२९ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेशा छाडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्न झापा गएका डा. खगेन्द्र पाण्डव अधिकारीले २०७४ को चुनावमा पराजय व्यहोरे ।
त्यसबेला सोचे जस्तो परिणाम नआए पनि वितेका पाँच वर्षमा झापा-५ मा बसेर गरेका कामका कारण परिस्थिति बदलिएको उनी बताउँछन् । भन्छन्, ‘२०७४ सालमा मेरो स्थिति जे थियो, अहिले ओलीको हविगत त्यही हो ।’
अनलाइनखबरसँगको कुराकानीका क्रममा अधिकारीले झापा-५ मा ओलीले विकासका नाममा योजनाहरूका फण्डा फ्यालेर सबै अलपत्र पारेको दाबी गरे । अझ रंगशाला र सभागृहको नाममा राजनीति गरेको उनको आरोप छ ।
ओलीले रंगशालाको नाममा आदिवासी जनजातिको भावनामा चोट पुर्याएको उनी बताउँछन् । ‘सभागृह बनाउँदा उहाँले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको अपमान गर्ने काम गर्नुभयो’, डा. अधिकारी भन्छन् ।
विकासप्रति ओलीको बुझाइ नै गलत भएको बताउँदै उनी भन्छन्, ‘त्यो कुरा सारा मतदाता र जनताले बुझिसकेका छन् ।’ प्रस्तुत छ, ओलीसँग दोस्रोपटक चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस नेता अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंशः
चुनावी अभियान कस्तो चलिरहेको छ ?
चुनावी लहर एकदमै उत्साहजनक छ । गठबन्धनको पक्षमा जनलहर उर्लिएको छ । आज (मंगलबार) को घरदैलो पनि विशाल जनमानसका साथ भयो । त्यसैले जनतामा गठबन्धनका तर्फबाट अत्यन्तै उत्साह छ भने केपी ओलीजीको पार्टी नेकपा एमालेप्रति अत्यन्तै निराशाजनक अवस्था देखिएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षसँगै प्रतिस्पर्धा गरिरहनुभएको छ, कत्तिको दबाव या सहज महसुस गर्नुभएको छ ?
मैले विल्कुल दबाव महसुस गरेको छैन । उहाँले बरु बढी दबावको महसुस गरिरहनुभएको होला । पार्टीको अध्यक्ष भएकाले क्षेत्रमै मात्र केन्दि्रत हुँदा पनि अन्यत्र नैराश्यता हुने भएकाले पनि उहाँ बाहिर हुनुभएको होला । फेरि यस्तो बेला पनि झापा-५ मा मात्रै केन्द्रित हुँदा बाहिर यहाँ कमजोर रहेछ भन्ने सन्देश जाने भएकाले मतदातालाई त्यस्तो सन्देश नजाओस् भनेर उहाँ यहाँ नआउनुभएको होला । तर, उहाँका लागि अवस्था एकदमै चिन्ताजनक छ ।
अघिल्लो निर्वाचनमा ओलीविरुद्ध लड्न भनेर प्राध्यापनबाट राजिनामा दिनुभयो । तपाईंले यो अवधिमा झापा-५ मा के-के गर्नुभयो, जसका कारण मतदाताले ओलीलाई होइन, तपाईंलाई रोज्छन् ?
म चुनाव हारेपछि पनि निरन्तर रूपमा पाँच वर्ष यही क्षेत्रका जनतामाझ छु । यही क्षेत्रको दुःख, सुख र पिरमर्कामा म सधैं छु । मतदातासँग घुलमिल र सामीप्यता बढेको छ । साढे ३ वर्षको अवधिमा त मलाई कुनै पनि गतिविधि गर्न निषेधकै अवस्था भयो । झण्डै दुई तिहाइको सरकार त्यो पनि म आफैं केपी ओलीसँग चुनाव लडेका कारणले झापा-५ मा हरेक संस्थाहरूमा उहाँहरूकै उपस्थिति थियो ।
एक किसिमको बहिष्कार जस्तै अवस्था थियो । त्यसकारण त्यसबेला जनताका लागि काम गर्न गाह्रो भयो । घर-घर जाने समस्यामा पुग्ने काममा निरन्तर रूपमा लागें । केपी ओलीको सरकारमा मैले सबैभन्दा बढी खबरदारी गर्ने, यो-यो काम गलत गर्नुभयो भनेर खबरदारी गर्ने काम चनाखोपूर्वक गरें । जनताको घर-घरमा पुग्ने गरी काम गरेको छु । पछिल्लो समय बाढी पीडितलाई राहत बाँड्ने काम भए ।
कोरोनाका बेला पनि जनताका लागि काम गरें । चुला बाँड्नेदेखि बिजुली ट्रान्सर्फमर बनाउने जस्ता कार्यमा म यो क्षेत्रमा निरन्तर रूपमा लागिरहेको छु ।
तपाईंका प्रतिस्पर्धी प्रधानमन्त्रीका रूपमा भोट मागिरहनुभएको छ । जनतामा प्रधानमन्त्री बन्ने मान्छे भए योजना आउँछ, बजेट बग्छ भन्ने सोचाइ हुन्छ ! यो तपाईंका लागि चुनौती होइन ?
