२८ कात्तिक, काठमाडौं । तपाईं मधुमेह (सुगर)बाट पीडित हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यसैको कारण तपाईंमा अन्धोपन हुनसक्छ । त्यसैले मधुमेह पत्ता लाग्नासाथ आँखा जचाउन विशेषज्ञहरु सुझाव दिन्छन् ।
रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह रोग अर्थात् डाएबिटिज भनिन्छ । यसलाई बोलिचालीको भाषामा चिनी रोग अर्थात् सुगर पनि भनिन्छ ।
मधुमेह एक दीर्घरोग हो । पहिलो प्रकारको मधुमेह बच्चामा र दोस्रो प्रकारको मधुमेह वयस्कमा देखिने गर्दछ । यसले शरीरका संवेदनशील अंगहरु, जस्तै- आँखा, मुटु, मिर्गौला, स्नायु (नसा) र खुट्टामा असर गर्दछ । त्यसैले मधुमेह पुष्टि हुनासाथ आँखा जाँच गराउन र त्यसलाई कन्ट्रोलमा राख्न चिकित्सकहरु सुझाव दिन्छन् ।
आँखाको पर्दा रोग विशेषज्ञ डा. रवा थापा भन्छिन्, ‘मधुमेहका विरामीहरुमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी आँखाको समस्या देखिन्छ र अन्धोपनको सनस्या पच्चीसौं गुणा बढी हुन्छ । यसले आँखाको मुख्य दृष्टि भागमै असर गर्ने भएकाले धेरैमा अन्धोपन हुनसक्छ । त्यसैले सुगर देखिनासाथ आँखा जाँच गराइहाल्नुपर्छ ।’
मधुमेह र आँखाको सम्बन्ध
मधुमेहले आँखामा पार्ने असरलाई चिकित्सकीय भाषामा डाइबेटिक रेटिनोपेथी (डीआर) भनिन्छ । डायबेटिक रेटिनोप्याथी दृष्टिविहीन गराउने एक प्रमुख कारण हो ।
डाइबेटिक रेटिनोपेथीमा दृष्टि पर्दाका रक्तनलीहरुमा रक्तस्राब हुने र चिल्लो जम्ने हुन्छ । डायबिटिजले गर्दाखेरि आँखाको भित्री भाग पर्दामा असर गर्छ । रगतका नसामा असर गरेर आँखाको पर्दामा रक्तस्राब हुने, सुन्निने र रक्त सन्चारमा बाधा पुर्याउँछ । समयमा उपचार भएन भने पर्दा उप्किने/खुम्चिने हुन्छ । त्यसको पनि उपचार भएन भने जलबिन्दु हुब्न्छ । यी सम्पूर्ण कारणले गर्दा व्यक्ति अन्धो हुनसक्छ । तर समयमा पहिचान भएमा, समयमै उपचार भएमा तथा मधुमेह र रक्तचापलाई कन्ट्रोलमा राख्न सकिएमा भने अन्धोपन हुनबाट जोगाउन सकिन्छ ।
डा. थापाका अनुसार मधुमेहले आँखाको पर्दाको दृष्टि केन्द्रमै असर गर्ने हुँदा स्पष्ट नदेखिने हुन थाल्छ । आँखा धमिलो हुँदासम्म रेटिनामा धेरै नै क्षति पुगिसकेको हुन्छ । उपचारपछि पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ । ‘डायबिटिक रेटिनोपेथीको लेजर पद्दतीबाट उपचार गर्दा दृष्टि गुम्नबाट बचाउन सकिन्छ तर दृष्टि पर्दामा पहिल्यै धेरै असर गरिसकेको छ भने दृष्टि पुनः फर्काउन खासै सकिंदैन,’ तिलगंगा आँखा अस्पतालकी डा. थापा भन्छिन् ।
अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ५३७ मिलियन मानिस मधुमेहबाट ग्रसित छन् । प्रत्येक १० जनामध्ये एक जनामा मधुमेह देखिएको छ । हरेक तीनमध्ये एक जना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै कुनै प्रकारको दृष्टिमा क्षति व्यहोर्नु परेको छ ।
नेपालमा पनि मधुमेहका विरामीको संख्या बढ्दो छ । डा. थापाका अनुसार नेपालमा १.५ मिलियन जनसंख्या यसबाट प्रभावित भएको अनुमान छ । शहरी क्षेत्रमा ४० वर्षभन्दा माथिका १९ प्रतिशत र ग्रामिण क्षेत्रमा २.५ प्रतिशतमा मधुमेह देखिएको डा. थापाको भनाइ छ ।
मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसकेको हुन्छ । आँखामा धेरै असर गरिसकेपछि मात्रै रोगबारे थाहा पाइने भएकाले उपचार गर्दा पनि राम्रोसँग दृष्टि फर्काउन सकिंदैन ।
लक्षण
