Looking For Anything Specific?

Header Ads

बेरोजगारको कुटिर उद्योग त्रिवि र स्ववियुले भुलेको बाटो

विश्वविद्यालयहरू देशका मस्तिष्क हुन् । देश बनाउन आवश्यक कालिगड यिनै विश्वविद्यालयबाट उत्पादन हुनुपर्ने हो । संयुक्त राज्य अमेरिकाको नेतृत्व गरिसकेका जोन एडम्स, जोन क्विन्सी एडम्स, रदरफोर्ड बी. हेस, जोन एफ केनेडी, फ्रैंकलिन डेलानो रुजवेल्ट, थिओडोर रुजवेल्ट, जर्ज डब्लु बुश र बाराक ओबामा हार्वर्ड विश्वविद्यालयका उत्पादन हुन् । यस्ता उदाहरण बग्रेल्ती छन् ।

विश्वविद्यालय मुलुक हाँक्ने हरेक प्रकारका जनशक्ति उत्पादन गर्ने स्रोतका रूपमा विश्व समुदायमा परिचित छ । २०१६ सालमा मुलुकभित्रै दक्ष जनशक्ति उत्पादन गर्न, स्तरीय उच्च शिक्षा प्रदान गर्न, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण तथा विकास गर्न, कला, विज्ञान, प्रविधि एवं व्यावसायिक क्षेत्रको ज्ञान र अनुसन्धानलाई व्यापक, व्यावहारिक तथा समयसापेक्ष बनाउने ध्येयसहित पहिलो राष्ट्रिय शैक्षिक संस्थानका रूपमा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो ।

त्रिभुवन विश्वविद्यालयबाटै शिक्षित जनशक्ति आज नेपालको नीति निर्माण तह र कर्मचारीतन्त्रको नेतृत्वमा छन् । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि अन्तर्गतकै रामपुर कृषि क्याम्पसबाट स्नातक गरेका हुन् । वर्तमान मुख्य सचिव शंकरदास वैरागी, पूर्व मुख्य सचिवहरू लोकदर्शन रेग्मी, लीलामणि पौड्याल, डा.सोमलाल सुवेदी पनि त्रिविकै उत्पादन हुन् ।

उच्च शिक्षाको ८० प्रतिशत जनशक्ति उत्पादन गरिरहेको त्रिविले अन्तर्राष्ट्रिय परिवेश अनुसार नयाँ-नयाँ विषय थप गर्न सकेको छैन । पाठ्यक्रमको समयानुकूल परिमार्जन गर्न सकेको छैन । विश्वप्रसिद्ध विश्वविद्यालयहरूमा सफल रूपमा लागू भएका शिक्षण विधि र प्रविधिमैत्री शिक्षण सिकाइको अवलम्बन गर्न सकिएको छैन । अनुसन्धानमा प्राथमिकता, प्राविधिक शिक्षाको विस्तार जस्ता समयसापेक्ष सुधारहरू समेत गर्न सकेको छैन । परिमाणतः त्रिवि बेरोजगार उत्पादन गर्ने कुटिर उद्योग बनेको छ ।

शिक्षक र कर्मचारीहरूको समुचित व्यवस्थापन छैन । स्वावलम्बी र स्वायत्त बन्न नसक्दा दक्ष र प्राविधिक जनशक्तिको त्रिविप्रति आकर्षण घटिरहेको छ । समयानुकूल पाठ्यक्रम परिमार्जन र नयाँ विषय थप गर्न नसक्दा राजनीतिक हस्तक्षेपले थलिएको त्रिवि बेरोजगार थन्क्याउने र उत्पादन गर्ने कारखानाका रूपमा आलोचित भइरहेको छ ।

त्रिविलाई २१औं शताब्दीका चुनौती सामना गर्ने विश्वविद्यालय कसरी बनाउने ? संविधानको मर्म अनुरूप जनसाधारणको सहज पहुँचमा उच्च शिक्षा कसरी पुर्‍याउने ? र, शिक्षालाई आजको युग अनुकूल प्रविधियुक्त, गुणस्तरीय र विश्वव्यापी प्रतिस्पर्धी कसरी बनाउने भन्ने प्रश्नको जवाफ त्रिविसँग छैन ।

१७ महिनासम्म परीक्षाफल प्रकाशित नगरेर त्रिविले लापरबाहीको हद पार गरिरहेको छ । उत्तरपुस्तिका त्रिविको परीक्षा नियन्त्रण कार्यालयबाट हराउँछन् । र, विद्यार्थी फेरि परीक्षा दिन बाध्य हुन्छन् । झापाको दमक क्याम्पसले बीबीएस चौथो सेमेस्टरको एक वर्ष अगाडि लिएको परीक्षा एक वर्षपछि स्थगित भएको सूचना निकाल्यो ।

