Looking For Anything Specific?

Header Ads

पढ्छु भन्दा भन्दै झन्डै नपढेको ‘भुइयाँ’

यज्ञश मलाई मनपर्ने चलचित्र समीक्षक हुन् । उसो त म चलचित्रको समीक्षा गर्नुहुँदैन भन्ने मान्छे । अरूले भर्खरै पाएको बच्चालाई नराम्रो भन्दियो भने कस्तो होला ? यस्तै हो फिल्म समीक्षा जस्तो लाग्छ । आखिर सबैले आफूले भ्याएको सोच लगाएर बनाएका हुन्छन्; अनि एउटा टपरटुइयाँले यो फिल्म राम्रो छैन भन्दिन्छ र दर्शक जान छोड्छन् हलमा । यसमा राजनीति पनि राम्रै हुने गरेको देखिन्छ ।

चलचित्र भनेको भावनासँग जोडिने कुरा भएकोले राम्रो र नराम्रो छुट्याउने जिम्मा दर्शकलाई नै दिनुपर्छ भन्छु म, गीतहरूलाई जस्तै – धेरैले रुचाउने टिक्छन्, नरुचाउने हराउँछन् । यद्यपि, सबैले यज्ञशले जसरी नै समीक्षा गर्ने भए चाहिं फेरि समीक्षा गरिनु आवश्यक नै देख्छु म – उनको समीक्षा विषयपरक नभएर वस्तुपरक लाग्छन् । उनी देखेको कुरा मात्रै गर्छन्, आफ्नो भावना त्यसमा मिसाउँदैनन् । बच्चाको नाक मुख बाङ्गो रहेछ भन्छन् तर आफ्नै भावना मिसाएर नाक मुख बाङ्गो भएकोले बच्चा नराम्रो रहेछ भन्दैनन् । त्यसैले यिनी मलाई पहिलेदेखि नै मन पर्थ्यो । यिनै प्रिय लेखकले लेखेको ‘भुइयाँ’ कहाँ नपढिरहन सक्थें र !

अन्तत: पढियो, छापिएको ५ वर्षपछि । भव्य रहेछ, अब त्यसको बारेमा नसुनाइरहन कहाँ सकूँला र ! यो पुस्तक समीक्षा गर्दै छैन म, पुस्तक प्रकाशन भएको ५/६ वर्षपछि के समीक्षा गर्ने ! कत्तिले तात्तातैमा गरिसके होलान् । तर ती समीक्षाहरू पढ्न नपाउनेहरूका लागि ‘मिनी’ समीक्षा चाहिं पक्कै गर्नैपर्ने हुन्छ फाइनप्रिन्टद्वारा २०७४ मा प्रकाशित १९० पेजको गैर-आख्यान पुस्तक ‘भुइयाँ’ को ।

सन् २०१८ को २ लाख राशिको ‘पहिचान पुरस्कार’ पाउन सफल यो पुस्तक सोही वर्षको मदन पुरस्कारको लागि अन्तिम मनोनयनमा समेत परेको रहेछ। साथै यसले २०७४ को ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ समेत हात पारेको रहेछ ।

‘भुइयाँ’ का मधुरा देखिने पानाहरू भूमिहीनहरूको दुःखैदुःखको पहाडले घेरिएको ११ वटा जीवन कहानी र त्यही दुःखले निम्त्याएको सङ्घर्षहरूको गाथाले झल्झल बलेका छन् । झिंगटीको छाप्रो समेत बनाउन आफ्नो जग्गा नहुँदा भूमिहीनहरू कहिले आफ्नो ओत लाग्ने ठाउँलाई आगो लगाइदेलान् भन्ने डर; कहिले भूमिपतिहरूले डोजर चलाइदेलान् भन्ने डर; कहिले सामुदायिक वन उपभोक्ता समितिहरूले लखेट्ने डर; खोलासँगै टाँस्सिएर बस्नुपर्दा कहिले वर्षाको भेलले बगाइदेला भन्ने डर; बस्तीहरूबाट टाढा र जङ्गलको छेउको बस्ती भएकोले कहिले बाघ-भालुले खाला भन्ने डर- डरैडरमा बाँच्नुपर्ने रहेछ उनीहरू ।

जमिनको नाउँमा पाइलो राख्ने ठाउँ पनि नहुनेहरू कतिसम्म निरीह, परनिर्भर साथै बदनियत हुनेहरूको सिकार बन्नुपर्ने रहेछ भन्ने कुरा ‘भुइयाँ’ ले उजागर गरेको छ । कोही एक जना गरिब, निमुखा, सर्वहाराले आफ्नो जीवनकालमा कतिसम्म दुःख पाउन सक्ने रहेछ भन्ने कुराको साबिती दस्तावेज पनि रहेछ ‘भुइयाँ’ ।

