Looking For Anything Specific?

Header Ads

‘प्रहरीले पीडितलाई नै दोषी देख्न छाड्नुपर्छ’

पीडितलाई प्रहरीले अहिले मात्र अप्रिय व्यवहार गरेको होइन, धेरै अघिदेखि उसले पीडितलाई गर्ने व्यवहार ठीक छैन । त्यसैले हामीले पहिल्यैदेखि प्रहरीलाई पीडितको साथी बनिदेऊ भनिरहेका छौं । साथी बन्न सके मात्रै पीडितबाट प्रहरीले सहयोग पाउँछ ।

पीडित उजुरी लिएर जाँदा प्रहरी पूर्वनिर्धारित मानसिकता बनाएर बस्ने गर्छ । परिवारको छोरी हराएको छ भने प्रहरीले सहजै ‘पोइल गयो होला, साथीसँग गयो होला’ भनिदिन्छ । कोही पनि उजुरी गर्न जाँदा सहज तरिकाले संयमित वातावरणमा ‘डिल’ गर्ने चलन छैन ।

खासमा प्रहरीले पीडितको परिवारको सदस्यसँग साथीको जस्तो व्यवहार गर्नुपर्ने हो, ताकि उनीहरूले भन्न नसकेको अथवा भन्न नचाहेको कुरा पनि निकाल्न सकियोस् । यस्तो वातावरणले प्रहरीलाई नै अनुसन्धानमा सहज हुने हो । यो नै अनुसन्धानको सबैभन्दा ठूलो आधार बन्न सक्छ ।

प्रहरीले अभिभावकको मस्तिष्क बुझ्नुपर्छ । कतिपय घटनामा अभिभावककै कारणले पनि बच्चाबच्चीले घर छाडेका हुनसक्छन् । त्यसैले परिवारलाई शुरुआतदेखि नै विश्वासमा लिने गरी काम गर्नुपर्छ ।

फरेन्सिक जाँचमा कमजोरी

अभिभावकले दिने जति पनि जानकारी छन्, त्यो प्रहरीका लागि सूत्र हुनसक्छन् । प्रहरीले त्यही आधारमा शंकास्पद पक्षबारे थाहा पाउन सक्छ । शंका गरेको व्यक्तिबारे जबसम्म प्रहरीले थाहा पाउँदैन, तबसम्म उसले अनुसन्धान गर्न सक्दैन ।

अर्को चाहिं प्रहरीले परिवारलाई नै दोषी सोच्ने किसिमको मानसिकता त्याग्नुपर्छ । उजुरीकर्ताले आफूलाई नै दोषी ठहर्‍याएको महसूस गर्छ भने परिवार निराश भएर फर्किन्छ । चाहेको कुरा पनि प्रहरीलाई भन्दैन, त्यसले अनुसन्धान कमजोर हुन्छ ।

अर्को समस्या चाहिं के छ भने प्रहरीले अनुसन्धान भइरहेकै वेला अनुमानका भरमा सूचना चुहाउने गरेको छ । अनुसन्धान सकिएपछि मात्रै सूचना बाहिर ल्याउनुपर्छ । त्यसमा पनि कतिपय सूचना बाहिर ल्याउन नमिल्ने खालका पनि हुनसक्छन् । मिडियामा के ल्याउने, के नल्याउने भन्ने विषयमा पनि प्रहरी सचेत हुनुपर्छ ।

जति पनि त्रुटि अहिले भइरहेको छ त्यसमा अधिकृतहरूलाई नै जवाफदेही नबनाएसम्म प्रहरीमाथि लागेको दाग मेटिंदैन । त्रुटिपूर्ण अनुसन्धान गरेर पीडितको न्यायको हक मर्न दिनुहुँदैन

अझ अहिले सामाजिक सञ्जाल युट्युबले अर्को जटिलता थपेको छ । युट्युबहरूमा आउने जति पनि सूचना छन्, त्यसले समस्या सिर्जना गरिरहेको छ । त्यसले कतिपय केसमा अनुसन्धानमा बाधा नै पुर्‍याएको छ । सामाजिक सञ्जालमा जथाभावी आउने सूचनाले गर्दा कहिलेकाहीं घटना अन्यत्र मोडिनसक्छ र त्यसमा प्रहरी आफैं पनि हराउन सक्छ ।

