खुट्टा नभएको मानिसले पनि सगरमाथाको सफल आरोहण गर्यो भन्दा अचम्म मान्नुपर्दैन, न त पूरै शरीर नचल्ने व्यक्ति युगमै उत्कृष्ट वैज्ञानिक बने भन्दा अचम्म मान्नुपर्छ ।
आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखे भन्दा अझै पनि हामी कसरी सम्भव भयो भन्ने आश्चर्यलाग्दो प्रश्न गर्छौं । शारीरिक अशक्तता भएका व्यक्ति देख्नासाथ विचारा भन्ने हामी अझै उनीहरुको सहानुभूतिमा नै सीमित छौँ । तर आश्चर्य मान्नुपर्दैन, खुट्टा नहुने मानिसले सगरमाथा चढिसकेका छन् । आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखिसकेका छन् र पूरा शरीर नचल्ने व्यक्ति युगकै उत्कृष्ट वैज्ञानिक बनेका छन् ।
कोही जन्मिदै शारीरिक रुपमा अशक्त थिए, कोही दुर्घटनामा परेर अशक्त भए । तर, शारीरिक अशक्तताले उनीहरुको सपनामा अङ्कुश लगाउन सकेन । न उनीहरुले आफ्नो कमजोरीलाई जीवनमा हाबी हुन दिएर बिलौनामा समय व्यतित गरे । बरु, आफ्नो ‘समस्या’लाई ‘शक्ति’ मा परिणत गरे । र, सबैका निमित्त उदाहरण बने ।
विश्वप्रसिद्ध भौतिकशास्त्री, लेखक, प्रोफेसर स्टिफन हकिङले विशेष गरेर भौतिक शास्त्र र व्रह्माण्ड विज्ञान सम्बन्धि विभिन्न सिद्धान्तहरु प्रतिपादन गरे । त्यस्तै हेलेन केलर डिग्री प्राप्त गर्ने विश्वकै प्रथम देख्न र सुन्न नसक्ने व्यक्ति हुन् भने फ्रान्कलिन अमेरिकी वकिलका साथै ३२ औं अमेरिकी राष्ट्रपति हुन् । उनी शारीरिक अशक्तता भएका व्यक्ति हुन् ।
त्यस्तै भारतीय नागरिक अरुणिमा सिन्हा सगरमाथा आरोहण गर्ने पहिलो अशक्त व्यक्ति हुन् भने भारतीय नागरिक सुधा चन्द्रन पनि अशक्त भएर पनि भारत नाट्यम डान्सर बन्न सफल भइन् ।
त्यसो त नेपालमा भएकै कुरा गर्ने हो भने झमककुमारी घिमिरेको नाम लिए पुग्छ । यस्ता धेरै उदाहरण छन्, जसले अशक्ततालाई अवसरमा परिणत गरेर देश/विदेशमा बलियो रुपमा आफूलाई उभ्याएका छन् । नेपालमा अहिले पनि अशक्तपनलाई कमजोरी नठानी आत्मबलका साथ आफैँ काम गरेर जीविकोपार्जन गर्ने मानिसहरु धेरै छन् ।
जोरपाटीस्थित बिआईए इस्न्टिच्युटमा थाङ्का बनाउँदै गरेका अपाङ्गता भएका कलाकार हुन् वा जोरपाटीस्थित अपाङ्ग संघ परिसरमा दृष्टिबिहीन र अपाङ्गता भएका पुरुष । गौशालामा व्यापार गर्दै आएकी अपाङ्गता भएकी महिलाको शक्ति हेरौँ वा गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउँदै गरेकाकुष्टरोग पीडित पुरुषको अनुहार हेरौँ ।
उनीहरु आफ्नो शारीरिक रुपलाई छोडेर मानसिक रुपमा बलियो बनि आफैँ कमाएर जीवन धान्छन् । थापाथलीस्थित सुकुमबासी बस्तीमा दृष्टिबिहीन परमेश्वरीदेवी मुखियाको घरमा काम गरेर जीविकोपार्जन गर्छिन् भने उनका श्रीमान सल्टु मुखिया पनि दृष्टिबिहीन नै छन् ।
आवाजको सहारामा मोबाइल चलाउने, अपाङ्गता भएकाहरु, ह्वीलचेयरको सहयोगमा बास्केटबल खेल्नेहरु, चिउडोको सहायताले ह्वीलचेयर चलाउनेहरु, हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउनेहरु, ह्वील चेयर बनाउने, कपडाको थाङ्का बुन्नेलगायतका काममा उनीहरु ब्यस्त छन् ।
तस्वीरहरू : नेपाल न्यूज एजेन्सी
जोरपाटीस्थित बिआईए इन्टिच्युटमा थाङ्का बनाउदै अपाङ्ता भएका कलाकार ।
source https://www.onlinekhabar.com/2023/01/1254551
0 Comments