मुक्त कमैया चुके र पूर्व कमलरी पार्वती डगौराको दुःखले जोडेको प्रेम कथामा कुनै फिल्म बन्दो हो त कति बजार तताउँथ्यो होला ! बारम्बार सारा समाज उल्टिंदा पनि चुकेले आफ्नो प्रेमिकालाई सामाजिक अभियन्ताको रूपमा स्थापित गरेरै छाडेको छ । पार्वती डगौराले १२ वर्षको उमेरदेखि अर्काको घरमा काम गर्न बसेको र अनेकौं हन्डरठक्कर खाएको कथाले आज भन्दा २५/३० वर्षअघिको नेपालको निर्लज्ज गरिबी छर्लङ्ग हुने गरी चित्रण गरेको छ ।

मात्रै २५/३० वर्ष अघि त त्यस्तो थियो भने ५०/६०, ८०/९०, १००/२०० वर्ष अघिको नेपाल कस्तो थियो होला ? हुन त ढुङ्गे युगबाट हामी आधुनिकतातर्फ आएको धेरै भएको छैन रहेछ भन्ने कुरा महसुस गर्न ७०/७२ वर्ष पहिले सन् १९५० तिर टोनी हागनले नेपालमा खिचेको डकुमेन्ट्री नै हेरे पनि काफी हुन्छ जस्तो लाग्छ ।

सुत्केरी हुँदा शरीरमा अन्न नपरेकाले र गिट्ठा र सागमा गुजारा गर्नु परेकोले दूध नआई सातौं दिनमा छोरी गुमाउनु पर्दाको पार्वती राजी र उनका पति काशीनाथको कारुणिक पीडा पढ्दा आङ नै सिरिङ्ग भएर आउँछ । एकै जना व्यक्तिको जीवनमा पनि यत्तिका धेरै दुःखका घटना घट्न सक्ने रहेछन्; कस्तो पापी छ यो संसार, कस्तो निर्दयी छ दैव !

मुसहर र थारु स्कुले बच्चाहरूको नाममा आएको दिवा खाजा र छात्रवृत्तिमा भएको सम्पूर्ण घोटालाको विरुद्ध छेडिएको ‘सेतो गुराँस’ आन्दोलनकी सोनिया सदाको अघिल्लो दिन कुटाइको कारण १५ हप्ताको गर्भपतन भएको रिपोर्ट आयो, भोलिपल्ट इन्स्पेक्टरले गर्भ नै नभएको भनेर जबरजस्ती रिपोर्ट निकाल्न लगाए हस्पिटललाई दबाब दिएर ।

आन्दोलन चर्किएपछि छानबिन समिति बन्यो र सोनिया गर्भवती रहेको पुष्टि भयो, तर न त्यो इन्स्पेक्टरमाथि कारबाही भयो, न सोनियाको पेटमा बुट बजार्ने अमानवहरूमाथि नै । कानुन पालन गराउन पर्नेले ठूलाठालु भनिने सामन्ती शोषकको दबाबमा गर्ने ज्यादतीको शृङ्खला रोकिएको छैन; अमित मिजार, शम्भु सदा, सुन्दर हरिजन … कहिलेसम्म भइरहन पर्ने हो भुइँमान्छेहरू सिकार यो देशमा !

प्रजातन्त्रको पुनरोदयले हो कि, जनविद्रोहले जन्माएको नवचेतनाले हो अथवा भूमण्डलीकरण, आधुनिकता र विज्ञान प्रविधिको पहुँचले हो आजको नेपाल अस्तिसम्मको नेपाल भन्दा बिल्कुलै फरक छ । २०/३० वर्ष अघिको नेपाली समाज चिन्नकै लागि भए पनि यो पुस्तक एक पटक पढ्नै पर्ने देखिन्छ

कुरा २०४२/४३ सालतिरको रहेछ, छोरी मान्छेलाई पढाउनुहुँदैन, पढायो भने पोइल जान्छन् भन्दै बुबाले पढ्न नदिएपछि १० वर्षको कलिलो उमेरमा गङ्गामाया बानियाँ एक्लै भागेर बसमा लुकी लुकी खाली खुट्टा काठमाडौं आइपुगेको, तर ४ वर्षको काठमाडौंको सङ्घर्षमा पढ्न नपाएपछि घर फर्कँदा दिदी पर्नेको जालसाजीमा परेर एउटा श्रीमती भएको बुढो मान्छेसँग बिहे हुनुले, मात्रै ३५ वर्ष अघिसम्म पनि नेपाली समाजको चेतना स्तर कस्तो दरिद्र रहेछ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ ।

हाम्रा इतिहासहरूको पानै पिच्छे भेटिने यस्तो बाल र बेमेल विवाह अझै रोकिएको छैन । यसको जड पितृ सत्ता ढाल्न अग्रसर ती तमाम आन्दोलनहरूप्रति नमन छ, जिन्दावाद छ !

