१८ फागुन, काठमाडौं । वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइँदै छ ।
भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको आयोजना तथा विष्णुमाया पुस्तकालयको सह-आयोजनामा मंगलबार विराटगरमा स्मृति सभा आयोजना गरिँदै छ । स्मृति सभामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि छन् । नेपाल उक्त फाउण्डेशनका संरक्षकसमेत हुन् ।
स्वर्गीय अधिकारीले वामपन्थी आन्दोलनमार्फत नेपालको राजनीतिक परिवर्तन, राजनीतिक अर्थशास्त्र तथा सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको चर्चा, अग्रज कम्युनिस्ट ज्येष्ठ नागरिक सम्मान तथा फाउण्डेशनको प्रदेश-१ समिति घोषणा गर्ने कार्यक्रम रहेको फाउण्डेशनकी सदस्य एवं अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन् ।
विक्रम सम्वत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुबा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका अधिकारीको अधिकारीको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते निधन भएको थियो ।
अधिकारीले कानुन तथा अर्थ राजनीतिको गहिरो अध्ययन गरेका थिए । उनले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक शिक्षा हासिल गरेका अधिकारी पञ्चायतकालीन समयमा चर्चित अधिवक्ता थिए । अधिकारीले २०४७ सालको संविधान मस्यौदा समितिमा रहेर संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए ।
२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अर्थमन्त्री थिए । अधिकारीले नै ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रममार्फत हरेक स्थानीय तहमा सिधै रकम पठाउने कामको सुरुआत गरेका थिए ।
यस्तै वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुआत गरेका अधिकारीलाई अहिले पनि वृद्धवृद्धाले श्रद्धापूर्वक स्मरण गर्ने गर्दछन् । अधिकारी २०४६ सालको राजनीतिक परिवर्तनपछि चारपटक सांसद र पाँचपटक मन्त्री भए । पटक-पटक सरकारमा सहभागी हुँदासमेत उनी कहिल्यै विवादमा परेनन् ।
यो पनि पढ्नुस् –
बिराटनगरमा जीवितै छ भरतमोहनको ल फर्म !
भरतमोहनलाई बृद्धभत्ताले नै सम्झाइरहनेछ
भरतमोहन : सुनसरीका ज्वाइँ, मोरङका वकिल
source https://www.onlinekhabar.com/2021/03/934687
0 Comments