हुन त यो ‘पुराना’ र ‘नयाँ’ को वर्गीकरण र त्यस अनुरूपको ध्रुवीकरण कति प्राकृतिक र कति कृत्रिम, कति स्वाभाविक र कति जबर्जस्त हो भन्ने बहस होला नै । सिद्धान्ततः न नयाँ हुँदैमा पुरानोभन्दा राम्रो र गुणस्तरीय छ भन्न सकिन्छ न नयाँ कस्तो होला भन्ने प्रष्टता नभएको कारण ‘परीक्षित र असफल’ पुरानालाई सधैं काँधमा बोकिरहनुपर्छ भन्नेछ ।
ठीक हो, उस्तै थप एक थान ‘डुप्लिकेट’ नयाँ हुनु समस्याको समाधान हैन । न त नयाँ पनि ‘हामी जस्तै त हुन्’ भन्ने च्याङ्लो बर्की जस्तो निरीह भाष्यभित्र आफ्ना अक्षमता, कमजोरी र असफलतालाई ढाकछोप गर्न अभिशप्त देखिनु नै कुनै समाधान हो ।
यो बहसलाई एकक्षण बेवास्ता गर्ने हो भने पुराना ‘वाम-उदारवादी’ (लेफ्ट-लिवरल) राजनीतिकर्मी तथा बुद्धिजीवीले ‘नयाँ काम’ पाएका छन् अचेल- प्रियतावाद (पपुलिज्म) को उछित्तो काढ्ने नाममा नयाँलाई सत्तोसराप गर्ने । आफ्नो आङको भैंसी नदेख्ने, अर्काको आङमा जुम्रो देखाउँदै हिंड्ने । आफ्नो अनुहारको धुलो कहिल्यै नपुछ्ने, आफ्नो अनुहार कुरुप देखायो भनेर ऐना मात्रै पुछ्ने । आफ्ना अन्तरनिहित कमजोरीको खोजी गर्न तत्पर कहिल्यै नहुने, समस्यालाई पन्छाएर सधैं पानीमाथिको ओभानो हुन खोज्ने ।
जस्तो कि एमाले महासचिव शंकर पोखरेल एक फेसबुक स्टाटसमा लेख्छन्, ‘आज हाम्रो समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख छ । आम रूपमा राज्य, संगठित शक्तिहरू, अख्तियारप्राप्त व्यक्तिहरूप्रतिको अविश्वास, निराशा र घृणा त्यसैको उपज हो । सामाजिक अराजकताको जगमा नीतिहीन, उद्देश्यहीन र गन्तव्यहीन पपुलिष्टहरू राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुने र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आजको राजनीतिक नयाँ परिदृश्य हो ।’
उनी अगाडि थप्छन्, ‘पपुलिष्टहरूबाट समाजको रूपान्तरण र आर्थिक राजनीतिक संकटको समाधान हुन सक्दैन । उनीहरूबाट हुने भनेको अन्ततः यथास्थितिवादको पक्षपोषण नै हो । दुनियाँका पपुलिष्ट आन्दोलनहरूको अवसान त्यसरी नै हुने गरेको छ । आजका संकटको समाधानका लागि समाजका सबै पक्ष जिम्मेवार भएर समस्याकेन्दि्रत सामाजिक बहस र समाधानकेन्दि्रत राजनीतिक अभियानमा जुट्नुपर्ने भएको छ ।’ एमाले महासचिव पोखरेलको यो भनाइलाई आजका दिनमा ‘वाम-उदारवादी’ खेमाको एक प्रतिनिधि अभिव्यक्ति मान्न सकिन्छ ।
अंग्रेजीमा एक शब्द छ- डेनायलिज्म । अर्थ हुन्छ- आफ्नो मनोवैज्ञानिक असहजताको कारण अनुभवसिद्ध भइसकेका सत्यहरूलाई समेत अस्वीकार गर्नु । अर्थात् सत्यसँग डराउनु, सत्यबाट भाग्नु, सत्य आत्मसात् गर्न हिच्किचाउनु, सत्यलाई इन्कार गर्नु ।
पोखरेलको उपरोक्त अभिव्यक्ति मात्र हैन, गत मंसिर ४ यता अझ वैशाख १० गतेको उपनिर्वाचन परिणामपछि समग्र ‘वाम-उदारवादी’ खेमामा ४ मनोदशा व्याप्त देखिन्छन् । डेनायलिज्म, पाखण्ड, हीनताबोध र अस्तित्व संकटको चिन्ता ।
डेनायलिज्म किन भने मानौं कि आजको समस्या उनीहरूको दाबी जस्तो ‘प्रियतावाद’ हो नै भने पनि के यो देशको मुख्य समस्या भइसकेको हो ? आज कुन ठूलो समस्या हो ? नयाँको प्रियतावाद कि पुरानाको अक्षमता ? मानौं तीन नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई ‘प्रियतावाद’ को प्रतिनिधि मान्ने (यद्यपि यो सही हैन) हो भने पनि संसदमा उनीहरूको उपस्थिति कत्रो हो ? के यो निर्णायक शक्ति हो ?
