Looking For Anything Specific?

Header Ads

एड्स संक्रमित महिला : गल्तीबिनाको सजाय भोगे, अहिले अरुलाई बाँच्न सिकाउँदै

२७ फागुन, दाङ । करिब चार वर्षअघि दाङको धर्ना गाउँको पुछारमा सुसाइरहने बबई नदीजस्तै छ थियो, २९ वर्षीया मायादेवी (नाम परिवर्तन)को जिन्दगी । बिलकुल बैराग र उराठ । नियति उनीमाथि यति निर्मम र कठोर भइदियो कि उनले गल्तीबिनाको सजाय जीवनभर भोग्नुपर्‍यो ।

परिवारले रोजेकै केटासँग १३ वर्षअघि मायादेवीको विवाह भयो । विवाहपछि थाहा भयो, श्रीमान भारतमा जागिरे रहेछन् । वर्षदिनमा घर आउने, लगत्तै फर्किहाल्ने । तैपनि आफ्नो दाम्पत्य जीवनसँग खास गुनासो थिएन ।

केही वर्ष बिते । श्रीमान एकदिन बिरामी भएर घर फर्किए, कमजोर र रोगले थलिएको शरीर लिएर । उनले श्रीमानलाई तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालमा लगिन् । तर सुधार भएन । लगत्तै काठमाडौं पुर्‍याइन् ।

काठमाडौं पुर्‍याउनुअघि श्रीमानले भनेका थिए, ‘म धेरै बाँच्दिन । उपचार कतै छैन । म निको हुन्न ।’ श्रीमानले के भनेका हुन्, उनले बुझिनन् । काठमाडौंको वीर अस्पतालमा पुर्‍याएर मेडिकल जाँच गराइन् । जब चिकित्सकले रिपोर्ट देखाए, तब उनी छाँगाबाट खसेजस्तै भइन् । रिपोर्टमा उनका श्रीमान लामो समयदेखि एड्स संक्रमित रहेको देखियो ।

त्यसपछि उनलाई पनि मेडिकल जाँच गराउन भनियो । उनको मनमा चिसो पस्यो, डराइन् पनि । रिपोर्ट नआउञ्जेल मन बेचैन भइरह्यो । रातभर सुत्न सकिनन् ।

केही दिनपछि डाक्टरले उनलाई परामर्श दिंदै भने, ‘तिमीलाई एचआईभी पोजेटिभ देखियो । श्रीमानबाट तिमीलाई संक्रमण भएछ । आत्तिनु पर्दैन । औषधि खाए आयु बढाउन सकिन्छ ।’

सुरुमा उनले विश्वास गरिनन् । डाक्टरले सम्झाइबुझाइ गरे । ‘श्रीमानको मुख हेर्न मन लागेन घृणा लागेर आयो,’ उनले भनिन्, ‘महिला भएर जन्मेकोमा त्यसैदिन आफैंलाई धिक्कारें ।’

त्यसको वर्ष दिन नपुग्दै एड्सले श्रीमानलाई लग्यो । उनको भागमा छाड्यो, हुर्किंदै गरेका दुई सन्तान र कहिल्यै निको नहुने रोग । त्यसपछि उनले जीवनमा के-के भोगिन् सम्झिन चाहँदिनन् । आफन्त र समाजले गरेको व्यवहार सम्झिंदा अहिले पनि उनको मन कुँडिएर आउँछ । जतिबेला आफन्त भन्नु आफ्ना जस्ता रहेनन् । जसले अपमान र आँशु मात्र दिए । छरछिमेकको नजरमा समेत उनी छिछि र दूरदूरको पात्र बनिन् ।

समाजले गर्ने दुव्र्यवहार र आफन्तले दिएको पीडा एकातिर थियो । अर्काेतिर मृत्युको भयले उनलाई दिनरात सताउन थालिसकेको थियो । त्यसमाथि आफू संक्रमित भएपछि समाजले गर्ने व्यवहारले उनको आत्मविश्वास कैयौं पटक टुट्थ्यो । आशाका त्यान्द्राहरु भत्किन्थे । ‘आज मरे पनि मर्नु, भोलि मरे पनि मर्नु’ उनको मनमा यस्ता कुरा खेल्थे ।

