Looking For Anything Specific?

Header Ads

वीरेन्द्रनगरकी मेयर : हुटहुटी छ, तर परिणाम देखिएन

११ जेठ, सुर्खेत । मीठो वाक् कला । प्रभावशाली व्यक्तित्व । हँसिलो अनुहार, विनम्र स्वभाव । सायद त्यसैले होला वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाललाई अधिकले रुचाउँछन् । कुनै जनगुनासो लिएर मेयर ढकाललाई भेट्न गए, मेयरसा’बले मुस्कुराउँदै भनिदिन्छिन्- ‘हुन्छ, म बुझ्छु । भइहाल्छ ।’

बाटो मर्मत गर्नुपर्‍यो । सिंचाइ चाहियो । विद्यालयमा स्यानिटरी प्याड पुगेन । जुनसुकै समस्या लिएर जानुहोस् मेयर ढकालबाट ‘हुँदैन, गर्दिनँ, थाहा छैन’ भन्ने जवाफ सुनिंदैन । ढकाल मेयरमा निर्वाचित भएको वर्ष दिन बित्यो । मेयर ढकालकै शब्दमा भन्दा उनी रात-दिन नभनी खटिइरहेकी छिन् । तर वीरेन्द्रनगरवासीले भने परिवर्तन महसुस गर्न सकिरहेका छैनन् । उनी भन्छिन्, ‘थुप्रै कामको सुरुवात गरेका छौं, परिणामका लागि पर्खिनुपर्छ ।’

हर्क र बालेनले देशको ध्यान तानेका छन् । वर्ष दिन बित्दा पनि आफ्नो मेयरले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्न थालेका छन् । ‘उहाँ उपमेयर हुँदा एउटा छुट्टै ऊर्जा थियो । जोस देखिन्थ्यो’ कांग्रेस नेता नारायण कोइराला भन्छन्, ‘तर मेयरमा निर्वाचित भएपछि त्यो ऊर्जा देखिएन । मीठो भाषण सुनियो, काम भएन ।’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको मेयरको चुनावमा ढकाल जसरी लोकप्रिय मतका साथ विजयी भएकी थिइन्, त्यसरी नै जनताको मन जित्ने काम गरुन् भन्ने जनअपेक्षा थियो । काम नगरे पाँच वर्षपछि जनताले दण्डित गर्छन् भन्नेमा मेयर ढकाल सचेत छिन् ।

‘नीतिगत तहबाटै सुधारका प्रयास भइरहेका छन् । हामीले एउटा सिस्टम बनाउन थालेका छौं’ मेयर ढकालले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘मलाई स्टन्टबाजी गरेर मिडियामा आउनुछैन । एउटा परिणाम दिनुछ । कुनै पनि कामको परिणाम आउन समय लाग्छ । जनताले धैर्य गर्नुपर्छ ।’

वीरेन्द्रनगरवासीले पाँच वर्ष उपमेयर भएर काम गरेकी ढकाललाई यस पटक चुनाव जिताएर मेयर बनाए । उपमेयर हुँदा ढकाल भन्थिन्, ‘जति गर्न चाहे पनि सेकेन्ड म्यानको केही नलाग्ने रहेछ ।’ केही परिवर्तन हुने आशमा वीरेन्द्रनगरवासीले उनलाई फस्र्ट म्यान नै बताए ।

मेयर ढकाल पहिले पाँच वर्ष उपमेयर भएकाले पनि जनताको बढी अपेक्षा रहेको मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्साल बताउँछन् । ‘फाइल सदर गर्ने, टिप्पणी उठाउने कुराले महत्व राख्दैन । राजनीतिक नेतृत्वले भिजिनरी काम गर्नुपर्छ । अहिलेसम्म त्यस्तो देखिएन’ उपप्राध्यापक लम्सालले भने, ‘हाम्रो प्रमुख समस्या बढ्दो शहरीकरण हो । उहाँले देश, विदेश देख्नुभएको छ । त्यहाँको शहरी विकासको मोडेल हेर्नुभएको छ । उपमेयर हुँदाको पाँचवर्षे अनुभव छ । नगरका आन्तरिक समस्या के हुन्, थाहा छ । त्यति हुँदा पनि ठोस योजना देखिएन । परिणाममुखी काम भएन ।’

