सन् २०२३, जनवरी १९ बिहीवार न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले पदबाट राजिनामाको घोषणा गरिन्। सन् २०२० मा भएको निर्वाचनमा लोकप्रिय मतसहित जसिन्डा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन् र उनको कार्यकाल अझै दश महिना बाँकी नै थियो।
जसिन्डाले राजीनामा दिनुको अन्तर्य के होला ?
के उनी उमेर वा स्वास्थ्यका हिसाबले अशक्त थिइन् ?
होइन।
के उनलाई पार्टीभित्र नै नेतृत्व त्याग गर्न दबाव थियो ?
त्यो पनि होइन।
के उनको विरोधमा वा राजिनामाको माग गर्दै सडक वा सदनमा आन्दोलन भएको थियो ?
पटक्कै होइन।
अनि किन राजिनामा गरेकी होलिन् त ?
किनकि चुनाव जित्ने बेलाको उनको लोकप्रियता अहिले क्रमशः खस्किंदै गएको हो कि भन्ने सामान्य छनक दिने खालका सर्वेक्षण आउन थाले अनि उनले ठानिन् यसरी आफ्नो लोकप्रियता घट्नुमा कतै मेरो काम गर्ने शैली र उत्साहमा कमि त भएन ! अनि हाँसी–हाँसी घोषणा गरिन्, ‘प्रधानमन्त्री पदका लागि मेरो उत्साह अलि कम भएझैं लाग्यो, प्रधानमन्त्रीको पद ओगटेर अब बस्दिनँ !’
जसिन्डाको राजनीतिक उचाइको ‘चार्म’ हाम्रो जस्तै विकासोन्मुख देशहरूका लागि त आदर्शमय थियो नै, बेलायत, अमेरिका वा अन्य युरोपेली नागरिकले पनि ‘हामीले पनि जसिन्डा जस्तै प्रधानमन्त्री देख्न चाहन्छौ’ भनेर ब्यानर बोकेका घटना छन। यसबाट भन्न सकिन्छ जसिन्डा न्युजिल्यान्डका सन्दर्भमा मात्र होइन विश्व राजनीतिक रंगमञ्चमै एक सफल नेतृ थिइन्।
विना दबाव महत्त्वपूर्ण राजकीय पद त्याग गर्ने निर्णयबाट फेरि एकपटक जसिन्डा विश्व चर्चाको शिखरमा छिन्।
जसिन्डाको अप्रत्याशित राजिनामाको समाचार आएपछि हाम्रो राजनीतिक र सामाजिक वृत्तमा पनि स्वाभाविक चर्चा–परिचर्चा भयो नै।
जसिन्डाको राजिनामाको समाचार आएलगत्तै सुदीप खनियाले लाक्षणिक शैलीमा ट्विटरमा लेखे—
‘न्युजिल्यान्डका नेताहरु साह्रै मतलबी। देशको माया नै छैन। पाँच वर्ष पुग्या छैन, अब प्रम नबन्ने रे ! तिनलाई संविधानको रक्षा गर्न पर्दैन ? देशी–विदेशी शक्तिबाट देश बचाउन पर्दैन ? सीमान्तकृतको रक्षा गर्न पर्दैन ?’
आफू बेगर अरु जो आए पनि ‘देश दुर्घटनामा जान सक्छ’भन्ने किसिमको भाष्य जो हाम्रो राजनीतिक नेतृत्वले स्थापित गराएका छन् त्यही स्थिति उपर खनियाको लक्षणा बुझ्न सकिन्छ।
त्यसैगरी अजित बरालले ट्विटमै लेखे—
‘न्यूजिल्याण्डकी ४२ वर्षे प्रधानमन्त्रीले अर्को कार्यकालका लागि आफूसँग उर्जा नभएकाले आगामी चुनाव नलड्ने घोषणा गरेकी छिन्। यस्ता नेता हामीले कहिले पाउने हो ?’