‘बाँच्नुको औचित्य नभेटेपछि आत्महत्याको कुरा मनमा धेरै पटक खेले,’ विगत सम्झिंदै उनी भन्छिन्, ‘तर सन्तानको मायाले संसार छाड्न सकिन । नाबालकको मुख हेरेर मर्ने इच्छा त्यागें ।’

एक दिन गाउँकै एकजना भाइ पर्नेले उनलाई एचआईभी एड्स संक्रमित क्षेत्रमा काम गर्ने संस्थासँग चिनाइदिए । त्यसपछि उनले आफूजस्तै थुप्रै एड्स संक्रमितहरुसँग भेटिन् । अनि देखिन् उनीजस्तै गल्तीबिना सजाय भोगिरहेका आफूजस्तै थुप्रै महिलाहरु । कथा अनेक भए पनि व्यथा एउटै भएका ।

संस्थामा काम गर्दै उनले एड्सबारे धेरै कुरा बुझिन् । ‘एचआईभी संक्रमण हुनेबित्तिकै जीवन नसकिने रहेछ,’ उनले भनिन्, ‘लान्छना र विभेदले मात्र मार्दो रहेछ ।’

त्यसपछिको केही समय उनी संस्थामार्फत परामर्शकर्ताका रुपमा काम गरिन् । गाउँगाउँमा पुगेर आफूजस्तै दिदीबिहिनीहरुलाई परामर्श दिन थालिन् । एड्स संक्रमित भएर लुकेर बसेकाहरुलाई संस्थासम्म पुर्‍याइन् । सम्झाइन्, बुझाइन् र, जीवनमा बाँच्ने हौसला दिइन् । आफूले सिकेको संघर्षको पाठ उनीहरुलाई पनि सुनाइन् ।

अहिले भने उनी कपडा सिलाउँछिन् । त्यसबाट आएको पैसाले घरखर्च चलाउँछिन् । आफू एड्स संक्रमित भनेर खुलेको समाजमा उनी बस्न सकिनन् ।

त्यसैले त्यो ठाउँ छाडेर अहिले उनी अन्यत्रै आइपुगेकी छन् । तर आफूलाई एड्स संक्रमित भनेर खुलाउन भने सकेकी छैनन् । किनकि उनलाई थाहा छ- समाजमा अझै पनि एड्स संक्रमितप्रति हेर्ने दृष्टिकोण र गर्ने व्यवहार फेरिएको छैन । सामाजिक लाञ्छना र विभेद व्याप्त छ ।

त्योभन्दा डर उनलाई आफ्नो सन्तानको भविष्य सम्झेर लाग्छ । ‘आफू त केही गरी खुलौंला । तर सन्तानलाई समाजले स्वीकार्दैन । उनीहरुले पनि मैलेजस्तै विभेद र अपमान भोगुन् भन्ने म चाहन्नँ । हाम्रो गल्तीको सजाय उनीहरुले किन भोग्ने ?’ बोल्दाबोल्दै उनी रोकिइन् ।

अब भने उनलाई आफ्नो विगत सम्झेर रुनु छैन । ‘लेखिएको कुरा मेटेर मेट्न सकिन्न । टारेर टार्न सकिन्न । जे हुन्छ भोग्नैपर्छ,’ यही सम्झेर चित्त बुझाउँछिन् उनी । र, त आज पनि उनी आफूभित्रको एड्स लुकाएर बाँचिरहेकी छन् ।

*** ***

दाङकी सानुमायाको कथा पनि उस्तै छ । उनले पनि गल्तीबिनाको सजाय भोगिरहेकी छन् । बुबाआमाको कोखबाट जन्मजात एड्स संक्रमित भएर जन्मिएकी उनी अहिले २४ वर्षकी भइसकिन् ।