निःसन्देह हैन । बढीमा १६ प्रतिशत हो, बाँकी ८४ प्रतिशत शक्ति अहिले पनि ‘अ-प्रियतावादी पुराना’ कै हातमा छ त ! फेरि पनि देशले समस्याको समाधान किन पाइरहेको छैन ? राज्य त्यही र त्यस्तै घिसेपिटे किन छ ? अझ भ्रष्ट र पतित किन हुँदै गइरहेको छ ?
‘सामाजिक अराजकता चरम विन्दुतर्फ पुगेको छ’ भन्दिएर मात्र भाग्न पाइन्छ ? त्यो अराजकता कहाँबाट, किन र कसका कारणले आयो ? त्यसको संपरीक्षण, आत्मनिरीक्षण र आत्मस्वीकृति चाहिंदैन ? के यो देशले करिब ३४ वर्षदेखि प्रियतावादकै कारणले दुःख पाएको हो ? यसअघिको ‘वाम-उदारवादी परियोजना’ जनताका लागि सर्वथा प्रीतिकर तथा सुखदायी थियो ? देश सुशासित र समृद्ध बन्न लागेको थियो, प्रियतावाद आएर एकाएक अवरोध गरेको हो ? निःसन्देह हैन ।
के विगत ३४ वर्षदेखि देश ठेगानमा नहिंडेको यही ६ महिने प्रियतावादले हो ? दशकौंदेखि देश गरिबी, बेरोजगारी, अल्पविकास, कुशासन र भ्रष्टाचारमा फस्नुको कारण प्रियतावाद हो ? नक्कली भुटानी शरणार्थी प्रकरण प्रियतावादले गराएको हो ? झन्डै दुईतिहाइको बहुमत फास्स न फुस्स भएको नयाँ दलहरूले गर्दा हो ? देशमा रोजगार नपाएर, लाखौं युवायुवती विदेशिएको प्रियतावादले गर्दा हो ? यी कुनै पनि समस्यामा नयाँ दल, वैकल्पिक राजनीति र प्रियतावादको कुनै भूमिका छैन ।
यसका लागि कोही जिम्मेवार छन् भने ‘वाम-उदारवाद’ नै छ । यो कसैको असफलता र संकट हो भने ‘वाम-उदारवादी परियोजना’ कै असफलता र संकट हो । यसको उत्तर कसैले दिनुपर्छ भने ‘कांग्रेस-कम्युनिष्टहरू’ले नै पर्छ ।
पाखण्ड किनभने मंसिर ४ गतेको आमनिर्वाचन र वैशाख १० गतेको उपनिर्वाचनबाट रास्वपा लगायतको उदयसँगै प्रियतावादको उदय भएको हुँदै हैन । प्रियतावादी राजनीतिको उदय २०७४ को चुनावमै भइसकेको थियो । त्यतिखेर जो प्रियतावादको राजनीतिक उपयोग गर्न तल्लीन थिए, आज तिनै ठूलो स्वरले भन्दैछन्, ‘प्रियतावादको उदय समस्या भयो ।’
हामी कसैले यो बिर्सन मिल्दैन कि ठीक त्यतिखेरै अमेरिकामा डोनाल्ड ट्रम्पको उदय भएको थियो । विश्व संचार जगतमा ‘पपुलिज्म’ र ‘डेमागग्’ खुबै प्रयोग भइरहेका थिए । नेपालको बौद्धिक विमर्शमा पनि यी शब्दले पर्याप्त प्रवेश पाइसकेका थिए । २०७४ को आम चुनावमा तथाकथित ‘कम्युनिष्ट एकता’ र ‘वाम गठबन्धन’ ले जुन भ्रम (भ्रम किनभने त्यो पुष्टि भएन) दियो, खासमा प्रियतावाद भनेकै त्यही थियो ।