बरालको ट्विटलाई पुन: ट्विट गर्दै पत्रकार सुजित महतले लेखे—
‘यस्ता नेता पाउन नागरिक तदनुरूप बन्नुपर्यो। भ्रष्ट, पाको नेतालाई तिनकै तौल/उमेर बराबरका माला लगाइदिन तँछाडमछाड हुने अवस्था कायम रहेसम्म यस्ता सपनै नदेखौं।’
यी ट्विटमाथि प्रतिक्रिया जनाउने धेरैजसोको आशय सुजित महतको ट्विटसँग मेल खाने खालका छन्: ‘देशमा कस्ता नेता उत्पादन हुन्छन् भन्ने कुरा आखिर त्यही देशका जनताको रोजाइ र बुद्धिमतामा भर पर्ने न हो।’
प्रधानमन्त्री वा अरु कुनै ठूलो पदमा बसिरहन मरिहत्ते गर्ने राजनीतिक संस्कारबाट हुर्केका हामीलाई ४२ वर्षीय जसिन्डाको राजिनामा अप्रत्याशित र अस्वाभाविक लाग्नु ठिकै हो। तर न्युजिल्यान्डमा भने यस्तो ‘अप्रत्याशित’ पद त्याग सामान्य मान्नुपर्छ। जसिन्डाले राजिनामामार्फत जसरी सबैलाई ‘सरप्राइज’ बनाइन् उनी प्रधानमन्त्री बन्नु र बनाइनुमा पनि त्यस्तै अप्रत्याशित राजनीतिक निर्णय र ‘सरप्राइज’कै सन्दर्भ छन्। त्यसका लागि न्युजिल्यान्डको निकट राजनीतिक विगतलाई नियालौं न।
सन् २०१७ मा न्युजिल्यान्डमा आम निर्वाचन भयो, एकल सरकार बनाउन पुग्ने स्पष्ट बहुमत कुनै दलको पनि आएन, नेशनल पार्टीको सरकारले सम्पन्न गराएको उक्त निर्वाचनमा स्वयम् नेशनल पार्टी ४४ प्रतिशत मतसहित पहिलो दल बन्यो तर सरकार बनाउन पुग्ने बहुमत आएन। गठजोडको सरकार बन्ने परिस्थिति सिर्जना भएपछि तेस्रो दल न्युजिल्यान्ड फर्स्टसँग पहिलो ठूलो दल नेशनल र दोस्रो ठूलो दल लेबरले वार्ता गरे। तेस्रो दल न्युजिल्यान्ड फर्स्टले सरकारको समर्थनका लागि राखेका सबै शर्तहरुमा नेशनल राजी भएन र सजिलै दोश्रो र तेश्रो दलका लागि सरकार निर्माणको अवसर आयो। दोश्रो ठूलो दल लेबर पार्टीको नेतृत्वमा सरकार बन्यो र प्रधानमन्त्री बनिन् जसिन्डा आर्डेन, सम्झना रहोस् जसिन्डा आर्डेन पहिलोपटक प्रधानमन्त्री बन्दै गर्दा उनको उमेर जम्मा ३७ वर्ष मात्र थियो। त्यो सरकार बहुमत प्राप्त थिएन तर अल्पमतकै कारण राजनीतिक अस्थिरता पनि आएन, प्रधानमन्त्रीका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा जसिन्डा आर्डेनले निर्धक्क काम गरिन्।
साथै सन् २०२० को अक्टोबरमा भएको आम निर्वाचनमा पनि सानदार विजयी हुँदै प्रधानमन्त्रीमा दोहोरिइन्। आर्डेन सरकारमा आउनु पहिलेको थोरै राजनीतिक घटनाक्रम पनि जोडौं, न्युजिल्यान्डमा एउटै व्यक्ति तीन पटकसम्म प्रधानमन्त्री बन्न पाउने विधि छ, त्यही विधि बमोजिम तेश्रो पटक प्रधानमन्त्री बनेका न्युजिल्यान्ड नेशनल पार्टीका नेता जोन किले आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै सरकार र पार्टीको नेतृत्व बिल इङ्लिसलाई सुम्पिए, त्यो बेला उमेरले जम्मा ५७ वर्षीय जोन किले यसरी नेतृत्व त्याग्नुमा कुनै राजनीतिक चलखेल वा दबाव थिएन, थियो त केवल राजनीतिबाट विश्राम लिएर निजी जीवन उदात्त तरिकाले बिताउने चाहना।
जोन किको राजनीतिक उत्तराधिकार बनेका बिल इङ्लिसले पनि नेतृत्वको त्यस्तै रोचक पारा देखाए, आफ्नो नेतृत्वको सरकारले सम्पन्न गराएको चुनावमा आफ्नो पार्टी पहिलो भए पनि प्रष्ट बहुमत ल्याउन नसकेपछि इङ्लिस पनि पार्टी नेतृत्वमा बसिरहन जाँगर गरेनन्। संसदमा रसिक सम्बोधन गर्दै पार्टी नेतृत्व र सांसद पदबाट समेत राजिनामा दिए। त्यसपछि न्युजिल्यान्डको सबैभन्दा ठूलो दलको नेतृत्व ४२ वर्षीय सिमोन ब्रिजको जिम्मामा पुग्यो। सिमोन ब्रिजले सरकारका लागि रचनात्मक सल्लाह दिइरहे, चुनावमा नेशनल पार्टीलाई किन जिताउने ? उनी स्वयंलाई किन जिताउने ? जस्ता जनचासोका सवालमा तथ्यपरक डकुमेन्ट्रीमार्फत जनतासामु निरन्तर पेश भइरहे। त्यसका बाबजुद उनको सन् २०१८ देखि २०२० सम्म नेशनल पार्टीको नेतृत्व अपेक्षित लोकप्रिय नभएपछि सन् २०२० मा निकै सौहार्द तरिकाले आफू भन्दा निकै पाका ६८ वर्षका पिटर गुडफेलोलाई सुम्पिए।
४२ वर्ष पुग्दानपुग्दै देशको कार्यकारी पदबाट जसिन्डा बिदा हुँदै गर्दा अब प्रधानमन्त्री को बन्ने भनी राजनीतिक रस्साकस्सी त्यहाँ छैन। लेबर पार्टीका युवा नेता कृस हिप्किङ्स न्युजिल्यान्डको प्रधानमन्त्री बन्ने पक्कापक्की भैसकेको छ। कृस हिप्किङ्स पनि उमेरमा बल्ल ४४ वर्षका भए।
न्युजिल्यान्डको राजनीतिमा देखिने यस्ता रोचक पक्षको तुलना गरेर नेपाली राजनीतिको नैतिक पक्ष माथि मैले अनलाइनखबरमै सन् २०१८ मा एक आलेख लेखेको थिएँ ।
हामीले न्युजिल्यान्डको सन्दर्भमा कुरा गरिरहँदा राजनीतिमा युवाको भूमिका बारे बहस गरेझैं लाग्न सक्छ, त्यसो होइन। राजनीतिमा आचरण प्रमुख हो या उमेर ? यो बहसमा हामी बेला बेलामा बहकिन्छौं। खटेर काम गर्नका लागि उमेर र स्वास्थ्य सबल हुनुपर्यो, सही हो। अझ त्योभन्दा प्रधान कुरा त आचरण होला नि ? होइन र ?
