‘हाँस्ने स्टाइल र विदेशीको हाँस्ने स्टाइलमा फरक छ । यो प्रयोग तिम्रो लागि गाह्रो पर्न सक्छ । हाम्रो समाजले यसलाई वुझ्दैनन्, मैले त वुझिनँ । फिलोसोपी त भयो । तर, तिम्रो प्रस्तुति हेरेर कोही हाँस्यो त ! यहाँ त कोही हाँसेन । हाम्रो आफ्नै स्टाइल छ । यसलाई फलो गर ।’
कमेडी च्याम्पियनका निर्णयक सन्तोष पन्तको यो टिप्पणीले अहिले उनको ‘कला–चेत’माथि नै प्रश्न उठाइदिएको छ । कलाको आयम र विविधतालाई बुझ्न अनि स्वीकार्न नसकेका भन्दै उनीमाथि टिका–टिप्पणी गरिएको हो ।
यसको सिलसिला सुरु हुन्छ, कमेडी च्याम्पियनबाट । यतिबेला ‘कमेडी च्याम्पियन २’ को मञ्चमा अन्तिम ४ प्रतिस्पर्धी छन् । जसमध्ये भरतमणी पौडेल अन्तिम ३ मा पुगिसकेका छन् भने बाँकी ३ मध्ये २ जना दर्शकको भोटको आधारमा अगाडि बढ्नेछन् ।
फाइनल पुग्नु अगाडि प्रतिस्पर्धीले प्रस्तुत गर्ने आफ्नो प्रस्तुती जोखिमपूर्ण पनि हुने गर्दछ । किनकी, यती लामो संघर्षपछि अन्तिम ३ मा नपुगी बाहिरिदा जसको मन पनि खिन्न हुन सक्छ ।
तर, सिक्किमबाट आएका विक्की अग्रवाल भने अरु भन्दा फरक देखिए । विक्कीले फाइनलमा पुग्नका लागि जुन खालको प्रस्तुति दिए, त्यो आफैमा जोखिमपूर्ण थियो । विक्की आफैले भनेका छन्–‘मलाई पेन्टोमाइम अभिनय गरेको कारण कुनै पनि पश्चाताप छैन । कमेडी च्याम्पियनको सेटमा म जित्न भन्दा पनि केही नयाँ गर्न आएको हुँ । शुक्रबार बेलुकीसम्म म स्ट्यान्डअप गर्ने कि पेन्टोमाइम गर्ने भन्ने थियो । म टप ४ बाट बाहिरिए भने पनि मलाई कुनै पश्चाताप हुने छैन । मलाई बाहिरिदा पनि केही फरक पर्दैन ।’
विक्कीको यो भनाइले पनि उनी आफ्नो प्रस्तुतिमा पूर्ण रुपमा आत्मविश्वासी थिए भन्ने वुझ्न सकिन्छ । किनकी, यही शोको मजाक गर्ने, उपस्थिती अतिथीको मजाक उडाउने, राजनीतिक ब्यङ्ग्य र मदिराको कुरामा नै यो बर्षको कमेडी च्याम्पियनका प्रतिस्पर्धीहरुको प्रस्तुति रुमल्लिएको छ । यो भिडमा विक्कीले केही फरक गर्ने कोशिश गरेका हुन् ।
विवादमा सन्तोष पन्त
शोका ३ निर्णायकहरु मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराइले विक्कीको खुलेरै प्रशंसा गरे । मनोज गजुरेलले विक्कीको यो प्रस्तुतिलाई समयले वुझाउने बताए । प्रदिप भट्टराइले विक्कीले जोखिम मोलेपनि फरक प्रस्तुति गरेको भन्दै प्रशंसा गरे । तर, विक्कीको प्रस्तुति आफूले पनि नवुझेको भन्दै निर्णायक सन्तोष पन्तले उनीमाथि खरो टिप्पणी गरेका थिए ।
सन्तोष पन्तको यो टिप्पणीको अहिले चर्को आलोचना भैरहेको छ । पन्तले विक्कीको प्रस्तुति नै नवुझेको भन्दै सधै मुख बिगारेर गरिने क्यारिकेचरलाई मात्र कमेडी भन्न नमिल्ने अधिकांश दर्शकको भनाई छ । युटुबमा आएका प्रतिक्रियामा पनि अधिकांशले विक्कीको प्रस्तुतिको तारिफ गरेका छन् ।
के हो विक्कीले गरेको ‘पेन्टोमाइम अभिनय’ ?
पेन्टोमाइम अभिनयको सुरुवात बेलायतबाट भएको हो । संगीतमय माहोलमा नबोली अभिनय मात्र गरेर दर्शकलाई हसाँउनु यो अभिनयको विशेषता हो । विशेषगरि, बेलायत, आयरल्याण्ड लगायतका देशमा नयाँ बर्ष र क्रिसमसमा यो अभिनय प्रस्तुत गरिन्थ्यो । आधुनिक पेन्टोमाइममा गीत, थप्पड, नृत्य आदि समावेश गरिन्छ ।
पश्चिमी संकृतीमा पेन्टोमाइमका एक लामो नाट्य इतिहास छ । विशेषगरि, यो शास्त्रीय रंगमञ्चसँग जोडिएको छ । अंग्रेजी पेन्टोमाइमको विकास कमेडियन डेल आर्टेबाट पनि प्रभावित छ ।
source https://www.onlinekhabar.com/2021/08/1005585
0 Comments