‘लाल-बुझक्कड’ प्रामाणिक पात्र हैनन् । ‘लाल-बुझक्कड’ का कविता र कथाहरू कसरी, कहाँबाट, कहिले बने, प्रष्ट छैन । तर जनश्रुतिमा भने उनी प्रामाणिक राजा-महाराजा, सन्त, कवि र कथाकार भन्दा कम लोकपि्रय र स्थापित छैनन् ।
भनिन्छ लाल-बुझक्कड प्राचीन भारत वर्षको कुनै गाउँका प्रधानपञ्च थिए । आम जनसमुदाय अनपढ र अशिक्षित भएको समय थियो, त्यो । जनता अनेक समस्या र नसुल्झिएका रहस्य लिएर उनीसामु जान्थे । उनी जनसमुदायलाई ‘म सबैथोक जान्ने मान्छे हुँ’ भन्ने भ्रम दिन अनेक नाटक र अभिनय गर्थे । अनेक रोचक अड्कलबाजी र अर्थ निर्माण गर्थे ।
एकपटक मध्यरातमा गाउँको बाटो हुँदै हात्तीको हूल हिंड्यो । सारा गाउँ सुतेको थियो, हात्ती हिंडेको कसैले सुइँको पाएन । त्यो गाउँको छेउछाउमा हात्ती हुँदैनथ्यो । गाउँले कसैले हात्ती देखेका, हात्तीबारे जानेका, सुनेका थिएनन् ।
भोलिपल्ट बिहान गाउँको बाटो र खेतबारीमा हात्तीका खुट्टाका ठूल्ठूला डोब वा छाप देखेर गाउँले आश्चर्यचकित भए । हिजो साँझसम्म यस्तो थिएन । आज बिहान एकाएक यो के भयो ? कसैले बुझ्न, बताउन सकेनन् । जिज्ञासायुक्त गाउँले भेला भएर प्रधानपञ्च ‘लाल-बुझक्कड’ कहाँ गए । उनीहरूले हात्तीको हूलले छोडेका छापहरू देखाए । सोधे- लाल-बुझक्कडज्यू ! यो के हो ? हाम्रो गाउँमा आज राति के भयो ? कसरी यी डोबहरू बने ?
‘लाल-बुझक्कड’ ले पनि हात्ती देखेको थिएन । हात्तीबारे जानेको, सुनेको थिएन । ऊ आफैं समस्यामा पर्यो । यी छाप कसरी बने ? उसले बुझ्न सकेन । तर, कुनै न कुनै उत्तर दिनु नै थियो । उसले ‘म जान्दिनँ’ भन्न हुँदैनथ्यो । त्यसो भन्दा ‘हाम्रो प्रधानपञ्च नजान्ने रहेछ’ भन्ने भावना जनतामा उत्पन्न हुन सक्थ्यो । लाल-बुझक्कड एकक्षण सोचमग्न भयो । अन्ततः उसको मुखबाट फुत्त निस्कयो-
जो बुझे लाल-बुझक्कड और नबुझे कोही
पैरमे चक्की बाँधबर हिरन दौडी हुई
अर्थात्- लाल-बुझक्कडले भन्यो कि उसलाई सबै थाहा छ । उसले नबुझेको नै के छ र ? उसले बुझे जति अरू कसले बुझ्न सक्दछ ? ती डोबहरू हरिणले आफ्नो खुट्टामा जाँतो बाँधेर दौडिएको कारणले बनेका हुन् ।
जनता खुशी भए, लाल-बुझक्कडको जयकार गरे । लाल-बुझक्कड जस्तो आत्मज्ञानी प्रधानपञ्च पाएकोमा मक्ख परेर खुशी हुँदै घरघर फर्किए । र दोहोर्याई तेहर्याई भन्न थाले-
जो बुझे लाल-बुझक्कड और नबुझे कोही,
पैरमे चक्की बाँधबर हिरन दौडी हुई ।
