एक्कासि गाउँमा धुँवासरी हल्ला फिंजियो । हल्ला मेरो कानसम्म यसरी आयो कि म उनलाई नहेरी रहनै सकिनँ । वरतिर परतिर सबैका मुखबाट उनको प्रशंसा सुन्दा साँच्चिकै मेरा कान पाकिसकेका थिए । मलाई पनि उत्सुकता लाग्यो, कस्ती रैछन् हँ रमिला भाउजू ?
हो, मनमनै मैले तुलना गरेको हुनुपर्छ । तुलनाबाट मानिस कहाँ बिटुलो रहन सक्छ र ? यस्तै यस्तै मनोवाद गर्दै लागें ठूलाबाको सप्ताह घरतर्फ । भर्खर भर्खर विवाह गरेर भित्रिएकी नौली बुहारी भएकाले पनि उनको चर्चा हुनु स्वभाविक थियो । त्यसमाथि सप्ताह भएसी कामधन्दाको मेलोमेसो, बोलीचाली, स्वागत सत्कार, सबै हिसाबले अड्कल काट्न सजिलो थियो, कत्तिको घर खाने बुहारी हुन् भनेर ।
सप्ताहको चौथो दिनमा म दिउँसोतिर पुगेकी थिएँ, शनिबारको दिनको मेलोमेसो मिलाएर । मेरो सप्ताह घरसम्म पुग्नुको एउटै लक्ष्य रमिला भाउजू थिइन् । सप्ताह घर पतका र पुष्पगुच्छाले सिंगारिएका थिए । मानिसहरुको भीड थियो । हरे राम, हरे कृष्ण गर्दै बुबाआमाहरु पण्डितजीको कथामा मुग्ध हुनुहुन्थ्यो । केटाकेटीहरु सेलरोटी हातमा लिंदै यताउता गरिरहेका थिए । आ-आफ्नो खेल खेलिरहेका थिए । भाउजूहरु चियापानीको व्यवस्थामा कम्मर कसेर लागेका थिए । म एउटा कुर्सी ओगटेर सबैतिर नियालिरहेकी थिएँ । जे होस् माहोल रमाइलो थियो ।
पाहुनापाछा धेरै भएकाले पनि मैले चिनेको कम नै हुनुहुन्थ्यो । केही समयपछि आफ्नो उपस्थितिको उद्देश्य सम्झें अनि यताउता नजर डुलाएँ । रमिला भाउजूलाई जो खोज्नुथियो ।
फागुनको महिना, प्रणय दिवसको दिन कृष्ण दाइ र रमिला भाउजूको विवाह भएको थियो । त्यसमाथि कृष्ण दाइ पढेलेखेको भइकन पनि अत्यन्तै इमान्दार र सोझो थिए । त्यसैले रमिला भाउजू कस्ती होलिन् भन्ने सबैलाई चासो थियो । चर्चा सेलाउन नपाउँदै सुरु भइहाल्यो सप्ताह अनि त गाउँलेका मुखमै झुण्डियो रमिला भाउजूको नाम ।
बिहेको दिन र फोटोहरुमा देखेका हुनाले मैले चिन्न सक्छु भन्ने आत्मविश्वास थियो । टुस्स के बसेकी थिएँ । रमिला भाउजूले टाढैबाट संकेत गर्दै प्रसाद खान हिंड्नुको इशारामा मीठो मुस्कान दिइन् । साँच्चै भाउजू त हँसिली, रसिली, चिटिक्क परेकी रैछिन् ।
छिनिएको कम्मर, कालीकाली हिस्सी परेकी, रातो सारीमा सजिएकी । सिउँदोको रातो सिन्दूर र ओठको रातो लालीले उनको सौन्दर्यलाई अझ बढावा दिइरहेको थियो । फागुनको अन्तिम साता भएकाले गर्मी बढ्दो थियो । निधारमा टल्किरहेको पसिनाले पनि त्यसको संकेत दिइरहेको थियो ।
शरीरको बनोट, आँखाको भाव र मुहारको माधुर्यमा म यसैयसै हराएछु । फेरि भण्डारामा जाने संकेत पाएपछि मैले इशारामै एकछिनमा गएर खान्छु भनें । उनी अरू नयाँ आउनेलाई चियापानी र प्रसादको प्रस्ताव गर्थिन् मीठो मुस्कान छर्दै । मैले पनि आमाको प्रशंसालाई सही ठहराए र नारीले नारीको प्रशंसा गर्न सक्दैनन् भन्ने भनाइलाई गलत साबित गराए ।
