिएपछि भदौ २८ गते शवयात्रा गरी अन्तिम संस्कारको तयारी सुरु भयो । शवयात्रा बालुवाटारस्थित घरदेखि महाराजगञ्ज चोक, चक्रपथ चोक, चाबहिल, गौशालाहुँदै पशुपति आर्यघाटमा पुगेको थियो ।

त्यो समयमा मैले उहाँले गर्नुभएका कामहरूका बारेमा, उहाँको संघर्ष, योगदान, अडान आदिको बारेमा धेरै कुरा सम्भिmरहें । ती सम्झनाहरू सबै नै यो सानो लेखोटमा अटाउन सम्भव छैन । केही कुराहरू मात्र उल्लेख गर्न कोसिस गरेको छु ।

सुवास नेम्वाङसँगको मेरो झण्डै पाँच दशक अगाडिदेखिको चिनजान हो । उहाँ हाम्रो पार्टीका उपाध्यक्ष, संविधानसभाको अध्यक्ष र पटक-पटक सभामुख, कानुनमन्त्री हुनुभयो । अहिले पनि नेकपा एमालेको उपनेता हुनुहुन्थ्यो ।

म २०३० सालमा एसएलसी गरेपछि कलेज पढ्नका लागि काठमाडौंमा २०३१ सालमा आएँ । २०३१ सालको भदौमा सिक्किम भारतमा विलय भएको घटनाको विरुद्धमा काठमाडौंमा विद्यार्थीले निकै ठूलो जुलुस निकाले । त्यसवेला कम्युनिष्ट पार्टीहरू छिन्नभिन्न थिए । कांग्रेसका नेताहरू पनि राजनीतिक शरणार्थीका रूपमा भारत प्रवासमा थिए ।

पुष्पलाल लगायत नेपालका कम्युनिष्ट नेताहरू भारतमा बसिरहनुभएको थियो । कतिपय नेताहरू जेलमा हुनुहुन्थ्यो । त्यस्तो वेलामा विद्यार्थीको स्वतस्फूर्त आन्दोलनको रूपमा निकै ठूलो प्रदर्शन काठमाडौंमा भयो । हामी पनि त्यसबाट प्रभावित भयौं ।

दमन चर्को भयो । साथै आन्दोलन पनि चर्कंदै गयो । आन्दोलनमा सहभागी नेता-कार्यकर्ता पक्राउ परे । पछि २०३२ सालमा तत्कालीन प्रधानमन्त्री डा. तुलसी गिरीले भारत भ्रमणको सिलसिलामा दिएको वक्तव्यको विरुद्धमा एउटा पर्चा निस्कियो । त्यो पर्चाको अगुवाइ गर्नेहरू सुवास नेम्वाङ, भीम रावल, राजेन्द्र पाण्डे लगायत अरू साथीहरू पनि थिए । त्यही पर्चा छरेको निहुँमा सुवास नेम्वाङलाई गिरफ्तार गरियो । त्यतिवेला उहाँ करिब ७ महिना जेल बस्नुभयो ।

मे दिवसको सन्दर्भ पारेर त्यसको १५/२० दिनपछि अर्को पर्चा बाँडियो । माधव पौडेल, प्रदीप नेपाल, गोपाल शाक्य, राजेन्द्र पाण्डेहरू सहित केही आन्दोलनकारी पक्राउ परे । दुवै आन्दोलनका आन्दोलनकारी बीच एकअर्कामा सम्पर्क-सम्बन्ध थियो । अलि सुरुदेखि नै झापाली लाइनसँग निकट भएको हिसाबले सुवासजीहरू पनि त्यसमा सक्रिय हुनुहुन्थ्यो ।

पछि, बीचमा केही वर्ष म काठमाडौं रहिनँ । २०३६ देखि २०४६ को बीचमा फेरि मैले भूमिगत रूपमा पार्टीमा रहेर काठमाडौंमा काम गरें । त्यस कोर्समा सुवासजीसँग धेरैपटक हाम्रो भेटघाट, कुराकानी हुने गर्दथ्यो । उहाँ कुमारी हल जाने बाटो, धोबीधारामा डेरा गरेर बस्नुहुन्थ्यो ।

विद्यार्थीहरू जहिले पनि जेल परिरहने, राजनीतिक बन्दीका मुद्दा आइरहने, त्यसलाई अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्थ्यो । पैसा तिर्न सक्ने अवस्था अधिकांशमा थिएन । प्रहरीले राजनीतिक मान्छेहरूलाई सधैं समात्ने र थुन्ने मात्र काम गरिरहेको थियो । आम्दानीमा नजोडिएका मान्छेहरूले मुद्दा मामिला गर्ने अवस्था थिएन । त्यसका लागि निःशुल्क रूपले मुद्दा मामिला गरिदिनुपर्ने हुन्थ्यो ।