रवि लामिछानेहरूको राजनीति यदि प्रियतावाद नै हो भने पनि त्यसको स्रोत ओलीपन्थ हो । ओलीपन्थले प्रियतावादको उपयोग गरुन्जेल आनन्द मानेर कानमा तेल हालेर बस्ने वा अझै त्यही प्रियतावादलाई सहयोग गर्दै आएकाहरूबाट आज प्रियतावादको कोकोहोलो किन ? आजको प्रियतावादसँग लड्ने नैतिक अधिकार पनि तिनीहरूसँग मात्रै हुन्छ, जो प्रियतावादको स्रोतसँग हिजोदेखि नै लडेका थिए ।
विवेकपूर्ण तर्कपद्धतिले पुष्टि नगर्ने, सत्यतथ्य विनाका, विज्ञानहीन र रुढिवादी, आधारहीन, उडन्ते, हावादारी र फन्टुस प्रोपागान्डा सृजना गरेर ‘अब कम्युनिष्टहरूले कम्तीमा ५० वर्ष खान्छन्’ भन्ने भाष्यमा जसरी ओलीलाई ‘डेमागग् अवतार’ मा प्रदर्शन गरिएको थियो, त्यो नै खासमा प्रियतावाद थियो । ओलीको डेमागग् अवतारले दुई-दुई पटकको असंवैधानिक संसद विघटन सहित जुन संकट ल्यायो, त्यो नै आजको संकटको जग हो । महासचिव पोखरेलले भनेको आजको ‘चरम सामाजिक अराजकता’ को मुख्य कारकतत्व त्यही थियो, त्यही हो ।
यो पाखण्ड किनभने हिजो यो प्रवृत्तिलाई साथ दिने यिनै थिए । प्रचण्डदेखि माधव नेपालसम्म, शंकर पोखरेलदेखि घनश्याम भूसालसम्म ‘ओलीमा अभूतपूर्व नेतृत्व क्षमता देखियो’ भन्दै आत्मरति गर्ने यिनै थिए । ओली प्रियतावादको हुन्डरीले झण्डै दुईतिहाइको कमसल ताज पहिर्याउँदासम्म सबै मख्ख थिए ।
जतिखेरसम्म प्रियतावाद आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्ने भट्टी बनेको थियो, गज्जबको थियो । त्यतिखेर मात्र प्रचण्ड-माधव लगायतकाहरू बिच्किन थालेका थिए- जब ओलीले भागबन्डामा तलमाथि गर्न थाले । कमरेडहरूले भने जस्तो ‘भाग खान’ पाएनन् । जब भने जस्तो ‘भाग खान पाइएन्’, उनीहरू नै प्रियतावादले फुलेको बेलुनमा हावा फुस्काउन सियो घोच्दै हिंडे । विगत पाँच वर्षको नेकपा (नेकपा) को नाटक र नौटंकीलाई बेवास्ता गरेर आजको प्रियतावादको रहस्य बुझ्न सकिंदैन ।
आज ओलीको प्रतिवेदनमा प्रियतावाद, प्रचण्ड-माधवको भाषणमा प्रियतावाद, शंकर पोखरेल-घनश्याम भूसालको लेखमा प्रियतावाद, गोकुल बास्कोटा र महेश बस्नेतको गालीगलौजमा प्रियतावाद । कमरेडहरू- के यो साँच्चै प्रियतावादसँगको लडाइँ हो कि पाखण्ड ? त्यसो त यो प्याकेजभित्र ‘देउवा युगको कांग्रेस’ का बेढङ्गे सोच र कार्यशैली पनि उत्तिकै जोडिएका छन् ।
