२४ साउन, काठमाडौं । मौसममा तत्काल उल्लेख्य सुधार नहुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना छ ।
मौसमविद सन्जिव अधिकारीले भने, ‘मौसममा उल्लेख्य सुधार छैन । आज पनि सामान्यदेखि पूर्ण बदली छ । भोलि पनि बदली सुधार हुने देखिँदैन ।’
उनले काठमाडौंमा अहिले पानी पर्न रोकिए पनि दिउँसो मध्यम खालको वर्षाको सम्भाना रहेको बताए । मौसमविदहरुले ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम भन्ने गरेका छन् । काठमाडौंमा मंगलबार २४ घण्टाको अवधिमा ८४ मिलिमिटर वर्षा भएको थियो । सामान्य खालको वर्षामै काठमाडौं उपत्यकामा बाढी र डुबानको समस्या थियो ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालतर्फ) सरेकाले त्यसको प्रभावले देशभर वर्षा भएको छ । नेपालमा बंगलादेशको उत्तरी भूभाग आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव छ । त्यसैले मौसम सुधारको सम्भावना तत्काल नरहेको पूर्वानुमान गरिएको हो ।
नेपालमा यस वर्षको मनसुन १४ जुनमा भित्रिएको थियो । मनसुन मित्रिएको पहिलो साता पूर्वी नेपालमा अत्यधिक वर्षा भएको थियो भने तराई मधेश र पश्चिम नेपाल सुक्खा थियो । लामो समयसम्म खण्ड खण्डमा मात्र वर्षा भए पनि दुई दिनयता देशका अधिकांश भूभाग ओगट्ने गरी पहिलो पटक वर्षा भएको छ ।
यो वर्षासँगै आएको बाढी पहिरोमा परी देशभर चार जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएको गृह मन्त्रालय अन्तर्गतको आपतकालीन कार्यसन्चालन केन्द्रले जनाएको छ । यद्यपि क्षतिको विवरण संकलनको काम जारी छ ।
बर्दियामा सबैभन्दा धेरै वर्षा
गत १२ घण्टाको अवधिमा बर्दियाको रम्भापुर केन्द्रमा सबैभन्दा बढी १०४ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।
गएराति लुम्बिनी र गण्डकी प्रदेशको आकाशमा भारी वर्षा गराउने बादल जम्मा भएको थियो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा लेखिएअनुसार आज पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।
यसकारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने जोखिम छ । त्यसबाट जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
source https://www.onlinekhabar.com/2023/08/1348170
0 Comments