कथासंग्रह ‘याम्बुनेर’को शुरुआतमा कथाकार बिना थिङ लेख्छिन्- हाम्रो लागि याम्बूसम्मको दूरी धेरै फराकिलो हो । यो भूगोलको होइन, पहुँच र प्राप्तिको सन्दर्भ हो ।
याम्बु, अर्थात् एक तामाङको लागि ‘तात्कालीन नेपाल’ । स्वाभाविक रुपले बिना थिङ ‘तामाङ’को लागि पनि । अर्थात् अहिलेको काठमाडौं उपत्यकालाई याम्बु भनिन्थ्यो । र एक तामाङको आँखाबाट याम्बु अन्य जातिको लागि भन्दा भिन्न लोक थियो ।
‘पहुँच’को सन्दर्भ आउँदा राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’का अनुसार, इतिहासमा धेरै समयसम्म सत्ताले ‘तामाङ’लाई तामाङ भनेर लेख्नबाटै बञ्चित गराएको थियो । शाहकालीन अभिलेखहरुका अनुसार सत्ताको लागि एक तामाङ ‘मुर्मी भोट्या’ रहेछ ।
र यो सम्बोधनको क्रम भीमशमशेरको पालामा मात्रा अन्त्य भएको उनी लेख्छन् । कारण ? ‘सीता बडामहारानी’ अर्थात् ‘दिलकुमारी ब्लोन तामाङ’ । भीमशमशेरकी श्रीमती । उनको आग्रहले मात्र तामाङले तामाङ लेख्ने अधिकार पाएको देखिन्छ । एक वाक्यमा लेख्दा, राज्यको एक शक्तिशाली चरित्रले नागरिक र जातिका अधिकारहरुको ‘पहुँच’को निर्धारण गर्छ । र याम्बु ती शासकहरुको अखडा थियो/छ ।
एउटा यस्तो अखडा जसले शताब्दीयौंसम्म एक जातिलाई ‘मासिन्या मतवाली’ भनेर आर्थिक, सामाजिक रुपबाट ‘दास बनाउन मिल्ने, किनबेच गर्न मिल्ने, मार्न मिल्ने’ कानून नै बनाएर दमन गरिरह्यो । देशको आधारभूत अंगहरुमा पिपाभन्दा माथिल्लो स्तरमा प्रतिनिधित्व गर्न दिएन । र एउटा जातिले ‘तामाङ’ भएकै कारणले यी कुरा भोगे । खैर, इतिहासलाई केहीबेर थाती राखौं । वर्तमान स्थितिमा पहुँचको कथा के छ त्यसतर्फ जाऔं ।
सोममाया किन यति छुच्ची ?
‘ओ ज्योज्यो, खुरुक्क त्यो झोलाबाट रक्सीको भाँडा झिक त’, (५६) ‘याम्बुनेर’ कथामा एक पात्र छिन्, सोममाया तामाङ । जसको रिस नाकैमा हुन्छ । जो घरको आर्थिक स्थिति सुधार्नको लागि रक्सी पार्छिन् । रक्सीको सानो घरेलु उद्योग निर्माण गर्न पैसा काढ्छन् । कथानुसार, उनी मात्र हैन त्यहाँको अधिकांश समुदाय त्यसै गर्छन् । तर उनलाई किन रिस उठ्छ ?
‘किन नापाउने ? बजारभरि सिलप्याक चैं बेच्न हुने । हाम्रो चैं किन नाहुने ?’ उनी भन्छिन् । किन उनी यति छुच्ची ?
२०७६ कै आँकडाले पनि दुई अर्ब बढी रुपैयाँ बराबरको मदिरा र मदिराजन्य कच्चा पदार्थ नेपाल आयात गरिएको देखाउँछ । मदिरा मोह कतिसम्म रहेछ भने, नेपालमा निर्यात भएको महँगो ७५० मिलिको एक बोतल फ्रेन्च ब्रान्डको रक्सी क्याम्युस् केभ्यु ५.१५० को दाम लगभग ५ लाख पर्दोरहेछ । यो जानकारीलाई आधार मान्ने हो भने यसलाई ‘पहुँचवालाहरु’ले निर्माण गरेको विभेद भन्ने कि नभन्ने ?