सार्वजनिक जग्गा संरक्षणमा चिन्ता

गत असार पहिलो साता सुर्खेत उपत्यका नगर विकास समिति अध्यक्षको पदभार ग्रहण गर्दै मेयर ढकालले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने घोषणा गरिन् । असार दोस्रो साता बसेको नगर विकास समितिको पहिलो बैठकले आˆनो सम्पत्तिको खोजीनिती गर्ने निर्णय गर्‍यो ।

मेयर ढकालले ३ महिनाभित्र समितिको स्वामित्वमा रहेका सबै जग्गाको लगत निकालेर सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् । तर, अहिलेसम्म पनि उनले यस बारेमा ठोस कदम चालेको देखिंदैन ।

वीरेन्द्रनगर ६ स्थित मुख्य बजार क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सबै शीर्ष पार्टीले समितिको जग्गा कब्जा गरेर भवन बनाएर भाडामा लगाएर खाइरहेका छन् । जेसिस, रेडक्रस, लगायत विभिन्न संघ-संस्था र व्यापारीहरूले सार्वजनिक जग्गा हडपेर संरचना बनाएका छन् । सरकारी जग्गा कहाँ, कति मिचिएका छन् ? कसले कहाँ भाडा उठाएर खाइरहेको छ भन्नेबारे उपत्यका नगर बेखबर छ ।

२५ माघमा समितिको जग्गामा घर बनाई सटर भाडामा लगाएर पैसा असुलिरहेका एमाले, माओवादी केन्ऽ, जनमोर्चालाई सटर खाली गर्न ३५ दिने अल्टिमेटम दिइएको थियो । आइतबार अल्टिमेटम दिएको ६८ दिन पुग्यो । तर पार्टी कार्यालयका सटर भने अझै खाली हुनसकिरहेका छैनन् ।

उल्टै एमाले-माओवादी पार्टी कार्यालयको बीचमा जसपाले पार्टी कार्यालय बनाउन थालेको छ । जसपाले समेत जग्गा पाउँदा नेकपा एकीकृत समाजवादी लगायतका दलहरूले समेत जग्गा पाउनुपर्ने माग गरिरहेका छन् ।

वीरेन्द्रनगरको धेरै सार्वजनिक तथा सरकारी जग्गा हडपेर बनाइएका संरचनामा भाडा लगाएर खाने काम भइरहेको युवाहरू बताउँछन् । मेयर ढकालले सार्वजनिक जग्गा संरक्षणमा निर्ममताका साथ कदम चाल्नुपर्ने बताउँछन्, उपमेयरमा प्रतिस्पर्धा गरेका स्वतन्त्र उम्मेदवार अनिल ढकाल । उपत्यकाभरिकै सार्वजनिक सम्पत्ति संरक्षणको नीति लिनुपर्ने नगरपालिका सामान्य प्रशासनिक काममा अल्झिएको उनको भनाइ छ ।

मेयर ढकाल भने यसलाई मान्न तयार छैनन् । ‘सटर भाडामा लगाउने राजनीतिक दलहरूलाई एक पटक पुनः पत्र काटेका छौं । त्यति गर्दा पनि अटेर गरे ‘एक्सन’ मै उत्रिन्छौं’ मेयर ढकालले अनलाइनखबरसँग भनिन्, ‘नगर विकासबाट एक व्यक्तिले जग्गा सम्झौता गर्ने र अर्को व्यक्तिलाई महँगोमा भाडामा दिने प्रवृत्ति बढेको छ । त्यसलाई पनि अब कडाइ गर्छाैं । सार्वजनिक सम्पत्तिको संरक्षणमा हामी एकइञ्च पनि पछि हट्दैनौं ।’

सुधारका केही प्रयास

११ जेठ २०७९ मा पदभार सम्हाल्दै गर्दा मेयर ढकालले ‘संविधानमा उल्लेख मौलिक हकको पूर्ण प्रत्याभूति नगरवासीलाई गराउने’ पहिलो निर्णय गरेकी थिइन् । सोही अनुसार योजनाबद्ध काम भइरहेको मेयर ढकाल बताउँछिन् ।