हीनताबोध किनभने- समाजले नयाँलाई ‘आशको नजरले हेर्ने अवस्था’ इर्ष्या र डाह समेत त्यसमा निहित छ । यस सन्दर्भमा के कुरा स्मरणीय छ भने नेपाली समाजले ‘वाम-उदारवादी परियोजना’ लाई दशकौं लामो साथ दिएको हो । एकपछि अर्को आशा गरेको हो । तर, त्यसबाट देश र जनताले आफ्ना समस्याको समाधान पाउँदैनन् भन्ने सिद्ध हुन्छ, अनुभवजन्य सत्य स्थापित हुन्छ, के उनीहरू जस्तै जनता र मतदाता पनि सत्यबाट भाग्नुपर्छ भन्ने छ ? निःसन्देह छैन ।
अस्तित्व भयको चिन्ता किनभने नयाँ र वैकल्पिक प्रयासप्रति उनीहरूको असहिष्णुताको अरू कुनै वस्तुगत कारण देखिंदैन । आफू पनि केही गर्न नसक्ने र अरू कोही नआउन् पनि भन्ने भाव प्रगतिमैत्री र गतिशील सोच हुँदै हैन । निरन्तर प्रगति र गतिशीलतामा विश्वास गर्नेहरूले आफ्नो ‘अस्तित्व अन्त्य’ हुँदा देश र जनताको हित हुन्छ भने त्यसका लागि समेत तयार रहनुपर्दछ । गतिशील सृष्टिमा कुनै पनि चिजको अस्तित्व सर्वकालिक हुँदैन ।
जसले प्रकृति र प्रगतिको नियममा विश्वास गर्दछ, उसले पुरानाको विलोप र नयाँको उदयको प्रक्रियालाई साथ, सहयोग र उत्साह दिने चरित्र देखाउन सक्नुपर्दछ । यस्तो चरित्र गुमाएको वाम-उदारवादी खेमा आफैंमा यथास्थितिवादको प्रतिनिधि र संरक्षक हो, उसले प्रियतावाद र यथास्थितिवादको अन्तरसम्बन्धबारे प्रवचन गर्नु, अर्ति-उपदेश दिनुको कुनै अर्थ हुँदैन ।
पूँजीवाद र साम्यवाद अन्तिम विचारधारा थिएन, हैनन् । ‘वाम-उदारवादी परियोजना’ विकल्पहीन एक मात्र राजनीतिक परियोजना थिएन, हैन । कांग्रेस-कम्युनिष्ट अन्तिम सत्य पार्टी थिएनन्, हैनन् । बरु जुन देशमा यी चिज लोप भइसकेका छन्, ती देशको उन्नति, प्रगति अझ राम्रो छ । र त्यो उन्नत विकल्पबाट नेपाली समाज मात्रै सधैं वञ्चित रहनुपर्छ भन्ने छैन । ‘वाम-उदारवादी परियोजना’ को एकाधिकार अब सम्भव छैन । त्यो युगको अन्त्य हुँदैछ र हुन जरूरी पनि थियो ।
समयले जब कसैलाई छोड्छ, कुनै मोलाहिजा विना निर्ममतापूर्वक छोड्दछ । उपनिर्वाचनको परिणामले मंसिर ४ को आम निर्वाचनले भन्दा बढी प्रष्ट भाषामा समयले पुरानालाई छोड्न थालेको घोषणा गरेको छ । यो समयको घोषणापत्र, युगको घोषणापत्र हो । डेनियालिज्म, पाखण्ड, हीनताभास र अस्तित्व भयको चिन्ताबाट उत्पन्न अक्षमताको बर्को ओढेर अब पुरानाले नयाँसँगको लडाइँ जित्न सक्ने छैनन् ।
source https://www.onlinekhabar.com/2023/05/1309858
0 Comments