Looking For Anything Specific?

Header Ads

बैंक र लगानीकर्ता ठग्दै सुधीर बस्नेत

९ मंसिर, काठमाडौं । एउटा ठगले कति जनालाई ठग्ला ? दुई जना, चार जना, सय जना वा पाँच सय ? चर्चित घरजग्गा कारोबारी सुधीर बस्नेतमाथि दश हजार जनाभन्दा बढीलाई ठगी गरेको आरोप छ । सहकारी, अपार्टमेन्ट र हाउजिङमार्फत अर्बौं रुपैयाँ ठगिएकाहरूले उनलाई ‘राष्ट्रिय महाठग’ समेत भन्ने गरेका छन् ।

बस्नेतले सञ्चालन गरेको ओरियन्टल सहकारीमा निक्षेपकर्ताको ४ अर्बभन्दा बढी डुबेको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी डेपुटी गभर्नर भएका बेला गठित छानविन समितिका एक सदस्यका अनुसार बस्नेतले हाउजिङ र अपार्टमेन्टको नाममा पनि ४ अर्ब हाराहारी रकम ठगी गरेका थिए । उनले एउटा अपार्टमेन्ट तीन जनासम्मलाई बेचेको त्यतिबेला छानबिन समेतले पत्ता लगाएको थियो ।

ओरियन्टल बिल्डर्स एण्ड डेभलपर्सको नाममा २२ परियोजना सञ्चालन गर्न सर्वसाधारण, सहकारी र बैंक तथा वित्तीय संस्थाबाट रकम लिइएको थियो । अपार्टमेन्ट पाउने आशामा लगानी गरेका ७०० भन्दा बढीको रकम बस्नेतले झ्वाम्म पारेका थिए ।

बैंक ठग्दै बस्नेत

ओरियन्टल बिल्डर्सको अपार्टमेन्ट किन्न खोज्दा रकम डुबाउनेको सूचिमा पूर्व सचिव, पत्रकारदेखि सरकारी कर्मचारीको समेत नाम छ । उनीहरूलाई मात्रै होइन ओरियन्टल बिल्डर्सका ऋण दिने बैंक तथा वित्तीय संस्थालाई समेत बस्नेतले गुमराहमा पारेको देखिन्छ ।

धापासीस्थित जग्गा धितो राखेर ओरियन्टलले एउटा वाणिज्य बैंकबाट ऋण निकालेको थियो । कर्जा सम्झौता अनुसार ऋण तिर्न नसकेपछि बैंकले बस्नेतको धापासीस्थित धितो राखेको जग्गा लिलामीमा राख्यो । लिलामीको सूचना निकाल्दा पनि धापासीको जग्गा बिक्री नभएपछि बैंक आफैंले सकारेको देखिन्छ ।

बस्नेतले लिलामी कार्य बदरको माग राखेर अदालतमा मुद्दा दायर गरेको नेपाल बैंकर्स संघका एक सदस्यले जानकारी दिए । ‘त्यो बैंकले आठ वर्ष पहिले कानून बमोजिम धितो सम्पत्ति सकारेर स्वप्रयोगमा ल्याएको रहेछ, उक्त स्थानमा बैंकले भौतिक संरचना समेत निर्माण गरिसकेको छ’ ती सदस्य भन्छन्, ‘यस्तो कार्य भनेको के मर्यो भन्दा पनि काल पल्कियो भने जस्तो हो, यस्तो प्रवृत्तिले समग्र बैंक तथा वित्तीय संस्थाहरूमा दीर्घकालीन रुपमा सुरक्षण जोखिम आइपर्नसक्छ ।’

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा ५७ ले कर्जा सम्झौता अनुसार ऋण नतिर्ने ऋणको धितोबाट आफ्नो रकम असुल उपर गर्ने अधिकार सम्बन्धित बैंकलाई दिएको उनको भनाइ छ ।



source https://www.onlinekhabar.com/2020/11/911107

Post a Comment

0 Comments