वीरेन्द्रनगरको मेयरमा ढकाल आएपछि केही सुधारका प्रयास भने भएका छन् । फोहोरमैला दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल्ड निर्माण गरिएको छ । व्यवस्थित रूपमा फोहोर संकलन र व्यवस्थापन हुँदै आइरहेको छ ।

नगरपालिकाको पुरानो र साँघुरो भवनबाट सेवाग्राहीलाई सेवा लिनुपर्ने अवस्था अन्त्य गर्न भन्दै मेयर ढकालले सेवा प्रवाहलाई थप व्यवस्थित र सहज बनाउन बहुप्रतिष्ठित एकीकृत प्रशासनिक भवन शिलान्यास गरेकी छन् । १० करोड ७१ लाख लागत अनुमान गरिएको भवन लिफ्टसहित पाँच तलाको रहनेछ ।

एकीकृत सेवा प्रभाव र सुशासनलाई प्राथमिकता दिने बाचा गरेकी मेयर ढकालले सेवाग्राहीलाई सहज सेवा दिन ‘सहायता केन्ऽ’ सञ्चालन गर्ने पहिलो कार्यपालिकाको बैठकबाट निर्णय गराएकी छन् । ‘केन्द्रमा सेवाग्राही विश्रामस्थल, शुद्ध पिउनेपानी, गुनासो सुनुवाइ संयन्त्र निर्माण गर्ने कार्य भइरहेको छ’, मेयर ढकालले भनिन् ।

यो बीचमा नगरपालिकाले लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण नीति २०७८ निर्माण गरेको छ । आगामी पाँच वर्षमा हिंसामुक्त नगर निर्माण गर्ने योजना अनुरूप अघि बढेको ढकालले बताइन् । ‘सडक कालोपत्रे गरिनु मात्रै विकास हैन, हामीले सामाजिक विकासलाई पनि प्राथमिकतामा राखेका छौं । सामाजिक न्यायलाई जोड दिएका छौं’, उनी भन्छिन् ।
प्रदेश सरकार र नगरपालिकाको समन्वयमा वीरेन्द्रनगर-११ भेरी पुल नजिक छाडा पशुचौपायाका लागि गौशाला सञ्चालनमा आएको छ । बजार क्षेत्रमा देखिने छाडा पशुचौपायाको व्यवस्थापन भएसँगै पशुचौपायाकै कारण दिनहुँ हुने दुर्घटनामा कमी आएको छ ।

वीरेन्द्रनगरमा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न अघि सारिएका भेरी लिफ्ट खानेपानी आयोजनाको काम अघि बढाउन नगरपालिका र नेपाल सरकारबीच सम्झौता भएको छ । संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लिफ्टिङ प्रविधि मार्फत भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन लागेको हो । यी दुईवटै कामलाई पनि मेयर ढकालले आफ्नो सय दिनको उपलब्धि मानेकी छन् ।

वीरेन्द्रनगरलाई ‘शैक्षिक हब’को रूपमा विकास गर्न १० वर्षे शैक्षिक रणनीति तयार पारिएको छ । मेयर ढकालका अनुसार अबको १० वर्षभित्र प्रदेश राजधानीभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले महसुस गर्ने गरी शैक्षिक सुधार गरिनेछ । पाठ्यक्रमको विकास, शिक्षक व्यवस्थापन, सामुदायिक विद्यालयको सबलीकरण, अनौपचारिक शिक्षा, दूर शिक्षा तथा खुल्ला सिकाइ, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचनाप्रविधि र समावेशी शिक्षालाई १० वर्षे शिक्षा मोडेलले जोड्ने छ ।

‘उज्यालो र सुरक्षित वीरेन्द्रनगर’ अभियानअन्तर्गत चोक र मुख्य सडकमा हाई मास लाइट र सीसीटीभी क्यामेरा जडान भएका छन् । नगरपालिकाले मुख्य बजारमा फुटपाथ खाली गराएको छ । फुटपाथमा हुने व्यापारका कारण पैदल यात्रीलाई यात्रा गर्न समस्या थियो ।