लाल-बुझक्कडका कथा/कविता केवल मिथक मात्र हैन, हामीले आफ्नै जीवनमा त्यस्ता परिबन्दहरू बारम्बार भोगेका छौं । जस्तो कि गत वर्ष प्राज्ञ डा. जगमान गुरुङले भने- ‘प्रधानमन्त्री केपी शर्मा ओलीले इन्जिनियरले भन्दा राम्रो इन्जिनियरिङ, डाक्टरले भन्दा राम्रो डाक्टरी जानेका छन् । कविले भन्दा कविता लेख्न र ज्योतिषले भन्दा राम्रो भविष्यवाणी गर्न सक्दछन् ।’
‘लाल-बुझक्कड’लाई पत्याउने जनता र ओलीलाई ‘सर्वज्ञ’ देख्ने प्राज्ञ खासै फरक हैन, समयको फरक मात्र हो, प्रवृत्तिको हैन । एक्काइसौं शताब्दीका प्राज्ञलाई प्राचीन प्रधानपञ्च लाल-बुझक्कडका अनपढ जनतासँग तुलना गर्न मिल्ने कुरै भएन ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मामा शायद लाल-बुझक्कडको परकाया-प्रवेश थियो । त्यसैले त उनले कहिले हिमाली चिसो हावा, कहिले अम्बाको पातको गार्गिल, कहिले बेसार-पानी र कहिले ठोरीमा वास्तविक अयोध्याको कुरा गरिरहे । यी सबैभन्दा अझ रोचक त उनले चिकित्सकहरूको एक भेलामा दिएको भाषण थियो- ‘आजका सर्जन के सर्जन ? आजका डाक्टर के डाक्टर ? सर्जन हुन त महादेवजस्तो, डाक्टर हुन त भोलेबाबा जस्तो, जसले गणेशलाई हात्तीको र दक्ष प्रजापतिलाई बोकाको टाउको जोडेर जीवित बनाइदिए ।’
शासनकालको उत्तरार्द्धतिर पुग्दा ओलीले माक्र्स, लेनिन, स्टालिन, माओ, क्यास्त्रो, किम इल सुङ, चारु मजुमदार सबै बिर्सिसकेका थिए, जो उनको युवा जीवनका आदर्श थिए । सबै हिन्दू मिथकहरू आजको नेपाल सरहदभित्रै घटित भएका हुन्, सबै हिन्दू पात्रहरू नेपालभित्रै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न उनले राम्रै समय खर्चिए । जबकि स्वयं ‘हिन्दू’ शब्द नै आजको नेपालभित्र जन्मिएको हैन । ‘हिन्दू’ शब्द ‘सिन्ध’ वा सिन्धुको अपभ्रंश हो, जो आजको पाकिस्तानमा पर्दछ ।
भारतीय योग गुरु रामदेव स्वामीले केही महीनाअघि एलोप्याथिक चिकित्सा प्रणालीबारे यस्तै यस्तै प्रकृतिको टिप्पणी गरेका थिए । उनले भनेका थिए कि ‘ती डाक्टरहरू जो आफैंलाई बचाउन सक्दैनन्, तिनले बिरामीलाई के बचाउँछन् ?’ आफ्नो भनाइलाई प्रमाणित गर्न उनले कोरोना कालमा निधन भएका स्वास्थ्यकर्मीहरूको गलत विवरण प्रस्तुत गरेका थिए । मानौं कि रामदेव स्वामीको आयुर्वेद र योगाभ्यास गर्ने वैद्य चाहिं अजम्बरी हुन्छन् । तर, तिनै रामदेव बारम्बार अस्पताल बस्छन्, डायरिया हुँदा शरीरमा स्लाइन लगाउँछन्, त्यस्तो बोलेको केही दिनपछि नै कोरोनाको खोप समेत लगाए ।