स्थानीयस्तरमा अति आवश्यक सम्झिएका दलहरूसँग गठबन्धन गर्न सकिनेछ भन्ने नीति पास गराएर राप्रपालाई मेयर छाडेर राम थापालाई मेयरमा निर्वाचित गर्यौं । राम थापाको समर्थन हामीलाई नै छ । पार्टीको निर्णय अलि फरक भएकाले उहाँहरूको मन, मुटु सबै कुराले हामीप्रति सकारात्मक हुनुहुन्छ
प्रधानमन्त्री हुने कुरा कहाँबाट आयो ? प्रधानमन्त्री हुने सम्भावना नै छैन । सम्पूर्ण उपयोगिता ह्रास भएर आएको छ । उहाँले जे जे गर्छु भनेर भन्नुभएको थियो, त्यो कुराहरू नगरेपछि उपयोगिता पूर्ण रूपमा सकिएको छ । त्यसैले अहिले गाउँगाउँमा प्रधानमन्त्री बन्ने भन्ने कार्ड बेचिरहनुभएको छ । तर, त्यो सम्भावना नै नभएको कुरा गरेर मतदातालाई अलमल्याउन खोजेको मात्रै हो । २०७४ सालमा मेरो स्थिति जे थियो, अहिले उहाँको अवस्था त्यही हो ।
मेरो क्षेत्रमा आएर बुझ्नुस्, हेर्नुस् । उहाँकै पार्टीका पुराना साथीहरू नेकपा एमाले बचाउनका लागि केपी ओलीको हार अपरिहार्य छ भन्छन् । अत्यन्त दुःख गरेका त्यो बेला उहाँहरू कुखुराले ओथारो बस्दा एउटा अन्डा चाहिं चिहृन लगाएर पार्टीको लेबीका लागि छुट्याउनुहुन्थ्यो । एक छाकमा एकमुठी चामल छुट्याएर बनाएको पार्टी केपी ओलीले समाप्त पारे भन्ने उहाँहरूको आरोप छ ।
मैले एकीकृत समाजवादीको कुरा गरेको छैन, अहिले भएको नेकपा एमालेका पुराना कार्यकर्ताहरूले पार्टी केपी ओलीले सिध्याए भन्नुभएको छ । एमाले बचाउनका लागि ओलीको हार पछाडि मात्रै बच्छ भन्ने उहाँहरूको निष्कर्ष छ । उहाँहरूको ‘जमिन नफेर्ने, बाली फेर्ने’ भन्ने नारा छ । जमिन भनेको नेकपा एमाले, बाली भनेको केपी ओली । त्यसैले तपाईंहरू ढुक्क हुनुस्, ओलीको हार यसपालि निश्चित छ । मेरो विजय सुनिश्चित छ ।
तपाईंका प्राथमिकता र एजेण्डाहरू के-के हुन् ?
मेरो प्राथमिकता भनेको संघीय सांसदले ऐन, कानुन बनाउने हो । नेपालका ऐन, कानुनमा कमी-कमजोरी धेरै छन् । नेपालमा छिमेकी मित्रराष्ट्रलाई विश्वासमा लिएर भरोसायोग्य, सुमधुर सम्बन्ध बनाएर ऊर्जाको व्यापार गर्नुपर्छ । बिजुली बेच्नुपर्छ । अनि, हामीलाई उपयोग गरेर बढी भएको पानी पनि सिंचाइ र खानेपानीका रूपमा बोटलिङ गरेर बेच्न सकिन्छ । पर्यटनको दृष्टिकोणबाट पनि नेपालमा धेरै सम्भावना छ । उदार तथा दिगो पर्यटन कार्यक्रम सञ्चालन गर्नुपर्छ । यसको नीति लिएर देश विकास गर्नुपर्छ भन्ने मेरो मूल एजेण्डा हो ।
बाढी नियन्त्रणको समस्या झापामा ठूलो छ । रतुवा, मावा र कमलले सधैं दुःख दिने गरेको छ । तर, यो समस्या झापाको मात्रै होइन अरूतिरको पनि हो । खोलाहरूलाई सोझ्याएर छेउछाउको जग्गा अधिग्रहण गरेर जरा फैलिने खालको बिरुवाको गि्रन बेल्ट बोर्डरसम्मै बनाएर नदी नियन्त्रण गर्न सकिन्छ । सुकुम्बासी समस्या एकदमै ठूलो राजनीतिक समस्या भयो ।
