प्रकृतिमा विष र अमृत दुवै छ । प्रकृति जस्तै बहुआयामिक छ मानव जाति । मानिसभित्रै छ दानवत्व र देवत्व पनि । मान्छेभित्र र्याल, खकार, सिंगान, मल-मूत्र छ । मान्छेभित्र सदाचार, दया, माया, करुणा छ । मानवता, न्याय र बन्धुत्वको भावना पनि छ । देवत्व शक्तिशाली हुँदा नायकको श्रेणीमा उक्लन्छ मान्छे । दानवत्व बलशाली हुँदा खलनायकमा ओर्लन्छ मान्छे ।
खलनायक त्यसैलाई भनिन्छ जसले सार्वजनिक जीवनका स्वीकृत मूल्य-मान्यता विपरीत आचार-व्यवहार गर्छ । सार्वजनिक जीवनका स्वीकृत मूल्य-मान्यता विपरीत गरिने आचार-व्यवहारलाई भ्रष्टाचार भनी अथ्र्याउने गरिएको छ । मूलतः भ्रष्टाचारका आर्थिक, नैतिक र नीतिगत गरी तीन आयाम छन् । आम मानिसले चाहिं भ्रष्टाचार भन्नासाथ आर्थिक अपराध बुझ्ने गरेको पाइन्छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०२२ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल विश्वका -अनुसन्धानमा सामेल) १८० देशमध्ये भ्रष्टाचार हुने ११०औं मुलुकमा पर्छ । प्रतिवेदनमा डेनमार्कले सुशासनको क्षेत्रमा विश्वमै उत्कृष्ट अंक -१०० मा ९०) प्राप्त गर्न सफल हुँदा नेपालले जम्मा ३४ अंक पाएको थियो ।
यो भनेको नेपाल विश्वको अति धेरै भ्रष्टाचार हुने मुलुकमा पर्छ भन्ने हो । प्रतिवेदनले अधिकांश भ्रष्टाचार राजनैतिक नेतृत्वको छत्रछायाँमा हुने गरेको औंल्याएको छ ।
राजनीतिक छत्रछायाँको पृष्ठभूमिको कुरा गर्दा, एक युग यस्तो पनि थियो, राजा-महाराजाहरू संविधान, ऐन-कानुन भन्दा माथि हुन्थे । राजा-महाराजा मात्र नभई भाइ-भारदारलाई समेत कानुनले छुँदैनथ्यो ।
२००७ साल अघिसम्म राज्यको भूमि राजा-महाराजाको बिर्ता जस्तै थियो । कर, राजस्व राजा-महाराजाहरूको निजी सम्पत्तिमा दाखिला हुन्थ्यो ।
श्री ३ र श्री ५ को विरुद्ध चोरऔंला देखाउनेहरूलाई कडाभन्दा कडा दण्ड सुनाइन्थ्यो । तथापि बहादुर जनताले विद्रोहको मसाल उठाउन डराएनन् । थुप्रै सपुतले ज्यानको बाजी राखी निरंकुश, स्वेच्छाचारी शासन विरुद्ध बगावतको झण्डा उठाए ।
बगावत वा क्रान्तिकै गर्भगृहबाट कांग्रेस-कम्युनिष्ट आदि राजनैतिक शक्तिहरू जन्मिए । नेपाली कांग्रेसले २००७ सालमा बगावतलाई सफलताको शिखरमा पुुर्यायो ।