दक्षिणपन्थको पहिलो र मुख्य स्रोत नै ‘मिथक’ हो । ‘मिथक’ मा रम्नु, आफैं मक्ख पर्नु र अरूलाई मक्ख पार्नु हो । अक्सर दक्षिणपन्थी चिन्तकहरू कुशल वक्ता हुन्छन् । मिथकका राम्रा व्याख्याता हुन्छन् । हाम्रा पुर्खाले ‘राइट दाजु-भाइ’भन्दा अगाडि नै पुष्पक विमान बनाइसकेका थिए, भाष्करले न्यूटनभन्दा अगाडि नै गुरुत्वाकर्षणको नियम पत्ता लगाइसकेका थिए, टेलिभिजनको आविष्कार हुनु हजारौं वर्षअघि नै सञ्जयले कुरुक्षेत्र युद्धको प्रत्यक्ष प्रसारण धृतराष्ट्रलाई सुनाइसकेका थिए, नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेक्नुअगाडि नै हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उद्देश्य के लिनु उडी छुुनु चन्द्र एक’ कविता लेखिसकेका थिए जस्ता तर्कको आधार मिथ हो, विज्ञान तथा प्रविधि हैन । पुष्पक विमानको एअरपोर्ट कहाँ छ, त्यसले कहाँदेखि कहाँसम्म कहिले-कहिले उडान भर्छ ? के कति यात्रु बोक्छ ? हाम्रा दक्षिणपन्थी महाशयहरू पुष्पक विमान चढेर कहाँकहाँ पुगेर आए ? यसको उत्तर न केपी ओलीले देलान्, न कमल थापाले न रवीन्द्र मिश्रले ।
दक्षिणपन्थ दक्षिणएशियाको विशेषता वा हिन्दूत्वको वैचारिकी हो भन्ठान्ने हो भने त्यो निकै ठूलो भूल हुनेछ, महाभूल भन्न मिल्ने । अरू धर्म, समाज र सभ्यतामा पनि दक्षिणपन्थीहरू उत्तिकै हुन्छन् । तिनले उसरी नै आ-आफ्नो समाजको मिथकलाई पक्रेर जनताको मनोवैज्ञानिक शोषण गर्दछन् । बेतुकका कुरालाई राजनीतिका मुद्दा बनाउँछन् । जनतालाई सत्य, न्याय, विज्ञान, प्रविधि र आधुनिक सीपबाट विमुख बनाउन खोज्दछन् ।
मुस्लिम धर्म सम्प्रदाय बाहुल्य देशमा बोकोहराम, अलकायदा, मुजाहिद्दिन, आईएसआईएस, तालिवान जस्ता थुप्रै अतिवादी राजनीतिक संगठन छन्, जसको अस्तित्व र शक्तिको स्रोत दक्षिणपन्थ नै हो । क्रिश्चियन समाजमा हिन्दू समाजमा भन्दा कम अन्धविश्वास र कुरीतिहरू थिएनन्, अझै छन् । ब्रुनोलाई जिउँदै जलाउने काम क्रिश्चियन समाजमा भएको थियो ।
क्रिश्चियन मिथोलजीले ‘मान्छेको जन्म’ लाई नै ‘पापको प्रतिफल’ मान्दछ । पापीहरूलाई मुक्ति दिन क्राइष्टको जन्म र चर्चको स्थापना भएको ठान्दछ । पोप र पादरीहरू पापी मान्छेलाई मुक्ति दिने र परमात्मासँग भेट गराइदिने उद्धारकर्ता मानिन्छन् । सत्रौं शताब्दीको उत्तरार्द्धसम्म चर्चका पोपहरू ‘पापमोचन पत्र’ बिक्री गरेर कुस्त पैसा कमाउँथे । क्रिश्चियन धर्मान्धताको विरुद्धमा धर्मसुधार आन्दोलन हुँदा ‘प्रोटेस्टानिज्म’ जन्मिएको थियो । यो आन्दोलनमा मार्टिन लुथर किङको ठूलो भूमिका थियो ।