हरेक किसिमका असमानता हटाएर समानता ल्याउँछौं, सामन्तीहरूको जग्गा खोसेर भूमिहीनहरूलाई बाँड्छौं भनी आन्दोलनमा लाग्न उकासेर आफूहरूलाई अलपत्र बीचैमा छोड्नु र उल्टै त्यही पार्टीका मान्छेले आफ्नो स्थानीय आन्दोलनका विरुद्ध धम्क्याउनुले यी भुइँमान्छेहरूलाई राजनीतिक दलहरूले आफ्नो अभीष्ट पूरा गर्न भोट-बैङ्कको रूपमा मात्रै प्रयोग गर्दै आएको कुराको तितो यथार्थ पनि यस पुस्तकले बोध गराउँछ ।

सामुदायिक वनको निकै प्रशंसक छौं तपाईं हामी । तर धेरै ठाउँको त्यस्तो वनमा शरण लिन आएका भूमिहीन सुकुम्बासीलाई हुकुमवासीको इशारामा सारा गाउँ र उस्तै परे जिल्ला वन कार्यालय पनि मिलेर उठाइने रहेछ ।

कहीं कहीं त कैयौं वर्षदेखि बसिरहेको बस्तीलाई भर्खरै गठन गरिएको वन समितिले हटाइदिने रहेछ । जो वनको आदिवासी हो, उसैलाई विस्थापित! वाह्, क्या कानुन छ नेपाल भन्ने देशमा ।

पुस्तकमा, कुरा गरी हालें राखिदिऊ न त अब भनेर राखिदिए जस्तो मानें मैले पुतली मायाको कथा चाहिं । ‘अमिलोमा नमिसाऊ धमिलो, माया पानको पात’ भन्ने टुक्का सुनेको थिएँ, लेखक यज्ञशले उदार दिलका साथ मिसाइदिएछन् । खैर, केही छैन । कथा त युनिक नै छ उनको पनि, सिलसिलेवार प्रसङ्गसँग अलिक मेल नखाएको मात्रै हो ।

समग्रमा भन्नुपर्दा पुस्तकको लेखन एकदमै सरल ढङ्गबाट बगेको छ । यज्ञशको लेखन शैली अति नै लोभलाग्दो छ । कथामा बग्दा बग्दै कतिखेर चिप्लाएर अन्तै दूर दूर पुर्‍याएर फरक प्रसङ्गमा चुर्लुम्म डुबाईवरी फेरि फर्काएर कथामै ल्याउने कला प्राय: १/२ पेज जसो बिराएर भेटिइरहन्छ, ‘राति उड्ने पुतली’ मा चाहिं त्यस्तो खाले ट्वीस्ट भेट्न नसकिएको निवेदन गर्नै पर्ने हुन्छ ।

भुइयाँले संरचनात्मक विभेदको हकमा कैयौं प्रश्न खडा गरिदिएको छ- ९/१० वर्षको उमेरदेखि कमैया, कमलरी, हरवाचरवा, घरेलु कामदार, नोकर भई आजीवन मरिमेटेर काम गर्दा पनि किन एउटा ओत लाग्ने ठाउँ बनाउनेसम्मको पनि जग्गा हुँदैन केही खास समुदायको; जसको पुस्ताले वन फाँडेर रगतपसिना बगाई बस्ती बसाल्यो कसरी त्यो बस्ती कहिल्यै त्यो जमिनमा पाइला नटेकेको महाजनको नाममा छ; भूमिहीनको नारा लिएर राजनीति थाल्नेहरू किन अन्ततोगत्वा भूमिपतिहरूकै संरक्षण गर्न पुग्छन्; आखिर कहिलेसम्म यो असमानता ? यस्तै यस्तै ।

पुस्तक लोकार्पण कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी तत्कालीन आयुक्त मोहना अन्सारीले ‘न्यायको लागि राज्यको विरुद्ध मुद्दा हाल्न परे अन्तर्राष्ट्रिय फोरममा प्रमाण बन्न सक्ने किताब हो भुइयाँ’ भनेकी रहिछिन् । सत्य हो ।