२०४६ साल अघिसम्म नेपालमा निरंकुश पञ्चायती राज थियो । कांग्रेस-कम्युनिष्टहरू सदाचारका मानक मानिन्थे । जनता पञ्चायती राजभित्र उकुसमुकुसको जीवन व्यतीत गरिरहेका थिए । पञ्चहरूको एकछत्र हालीमुहाली चलेको त्यो कालखण्डमा दरबारिया नारी पात्र ‘पम्फादेवी’ चर्चाको शिखरमा थिइन् । पम्फादेवीमाथि स्वीस बैंकमा अकूत सम्पत्ति जम्मा गरेको आरोप लगाइन्थ्यो ।
पञ्चायती राज भ्रष्टाचार तथा तस्करी काण्डले बदनाम थियो । गलैंचा काण्ड, छाला काण्ड, मूर्ति काण्ड, नमिता-सुनिता जस्ता चर्चित काण्डहरू पञ्चायती राजमा भए । परिणामतः जन असन्तुष्टि चुलिंदै गयो ।
२०२८, २०३६ साल लगायतमा विभिन्न समयमा साना-ठूला जनविद्रोह भए । २०४६ सालमा भएको ऐतिहासिक जनविद्रोहले बहुदलीय व्यवस्था र संवैधानिक राजतन्त्रको पुनःबहाली गरिछोड्यो ।
२०४६ सालको जनआन्दोलनपछि सत्ताको ड्राइभिङ सिटमा कांग्रेस-एमालेहरू पुगे । २०४६ देखि २०६३ सालसम्म (२०५९ सालको ज्ञानेन्द्र ‘कु’ कालबाहेक) देशको शासनतन्त्र कांग्रेस, एमालेको वरिपरिमा घुमिरहृयो ।
त्यसमध्येको अधिकांश समयमा नेपाली कांग्रेसले सरकारको नेतृत्व सम्हाल्यो । किन्तु सत्तामा पुगेपछि कांग्रेसजनमा पुरानो क्रान्तिकारी सुगन्ध हराउँदै जान थाल्यो । उनीहरू राणा, पञ्चहरू जस्तै भ्रष्टाचारको आहालमा डुबुल्की मार्न थाले । खुमबहादुर, चिरञ्जीवी, गोविन्दराज लगायत उच्च कांग्रेसी नेता भ्रष्टाचार अभियोगमा धमाधम जेल परे ।
उता २०५४ अघिसम्म एमालेहरू कांग्रेसको तुलनामा कम प्रदूषित जस्ता लाग्थे । एमालेहरू अध्ययन, चिन्तन-मननमा विशेष जोड दिन्थे । २०५४ सालपछि चाहिं एमालेजनहरूमा पनि पञ्च, कांग्रेसकै जस्तो विचलन देखिन थाल्यो ।
अर्कोतर्फ २०६३ सालपछि संसदमा माओवादी नामको अर्को कम्युनिष्ट पार्टी देखापर्यो । २०६४ सालको आम निर्वाचनमा उक्त पार्टीले कम्युनिष्ट मतदातामाथिको एमाले हेजेमोनी पूरै तोडिदियो ।
तब दुई कम्युनिष्ट शक्तिबीच शक्ति र सत्ताको लागि वाञ्छित-अवाञ्छित खेलहरू हुनथाले । दिनहरू बित्दै जाँदा ‘जनयुद्धकारी’ माओवादीमा पनि दूषित प्रवृत्तिले प्रवेश पायो । अथवा यसो भनौं, माओवादीहरूको ध्यान पनि पैसा कमाउनेतिरै मुखरित हुन लाग्यो ।
नयाँ नेपाल बनाउँछौं भन्दै सिंहदरबार पसेकाहरूमा धनचरी बन्ने जबर्जस्त मोह पलायो । कतिपयमाथि धनचरीकै अर्को जाति सुनचरीको आरोप लाग्यो । उनीहरूमा आलिसान महल र चिल्ला कारप्रतिको आसक्ति खुला आँखाले देखिने गरी प्रकट भयो ।