बुद्धिज्म हिन्दू समाजभित्रको प्रोटेस्टानिज्म हो । शंकराचार्यको ब्रहृमसूत्र र सिद्धार्थ गौतमको ‘अनित्य’ मत बीच लामो संघर्ष भएको थियो । ‘अहं ब्रहृमास्मि’ लाई मूल मन्त्र बनाएका शंकराचार्य र ‘संसारमा कुनै पनि कुरा अमर छैन, आत्माको कुनै अस्तित्व हुँदैन’ भन्ने बुद्धको दर्शनलाई एउटै ठानेर ‘बुद्धलाई भगवान विष्णुको अवतार’ ठान्नुमा कुनै संगति थिएन/छैन ।
मिथकलाई सत्य ठान्दा कैयौं भ्रान्तिको जन्म हुन्छ । जस्तो कि भारतीय जनता पार्टीले कम्युनिष्टहरूले ‘लाल-सलाम’ भने जस्तै ‘जय श्रीराम’ लाई राजनीतिक अभिवादन बनाउँछ । रामायणमा वणिर्त ‘राम’ यो धर्तीमा जन्मिएका कुनै मनुष्य नै थिए कि महाकाव्यका काल्पनिक पात्र थिए भन्ने विषयमा विवाद छ । इतिहासकार तथा पुरातत्वविद्हरू ‘राम’ लाई काल्पनिक पात्र मान्दछन्, वास्तविक हैन । आज कथा वा उपन्यास लेखे जस्तो, नाटक मञ्चन र सिनेमा बनाए जस्तो त्यो काव्य र महाकाव्यको युग थियो । कविता मार्फत कथा भनिन्थ्यो ।
आजका कथा, उपन्यास, नाटक र सिनेमामा अनेक नामका नायक भए जस्तो ‘राम’ रामायण महाकाव्यका ‘काल्पनिक नायक’ नहोलान् भन्न सकिन्न । काव्यकारको कल्पनाले उभ्याएको नायक न अयोध्यामा जन्मिन्छ न ठोरीमा । तर, हजारौं मानिस त्यही एक पात्रको लागि आज आफ्नो जीवन दिन तयार छन् । एकअर्को विरुद्ध लड्न, मर्न, मार्न तयार छन् । रामका नाममा अयोध्या काण्डमा त्यतिका धेरै मानिस मरे । यही नै दक्षिणपन्थको शक्ति हो । दक्षिणपन्थलाई कहिल्यै कमजोर आँक्न हुन्न । किनकि यो आस्थामा आधारित हुन्छ, सत्यमा हैन । सत्यको संपरीक्षण हुन सक्दछ, आस्थाको कुनै संपरीक्षण हुँदैन ।
दक्षिणपन्थको दोस्रो मुख्य स्रोत इतिहासको अतिगौरवीकरण हो । आधुनिक विश्व-राजनीतिमा त्यसका दुई ठूला उदाहरण मुसोलिनीको फाँसीवाद र हिटलरको नाजीवाद थिए । फाँसीवाद भन्ने शब्द नै इटालियन भाषाको ‘फासेस’ बाट बन्यो । त्यो एक प्रतीक चिन्ह हो, रोमन साम्राज्यको । हिटलरको स्वस्तिक पनि त्यस्तै चिन्ह हो, उत्तरी जर्मन जातिको । रोमन वीरताको अतिगौरवीकरण गर्दा फाँसीवाद जन्मियो, जर्मन वीरताको अतिगौरवीकरण गर्दा नाजीवाद । फाँसीवाद र नाजीवादको उदयकै कारण संसारमा लाखौं हैन, करोडौं मानिसले ज्यान गुमाउनु पर्यो ।
कुनै पनि जाति, इतिहास, धर्म, दर्शन, सभ्यता र संस्कृतिलाई अतिगौरवीकरण गर्दा त्यसका पक्षधरमा उच्चताबोध र ‘अन्य’ प्रति घृणा र ‘ती नीच हुन्’ भन्ने भावनाको जन्म हुन्छ । घृणा, वर्चश्व, प्रतिशोध र अन्यताको राजनीति भनेकै यही हो । संसारमा कुनै पनि जाति उँच वा नीच हुँदैनन् । कुनै पनि धर्म महान् र तुच्छ हुँदैनन् । कुनै पनि सभ्यता पूर्ण वा अर्थहीन हुँदैनन् । ती मौलिक हुन्छन् । ती आ-आफ्नो विशेषता अनुरूपका हुन्छन् । ती सबैको उत्तिकै स्थान, सम्मान र सहभागिता हुनुपर्दछ भन्ने भावनालाई ‘बहु-सांस्कृतिकतावाद’ भनिन्छ ।