घण्टाघरले पायो नयाँ घडी

वीरेन्द्रनगर नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेको घण्टाघरले नयाँ घडी पाएको छ । झण्डै १२ वर्षपछि सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा नगरपालिकाले घण्टाघरमा नयाँ घडी फेरेको छ ।

लामो समयदेखि बिगि्रएका घडी मर्मतमा कसैले चासो नदिएपछि चर्को आलोचना भएको थियो । त्यसपछि वीरेन्द्रनगर नगरपालिकाको नयाँ नेतृत्वले आˆनो वाषिर्क बजेटमा समेत २५ लाख रुपैयाँ घण्टाघरको संरक्षण शीर्षकमा विनियोजन गरेको थियो । सोही अनुसार घण्टाघरमा नयाँ घडी जडान गरिएको मेयर ढकालले बताइन् ।

‘हामीले १२ लाखमा नयाँ चारवटा घडी जडान गरेर सञ्चालनमा ल्याएका छौं’ मेयर ढकालले भनिन्, ‘बाँकी बजेटले बाहिरी क्षेत्रको सौन्दर्यीकरण गरी व्यवस्थापन गरिएको छ ।’

वीरेन्द्रनगरको खुलामञ्चको पश्चिमतर्फ रहेको घण्टाघर २०४४ सालमा चीन सरकारको सहयोगमा ७० लाख ७९ हजार ५४० रुपैयाँको लागतमा निर्माण गरिएको थियो ।

फोहोरबाट मोहोरको सुरुवात

मेयर ढकालले वीरेन्द्रनगरको फोहोर व्यवस्थापनलाई विशेष प्राथमिकता राखेको र फोहोरबाट मोहोरको सुरुवात भएको बताइन् । नगरपालिकाले वीरेन्द्रनगर-१, स्थित तारेभीरमा वन मन्त्रालयबाट ५ बिघा जग्गा भोगचलनका लागि अनुमति लिई एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ ।

फोहोरमैला व्यवस्थापन केन्द्रमा एकातिर दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरिएको छ । जसमा दिसाजन्य लेदो संकलन गरी ट्रिटमेन्ट प्लान्टमा पुर्‍याउने र प्रशोधन गर्ने काम भइरहेको छ । दिसाजन्य लेदो प्रशोधन पछि मल र प्रशोधित पानी निस्किन्छ ।

दिसाजन्य लेदो व्यवस्थापन थालेपछि गत आर्थिक वर्षमा ६ लाख रुपैयाँ राजस्व संकलन भएको मेयर ढकाल बताउँछिन् । ‘नगरवासीले सेप्टिक ट्याङ्की खाली गराएबापत तिर्ने रकम नगरपालिकाको राजस्वमा जम्मा हुन्छ । नगरपालिकाले एउटा सेप्टिक ट्याङ्की सफा गर्दा ८ हजार रुपैयाँ लिंदै आएको छ’, मेयर ढकालले भनिन् ।

वीरेन्द्रनगर नगरपालिकाका योजना तथा वातावरण शाखाका प्रमुख प्रकाश पौडेलले ७ वटा मुख्य उद्देश्य सहित नगरपालिकाले सिटी स्यानिटेसन प्लान बनाएको बताए । ‘७ वटा सिटी स्यानिटेसन प्लान मध्येको एक दिसाजन्य लेदोको उचित व्यवस्थापन हो । यसमा एसएनभी नेपालले सहयोग गरेको छ’, पौडेलले भने ।

यसको दिगोपनका लागि बिजनेस मोडेलमा लैजाने नगरपालिकाको योजना छ । ‘मल बिक्रीबाट हुने आम्दानी र सेप्टिक ट्याङ्की खाली गर्दा लिइने सेवा शुल्कलाई मात्र व्यवस्थित गर्न सक्यौं भने फोहोरबाट मोहोर आर्जन गर्नेछौं’, मेयर ढकालले भनिन् । उनका अनुसार नगरपालिकाले ल्याण्डफिल साइटलाई व्यवस्थित बनाउन र दिसाजन्य लेदो प्रशोधन केन्द्रको क्षमता बढाउन राष्ट्रिय योजना आयोगसमक्ष विशेष अनुदानको समेत माग गरेको छ ।