२०८० सालको सूर्योदयसम्म पुग्दा नेपालीले पूर्व माओवादी नायक खलनायकमा रूपान्तरण भएको चलचित्र हेरेर भरपूर मनोरञ्जन लिए । चलचित्रमा बालकृष्ण खाँणसँगै टोपबहादुर रायमाझी ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको दृश्य देखापर्यो ।
त्यसो त टोपबहादुर र बालकृष्ण भ्रष्टाचाररूपी डम्पिङ साइटका मझौला गोब्रेकीरा हुन् । यस देशमा टोपबहादुर र बालकृष्णभन्दा भीमकाय गोब्रेकीराहरू छन् । र तिनीहरूले धमिजा, यती, ओम्नी, ललितानिवास, सेक्युरिटी पि्रन्टिङ प्रेस, पशुपतिको जलहरी, वाइड बडी, क्यान्टोन्मेन्ट, गिरी टी इस्टेट लगायतमा खर्बाैंको भ्रष्टाचार गरेको तथ्य कहीं कतै लुकेको छैन । यद्यपि वर्तमान सरकारले त्यसमध्येका केहीलाई कठघरामा उभ्याएर सकारात्मक सुरुवात गरेको छ ।
सरकारले चाहृयो भने असम्भव के रहेछ त ? सरकार नामको कानुनी व्यक्तिसँग सर्वोच्च शासकीय शक्ति हुन्छ । उल्लिखित शक्तिको प्रयोगबाट उसले जुनसुकै अभियुक्तको हातमा हत्कडी लगाउन सक्छ ।
यतिखेर सरकारका तीन अंगमध्ये भ्रष्टाचार नहुने अंग कुन हो भनी खोज्दा नभेटिने स्थिति छ । त्यसो हुनुको मुख्य कारण सर्वव्यापी राजनीतीकरण र प्रदूषित राजनैतिक संस्कृति हो । हाम्रोमा ‘अरूको आङको जुम्रो देख्ने, आˆनो आङको भैंसी नदेख्ने’ मनोवृत्ति उत्तिकै हावी छ ।
राजनीति देशको ड्राइभिङ नीति हो । चालक सही भए सवारी साधन सकुशल गन्तव्यमा पुग्छ । परन्तु हाम्रो नेतृत्वबाट त्यस्तो अपेक्षा सायदै गर्न सकिन्छ भन्ने उदाहरण माथि उल्लेखित भ्रष्टाचार प्रकरणले देखाइसकेका छन् । माथि उल्लेखित अधिकांश भ्रष्टाचारको जग त्यतिबेला हालिएको थियो, जतिबेला केपी ओली देशका मुखिया मन्त्री थिए । अनि मुखियासनमा बसेर ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भनी भाषण ठोकेका थिए ।
पर्दा अगाडि भ्रष्टाचारीप्रति धारेहात, सत्तोसराप । पर्दा पछाडि तस्कर, भ्रष्टाचारीलाई चुम्मा, सहवास औ तथास्तु ! हाम्रो नेतृत्वमा गजवको विडम्बना छ । नेतृत्व बोल्छ केही, गर्छ अरू नै केही ! ऊ जेल नामको बन्दीगृह अन्य दलका लागि निर्माण गरिएको भन्ने ठान्छ अनि आफू र आफ्ना दलका नेता-कार्यकर्ता संलग्न भ्रष्टाचारलाई बिरालाले आची लुकाए जस्तै गरी ढाकछोप गर्छ ।
कसैले ऊमाथि चोरऔंला देखाओस् मात्र, खुट्टा भाँच्ने आदेश दिन्छ । ‘हजुरको दल भ्रष्टाचारीरहित पार्टी हो । हजुरलाई भ्रष्टाचारीको मसिहा भन्नु मेरो अक्षम्य गल्ती थियो !’ भन्दै कान नसमाए संसद बन्धक बनाइदिन्छ !