उहाँ त्यसको लागि सदैव तयार हुनुहुन्थ्यो । मैले बारम्बार पत्र लेखेर वा भेट्न पठाएर तोकिएका निश्चित व्यक्ति आउनुभएको छ, निःशुल्क सहयोग गरिदिनुहोला भन्ने गर्दथें । हाम्रा समर्थकका अरू खालको मुद्दा आयो भने पनि उहाँलाई पैसा नलिइकन अथवा न्यूनतम शुल्कमा गर्दिनुस् भन्ने गर्दथें । राजनीतिक मुद्दा मात्र नभएर अरू खालका मुद्दाहरूमा पनि उहाँले सोही हिसाबले सहयोग गर्नुहुन्थ्यो ।
हामी भूमिगत हुँदा उहाँ खुला हिसाबले वकालती पेशा गर्नुहुन्थ्यो । राजनीतिक हिसाबले त्यसवेलाको को-अर्डिनेसन केन्द्र, पछि नेकपा (माले) को राजनीतिक सामीप्यमै हुनुहुन्थ्यो । पार्टीसँग भित्री सम्पर्कमा हुनुहुन्थ्यो । त्यहीबीचमा चुनाव लड्ने जनपक्षीय उम्मेदवार बनाउने भनेर पार्टीमा २०४२ सालदेखि बहस सुरु भयो ।

२०४३ सालमा विभिन्न जिल्लामा हामीले जनपक्षीय भनेर राष्ट्रिय पञ्चायत सदस्य उठायौं । ५/६ जनाले जित्नु पनि भयो । त्यसको एक वर्षपछि २०४४ को वैशाखमा चुनाव भयो । २०४३ सालको फागुन, चैतदेखि हामी स्थानीय चुनावको तयारीमा काठमाडौंमा थियौं ।

संविधानसभामा सबैभन्दा गाह्रो त माओवादीकै विश्वास जित्नु थियो । यो प्रतिगामी संसदीय व्यवस्था हो, बोकाको टाउको राखेर कुकुरको मासु बेच्ने ठाउँ हो भन्ने माओवादीहरूको सोच थियो । त्यस्तो वेलामा उनीहरूको विश्वास जित्न सुवासजी जस्तो सरल स्वभावका कारण सम्भव भएको हो

काठमाडौंको प्रधानपञ्च मध्यमार्गी धारको गरौं, उपप्रधान चाहिं हाम्रो पार्टीको खास क्याडर पठाऔं भन्ने प्रयास गरियो । त्यो सम्भव भएन । दुर्गालाल श्रेष्ठ, डा. राममान श्रेष्ठलाई उठाउने कोसिस गरियो । उहाँहरूले मान्नुभएन । त्यही सिलसिलामा हामीले उपप्रधान उठाउने टुंगो गरिसकेका केशव स्थापितले सुवासजीलाई उठाउन सल्लाह दिनुभयो । उहाँ वामपन्थी, वकिल, बौद्धिक मान्छे हुनुहुन्छ, भोट पनि पाइन्छ र जित्न पनि सकिन्छ भन्ने सुझाव स्थापितको थियो । माधवकुमार नेपाल त्यतिवेला काठमाडौं भ्यालीको पार्टी प्रमुख हुनुहुन्थ्यो । उहाँसँग हामीले यही सल्लाह गर्‍यौं ।

सबैको सल्लाहपछि म सुवासजीलाई भेट्न उहाँको घरमा गएँ । घरमा जाँदा उहाँ यहाँ हुनुहुन्न, ल र्फममा हुनुहोला भन्ने उहाँको परिवारले जानकारी गराए । ल र्फममा गइयो । तर उहाँ इलाम गइसक्नुभएको रहेछ । त्यसपछि म र केशव स्थापित बस चढेर इलामतर्फ लाग्यौं । हतार-हतार बस चढेर जानेक्रममा बसको अन्तिम सिट परेको थियो । कच्ची बाटो बसले उफार्दै उफार्दै लैजाँदा साह्रै थाकिएको दिन म आज पनि सम्झन्छु ।

त्यसदिन साँझ हामी झापा बसेर भोलिपल्ट इलाम पुग्यौं । इलाम पुग्दा नेम्वाङ काठमाडौं आउन भनेर बिहानै घरबाट हिंडिसक्नुभएछ । त्यहाँ हाम्रो भेट हुन सकेन । त्यसपछि काठमाडौं फर्कियौं । काठमाडौंमा मैतीदेवीमा उहाँ बस्नुहुन्थ्यो ।