हामीले त्यतिपरको देश न्युजिल्यान्डबारे चासो राखिरहनुको कारण राजनीति बिम्ब सापटी लिनका लागि नै हो। जस्तो: कति सहज र सरल तरिकाबाट सत्ता र पद छोड्न सकेको, ६० वर्ष नकटे पनि राजनीतिबाट सन्यास लिन सक्ने आँट, ३७ वर्षीय त्यो पनि महिलालाई प्रधानमन्त्रीका रूपमा स्वीकार गर्न सम्पूर्ण पार्टी पंक्ति तयार। ४२ वर्षको युवाले देशको सबैभन्दा ठूलो दलको नेतृत्व गर्ने सामर्थ्य राख्नु र पार्टीका सबै तहका नेताले आफ्नो नेता स्वीकार गर्नु। देशको प्रधानमन्त्री बनिसकेको व्यक्ति पुनः व्यावसायिक जीवनमा फर्केर कुनै बैंकको कार्यकारी प्रमुख बनेर काम गर्ने उदाहरण खोज्नुपर्यो भने न्युजिल्यान्डका पूर्व प्रधानमन्त्री जोन किलाई हेरे हुन्छ। जसिन्डा आर्डेनले पनि आगामी दिनमा राष्ट्रसंघीय नियोगहरू वा अरु कुनै निकायमा जागीरे जीवन सुरु गरिन् भने आश्चर्य नमान्दा हुन्छ! राजनीतिक रंगमञ्चमा यति धेरै सकारात्मक बिम्ब एउटै देशभित्र त्यो पनि एकै समयमा।
लोक कल्याणकारिता, सामाजिक सुरक्षा र जनताको सुख र खुसीको मापन गर्दा आज न्युजिल्यान्ड विश्वका उत्कृष्ट तीन देश भित्र पर्छ। आखिर हामीले त्यस्तै लोककल्याणकारी राज्य चाहेको हो भने राजनीतिक संस्कार त सुधारिनु पर्ला नि!
गाली र आक्रोशमार्फत राजनीतिलाई हामीले धेरै सराप दियौं, गाली र आक्रोशमार्फत सामान्यीकरण गर्न खोजेको राजनीतिक प्रवृत्तिबारे एउटा बिम्ब जोड्न चाहन्छु। खेतको गरामा मुसाले प्वाल पारेर पानी चुहिने भएको छ भने प्वाल खोज्दै टाल्नुपर्यो, तर प्वालको मुख पत्ता नलगाई पुच्छरमा माटो कोचेर र हुँदैन। पानी निस्केको पट्टि एक मुरी माटो थुपारे पनि प्वाल टालिंदैन, प्वालको मुख भेटाएर टालटुल पार्यो भने एक पसर माटोले पुग्छ।
राजनीतिक बेथिति टाल्ने सवालमा हामी सबै सायद प्वालको मुख खोज्नका अल्छीले पुच्छरपट्टि मात्र टालटुल पार्न खोज्दैछौं कि ?
‘तिमीले सकेनौ भो अब छोड’ भन्दा पनि नसुन्ने र ‘मैले सकिनँ अब छोड्नुपर्छ’ भन्ने आत्मबोध पनि नहुने ‘ढिंट’ पात्रहरूको वर्चश्व भएको हाम्रो राजनीतिक परिधिमा जबसम्म राजनीतिमा निष्ठाको खोजी सशक्त बन्दैन तबसम्म न्युजिल्यान्ड वा जसिन्डा आर्डेन लगायतका सकारात्मक सन्दर्भ हाम्रा लागि मृगतृष्णा मात्र हुनेछन्।
तसर्थ, असाध्यै उन्नत ‘भविष्य’को कल्पना गरिरहँदा असाध्यै खराब ‘वर्तमान’लाई सुधार गर्ने संकल्पको खोजी गर्न जरुरी छ।
source https://www.onlinekhabar.com/2023/01/1251893
0 Comments