आखिर यस्तो किन भइरहेको छ ? उक्त प्रवृत्तिले फँणा उठाउनुमा केवल राजनैतिक नेतृत्व जिम्मेवार हो या समाजले समेत त्यसको जिम्मेवारी लिनुपर्छ ? यस विषयमा विहङ्गम बहस चलाउनुपर्ने समय भइसकेको छ ।
धनकुवेर कुख्यात तस्कर किन नहोस्, बुट बजार्दै स्यालुट ठोक्छ नेपाली समाज । ‘मह काढ्नेले हात चाट्छ’ भन्दै गौरवगाथा सुनाउँछ हाम्रो समाज ! ‘फाइदा हुन्छ भने कोढीको पनि पाउ मोल’ दिव्य-उपदेश दिन्छ यो समाज ! मौकामा चौका हान्न नसक्नेलाई हुतीहारा भन्दै खिल्ली उडाउँछ हाम्रो समाज ।
त्यति हुँदाहुँदै आज पनि समाजमा नैतिक तथा चरित्रवान मानिसको खडेरी परिसकेको चाहिं छैन । तर तिनलाई उपहासको पात्र बनाएका छौं हामीले । हुतीहारा, नामर्द, समय अनुसार चल्न नसक्ने इत्यादि विशेषण भिराई हीनताबोधले ग्रस्त गराएका छौं हामीले ।
क्यान्सरभन्दा पनि डरलाग्दो स्वरूपमा प्रकट भएको भ्रष्टाचारको उन्मूलन सम्भव छ कि छैन त ? अन्त्यमा यसबारे छोटो विवेचना गरौं । भ्रष्टाचार र नदीको पानी उस्तै उस्तै हुन् । जो घट्न सक्छ तर पूर्ण रूपमा सुक्न सक्दैन ।
शून्य भ्रष्टाचार कार्ल माक्र्सको ‘स्टेट लेस सोसाइटी’ जस्तै आदर्श परिकल्पना मात्र हो । त्यति हुँदाहुँदै भ्रष्टाचारको ग्राफलाई काफी हदसम्म तल झार्न भने सकिन्छ । त्यसका निम्ति राजनीति र समाज दुवैतिर मनोवैज्ञानिक र प्रशासनिक छडी लगाउन जरूरी छ ।
यस देशमा जन्म लिने प्रत्येक नागरिकलाई शैशवावस्थादेखि सदाचार र नैतिक शिक्षाद्वारा दीक्षित गर्नु आवश्यक छ । उक्त काम दिन, महिना, वर्षमा फत्ते भइहाल्ने खालको होइन । त्यसको निम्ति लामो सांस्कृतिक शुद्धीकरण अभियान चलाउनुपर्ने हुन्छ ।
उक्त महाअभियानलाई हामी ‘सामाजिक मनोवैज्ञानिक इन्जिनियरिङ’ नाम दिन सक्छौं । त्यो नै सार्वजनिक सम्पत्तिमाथि लुटपाट मच्चाउने रत्नाकर प्रवृत्ति उन्मूलनको सर्वोत्तम विकल्प हुनसक्छ ।
हामी सबैलाई थाहा छ, रत्नाकर डाँकु थियो । रत्नाकर लुटेरा थियो । ऊ निजी लाभका निम्ति व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमाथि लुटपाट मच्चाउँथ्यो । रत्नाकर त्यो युगमा थियो । रत्नाकरहरू यो युगमा पनि छन् । रत्नाकर र वाल्मीकिको पहिचान कर्मबाट हुन्छ ।
रत्नाकर लुटको विम्ब हो । वाल्मीकि सिर्जनाका प्रतीक हुन् । जब लुटतन्त्रले सीमा नाघ्छ, वाल्मीकिको उदय अवश्यंभावी हुन्छ । किन्तु हामीलाई त्यस्ता वाल्मीकि चाहिएको छ जसले रत्नाकरका हातमा हत्कडी लगाउँछन् । अनि आफू संलग्न दल र त्यसभित्रका तस्कर, माफिया, भ्रष्टाचारीहरूलाई समेत जेलमा कोचेको सजीव पटकथा लेख्छन् ।
आखिर-
हुँदैन बिहान दिनले रातको आँचल नफाले ।
बन्दैन देश दुई-चार कपुत झ्यालखाना नहाले ।।
0 Comments