बहस नउठेको पनि हैन । सांसद उषाकला राईले कुरा उठाइन्, ‘रक्सी ब्यान्ड हैन ब्रान्ड बनाउनुपर्छ ।’ सामाजिक सञ्जालमा बहस ध्रुवीकृत पनि भयो । धेरैले घरेलु हिंसाको कारण फेरि रक्सीलाई देखाए ।
तर के यसमा पितृसत्ता, वर्गीय असमानता र त्यसले निर्माण गरेको चेतनास्तर, देशको राजनीतिक इतिहासलाई छुटाएर रक्सीलाई मात्र दोष दिन मिल्ला ? अझ गहिरिएर हेर्ने हो भने जसले रक्सीलाई संस्कृति भन्छ, त्यो जातिभित्र वर्णीय व्यवस्था छैन, महिलाहरूको अधिकारको सवालमा पनि आर्थिक, सामाजिक रुपबाट अधिकारहरू दिएको देखिन्छ ।
यति भन्दै गर्दा घरेलु हिंसाबाट पन्छिन खोजेको हैन तर राजनीतिक रुपबाट महिलाहरूले शिक्षित हुने र राज्यको अंगहरुमा प्रतिनिधित्व गर्ने अधिकार पाएको धेरै पनि भएको छैन । घरेलु हिंसालाई यी तहबाट पनि हेर्न पर्छ कि ?
कथाभित्रको द्वन्द्व सिर्फ एक पुलिस र नागरिकबीचको मात्र हैन । राज्यभित्रकै दुई फरक विचार पद्धतिको पनि हो । पुलिस जो राज्यनिर्मित कानूनी भाष्यको प्रतिनिधित्व गर्छ र सोममाया जो आदिवासी महिलाको जातीय संस्कृतिको– द्वन्द्व यसको पनि हो ।
र आदिवासीमाझ यसको आफ्नै सांस्कृतिक प्रयोजन छ । म आफैं कानूनको ज्ञाता त हैन यद्यपि ठाडो बुझाइले भने प्रश्न गर्न सकिन्छ के कुनै देशको कानूनले आफ्नै देशको नागरिकको संस्कृतिलाई अवैध बनाउन सक्छ ?
फोर्ब्स म्यागेजिनमा जब विश्वका ठूला मदिरा कम्पनीमा चीन, जापान जस्ता राष्ट्रका ब्रान्डहरु विश्वबजारमा आफ्नो छवि बनाइरहेका छन् त्यसबेला हाम्रा आफ्नै उत्पादन भने ‘ज्योज्यो’ भन्ने पात्रसँग संघर्ष गरिरहेछ । र यसबेला के लाग्छ भने कुनै जातिको पात्र यतिकै छुच्चो भएको छैन । ऊ आफूले भोगिरहेको आर्थिक, सामाजिक, राजनीतिक दमनको कारण छुच्चो भएको छ ।
भगवानको नाममा के छ ?
नाम । कोही मान्छेको प्रतिनिधित्व गर्ने सूचक । देख्दा सानो देखिए पनि नाम असाधारण कुरा रहेछ । कथा ‘भगवान निवास’ (६२) मा एकपात्र छन् ‘दावा’ । उसले आफ्नो नाम परिवर्तन गरेर ‘भगवान’ राख्छ । किन राख्यो उसले आफ्नो नाम ‘भगवान’ ? इतिहासमै पनि स्वयं भीमशमशेरकी पत्नी बडामहारानी दिलकुमारी तामाङले पनि आफ्नो नाम ‘सीता’ राख्छिन् । कारण के हो ?
यद्यपि, यो कथाको प्रमुख प्रसंग हैन, तर पनि महत्त्वपूर्ण छ । हुनलाई नाम सानो कुरा हुनपर्ने हो । तर यति सामान्य कुरामा पनि कोही मान्छे आफ्नो नाम किन बदल्छ ?
