२ मंसिर, काठमाडौं । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुन्नका लागि मतदान हुँदैछ । यस दिन मौसम कस्तो रहला ? हामीले यो जिज्ञासा जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु वासीसमक्ष राखेका थियौं । उनले भनिन्, ‘चुनावलाई प्रभावित पार्ने खालको मौसमी प्रणाली देशैभर छैन ।’ उनका अनुसार देशभर मौसम सफा रहने बताइन् ।
मतदानको दिन मंसिर ४ गते प्रदेश १ र गण्डकी प्रदेशमा दिउँसोतिर बादल लाग्ने तर पानी नपर्ने उनले बताइन् । उनका अनुसार सोही दिन उच्च हिमाली भागमा हिमपातको सम्भावना त छ तर एकदमै कम ।
आज मंसिर २ गते र भोलि मंसिर ३ गते हिमाली भूभागमा हिमपातको सम्भावना छ तर चुनावकै दिनमा हिमपात नहुने उनले बताइन् ।
निर्वाचन सामग्री बोकेर हिमाली जिल्लाका मतदान केन्द्रमा जाँदा हिउँले कर्मचारीहरु रोकिएका समाचार आएका छन् । मौसमविद वासीले त्यो हिउँ नयाँ नभएको बताइन् । ‘मुस्ताङतिर हिउँले गर्दा बाटोमै रोकिएको भन्ने समाचार हामीले पनि थाहा पायौं तर त्यो नयाँ होइन,’ उनले भनिन् ।
बाटोमा हिउँ जमेका कारण मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्ताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन जाँदै गरेका कर्मचारी र सुरक्षाकर्मी समस्यामा परेका हुन् । आज डोजरले हिउँ पन्छाएर बाटो सफा गर्ने तयारी भइरहेका मुस्ताङका प्रहरी प्रमुख डीएसपी रविन्द्र पौडेलले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि निर्वाचन विशेष मौसम बुलेटिन जारी गर्दै नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य भए पनि निर्वाचन प्रभावित हुने खालको प्रणाली नरहेको जानकारी दिएको छ ।
महाशाखाले जारी गरेको मंसिर २ गतेदेखि ४ गतेसम्मको मौसम पूर्वानुमान यस्तो छ–
२०७९ मंसिर ०२ (शुक्रबार) : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।
२०७९ मंसिर ०३ (शनिबार) : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।
२०७९ मंसिर ०४ (आइतबार) : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ ।
source https://www.onlinekhabar.com/2022/11/1219610
0 Comments