सुकुम्बासीको कारणले गरिबसँग सधैं राजनीति गरिराख्ने भइरहेको छ । विशेषगरी नेकपा एमालेले यसमा राजनीति गरिरहेको छ । यसका लागि सरकार फेरिंदैपिच्छे हट्ने होइन, एकैचोटि शक्तिशाली आयोग भूमि र नापीसम्बन्धी विशेषज्ञ राखेर कर्मचारी बढाएर थपेर प्राविधिक कर्मचारी राखेर समस्या समाधान गर्नुपर्छ । एकैचोटि समस्या समाधान गर्नेतर्फ लाग्नुपर्छ । वन बढाउन किसानहरूलाई प्रोत्साहन गर्नुपर्छ । बोटबिरुवा भएका जमिन छन् भने कर कम गर्नुपर्छ । यस्ता नीतिहरू ल्याउनुपर्छ भन्ने मेरो एजेण्डा हो ।
दमक, पाँडाजुँगी आसपास धेरै सरकारी जग्गा छ, त्यहाँ हामी अस्पताल बनाउँछौं । दक्षिणतिर भन्सार नाका ठूलो बाटो बनाएर विकास गर्ने सोच छ ।
दमकमा भ्यू टावरको विषयलाई लिएर एमाले विकास गर्यौं भन्छ, तर तपाईंहरू विरोध गरिरहनुभएको छ ! खासमा दमकको विकास कसरी गर्नुपर्ने हो !
ओलीजीले जुन भ्यू टावर बनाउनुभयो, त्यो दमकको सबैभन्दा होचो ठाउँ हो । त्यो उपयुक्त थिएन बरु मेडिकल कलेज बनाउनुपर्थ्यो ।
त्यसको वरिपरि अहिले पनि मान्छे आर्सेनिकयुक्त खानेपानी खाइरहेका छन् । सुकुम्बासी छन् । उनीहरूको जग्गा रोक्का गरिएको छ । उनीहरू झन् अप्ठ्यारोमा परेका छन् । भ्यू टावर केका लागि बनाएको हो ? जनता अहिले बीमा गर्न नपाएर औषधि उपचार पाइरहेका छैनन् । गरिबहरूले खान पाएका छैनन् । सुरुमै बजेट छुट्टिने वित्तिकै मैले त्यहाँ भ्यू टावर होइन, मेडिकल कलेज चाहिन्छ भनेको थिएँ ।
त्यहाँ अहिले जति दान संकलन भएको छ त्योभन्दा बढी संकलन हुनसक्छ, भ्यू टावर नबनाऊँ भनेर त्यही बेला भनेको थिएँ । तीन किलोमिटर माथि जाँदा १० गुणा अग्ला पहाड छन् । त्यहाँ घुम्ने र बस्ने ठाउँ बनाइदिए भ्यू टावरभन्दा राम्रो काम गर्छ । त्यसैले यो अनुपयुक्त भयो भनेको हो ।
एकातिर भ्यू टावरको यो हालत छ भने अर्कातिर हुलाकी राजमार्गमा तयार भएको रतुवा पुलको छेउछेउमा माटो भर्न नसकेकाले पुल सुचारु हुनसकेको छैन । विराटनगर जानुपर्यो भने गौरीगञ्जका जनताको थप ५०० रुपैयाँ खर्च हुन्छ । यस्तो स्थिति छ, त्यो कारणले गर्दा उहाँको विकासको सोच जुन छ, त्यो एकदमै गलत छ । त्यो गलत छ भन्ने कुरा यहाँका सारा मतदाता र जनताले थाहा पाएका छन् ।
ओलीको विकासको बुझाइ नै गलत भयो भन्नुभयो, तर अन्तर्राष्ट्रिय औद्योगिक पार्क, सम्मेलन केन्द्र जस्ता कुराले त दमकका लागि फाइदा नै गर्छन् नि, होइन र ?
औद्योगिक पार्क भनेर ठूलो हौवा फिंजाइयो । राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमै चर्चा हुने गरी हल्ला गराइयो । तर, औद्योगिक पार्क भनेको अहिले जम्माजम्मी १० धुर जग्गा घेरेर बोर्ड राख्ने बाहेक एउटा पनि उद्योगधन्दा सञ्चालन भएका छैनन् । एउटा कुनै उद्योगको पिलर गाड्ने काम पनि भएको छैन । यो चाहिं केपी ओली बाँचुञ्जेलसम्म औद्योगिक पार्कको फण्डा लिएर राजनीति गरिराख्ने, जनतालाई आश देखाइराख्ने विषय बनाइएको छ । उहाँहरू फण्डै फण्डा गर्ने मात्र हो, सबै काम अधुरा छन् ।
दमकमा आदिवासी जनजाति रंगशाला बनाउन खोज्दा नामको विवाद निस्किएपछि कांग्रेसले प्रतिवाद गर्यो । पछि ओली प्रधानमन्त्री भएकै बेला अर्कैतिर रंगशाला बनाउने निर्णय भयो । खास रंगशालामा झगडा किन ?