‘बहुसांस्कृतिकतावाद’ को अवधारणाबाट ‘बहु-राष्ट्रिय राज्यको सिद्धान्त’ र ‘संघीय शासन प्रणाली’ निःसृत हुन्छ । अचम्म के छ भने सबैको उत्तिकै स्थान, सम्मान, सहभागिता, समावेशिता, स्वायत्तता, स्वशासन र साझेदारी हुनुपर्छ भन्ने विचारलाई चाहिं दक्षिणपन्थले विखण्डन, जातीयता र धान्न नसकिने खर्चिलो व्यवस्था भन्दछ । जबकि कुनै एक जाति, भाषा, धर्म, संस्कृति, भेषभुषा, रहनसहनको वर्चश्वको पक्षपोषण र त्यसअनुरूपको एकात्मक शासन प्रणालीलाई चाहिं ‘राष्ट्रिय’ मान्दछ । कुनै एक ‘राष्ट्रिय’ हुन्छ कि सबैको ‘साझा’ चाहिं राष्ट्रिय हुन्छ ? यति सरल सत्यको अर्थ सोध्न कुनै लाल-बुझक्कड कहाँ गइरहन जरूरी छैन ।
दक्षिणपन्थको तेस्रो मुख्य चरित्र हो- क्रान्तिप्रतिको वितृष्णा, परिवर्तनप्रतिको अनिच्छा । वर्तमानप्रति वितृष्णा राख्ने र असहिष्णु हुने, भविष्य नदेख्ने, विगतसँग वर्तमानको तुलना गर्ने र वर्तमान गलत छ, भविष्यतिर नजाऊँ किनकि त्यो अनिश्चित छ, बरु विगततिर फर्किनु सहज हुन्छ भन्ने । विगततिर फर्किंदा कहाँसम्म फर्किने ?
गणतन्त्रबाट शाहवंशीय राजतन्त्रमा फर्किने, राजतन्त्रबाट पञ्चायतमा फर्किने, पञ्चायतबाट राणाशासनमा फर्किने, राणाशासनबाट नेपाल-अंग्रेज युद्धमा फर्किने, त्यहाँबाट गोर्खा राज्यमा फर्किने ? पछाडि फर्किएर हिंडेपछि त्यसको सीमा कसैले भनेकै विन्दुमा रोकिन्छ भन्ने के ग्यारेन्टी छ ? के यसरी फर्किन सकिन्छ ?
सभ्यता कहिल्यै पनि पछाडि फकिर्ंदैन, चाहे वर्तमान जतिसुकै कष्टकर किन नहोस्, त्यो भविष्यतिरै हिंड्छ । ठीक छ, हामी वर्तमानसँग असन्तुष्ट छौं भने भविष्य राम्रो बनाऔं न ? किन विगततिर फर्किने ? दक्षिणपन्थ र अग्रपन्थको सोच यहाँनेर प्रष्ट देखिने गरी भिन्न हुन्छ ।
यथार्थ त के हो भने विगततिर चाहेर पनि फर्किन सकिन्नँ, त्यो बूढो मानिसले बाल्यकालको रोचक स्मरण गरे जस्तो मात्र हो । ‘बच्चा हुन पाए कति रमाइलो हुन्थ्यो होला’ भनेर सोच्न, कल्पिन त पाइन्छ तर के बूढो मान्छे पुनः बच्चा हुन्छ ? राणाशासन फर्काउन भनेर बनेको गोर्खा परिषदले राणाशासन फर्कायो ? पञ्चायत फर्काउन भनेर बनेको राप्रपाले के पञ्चायत फर्कायो ? प्रयास त गरे तर किन सकेनन् ?
