दिनभरि कम्प्युटरमा सामान स्क्यान गर्छु

स्टोरका फ्रिजरभरि बियर र सोडाका क्यान भर्छु

अलिकति बचेको साँझमा

उबर र लिफ्टको माझमा हुन्छु

ब्रेकफास्ट स्यान्डविच र लन्च बर्गरका साथमा हुन्छु

 

तर कहिल्यै सपनामा

त्यो कम्प्युटर देख्दिन

ती दिनभरि स्क्यान हानेका सामानहरू देख्दिन

उबरमा बोकेका अनुहारहरू पनि देख्दिन

बर्गर र स्यान्डविचका गाँसहरू देख्दिन

दिनभर ग्राहकहरूसँग गरिएका परिहास देख्दिन

कोल्ड ड्रिंक्स र बियरका क्यानहरू देख्दिन

ती काला गोरा ज्यानहरू देख्दिन

 

देख्दिन कहिल्यै किनमेलमा भुलिने ग्रोसरी स्टोरहरू

सेलका अफरहरूमा डुलिने मल र जेसीपेनीहरू

सत्ते सत्ते

कहिल्यै देख्दिन सपनामा

 

प्रत्येक पल हार्दै हार्दै हाँसेका यी दिनका कथाहरू

आफैंलाई मार्दै मार्दै बाँचेका छिनछिनका व्यथाहरू

किन किन सपनाभरि सधैं सधैं आइरहन्छन्

तिनै बारीका पाटाहरू

हिलो र पसिनामा रंगिएका असारे भाकाहरु

 

देखिरहन्छु सधैं

दशैंमा रमाएको सिंगो गाउँको

तिहारमा सजाएको आफ्नै ठाउँको

आमाका स्नेहालु हातले पस्किएको खानाको

बर्खामा चुहुने पराले छानाको

त्यही कल र इनारका पानीको

आफ्नै माटोका कहानीको

वर्षौं भयो पिज्जाले पेट भर्न थालेको

तलतल लाग्दा नगेट्स र चिप्स चर्न थालेको

 

तर कहिल्यै देखिन सपना

पापाजोन र डोमिनोजको

केएफसी र म्याक्डोनल्सको

देखिरहें सधैं सपना गुन्द्रुक र सिन्कीको

रामविलासले बनाएको निम्कीको

तिनै बारीका काँक्राको

तिनै करेसाका उखुका लाँक्राको

धेरै भयो चिल्ला भुईंहरु

मप र स्वीप गर्न थालेको

मार्लेका संगीतमा सुर भर्न थालेको

 

तर कहिल्यै देखिन सपना

चिल्ला भुईं र ब्रुमहरूको

मार्लेका धुनहरूको

देखिरहें अनि देखिरहें

उही अम्लिसोको कुचो र माटाको धुलाम्य सिकुवा

अनि अलिकति सोलमारी र बाजेको सेकुवा

रेसम फिरिरी र रोदी घरको साँझ

सालैज्यू र चण्डीनाच

 

दिनभरि लेक्ससमा दौडिए पनि

सपनामा उही पुरानो एटलस साइकल आइदिन्छ

दिनभरि अंग्रेजीमा जिब्रो बटारे पनि

रातभरि सपनाको संसार नेपालीमै छाइदिन्छ

उता छउञ्जेल सजिन्थे सपनाहरू

कल्पनाका अग्ला टावरहरूमा

समुद्रका किनार र आधुनिक बाथटबका सावरहरूमा

चिल्ला बाटा र सुकिला गाडीहरूमा

रंगीन संसारका आधुनिक नारीहरूमा

 

 

तर यता पसेपछि

सम्पन्न देशमा बसेपछि

सपनाहरू उल्टिंदा रहेछन्

विपनाहरू पल्टिंदा रहेछन्

सपनाले उही धुलाम्य बाटो रोज्दोरहेछ

उही पराले घर खोज्दोरहेछ

ढुंगेधारा र इनारको पानी नै खोज्दो रहेछ

असारे भाकामा धान रोप्दै गरेकी कान्छी नानी नै रोज्दो रहेछ

 

आज युटर्न मेरा सपनाहरू

मुसुमुसु हाँसिरहेछन्

देशका सपनाहरूको मुहारमा

विदेशका सपनाको साइन देखेर

एयरपोर्टमा सपना बेच्ने सपनाहरूको

दैनिक लामो लाइन देखेर ।

केन्टकी अमेरिका



source https://www.onlinekhabar.com/2023/01/1243024