आफंैले बनाएको शैक्षिक क्यालेन्डर लागू गराउन नसक्ने त्रिविले शैक्षिक गुणस्तर र विश्वविद्यालयको सर्वाङ्गीण संस्थागत विकास गर्न कसरी सक्ला ? यो अवस्थामा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने त कल्पना मात्र हो ।

त्यसो त, त्रिवि आधुनिक विश्वविद्यालय बन्न बाँकी छ । नेपालमा विश्वविद्यालय पढ्ने जम्मा विद्यार्थीको ८१ प्रतिशत त्रिभुवन विश्वविद्यालयमा नै अध्ययन गर्ने भएकाले समय अनुसार यसलाई आधुनिक बनाउनुको विकल्प छैन ।

त्रिविको चिकित्साशास्त्र, इन्जिनियरिङ्गलगायत अन्य प्राविधिक अध्ययन संस्थानहरूबाट उत्पादन हुने जनशक्तिहरू तुलनात्मक रूपमा स्तरीय मानिन्छ । यी शैक्षिक संस्थाहरूले मानवजातिको हितको लागि विशेष सफलता प्राप्त भएको देखिने कुनै अनुसन्धान गरेको आजसम्म उदाहरण पाइएको छैन ।

स्ववियुको वैश्विक अभ्यास

विद्यार्थी युनियनको अवधारणा दोस्रो विश्वयुद्ध भन्दा पहिले नै सन् १९०० देखि सन् १९३० को बीचमा नै आएको पाइन्छ । सन् १९०६ मा स्टुडेन्ट रेपि्रजेन्टेटिभ काउन्सिल स्थापना भएको थियो । दोस्रो विश्वयुद्धको बेला विद्यार्थी युनियनहरूले सैन्य शक्तिलाई बलियो बनाउन स्वयंसेवकको रूपमा भूमिका निर्वाह गरेका थिए । उनीहरूले खाना, पानी र विश्वविद्यालयमै बस्ने व्यवस्था गरे । दोस्रो विश्वयुद्धपछि विद्यार्थी युनियनको भूमिकामा परिवर्तन आयो र विश्वविद्यालयका गतिविधिमा सुधार ल्याउनतर्फ केन्दि्रत हुनथाल्यो । उता, बेलायतमा सन् १८८४ मा एडिनबर्ग युनिभर्सिटीमा स्टुडेन्ट एसोसिएसनको स्थापना भयो ।

केही समयअगाडि ‘सार्वजनिक शिक्षा पाउनु सबैको विश्वव्यापी सामाजिक अधिकार हो’ भन्ने नारासाथ विश्व चर्चित बनेको चिलियन विद्यार्थी आन्दोलनको नेतृत्व चिली विश्वविद्यालय विद्यार्थी संघकी अध्यक्ष क्यामिला भालेजोले गरिन् । सन् २०१० मा सो संघको अध्यक्षमा निर्वाचित क्यामिला भालेजो २०११ मा भएको विद्यार्थी आन्दोलनको अग्रभागमा रहिन् । सन् १९९० पछि चिलियन शिक्षामा तीव्र निजीकरण हुँदै गयो । ५४ प्रतिशतभन्दा बढी विद्यार्थी निजी विद्यालयमा अध्ययन गर्न बाध्य भए । शिक्षा महँगो हुँदै गयो । अन्ततः शिक्षालाई सहज सार्वजनिक पहुँचमा ल्याउन माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलनले विश्वचर्चा बटुल्दै सफलता प्राप्त गर्‍यो ।

नेपालमा स्ववियु

केन्द्रीय राजनीतिको प्रभावका आधारमा स्ववियुको नेतृत्व पाउने होडबाजी र यसलाई दलको लोकपि्रयता बुझ्ने साँघुरो सोचले गर्दा स्वयं विद्यार्थी सङ्गठन नै स्ववियु निर्वाचनको पक्षमा उभिएनन्

पञ्चायती व्यवस्थामा उपत्यकाका हाईस्कुलमा विद्यार्थी युनियनको अभ्यास २०१९ साल अगाडिदेखि नै हुँदै आएको पाइन्छ । त्रिभुवन विश्वविद्यालयमा भने २०२० साल स्ववियु स्थापना भयो ।

त्रिवि नियमावलीमा स्ववियु निर्वाचन दुई-दुई वर्षमा गर्ने प्रावधान राखिएकोे छ । तर, २०७३ सालमा भएको आंशिक स्ववियु निर्वाचनलाई छाड्ने हो भने २०६५ सालपछि निर्वाचन हुनसकेको छैन ।