माधव नेपाल सहित मैतीदेवी पुगेर उहाँलाई भेटियो । हामीले चुनावमा उठ्न उहाँलाई आग्रह गर्‍यौं । तर उहाँ चुनाव लड्न तयार हुनुभएन । उहाँले नमानेपछि हामीले सीताराम मास्केलाई प्रधानपञ्च उठायौं ।

म अर्को एक प्रसंग पनि सम्भिmन चाहन्छु । झलनाथ खनाल हाम्रो पार्टीको महासचिव हुनुहुन्थ्यो । उहाँ बाहिर जिल्लाबाट काठमाडौं आउँदा प्रहरीले फलो गरेको चाल पाउनुभएछ । सेल्टरमा सीधै नजानु बेस ठानी होटलमा बस्नुभएछ र सुवासजीलाई खबर गर्नुभएछ ।

त्यसवेला म ठमेलको एक रेस्टुरेन्टमा छलफलको लागि बसिरहेको थिएँ । प्रदीप नेपाल हस्याङफस्याङ गर्दै आइपुग्नुभयो र पंकज -झलनाथ खनालको भूमिगत नाम) लाई जोगाएर ल्याउनुपर्‍यो भन्नुभयो । म तुरुन्तै त्यहाँ पुगें । वामदेव गौतम होटलको काउन्टरमा हुनुहुँदोरहेछ । माधव नेपाल झलनाथ बस्नुभएको कोठामा जानुभएको रहेछ ।

म सरासर झलनाथ खनाल बस्नुभएको कोठामा गएँ र उहाँलाई लिएर निस्कें । त्यो खबर पार्टीमा सूचित गर्ने व्यक्ति सुवासजी नै हुनुहुन्थ्यो । सुवासजी उहाँहरूको क्लासमेट र पहिलेदेखिको चिनेको साथी हुनुहुन्थ्यो । त्यस सन्दर्भमा पनि मेरो सुवासजीसँग भेट भएको थियो ।

म भ्यालीमा भएकाले सुवासजीसँग भेट भइरहेको हुन्थ्यो । उहाँ खुला राजनीतिक गतिविधिमा रहनुभएको थियो । २०४६ सालको आन्दोलनको वेलामा उहाँहरू नेपाल बारमा हुनुहुन्थ्यो । बारले आन्दोलन गर्ने निर्णय गर्‍यो । उहाँले पनि निरंकुश व्यवस्थाको विरुद्धमा प्रगतिशील वामपन्थी आन्दोलन, लोकतान्त्रिक आन्दोलन, पञ्चायतको अन्त्यको आन्दोलनमा विभिन्न रूपले सहयोग गर्नुभयो । पुरानो राजनीतिक सम्पर्क र राजनीतिक पृष्ठभूमि भए पनि उहाँ भूमिगत र पूर्णकालीन बन्नुभएन ।

२०४६ सालको परिवर्तनको समयमा पार्टीले वकिल, प्राध्यापक, डाक्टर, विद्यार्थी लगायत समाजमा प्रतिष्ठित भएका मान्छेहरूलाई पनि लिएर पञ्चायत विरोधी आन्दोलनका लागि विभिन्न प्लेटर्फम बनाएको थियो । त्यसको पनि अगुवाइ उहाँले गर्नुभएको थियो । २०४६ को परिवर्तन पश्चात् पार्टी खुला भएपछि २०४८ सालमा उहाँ पहिलोचोटि राष्ट्रिय सभामा आउनुभयो । ल र्फम बन्द गरी उहाँ पूर्णकालीन पार्टीको राजनीतिमा होमिनुभयो ।

पञ्चायतको वेलामा मात्र होइन पार्टी खुला भइसकेपछि पनि पार्टीमा द्वन्द्व, कानुनी र संवैधानिक अप्ठ्याराहरू भएको अवस्थामा पार्टीले सुवासजीसँग सोध्ने गर्दथ्यो । यस हिसाबले सुवासजी कानुनी सल्लाहको निम्ति पार्टीभित्र एउटा ब्रान्ड नै हुनुभयो । संसदमा सचेतक पनि हुनुभयो । २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारमा उहाँ कानुनमन्त्री हुनुभयो । कानुनमन्त्रीको हिसाबले पनि उहाँले भूमिका खेल्नुभयो ।

२०५४ सालमा उहाँ केन्द्रीय कमिटीमा आइसक्नुभएको थियो । त्यो वेला भएको पार्टी विभाजन रोक्न वामदेव गौतम, सीपी मैनाली लगायतसँग पटक-पटक कुराकानी गर्नुभयो र रोक्नको लागि प्रयास गर्नुभयो । भर्खर केन्द्रीय कमिटीमा आएकाले राजनीतिक हिसाबले केन्द्रीय कमिटीमा उहाँलाई अलिकति जुनियर नै मानिन्थ्यो ।