फागुन २५ गतेको एक साँझ भेटिएकी उनले अनलाइनखबरसँगको संवादमा परिचय नखुलाउने  शर्तमा उनले  आफ्नो  व्यथा यसरी सुनाइन् ।

उनका बुवा कामको  सिलसिलामा भारतको  मुम्बई काम गर्थे । उनका बुवा भारतबाट आएपछि मात्रै  उनी जन्मिएकी हुन् । उनीभन्दा अगाडि चार वर्षले फरक एउटी दिदी थिइन् ।

‘बुबा उतै  पाँच छ वर्ष बसेर बिरामी भएपछि घर फर्किनुभएछ,’ उनले  भनिन्, ‘त्यसैबेला होला उहाँलाई एड्स संक्रमित भएछ । आमालाई पनि त्यसरी नै सरेको हुनसक्छ ।’

आफूलाई एचआईभी र एड्स भएकोबारे  बुवाले कसैलाई नभन्दा परिवार कसैलाई जानकारी भएनछ । ‘घर आएपछि बुवा अत्यन्त कमजोर हुनुभयो  र बिरामी पर्नुभयो,’ उनले  भनिन्, ‘म आमाको पेटमै हुँदा उहाँले संसार छाड्नुभएछ ।’

गर्भवती छँदै बिरामी परेकी उनकी आमालाई काठमाडौं लगियो । उनी त्यही अस्पतालमै जन्मिन् । डाक्टरले आमा र उनको रिपोर्ट जाँच गर्दा दुवैलाई एचआईभी पोजेटिभ देखियो । जन्मजात बच्चालाई एचआईभी देखिएको समाचार सञ्चारमाध्यममा आए । त्यसको  वर्षदिन नबित्दै उनकी आमा पनि बितिन् ।

पत्रिकामा छापिएको समाचार उनको गाउँका तत्काली गाविस सचिवले हेरेका रहेछन् । उनी भर्खरै  नौ  वर्षमा टेकेकी थिइन् । गाविसका सचिवले दिदी र उनलाई एड्सबारे रगत जाँच गराउन भनेछन् । दिदी र उनी घोराहीस्थित परिवार नियोजन संघमा पुगेर रगत जचाएछन् ।

‘दिदीमा एचआईभी नेगेटिभ देखायो , मलाई पोजेटिभ,’ उनले भनिन्, ‘म त बच्चा नै  थिए, एचआईभी के  हो  ? के  हुन्छ ? केही थाहा थिएन  ।’ उनको कलिलो मस्तिष्कले यो कुराको मेसै पाएन ।

त्यसपछि गाउँमा एक कान दुई कान हुँदै  हल्ला फैलिंदै  गएछ । ‘एकपटक त आफ्नै  साथीबाट फलानीलाई त बुवाआमाबाट मर्ने रोग लागेको छ, त्यसको  नजिक जान हुन्न रे भन्ने सुनें,’ उनले भनिन्, ‘साथीहरुबाटै  त्यस्तो  सुन्दा साँच्चै  मलाई ठूलै  मर्ने  रोग नै  लागेजस्तो  लाग्यो  ।’

सानोमा आफूलाई लागेको रोगबारे उनलाई केही थाहा थिएन । तर जब हुर्किंदै  गइन् र आफूलाई लागेको  रोग कहिल्यै  निको  नहुने रहेछ भन्ने थाहा पाइन् । ‘अरुले एड्स लागेको मान्छे बाँच्दैनन्, छिट्टै मर्छन् भन्दा खुब डराएकी थिएँ,’ उनले विगत सम्झेर लामो सुस्केरा हालिन् ।

जति जति उमेर बढ्दै गयो, मनमा एक किसिमको भय पनि बढ्दै थियो । उनले अगाडि भनिन्, ‘बुवाकै  कारणले  आफू संक्रमित भएपछि घृणा पनि जागेर आँउथ्यो । तर अहिले  आफैं बुझ्ने  भएपछि भने  उहाँबाट पनि अञ्जानमै  गल्ती भएको  होला भन्ने लाग्छ ।’