लामो समयदेखि अवरुद्घ रहेको स्ववियु निर्वाचन यसपटक त्रिवि कार्यकारी परिषदले आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूलाई पूर्व तयारी गर्न, गराउनका लागि निर्देशन गरिसकेको छ । त्रिविमा ६२ आङ्गकि र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । त्रिविका आङ्गकि र सम्बन्धन प्राप्त करीब १ हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।

विद्यार्थीले विद्यार्थीकै लागि जन्माएको एक संस्था हो स्ववियु । यसको वैश्विक अभ्यास हेर्दा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले अतिरिक्त क्षमता विकासमा जोड दिने र विद्यार्थीका दैनिक जीवनमा आइपर्ने समस्यालाई प्रशासनसँग सहजीकरण गर्ने संस्थाको रूपमा काम गर्दै आएको पाइन्छ । त्यस्तै सूचना आदान-प्रदान गर्ने, शैक्षिक गुणस्तर विकासमा भूमिका खेल्ने, आलोचनात्मक चेतनाको निर्माण गर्ने, नेतृत्वको विकास, जिम्मेवारी बहनको काम पनि गर्दै आएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा छलफल गर्ने, समाजका ज्वलन्त सामाजिक, आर्थिक मुद्दामा बहस गर्ने र विश्वविद्यालयलाई विद्यार्थी र राज्यप्रति जिम्मेवार बनाउने उद्देश्यले स्ववियुको अभ्यास वा प्रयोग भइरहेको पाइन्छ ।

तर आज स्ववियुका अगाडि चुनौतीका चाङ छन् । जुन उद्देश्यका साथ स्ववियुको प्रयोग हुँदै आएको थियो, के आज स्ववियुले समयसापेक्ष शैक्षिक क्षेत्रका र समाजका ज्वलन्त मुद्दा बोक्न सक्छ त ? समयसापेक्ष रोजगारमूलक, प्रविधियुक्त र गुणस्तरीय शिक्षा प्रणालीको सुनिश्चितताका लागि भूमिका खेल्न सक्छ ? पञ्चायती व्यवस्थामा राजनीतिक व्यवस्थालाई चुनौती दिंदै हुर्किएको स्ववियुले के आजको राजनीतिक व्यवस्थाका नकारात्मक पक्ष र प्रयोग माथि प्रश्न गर्न सक्छ ?

संविधानले प्रदान गरेको शैक्षिक अधिकारलाई सुनिश्चित गर्दै थप उपलब्धिका लागि लड्नुपर्ने स्ववियु अन्त कतै अल्भिmएको छ । यो त व्यक्तिगत स्वार्थ पूर्तिका लागि राजनीतिक खुड्किलोको रूपमा सिङ्गो विद्यार्थी सङ्गठनलाई हतियार बनाउने मनसायको शिकार भएको छ । त्यसैले लामो समय स्ववियु निर्वाचन नै हुन सकेन ।

केन्द्रीय राजनीतिको प्रभावका आधारमा स्ववियुको नेतृत्व पाउने होडबाजी र यसलाई दलको लोकप्रियता बुझ्ने साँघुरो सोचले गर्दा स्वयम् विद्यार्थी सङ्गठन नै स्ववियु निर्वाचनको पक्षमा उभिएनन् ।

समयानुकूल कार्ययोजना दिन नसक्नु र पूर्व नेतृत्वले गरेको कामको आधारमा नयाँ नेताहरूले आˆनो नेतृत्व दाबेदारी गर्नुले शैक्षिक संस्थाको भविष्य कता जानेछ भन्ने प्रष्ट संकेत दिन्छ । भर्ना, छात्रवृत्ति, परीक्षा र निर्माणका कार्यमा चलखेल गर्ने प्रवृत्तिले सिङ्गो विद्यार्थी राजनीति बदनाम भइसकेको छ ।

सक्षम विद्यार्थी नेता जबसम्म आफ्नो क्षमता बिर्सेर पार्टीको क्षमताको आडमा नाच्दै चुनाव जित्न खोज्छ तबसम्म स्ववियु निर्वाचनको खास महत्व हुनेछैन ।

त्रिविको नियमावली बमोजिम स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न सबै विद्यार्थी संगठन जिम्मेवार हुनुपर्छ । व्यक्तिगत र आˆनो संगठनको मात्रै फाइदा हेर्ने प्रवृत्तिको अन्त्य गरी स्ववियुलाई खोज अनुसन्धानमूलक, सिर्जनात्मक र विद्यार्थीको भावना बुझ्ने साझा थलो बनाउन स्ववियुले मुख्य समन्वयकारीे भूमिका खेल्नुपर्छ ।