अपराध अनुसन्धानमा ‘फरेन्सिक’ जाँच महत्वपूर्ण पक्ष हो । यसले अपराधलाई नजिकबाट चिन्ने, खोतल्ने मौका दिन्छ । तर यही पाटोमा प्रहरी एकदम कमजोर छ । मोबाइलको संवाद परीक्षण, फिंगर प्रिन्ट, डीएनएका लागि नमूना संकलन लगायत कुरामा समस्या छ । फरेन्सिक अनुसन्धान बलियो हुनैपर्छ ।

प्रहरी पनि रुमल्लिएको छ । कामको जस लिन छिटो समाचार दिने होडले पनि कहिलेकाहीं गम्भीर गल्ती भइरहेको हुन्छ । अर्को महत्वपूर्ण कुरा प्रहरीले द्वैध चरित्र देखाउने गरेको छ ।

प्रहरी अरू सबै पक्षसँग ठीक हुने पीडितसँग चाहिं खराब बन्ने चरित्र त्याग्नुपर्छ । उसले जहिल्यै पनि पीडित परिवारलाई दोषी देख्न छाड्नुपर्छ । मिडियासँग अथवा सार्वजनिक रूपमा बोल्दा एकदमै प्रयास र मिहिनेत गरिरहेको देखाउँछ । तर, पीडितसँग ऊ कहिल्यै राम्रो हुँदैन । त्यो चरित्र त्याग्नुपर्छ अनि गल्ती र कमि-कमजोरी स्वीकारेर सुधार गर्नुपर्छ ।

एकाध सफलतामै प्रहरी रमाइरहेको छ

अनुसन्धान ठोस हुनु भनेको प्रहरीको सफलता हो । कानूनी शासनको सफलता हो, न्यायको सफलता हो । प्रहरीले डकैती, चोरी, खोटाचलन, हातहतियार लगायतका घटना एकदमै खुशी मानेर अनुसन्धान गर्छ । तर समाजमा दैनिक रूपमा हुने घटना बहुविवाह, बलात्कार, हत्या, बेपत्ता लगायतमा प्रहरीलाई त्यति चासो लाग्दैन ।

जस्तै, कोही हराएको घटनामा ऊ लामो समयसम्म चूपचाप बसिदिन्छ । जबसम्म परिवारले आफैं भेट्दैन फाइल खुला हुन्छ । परिवार प्रहरीको आशमा हुन्छ, प्रहरी अनुसन्धान गरिरहेका छौं मात्रै भन्छ । यो भनेको परिवारलाई प्रताडना दिने काम हो । भलै जघन्य प्रकृति र केही संवेदनशील घटनामा प्रहरीले तदारुकता पनि देखाएको छ ।

महिला तथा बालिकासँग जोडिएका घटनामा प्रहरीले छिटोभन्दा छिटो परिणाम दिने गरी काम गर्नुपर्छ ।

प्रहरीको व्यवहार मात्रै त्रुटिपूर्ण छैन, प्रमाण संकलन गर्ने तरिका पनि समस्याग्रस्त देखिन्छ । प्राविधिक रूपमा संकलन गर्ने कुरामा प्रशस्त त्रुटि भेटिन्छन् । फरेन्सिक टिम दक्ष र पर्याप्त छैन भने प्रहरीले त्यसका लागि स्रोत जुटाउनुपर्छ, तालिम गराउनुपर्छ ।

यो पनि पढ्नुहोस पीडितको प्रारम्भिक सूचनामाथि प्रहरीको खेलाँची : कमजोर अनुसन्धानले मर्दैछ न्याय

धेरै वर्षदेखि नेपाल प्रहरीलाई विज्ञताको विषयमा सहयोग गरिरहेको अमेरिकन र युके एड जस्ता निकायसँग समन्वय गरेर पनि आधुनिक तालिम लिन सकिन्छ । उनीहरूलाई हाम्रो देशको न्याय र अनुसन्धान प्रणाली कमजोर छ भन्नुपर्छ र यसमा सहयोग माग्नुपर्छ ।

विदेशमा राम्रो फरेन्सिक टिम हुन्छ । मान्छे हिंडेको छापसम्म पत्ता लगाउन सक्छ । फरेन्सिकमा एउटा सानो रौंले पनि संकेत दिन्छ । नेपाल प्रहरीलाई त्यसखाले आधुनिक प्रविधिले सुसज्जित गराउनुपर्छ । त्यससम्बन्धी ज्ञान दिलाउनुपर्छ ।