सजिलै बुझ्न सकिन्छ- नेपाली दक्षिणपन्थको रीस यतिखेर यथार्थमा ‘लोकतान्त्रिक गणतन्त्र’ प्रति छ । तर, सीधै भन्न नसकेर ‘संघीयता’, ‘धर्मनिरपेक्षता’ र ‘आरक्षण’ माथि खनिने गरेको छ । मण्डलेहरू त सीधै भन्दैछन्- ‘राजतन्त्र फर्किनुपर्दछ ।’ नवमण्डलेहरूको भाषा अलिक फरक छ- ‘संघीयता, समावेशिता र धर्मनिरपेक्षता’ खारेज हुनुपर्यो । यी दुवै कुराको सार एउटै हो- क्रान्तिप्रतिको रीस र प्रतिक्रान्तिको चाहना ।
दार्शनिक तहमा ‘सम्वर्द्धनवाद’ र ‘नवसम्वर्द्धर्नवाद’ बीच पातलो विभाजन-रेखा हुन्छ । ‘सम्वर्द्धनवाद’ ले ‘परम सत्य’ को कुरा गर्दछ । त्यो भनेको राजनीतिमा निरंकुशता, तानाशाही, वंशवाद, नश्लवाद, वर्चश्ववाद हो । ‘सम्वर्द्धनवाद’ ले आफ्ना निरंकुश र घटिया आकांक्षाहरू सीधै भन्छ । तर, ‘नव-सम्वर्द्धनवाद’ भने ‘छद्म र सूक्ष्म’ हुन्छ । यसले आफ्ना कुरा सीधै भन्दैन, घुमाउरो गरी भन्छ । तर, सारमा त्यहीं पुग्छ जहाँ सम्वर्द्धनवाद हुन्छ । जस्तो यसले सीधै राजतन्त्र, वंशवाद र निरंकुशता भन्दैन, कहिले ‘नरम तानाशाह’ भन्छ, कहिले ‘परोपकारी राज्य’ भन्छ, कहिले ‘इतिहासको अविच्छिन्नता’ ।
रवीन्द्र मिश्रले बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी, गणेशमान सिंह, प्रचण्ड, बाबुराम वा उपेन्द्र यादवको साटो पृथ्वीनारायण शाह, जंगबहादुर, चन्द्रशमशेर, राजा महेन्द्रलाई महान् देख्नु राजा ज्ञानेन्द्रको सत्ता विदेशी षडयन्त्रमा ‘जबरजस्त खोसिएको’ ठान्नु, जनयुद्ध, मधेश जनविद्रोह र १९ दिने जनआन्दोलनमा भएको जनसहभागिता र योगदानलाई ‘विदेशी’ देख्नु त्यही नवसम्वर्द्धनवादको धङधङी न हो । क्रान्तिप्रतिको वितृष्णा न हो ।
दार्शनिक तहमा सम्वर्द्धनवाद र नवसम्वर्द्धनवाद बीच जति भिन्नता छ, नेपालका मण्डले र नवमण्डले बीच त्यति नै भिन्नता छ । कमल थापाभन्दा केपी ओली र रवीन्द्र मिश्र बीचको भिन्नताको वैचारिक तथा दार्शनिक आधार यही हो ।
दक्षिणपन्थी लाल-बुझक्कडहरूले अहिले नयाँ सिद्धान्त आविष्कार गरेका छन्- देशको दुर्गतिको कारण संघीयता हो, यसलाई खारेज गरौं । मानौं कि देश हजारौंहजार वर्षदेखि संघीय थियो । देशको दुर्गति भएको सत्य हो । देशको उन्नति हुन नसकेको सत्य हो । तर, के यसको कारण संघीयता हो ? के संघीयता र आरक्षणभन्दा अघि नेपाल संसारको सबैभन्दा धनी देश थियो ? करीब पाँच वर्ष यता एकाएक गरीब भएको हो ? निःसन्देह हैन ।