डायबेटिक रेटिनोपेथी मधुमेहसँग अन्तरसम्बन्धित भएकाले मधुमेह अर्थात् सुगर रोगका लक्षणबारे जानकारी राख्नु जरुरी हुन्छ । मधुमेह रोग लागेमा छिटो छिटो भोक लाग्ने, छिटोछिटो पिसाब लाग्ने, मुख सुक्ने, शरीर आलस्य हुने, थकान महसुस हुने, घाउचोट निको नहुने जस्ता लक्षण देखिन्छ । यदि यस्तो भयो भने सुगर जाँच गराउनुपर्छ । मधुमेह रोगको पहिचान हुनासाथ वर्षमा कम्ति एक पटक आँखा जाँच गराउनुपर्ने चिकित्सकको भनाइ छ ।
तिलगंगा अस्पतालमा आँखाको समस्या लिएर आएका विरामीहरुमध्ये एक तिहाइमा मधुमेह पनि भएको पाइएको डा. थापा बताउँछिन् । त्यस्ता विरामीको अवस्था हेरेर भर्ना गरेरसमेत उपचार गराइएको उनको भनाइ छ ।
उपचारका लागि आएका धेरै विरामीलाई मधुमेहका कारण आँखामा असर पर्छ भन्ने जानकारी नै नभएको र जानकारी भएकाले पनि आँखा जाँच गराउन बेवास्ता गरेको पाइएको उनले बताइन् । यस्तो हुनुमा जनचेतनाकै कमी प्रमुख कारण भएको उनको निष्कर्ष छ ।
उपचार र खर्च
दृष्टि कमजोर भएको समस्या लिएर कोही अस्पताल वा क्लिनिकमा गएमा आँखाको नानी फुलाउने औषधि प्रयोग गरी विशेषज्ञले दृष्टि पर्दा -रेटिना) जाँच गर्छन् । रोगको गम्भीरता अनुसार लेजर पद्दती, सुईको माध्यम र भिट्रियोरेटिनल शल्यक्रिया गरी तीन प्रकारले यसको उपचार गर्न सकिन्छ ।
डाइबेटिक रेटिनोपेथीको प्रारम्भिक अवस्थामा लेजर पद्धतीबाट उपचार गर्न सकिन्छ । यो विशेष किसिमको लाइट बिमले आँखाको पर्दामा गरिने एक प्रकारको उपचार हो । लेजरले मधुमेहको कारणले आँखाको पर्दामा देखिएको सुजन, रक्तस्राब र नयाँ रक्तनसाहरुको वृद्धिलाई कम गरी थप विगि्रनबाट जोगाउँछ ।
भिट्रियोरेटिनल शल्यक्रिया आँखाको पर्दा फाटेमा अथवा आँखाभित्र धेरै समयसम्म अत्यधिक रगत जम्मा भई लेजर गर्न नसकिने अवस्थामा शल्यक्रिया गरिन्छ ।
शल्यक्रिया गर्दा आँखाभित्र जमेको रगत सफा गरिन्छ र उप्केको पर्दालाई यथास्थितिमा राख्नका लागि गम्भीरता अनुसार ग्याँस अथवा तेल आँखाभित्रको पानीमा राख्नुपर्ने हुन्छ ।
डा. थापाका अनुसार डाइबेटिक रेटिनोपेगीको प्रारम्भिक उपचारमा २ देखि ५ हजार रुपैयाँसम्म र शल्यक्रिया गर्नुपर्ने अवस्थामा ३० हजार रुपैयाँसम्म खर्च हुन्छ । सुई लगाउनुपर्ने अवस्थामा एउटा सुईलाई ७ हजार रुपैयाँसम्म पर्छ र दुई/तीन पटक सुई लगाउनुपर्छ । यसमा स्वास्थ्य बीमाको सुविधा पनि लिन सकिन्छ ।
तिलगंगामा निःशुल्क आँखा परीक्षण
यसैबीच ‘मधुमेह सेवामा पहुँच बढाऔं’ भन्ने नाराका साथ विश्व मधुमेह दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मधुमेहले आँखामा असर पार्ने भएकाले तिलगंगा आँखा प्रतिष्ठानले कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म साताव्यापी कार्यक्रम आयोजना गरेको छ ।
आँखामा असर सम्बन्धी सेचतना सप्ताहका रुपमा विशेष कार्यक्रमका लागि विश्व मधुमेह दिवस मनाइरहेको तिलगंगा आँखा प्रतिष्ठानका कार्यक्रम निर्देशक नवीन राईले जानकारी दिए ।
यस अन्तर्गत कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म निःशुल्क आँखा परीक्षणको कार्यक्रम राखिएको छ । आज अस्पताल परिसरमा स्वास्थ्य शिक्षाको कार्यक्रम पनि आयोजना गरिएको छ ।
मधुमेहको आँखामा असर सम्बन्धी जनचेतना फैलाउनका लागि अस्पताल हाताभित्र जानकारीमुलक सामग्री वितरण, साइकल र्याली लगायतका कार्यक्रम पनि आयोजना गरिएको छ ।
source https://www.onlinekhabar.com/2022/11/1217465
0 Comments