नगरपालिकाले प्लाष्टिकजन्य फोहोर भने ल्यान्डफिल साइटमा लगेर जलाउँदै आएको छ । ‘हामीले आगामी आर्थिक वर्षबाट कुहिने र नकुहिने फोहोर संकलन गर्छाैं । कुहिने फोहोरबाट मल बनाउँछौं । नकुहिने सामान पनि वर्गीकरण गरेर बिक्री गछौर्ं । त्यसका लागि काम भइरहेको छ’, मेयर ढकाल भन्छिन् ।

बढ्दो शहरीकरण प्रमुख चुनौती

वीरेन्द्रनगरको बढ्दो शहरीकरण नगरपालिकाको प्रमुख चुनौती बनेको छ । वीरेन्द्रनगरमा अहिले १ लाख ७० हजार स्थायी सहित झन्डै ४ लाख जनसंख्या छ । तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको वीरेन्द्रनगर संघीयता आएसँगै कर्णाली प्रदेशको राजधानी बनेको छ । कर्णालीका दश जिल्लाको प्रमुख केन्द्र बनेको वीरेन्द्रनगरमा जनसंख्या दिनानुदिन बढ्दै गएको छ ।

वार्षिक एक हजारका दरले वीरेन्द्रनगरमा नयाँ घरहरू बन्न थालेका छन् । बढ्दो जनसंख्या र शहरीकरण वीरेन्द्रनगरको प्रमुख चुनौती बनेको छ । तर यसको व्यवस्थापन र विकासका लागि मेयर ढकालले ठोस कदम चाल्न नसकेको मेयर ढकालका प्रतिस्पर्धी कांग्रेसका उपेन्द्र खड्का बताउँछन् । ‘वीरेन्द्रनगरको शहरीकरण प्रमुख चुनौती हो । तर मेयर सा’बको त्यतातिर ध्यानै गएको देखिंदैन’ खड्काले भने, ‘उहाँले उद्घाटन र अनुगमनबाट फुर्सद पाउनै भएको छैन ।’

वीरेन्द्रनगरको इतिहास धेरै लामो छैन् । झन्डै ५७ वर्षअघिसम्म गौचरनका रूपमा प्रयोग भएको वीरेन्द्रनगरमा २०२२ सालमा औलो उन्मूलन घोषणा गरिएको थियो । २०२३ को मंसिरबाट मान्छेहरू स्थायी रूपमा वीरेन्द्रनगरमा बसोबास सुरु गर्न थालेको अध्येता गोविन्द कोइराला बताउँछन् । कोइरालाका अनुसार २०२९ मंसिरमा राजा वीरेन्द्र पहिलो पटक वीरेन्द्रनगर आएका थिए । राजाकै निर्देशनमा इन्जिनियर माधवभक्त माथेमा नेतृत्वको टोलीले गुरुयोजना निर्माण गरेको थियो ।

अहिले पनि वीरेन्द्रनगर सोही गुरुयोजना अनुसार चलिरहेको छ । जनघनत्व बढेसँगै सवारी पार्किङ ठूलो समस्या छ । सार्वजनिक शौचालय, साइकल लेन, व्यवस्थित बजार, ढल निकास भरपर्दो छैन । वीरेन्द्रनगरले खानेपानीको चरम अभाव खेपिरहेको छ । यी समस्या समाधान गर्नलाई स्थानीय र प्रदेश सरकारले प्राथमिकता कमै दिएको पाइन्छ ।