वास्तवमा, नाम व्यवस्थाहरुको सूचक पनि हो । जस्तो नाममा ‘दास’ जोडिनु वा ‘सिंह’, ‘प्रसाद’, ‘बहादुर’ जोडिनु फरक सूचकहरु हुन् । फरक सामाजिक मूल्यमान्यताका सूचक । यदि हामीले हाम्रो वंशावली पल्टाएर नाम मात्रलाई अध्ययन गर्ने हो भने हामी देशको राजनीतिक घटनाक्रमको बारेमा बताइदिन सक्छौं ।
यस्तोमा दावाको नाम भगवानमा रुपान्तरित हुनु सानो घटना हैन । यो त देशको व्यवस्थाले लागू गरेको राजनैतिक, सांस्कृतिक, भाषिक दमनले उब्जाएको ‘लघुताभास’को सूचक हो ।
सामान्य गरी बुझ्दा उसको नामकै कारणले उसले स्कूलमा ‘हावा’ भनेर साथीहरूबाट नाम काढिएको हुनुपर्छ वा ‘पावा’ भनेर उसको सहनशीलता जोखिएको हुनुपर्छ । उसको जातिगत विश्वास पद्धतिलाई बुझ्ने शिक्षक नहुँदा, उसको कलिलो मस्तिष्कमा बितिरहेको आन्दोलन अन्ततः नाम रुपान्तरण गर्ने निर्णयमा पुगेको हुँदो हो । र यो बनावटी घटना हैन । धेरै आदिवासीहरुको साझा भोगाइ हो यो ।
बाँकी कथाहरू
बिना थिङको याम्बुनेर कथासंग्रहमा १३ थान कथा छन् । जहाँ अधिकांश कथाले प्रेमलाई आधार बनाएका छन् । केहीले यौन मनोविज्ञान, केहीले सामाजिक मुद्दाहरूलाई प्रधान बनाएका छन् । आयाम, गंगारामको साइकल, गन्धे झार र जुनेदोले सरल प्रेमका कथाहरु हुन् । अलि गम्भीर खालका प्रेम भने आनी पेमा, ड्राइभरका आँखा, घडी फूल, सिफनको फेरोमा महसूस हुन्छ । ब्याडभाले, ड्राइभरका आँखा, आइतीमाया यौन मनोवैज्ञानिक कथाहरु हुन् । सिकोफाइभ, याम्बुनेर, भगवान निवासले भने सामाजिक मुद्दालाई अलि बढी छोएका छन् ।
कथासंग्रहको कमजोर पक्षको विषयमा कुरा गर्दा केही कथाहरु धेरै नै हतारमा लेखिए जस्तो आभास हुन्छ । विशेषतः कथाका पात्रहरु दुई किसिमका हुन्छन् । एक ‘चेप्टा’ र ‘स्थिर’ अनि अर्को ‘गतिशील’ र ‘आयामिक’ । चेप्टा पात्रहरु मिहिनेत कम पर्ने पात्रहरु हुन् जसका तहहरु उति महसूस हुँदैनन् । मानसिक उल्झन, पारिवारिक रस्साकस्सी वा राजनैतिक उत्पीडन यी एकदम सतही हुन्छन् । कथावस्तुको हिसाबले ‘आयाम’ मीठो कथा होला तर प्रस्तुतिको हिसाबले कमजोर हो ।
केही कथाले उठाउन नसकेका प्रश्न
याङ्गजी एक एकल महिला । जो फेरि प्रेममा परेकी छ र उनलाई उनको सासूले पुनः विवाहको लागि समर्थन गर्छिन् । कथामा सबै कुरा मिल्दै जान्छ । न समाजले केही भन्छ, न उनको मनोविज्ञानको उल्झनले अड्काउँछ । भनौं न उनको जीवनमा केही अड्चन नै छैन ।
यस्ता घटना असम्भवै त नहोलान् । तर यो पात्रले अधिकांश एकल महिलाको प्रतिनिधित्व गर्छ त ? त्यसमा पनि तामाङ महिलाहरुको ? समाजको तथाकथित मान्यताको सन्दर्भमा कथा कतिको सान्दर्भिक छ ? के हालको समयमा विवाह गर्नु नै एकल महिलाको लागि खुशीको अन्तिम बिन्दु हो ? पूर्णता हो ?
कथाको मुद्दाले मागेको पात्र ‘चेप्टो’ कदाचित हैन । अझ याङ्गजीले मन मिल्नेसँग विवाह गर्नु महत्वपूर्ण पक्ष होइन । बरु एकल महिलाहरुले पुनर्विवाह गर्न खोजेको खण्डमा, समाजले बनाउने चिन्तन अनि उक्त चिन्तनप्रतिको याङ्गजीको बुझाइ महत्वपूर्ण बन्न सक्थ्यो । अझ प्रेम, यौन, विवाह, पुनर्विवाहलाई हरेक दर्शनले फरक तरिकाले हेर्छन् । यस मानेमा याङ्गजी जुन समुदाय वा भूगोलबाट लिइएको पात्र हो त्यसैलाई मात्र मिहिन ढङ्गले प्रस्तुत गरिएको भए त्यो न्यायोचित हुनसक्थ्यो ।