समयानुकूल स्ववियु

विश्वका प्रसिद्ध विश्वविद्यालयको शिक्षण सिकाइ पद्धति र आधुनिक प्रविधिको प्रयोग नेपालका विश्वविद्यालयमा लागू गराउन स्ववियुले मुख्य भूमिका खेल्नुपर्छ । विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गराउन सक्ने हैसियतमा विश्वविद्यालय बनाउन स्ववियुले सरोकारवालाबीच समन्वयकारी भूमिका निभाउन सक्नुपर्छ ।

स्ववियु विद्यार्थीको साझा चौतारी हो, जसले विद्यार्थी र प्रशासनबीच पुलको भूमिका खेल्छ । नयाँ नेतृत्व विकाससँगै शैक्षिक सुधार गरी विद्यार्थीको अतिरिक्त क्षमता विकास एवं क्याम्पस प्रशासनलाई पारदर्शी तथा विद्यार्थीमैत्री बनाउने कुरामा अबको स्ववियु केन्द्रित हुनुपर्छ । पर्यटन, संस्कृति, प्राकृतिक साधनस्रोतको भरपूर सदुपयोग गर्न सक्ने सक्षम जनशक्ति विश्वविद्यालयबाट उत्पादन गर्न योजना बनाउनुपर्छ । यसको व्यावहारिक कार्यान्वयन गराउन दृढ इच्छाशक्तिका साथ विश्वविद्यालय र सरकारलाई जिम्मेवार बनाउने कामलाई स्ववियुले आफ्नो मुख्य एजेन्डा बनाउनुपर्छ ।

शैक्षिक संस्थाका गतिविधिमाथि कडा निगरानी

विश्वविद्यालय तथा शैक्षिक संस्थाका गतिविधिलाई स्ववियुले मुख्य सरोकारवालाको भूमिकामा रहँदै जवाफदेही बनाउनुपर्छ । स्ववियुले विद्यार्थीसँग सरोकार राख्ने हरेक गतिविधिको नजिकबाट निगरानी गर्ने र गलत कदमलाई रोक्दै विद्यार्थीको हितमा काम गर्न/गराउन सदैव चनाखो हुनुपर्छ । विश्वविद्यालयको फितलो व्यवस्थापन, शैक्षिक क्यालेन्डरको कार्यान्वयनमा लापरबाही, शैक्षिक गतिविधिमा ह्रास, समयानुकूल अद्यावधिक नभएको पाठ्यक्रम जस्ता सवाललाई एजेन्डा बनाएर स्ववियु सुधारको आन्दोलनमा लाग्नुपर्छ ।

सेमेस्टर प्रणालीका चुनौतीबारे गम्भीर बहस आवश्यक छ । शैक्षिक गुणस्तर विकासमा लापरबाही, राजनैतिक खिचातानी अनि नियुक्ति, परीक्षाको फितलो व्यवस्थापन, जथाभावी सम्बन्धन र नियुक्तिलगायतका विषयमा स्ववियुले प्रश्न उठाउनुपर्छ । समाधानका लागि सरोकारवालासँग प्रभावकारी समन्वय गरी राज्य, विश्वविद्यालय र शैक्षिक संस्थालाई यावत् समस्या समाधान गराउन स्ववियुले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्छ ।

राज्यको राष्ट्रिय शिक्षा नीतिमा संविधानले प्रदान गरेको निःशुल्क माध्यमिक शिक्षाको हकलाई समावेश गराउन र व्यवहारमा पूर्णरूपमा लागू गराउन विशेष भूमिका खेल्दै यसलाई स्ववियुले राष्ट्रिय रूपमा प्रमुख मुद्दा बनाउनुपर्छ । शिक्षा व्यापार नभएर नागरिकको मौलिक हक हो त्यसैले समान शिक्षा सबैलाई हुनुपर्दछ ।

सीप विकास र रोजगारमूलक शिक्षा र अनुसन्धान

त्रिविलगायत सबै विश्वविद्यालयले नेपाली मौलिकतामा सीप विकास तथा रोजगारमूलक शिक्षा प्रणाली अपनाउनुपर्छ । यो मुद्दालाई स्ववियुले प्राथमिकताका साथ उठाउनुपर्छ ।

