Looking For Anything Specific?

Header Ads

चक्रपथका बिरुवा हुर्किएमा संयोग मात्रै हुनेछ !

१९ कात्तिक, काठमाडौं । काठमाडौंको चक्रपथ विस्तारका लागि दुई चरणमा करिब ३२ सय रुख बिरुवा काटिए । कलंकी-सातदोबाटो कोटेरश्वर खण्डमा १२ सय भन्दा बढी र कलंकी-महाराजगञ्ज-धोबीखोला खण्डमा २ हजारभन्दा बढी रुख विनास भयो ।

तयार भइसकेको कलंकी-सातदोबाटो कोटेरश्वर खण्डमा यसको क्षतिपूर्तिका लागि भनेर करिब २७ सय बिरुवा नरोपिएको हैन । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर २०७६ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरबाट वृक्षारोपण अभियानको सुरुवात गरेका थिए ।

तर, चक्रपथमा रोपिएका बिरुवाको संरक्षण गर्न भने कसैले चासो दिएका छैनन् । यी बिरुवाहरु अनेकन अतिक्रमणको चपेटामा छन् । स्याहार नपाएर कतिपय बिरुवा सुकेका छन्, कति सुक्न थालेका छन् भने कतिपय हुर्किँदै गरेपनि अनेकन बाधा छिचोल्दैछन् ।

वन तथा वातावरण मन्त्रालयले कोटेश्वरदेखि कलंकीसम्म बिरुवा रोप्ने भनेपनि सबै ठाउँमा सहज रुपमा पर्याप्त र खुला स्थान उपलब्ध थिएन । चक्रपथको डिजाइन गर्दा नै बिरुवा रोप्नेबारे नसोचिएकाले जता खाली ठाउँ भेटिन्छ, उतै रोपिएको थियो ।

बिरुवा बचाउन ट्रि-गाड नराखिएको हैन । तर, चक्रपथमा पैदल हिँड्न फुटपाथ नहुँदा कतिपय स्थानमा बिरुवा रोपिएकै स्थानबाट मान्छेहरु हिँड्ने गरेका छन् । यसले गर्दा बिरुवाको सहीसँग संरक्षण हुन सकेको छैन । धेरै बटुवाहरुले बिरुवाप्रति माया नदेखाउने कारण पनि यी बिरुवाहरु जोखिममा छन् ।

संरक्षणका लागि काठ वा तारको जाली लगाइएपनि बोट बिरुवाको मुन्टो निमोठ्ने, डाँठ नै भाँचिदिेने, बिरुवा उखेलिदिने, उचित मौका परे बोकेर हिँड्ने लगायतका नाजायज काम हुने गरेको बताउँछन् बालकुमारीका स्थानीय राधाकृष्ण सैँजु ।  ‘जाली हालेको छौं भनेर मात्रै भयो र मान्छेको प्रवृत्ति पनि हेर्नुपर्‍यो,’ उनी भन्छन् ।

उनकाअनुसार छाडा पशुवस्तुले पनि चक्रपथका बिरुवा चपाउने गरेका छन् । कतिपय संरक्षण पाएका स्थानमा भने विरूवा गज्जबसँग हुर्किएका पनि छन् ।

त्यति मात्रै नभएर स्थानीयले यनि तार जालीमा लटरम्म फलाउने गरी काँक्रो, फर्सी, घिरौंलाको बिरुवा लगाउने गरेका छन् । यस्ता लहराले बिरुवा बढ्न दिएको छैन ।

कतिपय स्थानमा झाडीहरु सफा गरिएकै छैन, बिरुवाको गोडमेल पनि भएको छैन । यस्ता कारणले पनि बिरुवाले हुर्कन आवश्यक वातावरण पाउन सकेको छैन ।

चक्रपथ निर्माणसँगै त्यहाँको हरियाली विनास भएको भन्दै चर्को आलोचना भएपछि रोपिएका बिरुवालाई मलजल गर्ने काममा सकैको ध्यान पुगेको छैन । बिरुवा संरक्षणमा कोही पनि जिम्मेवार नभएपछि भवितव्य नपरेमा मात्रै बिरुवा हुर्कने अवस्था रहेको बताउँछन् सानेपाका स्थानीय राकेश प्रजापति ।

सडक वरपरका बिरुवा बचाउन सडक विभागले चासो दिएको छैन । न स्थानीय तह, वडा कार्यालयहरु र स्थानीय बासिन्दाले नै मतलब गरेका छन् । ‘सरकारले पनि आँखा चिम्लएपछि चक्रपथमा रोपिएका बिरुवा हुर्किए भने त्यो संयोग मात्रै हुनेछ,’ प्रजापति भन्छन् ।





source https://www.onlinekhabar.com/2020/11/907173

Post a Comment

0 Comments