रंगशालामा एमालेले नाम फेर्न खोजेको थियो । विवाद भएपछि अर्को ठाउँमा बनाउने भनेर बजेट विनियोजन भयो । उहाँले आदिवासी जनजातिको भावनामा ठूलो चोट पुर्याउनुभयो । यहाँ आदिवासी जनजातिको ३६ प्रतिशत मत छ । आदिवासी जनजाति रंगशालाको विषय अलिक संवेदनशील छ ।
त्यो भनेको राई, लिम्बू, आदिवासीहरूको पितापुर्खाको समाधिस्थललाई डोजर लगाएर आदिवासीको नाम रहने गरी रंगशाला बनाउनेभन्दा उहाँहरूले मुटु मिचेर अनुमति दिनुभयो । र, रंगशाला बनाउने भनियो । पछि त्यो रंगशालालाई मदन भण्डारी रंगशाला बनाउने भनेर आयो । प्रधानमन्त्री हुँदा त्यो आएपछि विरोध भयो । विरोध भएपछि उहाँले अर्कोतिर बनाउने भन्नुभयो ।
तर, आदिवासी जनजाति रंगशाला बनाउने भन्ने प्रतिबद्धता भएन । अहिले पनि उहाँहरूको स्थानीय घोषणापत्रमा मदन भण्डारी रंगशाला बनाउने भन्ने मात्रै छ । त्यसैले मेरो धारणा के हो भने त्यही ठाउँमा आदिवासी जनजाति रंगशाला नै बन्नुपर्छ । नाम मात्र होइन, रंगशाला नै त्यहीं बनाउँछौं भन्ने हाम्रो धारणा हो ।
रंगशाला जस्तै केपी ओलीले महागुरु फाल्गुनन्द सभागृह बनाउने भनेर आफैं शिलान्यास गर्नुभयो । त्यसलाई उहाँले दमक सभागृह भनेर पछिबाट परिवर्तन गर्नुभयो । महागुरु राष्ट्रिय विभूति हुनुहुन्छ । उहाँ जातविशेष वा सम्प्रदायविशेषको सम्पत्ति होइन । उहाँ राष्ट्रको गहना हो । त्यसो हुनाले त्यो सभागृहको नाम हामी फाल्गुनन्द सभागृह नै राख्छौं, यो हाम्रो संकल्प हो ।
गत स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको समर्थनमा एमाले उम्मेदवारलाई हराएर राप्रपाका राम थापा मेयर निर्वाचित हुनुभयो । अहिले राप्रपा त एमालेसँग मिलेको छ । तपाईं कसरी जित्नुहोला र ?
हामीले उहाँहरूसँग गठबन्धन गरेर पाँच वर्षदेखि नै यो किसिमको सोच बनाएका थियौं । केन्द्रले गठबन्धन गर्ने अनुमति नदिंदा नदिंदै पनि प्रदेशस्तरीय समझदारी बनायौं । स्थानीयस्तरमा अति आवश्यक सम्झिएका दलहरूसँग गठबन्धन गर्न सकिनेछ भन्ने नीति पास गराएर राप्रपालाई मेयर छाडेर थापालाई मेयरमा निर्वाचित गर्यौं । राम थापाको समर्थन हामीलाई नै छ । पार्टीको निर्णय अलि फरक भएकाले उहाँहरूको मन, मुटु सबै कुराले हामीप्रति सकारात्मक हुनुहुन्छ ।
स्थानीय चुनावमा वडाअध्यक्षहरूले ल्याएको मत परिणाम हेर्ने हो भने राप्रपाको समर्थन विना तपाईंको जित कठिन देखिन्छ, तपाइँ जित कसरी निकाल्नुहोला ?
सक्छु, मलाई पूर्ण भरोसा छ । किनभने, हिजोको दिनमा वैशाख-जेठमा निर्वाचन हुँदा हाम्रा साथीहरू हलो बोकेर हिंड्नुभएको थियो । माओवादीका साथीहरू पनि हलो, रूख बोकेर हिंड्नुभएको थियो । हिजोको मत गन्दा हलो, रूख, हँसिया-हथौडा, कलम भनेर रातभरि सात छापमा मत गनेको हृयाङओभर अहिले पनि छ । त्यस कारण पनि उहाँहरूको साथ हुन्छ भन्नेमा ढुक्क छु ।
source https://www.onlinekhabar.com/2022/11/1218365
0 Comments