हामीले जहिले पनि मातृभूमिको बन्दना गर्ने बेलामा ‘’नेपाल आमाको जय होस्’ जस्ता उक्तिहरूको प्रयोग गर्ने गर्छौं । नेपालमा मात्रै होइन, भारतमा ‘भारत माता’को रूपमा मातृभूमिको पूजा गर्छन् । त्यहाँ त भारत माताको मूर्ति नै बनाउने चलन छ । ‘मदर अमेरिका’को अवधारणा अमेरिकामा पाइन्छ । यसरी पूर्वीय होस् या पाश्चात्य मुलुकमा पृथ्वीलाई मातृशक्तिको रूपमा देखाउने चलन कहाँबाट सुरु भयो होला ? यसको इतिहास खोतल्दै जाँदा मातृशक्तिको रूपमा धर्तिलाई पुज्ने चलन सभ्यताको सुरुवाती समयसम्म भेट्न सकिन्छ ।
भारतीय प्राचीन सभ्यताको समयमा लेखिएका अभिलेखीय प्रमाण पढ्न नसकिए पनि सिन्धु नदीको किनारा र आसपासका क्षेत्रमा बसेको सभ्यता (ईसापूर्व २५०० देखि १७०० सम्म)को समयसम्म पनि मातृशक्तिको पूजा हुने गर्दथ्यो भन्ने प्रमाण पाइन्छ । यसबाहेक पनि सिन्धु सभ्यताका समकालीन अन्य सभ्यतामा समेत प्रकृति र पुरुषको रूपमा पूजा गर्ने गरिन्थ्यो । त्यही मातृशक्तिलाई पछिका ऋषिमुनिहरूले धर्तिमाताको अवधारणा अनुसार परिभाषित गर्दै गए ।
पूर्वीय दर्शनले मातृशक्तिको रूपमा पृथ्वीलाई परिभाषित गरेको छ । प्रकृति भनेर स्त्री शक्तिको रूपमा र पुरुष भनेर परब्रह्म परमात्मालाई परिभाषित गर्दै प्रकृति(पृथ्वी) नै सृष्टिका सम्पूर्ण कार्यमा जिम्मेवार रहेको र पुरुष केवल सहायकको रूपमा मात्रै रहेको उल्लेख गरिएको छ । पूर्वीय दर्शनमा सबैभन्दा पुरानो मानिएको सांख्य मतानुसार प्राचीनकालदेखि नै पृथ्वीले सम्पूर्ण सृष्टिको रचना गर्ने भएकोले पनि यसलाई मातृशक्तिको रूपमा व्याख्या गर्ने गरिएको हुन्छ ।
‘पृथ्वीलाई आदि कालदेखि नै मातृभूमिको संज्ञा दिने गरिएको पाइन्छ । पूर्वीय संस्कृतिमा पृथ्वीलाई पूजनीय स्थानमा राख्ने गरिएको छ । सृष्टिको समया रहेका पञ्च महाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश) मध्ये पृथ्वी महत्वपूर्ण महाभूत हो । यही पृथ्वीले नै चराचर जगतको सिर्जना गर्ने गर्छ । हामीलाई बाँच्नको लागि चाहिने सबैकुरा यही पृथ्वीबाट नै प्राप्त गर्ने भएकोले पनि यसलाई उच्च स्थानमा राखिन्छ ।
महाभारतको यक्ष प्रश्नको क्रममा यक्षले युधिष्ठिरलाई सोधेका थिए, आकाशभन्दा माथि के छ रु र पृथ्वीभन्दा भारी चिज के हो रु युधिष्ठिरले यक्षलाई भनेका थिए आकाशभन्दा अग्लो मेरा पिता हुनुहुन्छ र पृथ्वीभन्दा भारी मेरी आमा हुनुहुन्छ । हामी उनीहरूका अंश हौं ।
यति मात्र होइन । पृथ्वीलाई मातृ शक्तिको रूपमा व्याख्या गरेको प्रमाण वेदमा पनि पाइन्छ । अथर्ववेदमा भनिएको छ ‘माता भूमि: पुत्रो अहं पृथिव्या:’ । अर्थात् त्यो भूमि मेरी आमा हुन् र म उनको छोरा हुँ ।
यजुर्वेदमा भनिएको छ-
नमो मात्रे पृथिव्ये , नमो मात्रे पृथिव्या ।
अर्थात् माता पृथ्वी (मातृभूमि) लाई नमस्कार छ, मातृभूमिलाई नमस्कार छ ।
वाल्मीकि रामायणमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी‘ भनेर जननी र जन्मभूमि स्वर्गभन्दा माथि छ भनिएको छ ।
‘भूमि सूक्त’ को दशौं मन्त्रमा मातृभूमिको धारणालाई स्पष्ट रुपमा उल्लेख गरिएको छ । त्यसमा भनिएको छ –
सा नौ भूमिविर्सजतां माता पुत्राय मे पयः ।
अर्थात् हे मातृभूमि म पुत्रको लागि दूध आदि शक्ति प्रदायी पदार्थ प्रदान गर्नुहोस् ।
१२ औं मन्त्रमा भनिएको छ –
माता भूमिः, पुत्रो अहं पृथिव्याः!
अर्थात भूमि (मेरो मातृभूमि) मेरी माता हुन् । म उनका पुत्र हुँ ।
अथर्ववेदका अलावा ‘यजुर्वेद’मा समेत पृथ्वीलाई माता भनेर पुकारिएको छ ।
source https://www.onlinekhabar.com/2021/03/941480
0 Comments