अन्तरजातीय प्रेम कथाभित्रै पनि केही समस्या देखिन्छन् । ‘जात’ यदि यो सामान्य कुरा हु्ँदो हो त ‘नवराज हत्याकाण्ड’लाई के भन्ने ? वा देशमा विद्यमान छुवाछूतको घटनालाई ? अनि आर्थिक, सामाजिक र राजनैतिक पहुँचलाई ? यहाँ उठाउन खोजिएको पात्र घडीफूलको हो । यो कथा तामाङ र नेवारबीचको सम्बन्धको हो । दुई आदिवासीमाझको ।
कानूनी रुपबाट कुनैबेला जंगबहादुर राणाले ‘मुलुकी ऐन’मा तोकेरै यी दुई जातिलाई ‘मासिन्या’ र ‘नमासिन्या’ जातिमा विभाजन गरिदिएका थिए । जसले संस्थागत गरेको विभेद आज पनि कतिपय समाजमा सुषुप्त रुपबाट मानसिक सोपानतन्त्र (हाइरार्की) मा लुकेर बसेको अनुभूत हुन्छ ।
अझ सांस्कृतिक रुपबाट पनि दुई जातिहरु भिन्न भिन्न विश्वास संयन्त्रलाई अँगाल्छन् । यसो भन्नुको अर्थ तामाङको आफ्नै विश्वास पद्धतिसहितको ‘सौन्दर्य चिन्तन’ छ जो नेवारको भन्दा भिन्न हुन आउँछ ।
भन्नलाई राजनीतिक अधिकारहरुको प्राप्तिको लागि सम्पूर्ण आदिवासी एक भए पनि आदिवासीहरुमाझको विभिन्नतालाई नकार्न मिल्दैन । यस अर्थमा अन्तरजातीय सम्बन्धहरुका आफ्ना सांस्कृतिक समस्याहरु होलान् । हामीले यसलाई नजरअन्दाज गर्न मिल्दैन ।
एक तामाङ महिलाको लागि नेवार घरको चुल्हो सम्हाल्नु के सामान्य घटना होला ? धार्मिक रुपबाट माने घुमाउने उनको धार्मिक मानसिकतालाई पिखुलाखेले कस्तो प्रभाव पार्यो होला ? वा यसैलाई उल्ट्याउँ । एउटा नेवारको लागि पिखुलाखेको महत्व के तामाङ बुहारीले बुझ्ला ?
हरेक जातिको सन्दैर्यको आफ्नै अर्थ हुन्छ । र अन्तरजातीय सम्बन्धको गहनतालाई वर्षौंसम्म अधिकांश नेपाली कथाले ‘आनन्ददायी कल्पना’को रुपबाट मात्र चित्रण गरेका छन् । शायद केही कथाहरुले गम्भीर धरातलीय यथार्थतालाई पनि बोक्नुपर्छ ।
शिवपुरी राष्ट्रिय निकुञ्ज २०६५ सालसम्म १४४ वर्ग किमीको भूगोलमा फैलिएको थियो । तर त्यही साल १५ वर्ग किमी थपिएर, १५९ वर्ग किमी भयो । थपिएको भूगोल कुनै वस्ती उजाडिएको थिएन । यो तात्कालीन शाहवंशको निजी वन क्षेत्र थियो ।
र यसैको छेउमा सोममाया जस्ता पात्रहरु आफ्नो राष्ट्रको गौरवसँग लडिरहेका थिए । आज पनि लड्न बाध्य छन् । आइतीमाया जस्ता पात्रहरु आफ्नो श्रीमानसँग रिसाइरहेका थिए । र यी कथाहरु ‘याम्बुनेर’ मा घटिरहेका थिए जसलाई राज्यले नजरअन्दाज गरिरह्यो र आदिवासीलाई ‘खलनायकीकरण’ गर्न एक भाष्यको निर्माण गर्यो ।
जस्तो: जलविद्युत उत्पादन गर्नेहरुसँग, त्यहीं वर्षौंदेखि बस्दै आएका सिन्धुपाल्चोकका तामाङ वस्तीहरु, आफ्नो सांस्कृतिक सम्पदा बचाउन खोकनाका नेवारहरु, मिलुङ झरनाको मौलिकता बचाउन लागिपरेका लिम्बु वा खुवालुङ्गलाई सिर्फ अड्चन देख्नेसँग रिसाएका राईहरु । विकास फेरि पनि ‘बहुआयामिक’ हुन्छ र यसको ‘बहुक्षेत्र’ हुन्छ । तर हालको समयको विकास कतै कुनै समय युरोपले अंगीकार गरेको ‘औपनिवेशिक विकास’ जस्तै आभास हुन्छ । र यो कथासंग्रह तिनै ‘पहुँच नपुगेका’हरुको कथाहरु हो जसलाई देशको गौरवले ‘विकास विरोधी’ देखिरहेछ तर आफ्नो दमन देख्न असमर्थ ।
पुस्तक : याम्बुनेर (कथासंग्रह)
प्रकाशक : फिनिक्स बुक्स
source https://www.onlinekhabar.com/2021/08/1005298
0 Comments