जब उनी हुर्किंदै  गइन् र तिनै  सचिवको  सहयोगले एचआईभी क्षेत्रमा काम गर्दै आएको  दाङ प्लस नामक संस्थामा आइपुगिन् । ‘सुरुमा एड्स लागेको म मात्रै हुँला भन्ने लाग्थ्यो, त्यहाँ पुगेपछि आफूजस्तै थुप्रै भेटें । अनि पो  लाग्यो , म जस्ता त थुप्रै  रहेछन्,’ उनले सुनाइन् ।

त्यहाँ उनले आफू मात्रै  होइन, बिनागल्ती श्रीमानबाट एचआईभी संक्रमित भएका थुप्रै  दिदिबहिनी भेटिन् । उनीहरु एकअर्कामा आफ्ना पीरव्यथा सुनाउँथे । उनी पनि आफ्ना मनका कुरा पोख्थिन् । ‘समाजमा खुल्न नसक्दा मरेजस्तै लाग्थ्यो । आफ्ना मनभित्रै गुम्सिएका हुन्थे,’ उनले भनिन्, ‘आफूजस्तै साथी भेटेपछि मनका कुरा पोख्न पाए ।’

त्यसपछि उनी उपचारका लागि काठमाडौं र नेपालगञ्ज पुगिन् । बेलामौकामा तालिम र गोष्ठीहरुमा पुग्थिन् । एड्स संक्रमितहरुको कुरा सुन्थिन् । आफ्नो कुरा पनि राख्थिन् ।

त्यसपछि उनले बुझिन्, ‘एचआईभी संक्रमण हुने  बित्तिकै  जीवन सकिने रहेनछ, बरु उनीहरुले  माया साथ सहयोग र हौसला पाए लामो जीवन बाँच्न सक्छन् ।’

त्यसअघि आफ्नै जीवनसँग विरक्तिएकी उनमा क्रमशः ऊर्जा थपिन थाल्यो  । आफूजस्तै एड्ससँग लडिरहेकाहरु देखेपछि उनीभित्र जीवनमा केही गर्नुपर्छ भन्ने आत्मविश्वास बढ्यो ।

बाँच्न सिकाउँदै

एड्सका बारेमा ढिलो मात्रै  बुझेकी उनलाई सुरुवाती दिनमा त निकै  पीडा भयो  । तर बुझ्दै  गएपछि उनलाई भने सामान्य रहेछ भन्ने  लाग्यो  । आजभोलि सोही कुरा बुझाउँदै  उनी हिंडेकी छन् र आफूजस्तै  संक्रमित महिलाहरुलाई एड्स भएर पनि बाँच्न सकिन्छ भन्ने  बुझाउँदै हिंडेकी छन् । तर समाजमा भने एचआईभी संक्रमितलाई हेर्ने  दृष्टिकोण अझै साँघुरो रहेको उनले सुनाइन् ।

‘एड्सबारे अहिले पनि सोचाइ धेरै बदलिएको छैन । त्यो  बेला झन् कस्तो थियो होला ?’  उनले भनिन्, ‘कसैसँग  खुल्न नसक्ने  । थाहा पाए भने  घृणा गर्लान् भन्ने डर मनमा हरबखत हुन्थ्यो ।’

दुःखको कुरा के छ भने उनी आफैं पनि एड्सबारे खुल्न सकेकी छैनन् । समाजमा व्याप्त एड्सबारे गलत बुझाइ र सामाजिक लाञ्छनाले गर्दा उनी समाजमा खुल्न सकेकी छैनन् । भित्रभित्रै यस क्षेत्रमा काम गरिरहेकी छन् ।

‘मानिसहरुमा संक्रमितहरुलाई हेर्ने  सोचाइ र दृष्टिकोण बद्लिएको छैन,’ उनले  दुःखेसो  पोखिन्, ‘अरुको  के  कुरा गर्नु, हाम्रै  समाजभित्रका डाक्टर र बृद्धिजीवी भनिनेहरुबाटै भेदभाव र तिरस्कार सहनुपर्छ ।’



source https://www.onlinekhabar.com/2022/03/1092467

Post a Comment

0 Comments