Looking For Anything Specific?

Header Ads

आईएसएफ यु-१५ जिम्न्यासाइडमा नेपालका बक्सर प्रतिमा र शेरपले जिते कांस्य

५ भदौ, काठमाडौं । ब्राजिलको रियो डि जेनेरियोमा सुरु भएको ‘दोस्रो आईएसएफ जिम्न्यासाइड-२०२३’ नेपालले बक्सिङबाट दुई कांस्य पदक जितेको छ ।

रियो द जेनेरियोको ओलम्पिक पार्कमा सोमबार सम्पन्न खेलमा प्रकृति थापाले ५१ केजी तौल समुहमा तथा शेरप ग्याल्चेन शेर्पाले ६० केजी तौल समूहमा कांस्य पदक जितेका हुन् ।

दुवै खेलाडीहरुले क्वार्टर फाइनलमा बाई पाएर सिधै सेमिफाइनल खेलेका थिए । सेमिफाइनलमा शेरपले आयोजक ब्राजिली प्रतिद्वन्द्वीसँग कडा प्रतिस्पर्धा गरेपनि जित भने हात पार्न सकेनन् ।

तीन राउन्डको भीडन्तमा शेरपले दोस्रो र तेस्रो चरणमा राम्रो गरेपनि पहिलो राउन्डमा उनी पछि पर्न गएको थियो ।

गत वर्ष काठमाडौंमा भएको अल नेपाल स्कुल ब्वाइज बक्सिङ प्रतियोगितामा स्वर्ण जितेका शेरपबाट स्वर्ण पदकको आशा गरिएको थियो ।

उनका प्रशिक्षक प्रकाश थापा मगरले शेरप भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्ने प्रतिक्रिया दिए । ‘आयोजकविरुद्ध उनीहरुको घरमा खेल्न सुरुमा खेल सम्हाल्न शेरपलाई समय लाग्यो। दोस्रो र तेस्रो चरणमा राम्रो खेले पनि जित्न सकेन। दु:खको कुरा हो,’ उनले भने, ‘तर उनी भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्छन् ।’

यसैगरी प्रकृति सेमीफाइनलमा क्रोयसियाका खेलाडीसँग ‘आरएससी’ आउट हुन पुगेकी हुन् । पहिलो राउन्डमा उनले दुई पटक ‘काउन्ट’ खाए पछि दोस्रो राउन्ड खेल्न पाएनन् ।

त्यसैगरी बास्केटवलतर्फ महिला ३ अन ३ मा चिलीसँग पराजित भएपछि नेपाल बाहिरिएको छ ।

त्यसरी नै पौडीतर्फ ५० मिटर ब्रेस्ट स्ट्रोकमा सहभागि नेपालका सुगम श्रेष्ठले पनि पदक जित्न सकेनन् ।

प्रतियोगितामा समावेश गरिएको १८ खेलमध्ये नेपालले ५ खेल बक्सिङ, पौडी , तेक्वान्दो, टेबल टेनिस र बास्केटबलमा सहभागिता जनाएको छ ।

अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आईसी) को आयोजनामा हरेक दुई वर्षमा हुने जिम्न्यासाइड यो वर्ष अगस्ट १७ देखि २५ तारिख सम्म हुदैछ । यो १३ देखि १५ वर्ष उमेर समुहको ‘मिनी ओलम्पिक’ प्रतियोगिता हो ।

प्रतियोगितामा ४४ राष्ट्रबाट २ हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।



source https://www.onlinekhabar.com/2023/08/1353856

Post a Comment

0 Comments