पण्डितजीको कथा सकिएर बीचमा भजनको पालो आयो । भजनमण्डली आफ्नो हार्मोनियम, मादल, खैजरी, मजुरा लिएर तयार भए । अनि भजन यसरी सुरू भयो,
आज भन्यो, भोलि भन्यो जिन्दगी यो बित्यो नि
हरिभजन कहिल्यै नभुले ।
संगीतको मधुर ध्वनि के गुञ्जिएको थियो रमिला भाउजू नाच्न आइहालिन् । आमा उनको नृत्यको पनि मुक्तकण्ठले प्रशंसा गरिरहनुभएको थियो । म पनि इच्छुक थिएँ उनको नाच हेर्न । नभन्दै म पनि हेरेको हेर्यै भए । कति राम्रो नाचेकी, कम्मरलगायत शरीरका प्रत्येक अंगको लचकता हेर्न लायक थियो । मुहारको भावभंगी, नृत्यको बान्की साँच्चिकै मनमोहक थियो ।
मनमनै सोचें फूलहरु नफुल्ने भए, धुनहरु नहुने भए जीवन कति निरस हुन्थ्यो होला ।
कल्पनाबाट यसो बाहिर निस्किएको त धेरैजसो दाइ, अंकलहरुको मोबाइलले भिडियो रेकर्ड गर्न भ्याइहालेछ । पापी मन लोभिहाल्यो । म त छक्क परें ।
भजन सकियो, फेरि भाउजू मैलाई प्रसाद भन्न आइन्, मैले भनिहाले भाउजू कति राम्रो नाच्नुभएको । उनी हो र भन्दै मुस्कुराउँदै गइन् ।
लागिरहेथ्यो कति निष्फिक्री नाचेकी, स्वछन्द भएर । भर्खर भित्रिएकी नौली दुलही यस्तो हुनुपर्छको कुनै मापदण्ड पूरा गरेकी थिइनन् । गीत बज्दा नाच्न आउँथिन्, अरुबेला सबैलाई बोल्दै हाँस्दै खाना प्रसाद सोध्थिन्, बाँड्थिन् । कति स्वतन्त्र रहेछिन् उनी आफ्नो जीवनमा । अरुले के भन्लान्को अलिकति पनि हेक्का थिएन । साँच्चै उनलाई हेर्दा लाग्थ्यो, अहो ! कोही त यसरी स्वतन्त्र भएर पनि बाँच्न सक्छ है ।
अलिक पर लगाइएको टेन्ट, कुर्सी र मानिसको भीड देखेसी प्रसाद खाने बहानामा त्यतै लागें । खाने ठाउँमा बल्ल आफूले चिनेका तीन-चार जना आन्टीहरू भेटें । अनि, म पनि त्यतै मिसिएँ । गफको विषय त रमिला भाउजू नै थिइन् ।
रिता आन्टी : कस्ती केटी बिहे गरेछ यो कृष्णेले । कति चुमचुम गर्नुपरेको हो ?
राधा आन्टी : कति मस्किंदै, लच्किंदै नाच्नुपर्ने भजनमा नाँच्दा पनि ।
प्रमिला आन्टी : यस्ता केटीको त भर हुन्न है, कुनदिन भाग्छे सम्पत्ति बोकेर ।
हरिमाया आन्टी : कृष्णे सोझो छ औंलैमा नचाउने भई ।
आजकलका केटीहरुको त भर हुन्न ।
उनको प्रशंसा सुनाउँला भनेर रमाउँदैसँगै मिसिएकी म एक्कासि अवाक् भएँ ।
एकाएक मेरो दिमागले सोच्यो, सोच्यो धेरैबेर र धेरै पटकसम्म सोच्यो तर केही निष्कर्षमा पुग्न सकिनँ । सोचें हरसवालको जवाफ दिन आवश्यक हुँदैन, मौनता आफैंमा ठूलो जवाफ हो ।
तर लाग्यो संवेदना र सद्भाव नभएका मानिस साँच्चै बेकम्मा हुन् । र, त्यस सप्ताहपछि मैले कहिल्यै रमिला भाउजू नाचेको देखिनँ, स्वछन्द किसिमले हाँसेको देखिनँ ।
source https://www.onlinekhabar.com/2022/07/1161718
0 Comments