नेपालमा संघीयताको अभ्यास भइरहेको छ । राष्ट्रिय शिक्षा नीति निर्माण गर्दा स्थानीयस्तरका संभावना र अवसरको अध्ययन गरी सोही अनुरूप छुट्टै पाठ्यक्रम निर्माण गरी अध्यापन गर्नुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्ति तयार गर्न सके मात्र बेरोजगारीको समस्या समाधान हुन्छ । तब मात्र विश्वविद्यालयले बेरोजगार उत्पादन गर्ने कारखानाको परिचय बदल्न सक्छ ।

त्यस्तै, बदलिंदो विश्व परिवेश र नयाँ पुस्ताको चासो र रुचि केमा छ ? यसबाट विमुख भएर विद्यार्थी आन्दोलन अगाडि जान सक्दैन । यसको लागि विषयकेन्दि्रत अनुसन्धान आवश्यक पर्छ । खोज तथा अनुसन्धानले विद्यार्थीको भावना र चाहना अनुरूपका कार्यक्रम ल्याउन सहयोग गर्दछ जसले लोकपि्रयता बढाउन पनि विद्यार्थी सङ्गठनलाई टेवा पुग्नेछ । एकातिर स्ववियुले आफ्नो योजना तय गर्नुअघि अनुसन्धान गर्नुपर्छ भने विश्वविद्यालयहरूले पनि खोज तथा अनुसन्धानमुखी शिक्षामा जोड दिनुपर्छ ।

सामाजिक आवश्यकतासँग नजोडिने आन्दोलनको कुनै औचित्य रहँदैन । त्यसैले सङ्गठनको भूमिका समय, परिवेश र आवश्यकता अनुरूप बदलिनुपर्दछ । सङ्गठनका कार्यहरू पारदर्शी, मितव्ययी, समावेशी र उपलब्धिमूलक हुनुपर्दछ । समाजप्रति जति उत्तरदायी भएर काम गर्नुपर्छ, त्यति नै जवाफदेही हुन पनि आवश्यक छ ।

आन्दोलनको स्वरूप परिवर्तन

आन्दोलनले भएका सम्पत्ति, सम्पदा, सामथ्र्यलाई हानि गर्नु सिङ्गो देशलाई अँध्यारोमा धकेल्नु हो । आन्दोलनको परिणाम समाजकै लागि फाइदाजनक हुनुपर्छ । स्ववियुका अबका आन्दोलन रचनात्मक, विवेकशील र सृजनशील हुन जरूरी छ । विद्यार्थीका माग उठाउँदा वा शैक्षिक क्षेत्रको आमूल रूपान्तरणका मुद्दा उठाउँदा पुरातनवादी आन्दोलनको प्रयोग अबको स्ववियुले गर्नुहुँदैन ।

मूल्य वृद्धिको विरोधमा मोटरसाइकललाई लासको संज्ञा दिएर रत्नपार्कमा गरेको प्रदर्शन, रानीपोखरी पुनर्निर्माणमा ध्यान केन्ऽित गर्न फुटबल खेलेको, हत्याकाण्डहरूको विरोधमा सामूहिक र्‍याली अनि मुन्डन गरेको, भित्तामा रङ चित्रहरू कोरेको, समस्या उजागर गरिएका चित्रहरू उपहार दिएको, साहित्यमार्फत व्यङ्ग्य गर्नु, सडक नाटकबाट वास्तविकता दर्शाउनु र सचेत गराउनु, सम्बन्धित व्यक्तिलाई सामूहिक सूचना गर्नु र सामाजिक सञ्जालमार्फत साङ्केतिक दबाब दिनु केही लोभ लाग्दा आन्दोलनका नमुना घटना हुन् । स्ववियुले यी र यस्तै रचनात्मक शैली अपनाउन सक्छ ।

समग्रमा, विद्यार्थी राजनीति न कमाइ खाने भाडो हो न त सत्ता प्राप्तिको भर्‍याङ । गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै स्ववियुले देश विकासको खाका प्रस्तुत गर्न सक्नुपर्छ । स्ववियुलाई शिक्षालयलाई सच्याउने सिपाही, समन्वय गर्ने पुल, सञ्चार पुर्‍याउने हुलाकी, नेतृत्व गर्ने नेता, समाजसेवा गर्ने समाजसेवी र हरेक क्षेत्रका दक्ष विज्ञ जन्माउने साधनको रूपमा विकास गर्नुपर्छ । अबको स्ववियु सकारात्मक सोच अनि स्वच्छ छविका लोकपि्रय बौद्धिक प्राज्ञको जमात बन्नुपर्छ ।

लेखक नेविसंघ प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष हुन् ।



source https://www.onlinekhabar.com/2023/01/1254542

Post a Comment

0 Comments