यहाँनेर जनताले सोच्नुपर्ने कुरा छ- संघीयताको विरोधको कुनै वैज्ञानिक कारण छ कि यो प्रतिक्रान्तकारी कुण्ठा मात्र हो ? साँच्चै हात्ती हिंडेका डोबहरू हुन् कि ‘हरिणले खुट्टामा जाँतो बाँधेर दौडिएको’ मात्र हो ? हात्ती साँच्चै हिंडेको हो भन्ने लाग्छ भने आउनुहोस् बहस गरौं, कति दिन शास्त्रार्थ गर्ने हो ? तथ्यांकहरू सामुन्ने राखौं । विश्व अनुभवहरू सामुन्ने राखौं । संघीयताको आर्थिक लागत एकएक हिसाब गरौं । वैज्ञानिक तवरले कसैले पुष्टि गर्दछ कि आजको संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा हिजोको राजतन्त्रात्मक एकात्मक शासन प्रणाली ठीक थियो, निहुरिएर हजार पटक उसको खुट्टैमा ढोगौंला ।
तर, हात्तीका डोबहरूलाई ‘हरिणले खुट्टामा जाँतो बाँधेर’ हिंडेको भन्नेहरूसँग के तर्क गर्ने ? लाल-बुझक्कडहरूको कुनै औषधि हुँदैन । संघीयता विरोधीहरूको त्यही एउटा तर्क छ कि महँगो भयो, धान्न सकिएन ? अरू के छ ? ‘भ्रष्टाचार वडा-वडामा पुग्यो’ भन्नुको अर्थ के हुन्छ ? भ्रष्टाचार नारायणहिटी र सिंहदरबारले मात्र गर्न पाउनुपथ्र्यो भन्ने हो ?
वडा-वडामा भ्रष्टाचार हुनु निःसन्देह नराम्रो हो तर के नारायणहिटी र सिंहदरबारमा भ्रष्टाचार हुनु चाहिं राम्रो थियो ? उदाहरणका लागि हिजोका शाह राजा-महाराजा, कुनै राणा खान्दान, पञ्चायतको अञ्चलाधीश र संघीय लोकतान्त्रिक गणतन्त्रको कुनै वडाध्यक्षको सम्पत्तिको तुलना गरौं त कसले धेरै भ्रष्टाचार गरेछ ?
भ्रष्टाचार रोक्न नसक्नु संघीयताको समस्या हैन, त्यो भिन्नै समस्या हो । त्यो कुशासनको समस्या हो । भ्रष्टाचार राजतन्त्रात्मक तथा गैरराजतन्त्रात्मक, एकात्मक र संघीय, एकदलीय वा बहुदलीय सबै प्रकारको शासन व्यवस्थामा हुन सक्दछ । त्यसलाई रोक्ने संयन्त्र हुनुपर्दछ । भ्रष्टाचार कहींकतै क्षम्य हुनुहुँदैन । चाहे संघमा होस् वा प्रदेशमा वा स्थानीय सरकारमा । भ्रष्टाचारको प्रश्न संघीय शासन प्रणालीको प्रश्न हैन, शासकीय क्षमता र गुणस्तरको प्रश्न हो । भ्रष्टाचार हात्तीको डोब जस्तो हो । संघीयताले भ्रष्टाचार वडा-वडासम्म पुर्यायो भन्नु चाहिं ‘खुट्टामा जाँतो बाँधेर हरिण दौडियो’ भन्नु जस्तो हो ।
मानौं कि वडा-वडासम्म भ्रष्टाचार पुग्यो, के अब बजेट वडा-वडामा नदिने ? विकास सबै नारायणहिटी र सिंहदरबार वरिपरि गर्ने ? पैसा पनि यहीं राख्ने, भ्रष्टाचार पनि यहीं गर्ने ? एउटा सिंहदरबारले पुग्ने भए, ‘देश भनेकै सिंहदरबार हो, सिंहदरबार भनेकै देश हो’ भनेर घोषणा गर्दिऊँ न त ? हुन्छ ? के काठमाडौंवासीलाई मात्र प्रशासनिक सेवा-सुविधा नजिक चाहिएको छ ? झापादेखि कञ्चनपुर, पाँचथरदेखि बैतडी, ताप्लेजुङदेखि दार्चुलासम्मका जनतालाई चाहिं आˆनो नजिकमा प्रशासनिक केन्द्र र सेवा-सुविधा चाहिन्न ?