तर, संसद्भित्र र त्यहाँभित्रको प्रक्रियामा संसद्मा ४० प्रतिशत नपुगोस्, सकभर संसदीय दलबाट विभाजन नहोस् भनेर हर प्रयासमा उहाँ धेरै सक्रिय रूपमा लाग्नुभयो । अन्ततः संसदीय दलकै माध्यमबाट पार्टी विभाजन भयो ।

कहिलेकाहीं उहाँ आलोचनामा पनि पर्नुभयो । खासगरी मनमोहन अधिकारी नेतृत्वको सरकारको विरुद्धमा अदालतमा गएको मुद्दामा उहाँले कानुन र संविधानले कुनै हालतमा पनि संसद् विघटन गरेर चुनावमा जाने कुरालाई अन्यथा निर्णय गर्नै सक्दैन भन्ने थियो ।

यो प्रधानमन्त्रीको अधिकार हो, मनमोहनजीको निर्णयको जित हुन्छ भन्ने उहाँको जबर्जस्त तर्क थियो । तर, विश्वनाथ उपाध्याय प्रधानन्यायाधीशले त्यो गरेनन् । निर्णय गलत थियो भनेर संसद् फेरि ब्युँताइदिए । पछि उहाँ अदालतमाथि केही शंकालु पनि हुनुभएको थियो ।

२०६२/६३ को जनआन्दोलनको क्रममा पार्टीको तर्फबाट सर्वदलीय संयन्त्रमा रहेर उहाँले काम गर्नुभयो र संसद् पुनर्बहाली भयो । त्यसवेला तारानाथ रानाभाटजीले राजालाई समर्थन गरे । त्यही सिलसिलामा उहाँको भूमिकालाई ध्यानमा राखेर कांग्रेसले आफू बहुमतमा र एमाले अल्पमतमा हुँदाहुँदै पनि पुनःस्थापित संसद्मा उहाँलाई सभामुख बनायो ।

संविधानसभामा सबैभन्दा गाह्रो त माओवादीकै विश्वास जित्नु थियो । यो प्रतिगामी संसदीय व्यवस्था हो, बोकाको टाउको राखेर कुकुरको मासु बेच्ने ठाउँ हो भन्ने माओवादीहरूको सोच थियो । त्यस्तो वेलामा उनीहरूको विश्वास जित्न सुवासजी जस्तो सरल स्वभावका कारण सम्भव भएको हो । सायद अरू भएको भए त्यो विश्वास माओवादीले गरिहाल्ने अवस्था बन्न गाह्रो थियो । उहाँको छविका कारण नेपालको नयाँ संविधान निर्माणको प्रक्रिया अगाडि बढाउन सहज भयो ।

२०६८ सालमा संविधानसभा विघटन भयो । त्यसवेला उहाँले बैठक डाकिदिएको भए संविधानसभा विघटन हुँदैनथ्यो र संविधान जारी हुन्थ्यो भनेर कतिपयले भन्न पनि भ्याए । मलाई भने त्यो लाग्दैन । किनभने उहाँले धेरैपटक प्रयास गर्नुभयो । म पनि त्यही ठाउँमा थिएँ । हामी यता र उता दौडिइरहेका थियौं, दबाब पनि सिर्जना गरिरहेका थियौं । प्रमुख नेताहरूको बीचमा समझदारी नहुँदाखेरि सभाध्यक्षले मात्रै त्यो पूरा गर्न सक्ने अवस्था थिएन ।

२०७२ मा संविधान जारी हुने समयमा उहाँमाथि विभिन्न शक्तिकेन्द्रले तत्काल संविधान जारी नगर्न दबाब दिएको कुरा पटक-पटक बताउनुहुन्थ्यो । सुवासजीले संविधान जारी गर्न अडान लिएको कारण संविधान जारी भयो ।

सुवासजीको शैली, एकदम नरम ढंगले हाँसेर मात्रै बोल्ने स्वभाव, नरिसाउने र आक्रोशपूर्ण कुरा भए पनि सहज रूपमा प्रस्तुत हुने हुनाले कतै सुवाजीले खुट्टा नटेक्ने हो कि भन्ने प्रश्नलाई उल्ट्याउँदै उहाँले त्यसवेला संविधान जारी गर्ने कामलाई सफल बनाउनुभयो र मुलुक यहाँसम्म आयो । त्यो समयमा उहाँले खेलेको भूमिका अविस्मरणीय छ । हार्दिक श्रद्धाञ्जली !

(पूर्वअर्थमन्त्री  पाण्डे  नेकपा एमालेका उपाध्यक्ष हुन् ।)



source https://www.onlinekhabar.com/2023/09/1367785

Post a Comment

0 Comments