निर्मला पन्त घटना भएको तीन वर्ष भइसक्यो । यो अवधिमा जहिल्यै पनि प्रहरीले हामी दक्षता पुर्‍याउँछौं मात्रै भनिरहेको छ । चाहृयो भने ६ महीनामै दक्षता पुग्छ, तर प्रहरीले चाहेको छैन । निर्मला प्रकरणदेखि सुजिताको घटनामा आउँदासम्म उस्तै गल्ती दोहोरिरहेको छ । एकाध घटनामा हुने सफलतामै प्रहरी रमाइरहेको छ ।

प्रहरीले डकैती, चोरी, खोटाचलन, हातहतियार लगायतका घटना एकदमै खुशी मानेर अनुसन्धान गर्छ । तर समाजमा दैनिक रूपमा हुने घटना बहुविवाह, बलात्कार, हत्या, बेपत्ता लगायतमा प्रहरीलाई त्यति चासो लाग्दैन

तालिम अभाव

बयान लिंदा अनिवार्य महिला प्रहरी राख्नुपर्छ । महिला र बालिकाको केसमा पुरुषले बयान लिएर हुँदैन । किनभने, कतिपय संवेदनशील कुरा महिलाले पुरुष अफिसरलाई भन्न सक्दैनन् । बयान लिनलाई पनि विशेष टोली चाहिन्छ ।

उपत्यका अपवाद हो, दूरदराजको कुरा गर्ने हो भने त्यहाँ महिला अफिसरहरू नै भेटिंदैनन् । त्यसैले महिला हिंसाको घटना, बलात्कार, हत्या जस्ता महिलासँग जोडिएका घटनामा अनुसन्धानका लागि महिला अफिसर नै खटिनुपर्छ ।

अनुसन्धान हवल्दार, जवानबाट मात्र गर्नुहुँदैन । किनभने, उनीहरूसँग पर्याप्त ज्ञान हुँदैन । दक्ष प्रहरी जनशक्तिबाट अनुसन्धान गराइनुपर्छ । सामान्य लेखपढ गर्न सक्ने जनशक्तिबाट होइन । हामीकहाँ महिला हिंसाको घटनामा तल्लो तहका कर्मचारीलाई खटाउने गरिएको छ, त्यो गलत हो ।

महिला र बालिकाको संवेदनशीलतालाई पनि ध्यानमा राख्नुपर्छ । अनुसन्धानका क्रममा पीडितले नै अपहेलित महसूस गर्ने अवस्था सिर्जना हुन दिनुहुँदैन । प्रहरीलाई संवेदनशील बनाउन तालिम पनि चाहिएको छ ।

प्रहरीले आफूलाई सुधार्नुपर्छ

समाज र मिडियामा धेरै चर्चा पाएको घटनालाई मात्रै प्राथमिकता दिने प्रवृत्ति पनि अन्त्य गर्नुपर्छ । हरेक घटनालाई प्रहरीले समान रूपमा हेर्नुपर्छ । निर्मला हत्याको वेलामा अरू तीन जना दलित, थारू पनि त्यस्तै खाले घटनाबाट गुज्रिनुपर्‍यो । तर तिनीहरूको कतै समाचार आएन । त्यस्तो अवस्थामा उनीहरूको न्याय मर्न दिने त ? प्रहरीले विभेद गर्छ भन्ने आरोपबाट बच्ने गरी संगठनले काम गर्नुपर्छ ।

कहिलेकाहीं प्रहरी पनि प्रभावित हुन्छ, लोभलालचमा पर्छ । त्यसमा पीडकको आर्थिक स्थिति र हैसियतले पनि फरक पार्छ । यस्ता विषयलाई शुरूमा संगठन आफैंले छानबिन गर्नुपर्छ । अनुसन्धान गर्नुपर्छ । दसी प्रमाणले नबोलेको कुरामा प्रहरीलाई आक्षेप लगाउनु पनि राम्रो हुँदैन तर प्रमाणित भए कारबाही पनि गर्नुपर्छ ।

निष्कर्ष के हो भने प्रहरीको अनुसन्धान प्रणालीमाथि पनि रिभ्यू हुनुपर्छ । जति पनि त्रुटि अहिले भइरहेको छ त्यसमा अधिकृतहरूलाई नै जवाफदेही नबनाएसम्म प्रहरीमाथि लागेको दाग मेटिंदैन । त्रुटिपूर्ण अनुसन्धान गरेर पीडितको न्यायको हक मर्न दिनुहुँदैन ।

(मानवअधिकार आयोगकी पूर्वसदस्य अन्सारीसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)



source https://www.onlinekhabar.com/2021/07/991411

Post a Comment

0 Comments