वीरेन्द्रनगर शहरमा पञ्चायतकालदेखि लापरबाही भएको मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकाल बताउँछन् । ‘वीरेन्द्रनगर जनप्रतिनिधिको हातमा परेपछि नै बिग्रन थालेको हो । गुरुयोजनाविपरीत निर्माण भएका संरचना रोक्न कसैले सकेनन्’ ढकालले अनलाइनखबरसँग भने, ‘लोकपि्रयताका निम्ति काम गर्दा लथालिंग भयो । मेयरले नयाँ गुरुयोजना निर्माण गरेर निर्ममताका साथ लागू गर्नुपर्छ ।’

मेयर ढकाल भने आफ्नो कार्यकालमा गुरुयोजना अनुसार नै काम अघि बढाइएको दाबी गर्छिन् । ‘हिजो जुन उद्देश्यले गुरुयोजना बनाइएको थियो, सोही अनुसार गर्छौं भनेर हामीले चुनावी प्रतिबद्धता गरेका थियौं, त्यसै गरिरहेका छौं’ मेयर ढकालले भनिन्, ‘अहिले ‘प्लानिङ’ एरियाका बाटोहरू खोल्ने कामहरू भइरहेको छ ।’

ढकालका अनुसार वीरेन्द्रनगरलाई कसरी विकसित र व्यवस्थित गर्ने भन्ने विषयमा ६ महिना अध्ययन अनुसन्धान भइरहेको छ । ‘पुरानो गुरुयोजनालाई कायम राख्ने गरी अहिले नगरपालिकाले भूउपयोग नीति बनाएको छ’ उनले भनिन्, ‘अब नयाँ प्लाटिङ गर्दा १० मिटरको बाटो बनाउनुपर्ने, खोला किनारमा कुनै पनि व्यक्तिगत संरचना बनाउन नमिल्ने व्यवस्था गरिएको छ ।’

‘पुरानै कामको निरन्तरता देखियो’

निवर्तमान मेयर देवकुमार सुवेदी ।

वीरेन्द्रनगर नगरपालिकाका पूर्वमेयर देवकुमार सुवेदी भने मेयर मोहनमाया ढकालले पुरानै कामको निरन्तरता दिएको बताउँछन् । ‘हिजो हामीले नै सुरुवात गरेका कामको निरन्तरता दिनुभएको छ । नयाँ काम सुरु गरेको त सुन्न पाइएको छैन’ सुवेदीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘उत्साहपूर्ण काम भन्न सक्ने स्थिति देखिएन ।’

पाँच वर्ष उपमेयर भएर काम गरेकी ढकाल अनुभवी भएकाले पनि नयाँ र दीर्घकालीन योजना ल्याउने जनअपेक्षा भए पनि त्यसो हुन नसकेको पूर्वमेयर सुवेदीले बताए । ‘उहाँको तारिफ गर्नुपर्ने खालको काम देख्दिनँ । विरोध गरिहाल्नुपर्ने स्थिति पनि छैन’, सुवेदीले भने ।

मेयर ढकालले वीरेन्द्रनगरको मुख्य समस्या के हो ? थाल्नैपर्ने अभियान के हो ? भन्ने पहिचान समेत गर्न नसकेको बताउँछन् मेयरका प्रतिस्पर्धी खड्का । ‘मेयर साबले मीठा गफ बाहेक, अरू केही गरेको कहीं कतै देखिंदैन । नागरिकका दैनिकीसँग जोडिएका स-साना सवालहरू त जहाँका त्यहीं छन् । उहाँका नगर समृद्धिका चुनावी बाचा गफमै सीमित भएको देखिन्छ’, खड्काले भने ।

वीरेन्द्रनगरका लागि केही गर्ने हुटहुटी भए पनि मेयरले हिम्मतका साथ काम गर्न नसकेको मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकाल बताउँछन् । ‘मेयरले पार्टी र कार्यकर्तालाई खुशी पार्न नभई दीर्घकालीन महत्वका सवालमा नीतिगत तहबाटै निर्णय गर्नुपर्छ । नगरवासीको विश्वासमाथि घात गर्नुहुँदैन’ उनले भने, ‘मेयरको एकवर्षे कार्यकालले धेरै ठूलो अपेक्षा गर्ने ठाउँ भने देखिंदैन ।’



source https://www.onlinekhabar.com/2023/05/1312050

Post a Comment

0 Comments