काठमाडौंका रवीन्द्र मिश्रलाई नागरिकता बनाउन ताप्लेजुङ र पासपोर्ट बनाउन दार्चुला जाऊँ भन्दिने हो भने के गर्थे होला ? के हविगत र हालत हुन्थ्यो होला ? हो, हामी धेरैले यस्ता अप्ठ्यारा आफ्नै जीवनकालमा भोगेका छौं । संघीयता हाम्रा लागि कुनै सिद्धान्त हैन, जीवन भोगाइ र अनुभवको सार हो ।
काठमाडौंमा वर्षेनि सयौं प्रशासनिक भवन बन्न हुने अन्यत्र राम्रा कार्यालय भवन बन्नै नहुने ? अन्यत्र बजेट जानै नहुने ? अन्यत्र स-साना शहरी सुविधाकेन्द्र विकास हुनै नपाउने ? अन्यत्रका मान्छेले गाडी चढ्नै नहुने ? यदि पैसा सिंहदरबारमा मात्र राख्ने, गाउँ नपठाउने हो भने के गाउँको पैसा छाप्ने भिन्नै राष्ट्र बैंक छ ?
पालिकाहरूको रीस किन ? वडाको रीस किन ? प्रदेशको रीस किन ? त्यही दरबारको शक्ति तल-तलसम्म गयो भन्ने चिड्चिडाहट हैन, त्यो ? सिंहदरबारको स्रोतसाधन छिरलियो, एक्लै खेलाउन पाइएन भन्ने औडाहा हैन त्यो ? काठमाडौं कमजोर भयो, अन्यत्रका मान्छे पनि शक्तिशाली भए भन्नेे मनोवैज्ञानिक पीडा हैन, त्यो ?
कमल थापा त्यही संघीयताको विरोध गर्ने, मानौं कि उनको जस्तो वैचारिकीमा चलेको २४० वर्षे नेपाल तन्नम थिएन, स्वर्ग थियो । भ्रष्ट थिएन, रामराज्य थियो । गोकुल बास्कोटा र महेश बस्नेत जस्ता ओलीका निकटस्थहरू त्यही संघीयताको विरोध गर्ने, मानौं कि सेक्युरिटी प्रेसमा ७० करोडको बार्गेनिङ सिंहदरबारमा बसेर बास्कोटाले हैन, कुनै दूरदराजको गाउँको वडाको वडाध्यक्षले गरेको हो । रवीन्द्र मिश्र त्यही संघीयताको विरोध गर्ने मानौं कि उनी काठमाडौंमा ठूला घरमा बस्दैनन्, गाडी चढ्दैनन्, स्टर्लिङ पाउण्डको जागिर कहिल्यै खाँदैनथे, गाउँमै बसेर निःशुल्क जनताको सेवा गर्थे सधैं ।
पाखण्डको पनि सीमा हुन्छ मित्रहरू ! निःसन्देह कमजोरी छन् । तर, संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प किमार्थ राजतन्त्र, हिन्दुत्व वा एकात्मकता हुन सक्दैन । दक्षिणपन्थको विषाक्त हावाले केही समय मानिसलाई लठ्याउन सक्दछ तर अन्तिम नियति के हुन्छ- अमेरिकाका डोनाल्ड ट्रम्पदेखि नेपालका ओलीसम्मको हालत र हविगत हेरेर अनुमान गर्दा हुन्छ ।
source https://www.onlinekhabar.com/2021/08/992151
0 Comments