कुनै माइकालालले अन्सारीको बयानलाई असत्य प्रमाणित गर्न सक्ने देखिंदैन । किनकि एकातर्फ पुस्तकका ती पात्रहरू अझै पनि जीवित नै छन् र अर्कोतर्फ अन्यायको सिलसिला अझै यथावत् नै छ ।

पुरुष प्रधान समाजमा महिला नै ड्राइभर बनेर समाज हाँकेका स्त्री-वीरगाथाहरू विरलै पढ्न पाइन्छन् । यस पठनीय कृतिले तर सलमा बेहेना, सावित्री चौधरी, पार्वती डगौरा, चन्द्रेश्वरी सदा लगायतका समाज रूपान्तरणका संवाहकहरूको अदम्य साहसलाई इतिहासको पानामा लिपिबद्ध गरिदिएको छ । हो यो इतिहासै हो, तर हामीले सुन्दै, पढ्दै आएको वर्गको, लिङ्गको, जातको भन्दा भिन्न । धन्यवाद छ ती स्रष्टालाई जसले यिनीहरूको इतिहास लेखिदिए, नत्र डगौरा, सदा महिलाहरूको पनि एजेन्सी (निर्णय गर्ने क्षमता/शक्ति) हुन्छ भन्ने कुरा गर्भमै हुनेथियो!

मैले प्रायः अध्ययन अनुसन्धानको क्रममा अन्तर्वार्ताहरूमा भेट हुने मान्छेहरूले उनीहरूका जीवन गाथा र सङ्घर्षको बारेमा कहीं कतै छापिदिन्छन् कि भनेर सोच्ने गरेको भेट्टाएको छु, तर दुर्भाग्य ती आख्यान लेखनका लागि हुँदैनन्, भइदिन्छन् अनुसन्धानका लागि जसमा अनुसन्धानको आचारसंहिता अनुसार व्यक्तिको पहिचान गोप्य राखिदिनुपर्ने हुन्छ । एउटा अनुसन्धानमा फाट्टफुट्ट ल्याइन्छन् केही त्यस्ता उपमाहरू ‘केस स्टडी’ को रूपमा ।

‘भुइयाँ’ पढ्दै गर्दा यो पुस्तक त्यस्तै सशक्त केस स्टडीहरूको शक्तिवान् सँगालो भएको आभास हुन्छ । हो शक्तिवान् – फिल्मको झैं लाग्ने यी प्रत्येक कथाहरू महिला सशक्तीकरणका उत्प्रेरक कारक जस्ता छन् । राष्ट्र, शासन व्यवस्था आदि ठूला ठूला कुरा बदल्ने कथा होइनन् यी, हुन् त केवल न्यूनतम मान्छे भएर जिउन पाऊँ भन्ने सङ्घर्षका सार्थक कथा, मधेशका महिलाहरूले छेडेका भिन्नाभिन्नै सङ्घर्ष र आन्दोलनहरूको कथा ।

प्रजातन्त्रको पुनरोदयले हो कि, जनविद्रोहले जन्माएको नवचेतनाले हो अथवा भूमण्डलीकरण, आधुनिकता र विज्ञान प्रविधिको पहुँचले हो आजको नेपाल अस्तिसम्मको नेपाल भन्दा बिल्कुलै फरक छ । २०/३० वर्ष अघिको नेपाली समाज चिन्नकै लागि भए पनि यो पुस्तक एक पटक पढ्नै पर्ने देखिन्छ ।

मलाई भेट्न मन छ, ती सबै पात्रहरूलाई । पुस्तकको अनुसार यज्ञशले उनीहरूलाई भेटेको पनि ९/१० वर्ष बिते, उनलाई पनि पक्कै ती सबै पात्रहरूलाई पुनः भेट्न मन होला, र किताबैले उनीहरूको जीवनमा तात्त्विक भिन्नता नल्याए पनि समय चक्रमा के के परिवर्तनहरू भए माग मुद्दामा र उनीहरूका वर्तमान स्थिति/सवालहरूमा भनेर पक्कै बुझ्न मन होला, उस्तै परे ‘भुइयाँ’ को बहिनी जन्माउन पनि मन होला । ‘आई विस’ त्यतिबेला मलाई पनि साथै लिएर जाऊन् ।

(सेन्चुरी नीति अनुसन्धान प्रतिष्ठानमा विश्लेषकको रूपमा कार्यरत छन् ।)



source https://www.onlinekhabar.com/2023/05/1312997

Post a Comment

0 Comments